पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए...

dainikonline
दैनिक अनलाइन | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने । ” पछि कसैको आदेशले निर्णय नै परिवर्तन गरियो र सालिकलाई ल्याएर सिंहदरबारको मूल ढोका अघिल्तिर ठड्याइयो ।

पृथ्वी जयन्ती मूल समारोह समितिको कार्यालय थियो– घण्टाघरतर्फको त्रिचन्द्र कलेजमा । समितिका पदाधिकारीमा मुख्य चौतरिया फत्तेजङ्ग पराक्रम शाह, फिल्ड मार्सल केशरशमशेर जबरा, सर्दार नरेन्द्रमणि आदि, साहित्यकार बालकृष्ण समलगायत रहनुभएको थियो । छ दशकअघि समितिको त्यो बैठकको स्मरण गर्दै इन्जिनियर शङ्करनाथ रिमालले भन्नुभयो, “पृथ्वीनारायणको सालिक राख्ने निर्णय भयो । मलाई सालिक राख्नका लागि स्मारकको डिजाइन गर्न जिम्मा दिइयो । ” सालिकको डिजाइन गर्ने जिम्मा बालकृष्ण समले पाउनुभयो भने सालिक निर्माण गर्ने जिम्मेवारी कलाकार अमर चित्रकारलाई दिइयो ।

इन्जिनियर रिमालले सुरुमा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट उपत्यका देखेको र चन्द्रागिरिमा स्मारक राख्दा हिमाल, पहाड र तराई देख्न सकिने सोचले चन्द्रागिरिमा निर्माण गर्नका लागि स्मारकको नमुना तयार गर्नुभयो । त्यस स्थानलाई चन्द्रजस्तो आकार भएको पहाड (गिरि) भएकाले परम्परादेखि नै चन्द्रागिरि भनिँदै आएको थियो । स्मारक निर्माण गरी सालिक राखिएको भए त्यो बेला नै चन्द्रागिरिलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको हुन्थ्यो । हाल चन्द्रागिरि हिल्सले भालेश्वर नजिक पृथ्वीनारायणको सालिक राखेको छ ।

“स्मारक निर्माण गरी सालिक राख्ने कुरा धेरै वर्षसम्म चलिरह्यो”, उहाँले भन्नुभयो, “त्यसबीचमा राजा महेन्द्रलाई हृदयाघात पनि भयो । पछि पृथ्वी जयन्ती समारोह समितिका पदाधिकारीहरू पनि कताकता पुगे । सालिक बन्यो र खै कसको आदेशमा सिंहदरबारअगाडि राख्ने निर्णय भयो । ”आजको गोरखापत्र दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय