एनआरएनए पोर्चुगल अध्यक्ष गैरेलाई पत्रकार धम्क्याउने काम बन्द गर्न महासंघको चेतावनी

dainikonline
दैनिक अनलाइन | मंसिर १३, २०७६ शुक्रबार | 0

उज्वल गजुरेल

स्पेन । ‘नेपाली पोर्चुगलको सडकमा सुत्ने’ विषयमा राससले समाचार सम्प्रेषण गरेको विषयलाई लिएर एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले मितिबिनाको वक्तव्य जारी गरेपछि युरोपका पत्रकारहरुले त्यसको खरो प्रतिकारमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले एक वक्तब्य जारी गर्दै पत्रकारलाई धम्क्याउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

युरोप शाखाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्चुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई सूचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ ।’

नेपाल पत्रकार महासंघ युरोप शाखाको विज्ञप्ति

गिरीले पोर्चुगलको नेपाली समाजबारे समाचार सम्प्रेषण गर्दा एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेले पत्रकारमाथि अनावश्यक दवाव सिर्जना गर्ने उद्देश्यले वक्तब्य जारी गरेको भन्दै पत्रकार महासंघ युरोप शाखाले कडा शब्दमा निन्दा गरेको हो । गैरेले रासस जस्तो देशकै गरिमामय सरकारी समाचार एजेन्सीले प्रेषित गरेको समाचार कपोलकल्पित मात्रै नभई झुटा भएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाट विभिन्न देश हुँदै  दलालमार्फत ल्याइएका नेपालीहरु विभिन्न कारणले घरबासविहीन हुँदा समेत उनीहरुको उद्धारमा त्यहाँका कथित मगन्ते समाजसेवी तथा एनआरएनए त्यता केन्द्रीत हुनुको साटो समाज सेवाको आडमा गरिने मानव तस्करी र पीडित नेपालीको उद्धारको आशयसहित सडकमा जीवन बिताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथि आक्रमक हुनुले झनै शंका उब्जाएको पोर्चुगलबासी नेपाली समुदाय बताउँछन् ।’ ‘मानव तस्करी र दलालहरुको मनोबल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा व्यक्तिको शंकास्पद संलग्नतालाई इंगित गर्नेतर्फ समेत सचेत हुन सबैलाई अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमार्फत अनुरोध समेत गरिएको छ ।

अध्यक्ष गैरे तिनै व्यक्ति हुन् जसले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा प्रसारित अपराधको एक समाचारमा महिलामाथि यौन हिंसा र यातना दिने व्यक्तिसँग लाइभ भिडियो कुराकानी गर्दै न्यायाधीश आफै जस्तो गरी निर्दोष भएको उल्लेख गरेका थिए । सामाजिक सञ्जालमा बारम्बार विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने गैरे सधै आफ्नो इमेल, सामाजिक सञ्जालको अकाउन्ट ह्याक भएको सूचना दिँदै उम्किने गरेको पत्रकार तथा स्थानीय बताउँछन् ।

एनआरएनए पोर्चुगलको विज्ञप्ति

यिनै गैरेले धाँधली गरी बुथ नै क्याप्चर गरेर एनआरएनए पोर्चुगल अध्यक्ष पदमा एकछापे मत खसालेर अध्यक्ष पदमा चुनिएको आरोप लाग्दै आएको छ । एउटै राजनीतिक शक्ति, पैसा र पावरको भरमा संघमा दादागिरी र रवैया जमाउँदै आएका गैरेले संघको कार्यसमितिसँग सल्लाह नै नगरी एकलौटी विज्ञप्ति निकालेकोले कार्यसमितिकै पदाधिकारीहरु रूष्ट बनेका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय