ठकान : ‘चौपारीको ठकान थियो, बिर्स्यौ कि मायाले’

dainikonline
नवीन विभास | मंसिर १५, २०७६ आइतबार | 0

धान बालो पियालो भैगो पिपलु छाँयाले 
चौपारीको ठगान थियो बिस्र्यौ कि मायाले 

ठकान राखम्, महिनाको १५ गते । ठकान बसेर मन मन्थन गरम्ला । मायाले मन माझम्ला । 
समय मिले, नबिर्सी आउनुस् है ! 
...
‘बड्डा, च्यान !’
स्कुल पुग्न हतारिएका स्कुले गोडा चिहान देखेर एकाएक ‘स्ट्याचु’ भए । झस्केर फेरि हेरेँ, कुङ्रीपोक ओडारछेवैमा चिहान ! स्यालले शव निकाल्न नसकोस् भनी काँडैकाँडावाल चुत्रो हाँगाले छोपिएको । चुनबाङगारसित बाजी लाग्दै दक्षिण लागे घोराही र उत्तर लागे रुकुम पुग्ने बाटोेछेवैमा मान्छे गाडेको थियो । चिहान साक्षी राखेर लड्न तम्तयार माओवादी लडाकुका प्लाटुन नै खडा थिए, भेडाको मलले हलक्क हल्केका सिस्नो र पुवा । करिब पाँच मिटर तलबाट चुनबाङगार माडी पुगेर रापती बन्न छुरपत्ताल दौड्दैथियो । 

ठकानमा एक पक्ष अनुपस्थित भएछ । अर्को पक्षले ‘धोकेवाज’ ठान्यो । उपस्थित पक्षले ‘तेरो घरमा जुम्ले मोरा निक्लियोस्’, ‘चत्कापत्कै गएस्’ भनेर अनुपस्थित पक्षलाई भित्तै पु¥याएर गाली ग¥यो । गालीले चित्त बुझेन । गालीको सबभन्दा उग्रे रुप ‘चिहान’ बनाए । शवको बदलामा चिहानमा गाडिएको ‘रिस’ थियो ।

‘कठै बरै ! को त गइगिछन् ब ।’ 

आफ्नै पाराले अथ्र्यायौँ, ओडारमा बास बसेका बटुवा मरेछन् । घर लान असम्भव भएपछि बाटोछेवैमा गाडेर तिनका साथी हिँडेछन् । 

‘महिला थिइन् कि पुरुष ? विवाहित थिइन् कि अविवाहित ? विवाहित भए, छोराछोरी थिए कि थिएनन् ? विहे नगरेका भए, तिनका प्रेमी÷प्रेमिका थिए कि ?’
अनुहारमा पनि भाँतीभाँतीका प्रश्नवाचक हँसिया भिरेर मुखामुख गर्यौं। 

त्यो जुगको कुरो थियो । जुन जुगमा निधारमा ऐना झालाङझिलिङ झल्काउँदै चुनबाङगार किनारैकिनार हुलका हुल घोडा÷खच्चर घरी रुकुम उक्लन्थे त घरी घोराही ओर्लन्थे । 

कुङ्रीपोक ओडारमा भेडाको बक्रौला दुईचार फिट खात लाग्थ्यो । बुकी उक्लँदा र दाङघारी ओर्लंदा एकदुई बास बस्दा खात लागेको भेडा मलमा मौलाएर पुवा र सिस्नो हलक्क हल्केका थिए । 
हो, उनै मासको कुरा थियो, जुन दिन चुनबाङ स्कुल जाने स्कुले गोडा झस्केर जाम भएथे । गोडा थिए, कोल्बोटे साल्दाइ, कोलबोटे तुलवहादुर, रङनाम दिलबहादुर फ्वाजु, ओखरबोटे मोहन भान्ज, बागमारा गैरा माइला अर्थात् जयन्द्र केसीका । 

रोल्पा र रुकुम सिमावर्ती राङ्कोट र इरिबाङ बागमाराबाट हुल नै चुनबाङ स्कुल जान्थ्यो । जैपाबाट पाँचजना स्कुले ठिटा भालखोरे झरेर रालेखोला, भोनचौर हुँदै चुनबाङगार किनारैकिनार सवा एक घण्टा हिँडेर चुनबाङ स्कुल पुग्थ्यौँ । यसरी चुनबाङ जाने बाटो अर्थात् तातापानी र चुनबाङगार मिसिने दोभानमा थियो, कुङ्रीपोक ओडार ।

१, ५, १०, १५, २०, २५ गते ‘विशेष’ जमघटले ओडार भरिलो हुन्थ्यो । कारण थियो, ती दिन ओडारबाहेक अन्य ठाउँमा पनि ठकाने युवायुवती, बूढाबूढी र अधबैंसे भेटिन्थे । कुङ्रीपोक ओडारसहित रालेखोला बिसौना अर्थात् चौपारी, बाटो छेउँछाउँका घट्ट, गोठ, ठाँटी अर्थात पाटी, धरमशालामा ठकान राखेका हुन्थे । चुनबाङगार बग्दा निस्कने स्वाऽऽऽ स्वाऽऽऽ लाई नै सुकाएर ठकाने गलाबाट गीत झरिरहेका हुन्थे तिनै गीत तालमा कति ठकाने फनफनी फन्किरहेका । 

बर्खामासे महिना ती गते भने अन्य गतेजस्तै ‘सामान्य’ हुन्थे । कारण थियो, ससाना गारलाई पनि प्रकृतिले सोले फिल्मको गब्बरसिंह बनाउँथ्यो । त्यसबेला टक्कर दिने गब्बरभन्दा जब्बर न बाटाघाटा थिए न पुलपुलेसा । 

प्रकृति पनि कतिसम्म भयानक गब्बरसिंह बन्छ भन्ने कुरा रुकुम सिस्नेवासीलाई थाहा छ । 

सिस्नेले डोल्पाली चेलीलाई बुहारी बनाएको छ भने सिस्ने चेलीलाई डोल्पाले । ती चेलीका माइत–घर गर्ने दुब्लो डोरेटोलाई छ महिना हिउँले कब्जा गर्छ । ती छ महिना चेली आँखा सिस्ने हिमाल हेरीहेरी तोरीजस्तै पहेलिन्छन् । माइती माया फारुफारु गरी सम्झेर आफूलाई मुस्किलले थाम्छन् । 

‘जनयुद्ध’ताका माओवादी कलाकारले सिस्ने हिमाल गीत बनाएर गाए भने कविले कविता । उही सिस्ने हिमालको काखमा बसेको थियो, सिस्ने गाउँ । सिस्नेकै नाउँबाट राखियो, गाउँपालिकाको नाउँ । र, त्यै गाउँपालिकामै थियो, रुकुम (पूर्व)को सदरमुकाम रुकुमकोट ।

तपाईंलाई लाग्ला, किन उल्लिखित गतेमा मात्र ठकान राख्थे हँ ? किन ३, ४, ९, ११, १२, २१, २२, २३ जस्ता गतेमा ठकानले ठाउँ पाएनन् ? के थियो, ती गतेका समाजशास्त्र ? 

सम्झन सजिलोका लागि तिनै गतेमामात्र ठकान राखे कि ! अन्य गते सम्झनामा झ्वाट्ट आउन अन्कनाए कि ! 

शहरिया ‘शास्त्रीजी’हरुसँग सही जवाफ होला ।

अँ, चिहान चर्चा हुँदैथियो । 

केही दिनपछि थाहा भयो, त्यो चिहान ‘नक्कली’ हो । (त्यसो त मरेका बटुवा बाटो छेउँछाउँमा नगाडिएका होइनन् ।)। 

ठकानमा एक पक्ष अनुपस्थित भएछ । अर्को पक्षले ‘धोकेवाज’ ठान्यो । उपस्थित पक्षले ‘तेरो घरमा जुम्ले मोरा निक्लियोस्’, ‘चत्कापत्कै गएस्’ भनेर अनुपस्थित पक्षलाई भित्तै पु¥याएर गाली ग¥यो । गालीले चित्त बुझेन । गालीको सबभन्दा उग्रे रुप ‘चिहान’ बनाए । शवको बदलामा चिहानमा गाडिएको ‘रिस’ थियो । 

त्यो नक्कली ‘चिहान’ ठकानमा अनुपस्थित छोट्टेको नाउँमा छोट्टीले बनाएका थिए । (छोट्टीले धोका दिए, छोट्टेले चिहान बनाउँथे ।) 
...
कुरा उनै जुगको हो । 

त्यो जुगमा भौगोलिक विकटता र यातायात अभावले एकअर्काका घर पुग्न लाग्ने समय बचत र सहज भेटघाट उपाय जुराएथे, दुबै पक्षलाई समदुरीमा पर्ने ठाउँमा भेट्ने । यसरी भेट्नुलाई नाम दिए, ठकान । (कतै ठकानलाई ठक्कान भने त कतै ठगान ।) भन्थे, ‘फलानो महिनाको फलानो गते फलानो बजे फलानो ठाउँमा ठकान राखम् ।’ भेट महिना, गते र समय तय हुन्थ्यो । यसरी तय गर्नुलाई भन्थे, ठकान राख्ने । भेट भएर बस्नुलाई भन्थे, ठकान बस्ने । 

मनोहर लामिछानेकृत लोकवार्ताका केही पक्ष नामक पुस्तकले भन्थ्यो, ‘मिति, समय र स्थान निर्धारणलाई लोकभाषामा ठगान भनिन्छ ।’ पुस्तकमै लामिछानेले ठकानलाई ठम्याउने सल्यानी लोक गलामा गला गाँसेका थिएः
सुइकोटैको तानामाना, टाट्क्याको भक्कान
रुमाल गाउँकी टाकुरीमा, राखौँ कि ठक्कान ।
आफू त मालभोगी केरा, खानलाई तरकारी 
साइका आउने ठगानैमा, काम प¥यो सरकारी ।

शायद, घुमन्ते जीवनशैली छाडेपछि मानिस जातिले नयाँ सम्बन्ध गाँस्न र गाँसेका सम्बन्ध रिन्यु गर्न उनै जुगमा ठकान चलन चलायो होला- ठकान ठाउँ ।

ठकान बस्ने मूलस्थान थियो, चौपारी । चौपारीलाई बिसौना पनि भन्छन् भने पूर्वतिर चौतारी । पश्चिम पहाडी मगर बस्तीमा चौपारी चलन नै थियो । राँकुली वा पिपल रोपेर दिवंगत सदस्यको नाउँमा परिवारले चौपारी बनाउँथे ताकि बिसौनामा बटुवा बिसाएर थकाइ मारुन्, पसिना ओभाऊन् । 

पूर्वतिर राँकुलीलाई लाँकुरी भन्छन् । 

बिसौनामा घर छाउने ढुंगामा दिवंगत परिचय पनि लेखिएको हुन्थ्यो । 

मन मिलेर लगाउने मितलाई ‘हितको मित’ भन्थे । मुद्दा मामिला नहोस्, कुटाकुट नहोस् भनेर ‘बार लगाउन’ झगडियाले लगाउने मितलाई ‘झग्रे मित’ ।

हो, तिनै बिसौनामा हटारु र भरियाले भारी बिसाउँथे । थकाइ मार्थे । पसिना ओभाउँथे । बिसौनामा बिसाएर दुःख बिसाउँथे । सुखदुःख सुसाउँथे । कोही बटुवा हाँस्थे त कोही रुन्थे । 

त्यही चौपारीमा ठकानेले ठकान राख्थे । ढोगभेटपछि कुराकानी थाल्थे, सन्चो बेसन्चो समाचारबाट । आआफ्ना परिवेशका समाचार सूचित हुन्थे । मनका बह पोख्थे । त्यसपछि कहिले रुन्थे त कहिले हाँस्थे । कारण, समाचार कहिले मिलनका हुन्थे त कहिले वियोगका । लामो अन्तरालमा भेटिएका कोही ठकाने भावुक देखिन्थे त कुनै खुशीले दंग । हुन पनि कोहीका आफन्त मरेका हुन्थे त कोहीका विरामी । कोही बिछोडिएका हुन्थे । तिनका यादमा ठकाने भावुक हुन्थे । उदासिन्थे । 

चौपारी ठकाने, भरिया, हटारुसहित हर बटुवाका साक्षी हुन्थ्यो । र, तिनका कुरा सुनेर चौपारीको राँकुली सुसाउँथ्यो । शायद, चौपारी साक्षी बकाउनलाई रमेश विकलले चौतारी कथा नै लेखे होला । 
चौपारीमा ठकान बस्न सहज थियो । बस्न चौपारी हुन्थ्यो भने उभिएका रुखले घाममा शितल दिन्थे त पानी परे ओत । 

ठकान बस्नको लागि अर्को रोज्थे, ओडार । कारण उही थियो, पानी र घामबाट जोगिन । 

चौपारी र ओडारका साथै ठाँटी, गोठ, धरमशाला, पानी घट्ट भएको ठाउँ, पँधेरा, खोला, खुला चौर र ठूला रुख भएको ठाउँमा ठकान राख्थे । 

ठकान बस्ने छोट्टेछोट्टी, ठकान बस्ने महिला हुन्थे । पुरुष हुन्थे । युवायुवती हुन्थे, वृद्धवृद्धा हुन्थे । 

बिहे गर्न मिल्ने युवायुवती भेटघाटलाई छोट्टे÷छोट्टी बस्ने पनि भन्थे । युवतीलाई छोट्टी भन्थे भने युवालाई छोट्टे । 

छोट्टेछोट्टी ठकानमा गीत गाउँथे । गाउन नसक्नेले गला गाँस्थे । गला गाँस्न नसक्नेले ताली बजाउँथे । एकथरीले पाटेसुसेला हाल्थे । नाच्ने कला भएका नाच्थे । 
बाँकीले ? दर्शक/स्रोता पनि त चाहियो । 

ठकान थलोमै हुन्थ्यो, अनचिनारबीच चिनजान । परिचितका पछि लागेर अपरिचित छोट्टेछोट्टी पनि ठकानमा पुग्थे । चिनजानबीच मन बस्थ्यो । मन बसेपछि छोट्टेछोट्टीका लभ पथ्र्यो । प्रेम झाँगिएपछि कैयौँ जोडीले घरबार बसाउँथे । 

चिनजान, मन बस्नु, प्रेम हुनु र बिहे जस्ता जीवनका बिभिन्न तह पार गर्न पनि ठकान गतिलो ‘प्लेटफम’ थियो । 

तन्नेरीहरुले ‘फलानो दिन फलानो गाउँका छोट्टीसित ठकान राखेका छौँ, जाम बड्डा ठकान बस्न’ भन्थे । यसरी, छोट्टीका गाउँमा ठकान राख्थे । यसलाई ‘छोट्टी बस्ने’ पनि भन्थे । 
‘ठकान बस्न गएको फलानोको छोराले फलानोकी छोरीलाई लग्यो रे’ जस्ता समाचार गाउँमा हावा गतिमा सुइँसुइँ सुनिन्थे । 

गाउँका छोट्टी एउटा घरमा भेला हुन्थे । रोदी जस्तै । छोट्टी भेला भएको घरमा छोट्टे पुग्थे । अभिभावकसामु गाउँथे । नाच्थे । 

लिबाङमा पढ्ने विद्यार्थी पनि ठकान राखेर कहिले रेउघा पुग्थे कहिले फल्लेधारा, कहिले मूलपानी, कहिले गर्पा त कहिले रुन्टाबाङ । साँझ ढल्न थालेपछि मादल र मुरली धुनको तालमा ठकान बस्न गएको सूचना लिबाङ बजारसम्म पुग्थ्यो । 

माओवादीले ‘जनयुद्ध’ थालेपछि भने छोट्टेछोट्टी ठकान बस्न रोक लगायो । 
...
रोल्पा÷रुकुमतिर मन मिले महिला महिलाबीच गाँस्ने साइनो थियो, सङिनी । यसलाई सङिनी लाउने, सैना लाउने, सङिना लाउने भन्थे । सङिनीलाई पूर्वतिर मितिनी भन्थे । 
सङिनीसँग सङिनीहरु ठकान बस्थे । 

माओवादीले ‘जनयुद्ध’ थाल्नुअघि नाफेखोला जात्राको गोलीकाण्ड ‘हाँक’ उपज थियो । नाफेखोला जात्रामा इरिबाङ कांग्रेसले राङ्सी माओवादीलाई हाँक दिएको थियो । हाँक सामना गर्न मुद्दा लागेका नन्दबहादुर पुन (उपराष्ट्रपति) पनि गए । पुलिसले गोली चलायो । पुनका छिमेकी लोकबहादुर घर्तीमगर र ओहगाउँका सहिद लखन्टेका भाइ मनवहादुर पुन मारिए । नन्दवहादुर पुनको पाखुरामा गोली लाग्यो ।

ठकानमा कतिले सङिनी लाउँथे । त्यसैले ठकानले सङिनी सम्बन्ध गाँसिदिन्थ्यो । ठकानले नै गाँसेको सङिनी साइनोलाई ताजगी दिन्थ्यो ।
‘फलानो ठाउँमा ठकान राखेर फलानी र फलानीले सङिनी लगाए रे’ भन्ने समाचार सुनिन्थ्यो । 

लोग्नेमान्छेले ठकानमा मित पनि लाउँथे । मितहरु पनि ठकान राख्थे ।

मित साइनोजस्तो सङिनी समस्याग्रस्त थिएन । 

मन मिलेर लगाउने मितलाई ‘हितको मित’ भन्थे । मुद्दा मामिला नहोस्, कुटाकुट नहोस् भनेर ‘बार लगाउन’ झगडियाले लगाउने मितलाई ‘झग्रे मित’ । 

मितको दर्जामा नपुगे पनि, आफ्ना नाउँ मिले लगाउने साइनो पनि थियो, बैंसा । 

पूर्वमन्त्री लोकेन्द्र बिष्टमगर सुनाउँदैथिए, ‘हेमन्तप्रकाश ओली(सुदर्शन)का बा हर्कसिंह र मेरा बा हस्तराम । दुबैका नाउँ ‘ह’बाट सुरु हुने भएपछि एकअर्कालाई बैंसा भनेर बोलाउनु हुन्थ्यो । मितको जस्तै सम्बन्ध थियो ।’ 

‘मित’ साइनोलाई भने गाउँका फटाहा, प्रधान र नेताखाले मान्छेले ‘माल’ बनाएथे । जसरी पूँजीवादले मान्छेलाई पनि माल बनाएर बेच्दैछ । ती फटाहाले त कोसँग मित लगाउँदा भोट आउँछ, कोसँग मित लगाउँदा स्वार्थपूर्ति हुन्छ, तिनैसित मित लगाए । र, अन्तमा, ‘मितको मिसयुज’ गरे । 

‘मित’ साइनोलाई भने गाउँका फटाहा, प्रधान र नेताखाले मान्छेले ‘माल’ बनाएथे । जसरी पूँजीवादले मान्छेलाई पनि माल बनाएर बेच्दैछ । ती फटाहाले त कोसँग मित लगाउँदा भोट आउँछ, कोसँग मित लगाउँदा स्वार्थपूर्ति हुन्छ, तिनैसित मित लगाए । र, अन्तमा, ‘मितको मिसयुज’ गरे ।

बालापन सँगै बिताएका, किशोरवय सँगै काटेका, सँगै मेलापात गरेका संगी÷सहेली बिहेपछि भौगोलिकरुपमा टाढा हुन्थे । भेट साइत शायदै जुथ्र्यो । ती कोही दिदीबहिनी हुन्थे, कोही फुपूभदैनी, कोही दाजुबहिनी त कोही दिदीभाइ । ठकान राख्ने कति सम्धीसम्धिनी हुन्थे त कति पुत्नी र मितामा । 

माथि उल्लिखित ठकान आफ्ना मर्जीअनुसारका राख्न सकिने ठकान थिए । त्यसबाहेक बिभिन्न ठाउँमा जात्रा लाग्ने जात्रा पनि ठकानथलो थिए । जात्रा भने बिभिन्न तिथिमा वर्षको एकपालिमात्र लाग्थे । 

रुकुमको सुर्ताने, नाथिगार, कुनाखेत, डिग्रेका साथै रोल्पाका कालापोखरा, ओबाङ, भोनथान, ठूल्गोरी, स्यान्गोरी, धलम्पु, नाफेखोला, ठूल्चौर, राक्सेबाङ आदि कति हुन् कति जात्रा । बाह्रैमास बेफुर्सदिला गाउँले तिनै जात्रामा ठकान राख्थे । 

जात्रामा त गाउँगाउँबीच लडाइँ हुन्थे । लुकीछिपी होइन, ‘फलानो जात्रामा आउनू, लडौँला’ भनेर लडाइँको हाँक हालाहाला गरेर । 

हाँक दिने र हाँक स्वीकार्ने गाउँलेले एक हप्ताअघि नै पानीमा घंगारु, डेम्मर, कटासको लौरा भिजाउँथे । लौरा ढाडिएपछि बलियो हुन्छ भन्ने मान्यता थियो ।

माओवादीले ‘जनयुद्ध’ थाल्नुअघि नाफेखोला जात्राको गोलीकाण्ड ‘हाँक’ उपज थियो । नाफेखोला जात्रामा इरिबाङ कांग्रेसले राङ्सी माओवादीलाई हाँक दिएको थियो । हाँक सामना गर्न मुद्दा लागेका नन्दबहादुर पुन (उपराष्ट्रपति) पनि गए । पुलिसले गोली चलायो । पुनका छिमेकी लोकबहादुर घर्तीमगर र ओहगाउँका सहिद लखन्टेका भाइ मनवहादुर पुन मारिए । नन्दवहादुर पुनको पाखुरामा गोली लाग्यो ।
... 
ठकानेले आआफ्ना गाउँठाउँका चिजबिज कोसेलीको रुपमा लान्थे । ती सिजनअनुसारका फलफूल हुन्थे । जस्तोः बेलौती, सुन्तला, केरा, नास्पति । यसैगरी, महिलाले थप कोसेली पनि लान्थे । जस्तोः रक्सी, भाते जाँर, ताते रोटा, झाने रोटा र बेसार, नुन र तेल हालेको भात ।

ठकान बसेर फर्केपछि बच्चाबच्चीले हरेक घरमा ठकान कोसेली बाँड्थे । 

भँगेरा टाउकोजत्रो नै सही, प्रत्येक घरमा कोसेली पु¥याउँथे । जस्तोः एकएकवटा सुन्तला नपुगे केस्रा भए पनि पु¥याउँथे । 
कोसेली त छिमेक र टोलबासीका ‘मन राख्ने’ बाटो न थिए । 
...
गाउँमा डोजर पुग्यो । फोन पुगेपछि चिठी चट् भयो । इन्टरनेट पुग्यो । 

ठकान राखेर बस्ने न पानी घट्ट न बिसौना न ठाँटी न खुला ठाउँ । ठकान थलो थला पर्यो । 

मधेसमा पनि ठकान राखे होलान् । कर्णालीमा ठकान बसे होलान् । हिमालतिर पनि चुरेतिर पनि ठकान नबसी तिनका जीवनशैलीले गति लियो होला त ? 

भारतमा पनि ठकान बसे होलान् । थियो होला अमेरिकामा पनि ठकान संस्कृति । आदिवासी र कालाले पो ठकानलाई के नाउँ दिएका थिए कुन्नि ? के नाउँले सम्झन्थे होला, जापानमा ? 

ठकानबिना कसरी समाजमा सामाजिक सम्बन्ध जीवित रहे होलान् र ? कसरी सम्बन्धले गति पाए होलान् ? सामाजिक जिन्दगी जीवित राख्नलाई ठकान त संसारभरका मानिस नै बसे होलान् । 
नाउँ पो के दिएका थिए कुन्नि ? 

जात्रामा त गाउँगाउँबीच लडाइँ हुन्थे । लुकीछिपी होइन, ‘फलानो जात्रामा आउनू, लडौँला’ भनेर लडाइँको हाँक हालाहाला गरेर । हाँक दिने र हाँक स्वीकार्ने गाउँलेले एक हप्ताअघि नै पानीमा घंगारु, डेम्मर, कटासको लौरा भिजाउँथे । लौरा ढाडिएपछि बलियो हुन्छ भन्ने मान्यता थियो ।


...
ठकान दुईभन्दा बढी अर्थात् सामूहिक भेटघाट थियो । टाढासम्म हिँडेर जानुपर्ने भएकाले एकभन्दा बढी हुने नै भए । त्यसैगरी, ठकान कोसेली बोक्न पनि एकभन्दा बढी हुनैपथ्र्यो । 

सम्झना छ, सानो छँदा, जेईको पछि लागेर धेरैपालि ठकान बस्न गएको छु । जेईले बजेनी माइजूसँग कुख्रागर्खनेमा ठकान राख्थिन् । 

जेठी भाउजू आफ्ना दिदीहरुसँग ठकान बस्न तिर्मिरखोला जान्थिन् भने माइली भाउजू उनका दिदीबहिनी र फुपूहरुसँग ठकान बस्न रालेखोला बिसौना पुग्थिन् । 

ठकानले सम्बन्ध जोड्थ्यो । सम्बन्ध ताजा बनाउँथ्यो । ‘सम्बन्ध’ रिन्यु गथ्र्यो । 

सधैँ काममा जोतिइरहने गाउँले जनजीवनले ठकान बसेर ‘रिफ्रेस’ हुन्थे । 

के अहिले ‘सम्बन्ध’ गाँस्न जरुरी छैन ? गाँसेका सम्बन्ध रिन्यु जरुरी छैन ? जरुरी छ । उसोभए, एक्काइसौँ सदीमा ठकान रुप कस्तो हुन्छ ? यातायात र अत्याधुनिक प्रविधिको उपस्थितिमा ठकान संस्कृति कस्तो हुन्छ ? भन्नुस् त, अहिलेको ठकान अनुहार कस्तो हुन्छ ? छलफल गर्दै गरम्ला । हामीले भने ठकान राखम् । मन्थन गरम्– राजनीतिबारे, समाजबारे, हाम्रा अनुहारबारे, आफन्तका सन्चोबेसन्चोबारे, हाम्रो स्वास्थ्यबारे, हाम्रो शिक्षाबारे, हाम्रा गाउँबारे, हाम्रा शहरबारे, लोकतन्त्रबारे, सपनाबारे, हाम्रा चाहबारे, हाम्रा सपना÷बिपनाबारे, भुइँमान्छेका दुनियाँबारे, साना मान्छेका खुसी÷रहरबारे । ठकान राखम्, महिनाको १५ गते । मन माझामाझ गरम्ला ।

रुकुमेली लोकगायक शशिराम ओलीमार्फत् ठकानले उनेको गीत गेडा तपाईंलाई छाडेर महिनाको १५ गते ठकान राखम् । 

तोला राखेइ ठगानय मलाई आउने गरा
छाता ओरी मूल बाटोमा बसेई न्याउली चरा ।

 

नवीन विभास

(लेखक पत्रकार, साहित्यकार तथा शोधकर्ता हुन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय