नेकपाको पक्षमा सिर्जित उपचुनावको माहोल

dainikonline
सूर्य थापा | मंसिर ११, २०७६ बुधबार | 0

कास्की– २ को प्रतिनिधिसभा सदस्यलगायत प्रदेशसभा, उपमहानगरपालिका, गाउँपालिका र वडाध्यक्षसहित जम्मा ५२ स्थानमा आगामी मंसिर १४ गते उपचुनाव हुन गइरहेको छ । यसको प्रचारप्रसारको अन्तिम चरणमा राजनीतिक दलहरु लागिरहेका छन् । २०७३/०७४ मा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा विजयी हुन सफल तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले), पछि वाम गठबन्धन र हाल नेकपाले विजय हासिल गरेका उल्लिखित स्थानहरुको उपचुनाव हुँदा जनमतमा खासै ठूलो उलटफेर हुने सम्भावना नभई अझ बढी स्थानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरु नै विजयी हुने सम्भावना अझ प्रवल रहेको देखिन्छ ।

जननेता मदन भण्डारीको दासढुंगामा षडयन्त्रमूलक हत्या भएपश्चात काठमाडौं १ मा भएको उपचुनावमा उहाँकी जीवनसंगिनी श्रीमती विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई दोस्रोपटक पराजित गर्नुभएको थियो । पहिलोपटक २०४८ मा बहालवाला र लोकप्रिय अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सोही क्षेत्रमा जननेता मदन भण्डारीले ७५१ मतको अन्तरले पराजित गर्नुभएको थियो । र, प्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले ‘नेपाल : जहाँ कार्लमाक्र्स जीवितै छन्’ शीर्षकमा उहांको दुर्लभ अन्तर्वार्ता प्रकाशित गरेको थियो ।

त्यसयताका उपचुनाव, जहाँ बहालवाला सांसद वा उम्मेदवारको असामयिक निधन, षडयन्त्र, दुर्घटना वा हत्या भएका कारणले उपचुनाव गरिएका स्थानहरुमा सबैमा परिणामले काठमाडौं १ को उपचुनावकै परिणामलाई पछ्याएको देख्नसकिन्छ । २०७० सालपछि बागलुङमा भएको उपचुनावमा चम्पा खड्काको विजय त्यही निरन्तरताको एक कडी थियो । यसरी विश्लेषण गर्दा आफूले निर्वाचित गरेको जनप्रतिनिधि कारणवश दिवंगत भई उपचुनाव हुँदा मतदातामा स्वभाविकरुपमा परिवारकै सदस्यप्रति अझ जीवन सहयात्री नै उम्मेदवार हुँदा शतप्रतिशत नै उहाँहरुप्रति स्वाभाविक माया, स्नेह, सद्भाव, सहयोग र सहानुभूतिको स्थिति निर्वाचन परिणाममा देखिने गरेको छ । तीर्था गौतम, कमला शर्मा, नज्मा खातुन, चम्पा खड्काआदिको विजयले विगतमा यो स्थिति प्रष्ट गरिसकेको छ । हाल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलोपटकको विजयदेखि यसपालिको उपचुनावमा विकसित भएको माहोलमा यसखालको समानता स्पस्टतः रहेको पाइन्छ ।

विद्या र विमलाको माहोल
कास्की क्षेत्र नम्बर २ मा उपचुनाव हुने स्थिति नहुँदो हो त विद्या भट्टराई त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक कार्यमा सक्रिय रहिइरहेको अवस्था हुन्थ्यो । समाजशास्त्रमा  दर्शनाचार्य (एमफील) गरेर उहाँ विद्यावारिधि उपाधि हासिल गर्न निरन्तर अध्ययन अनुसन्धान कार्यमा सक्रिय रहिआउनुभएको थियो । विद्यार्थी राजनीतिको आधारभूत तहबाट केन्द्रीय तहमा पदाधिकारीसमेत भई उहाँ नेपाली राजनीतिमा परिचित र स्थापित बनिसक्नुभएको थियो । 

विवाहपछि आफ्ना जीवन सहयात्री रविन्द्र अधिकारीलाई राजनीतिमा सम्पूर्ण क्षमताका साथ क्रियाशील हुने पारिवारिक परिवेश र सहयोगको सहज वातावरण बनाउन उहाँ विश्वविद्यालयमा पढाउन र घरव्यवहार सम्हाल्न थाल्नुभयो । समकालीन र कार्यकर्ताहरुसमेत निरन्तरताकै कारण विभिन्न राजकीय, संसदीय र नेतृत्वदायी राजनीतिक जिम्मेवारीमा रहेको स्थितिमा उहाँको स्थान आफ्नै योग्यता, क्षमता र सक्रियताले निश्चित भई नै सक्थ्यो । तर उहाँ केही पछाडि ओझेलमा परेर परिवार सम्हाल्न एवम् अध्ययन अध्यापनमा जुट्नुभयो । फलस्वरुप २०६४, २०७० र २०७४ का तीनवटा निर्वाचनमा रविन्द्र अधिकारी काश्कीको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भई ह्याट्रिक कीर्तिमान कायम गर्नुभयो । र, २०७४ फागुन ३ गते गठित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुभयो । आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उहाँको अकल्पनीय र असामयिक निधन भयो । त्यसकारण रिक्त स्थानमा पार्टीले उहाँकै जीवन संगिनी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि बढायो । अनि विश्वविद्यालय सेवा      (उपप्रध्यापक) बाट राजीनामा दिएर आफ्ना पति रविन्द्र अधिकारीका अपूरा सपना, काम र लक्ष्य पूरा गर्न तथा पार्टीको बर्चश्वलाई निरन्तर कायम राख्न उहाँ चुनावी मैदानमा उत्रिनुभएको तथ्य स्पष्ट छ । खासमा विरासत, सहानुभूति र सद्भावसँगै उहाँ एक योग्य, सुपठित, सुसंस्कारयुक्त र उदीयमान नेतृका रुपमा चुनावमा प्रतिस्पर्धा गर्दै विजयोन्मुख हुनुहुन्छ । 

दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभामा उम्मेदवार रहनुभएकी विमला वली दिवंगत प्रदेशसभा ५का सदस्य उत्तरकुमार वलीकी जीवन संगिनी हुनुहुन्छ । सामान्य गृहणीका रुपमा घरव्यवहार सम्हाल्दै आएकी विमलाले उम्मेदवार भएपछि आफूलाई विकासवान् र प्रतिभाशाली नेतृका रुपमा प्रतिस्पर्धामा अगाडि बढाइसकेको देखिन्छ । र, चुनावी माहोलले उहाँको विजय कास्कीमा विद्या भट्टराईको जत्तिकै सुनिश्चित भइसकेको चर्चा हुन थालेको छ ।

प्रतिस्पर्धीहरु अत्तालिइसके !
उपचुनावमा मूलतः कास्की र दाङका संघीय तथा प्रादेशिक निर्वाचन र धरान उपमहानगरपालिकाको निर्वाचनमा प्रकट जनमत र उर्लिएको लहरले अरु क्षेत्र र चुनाव भइरहेका र नभइरहेका स्थान समेत प्रभावित हुने क्रम बढेको छ । भक्तपुर र पश्चिम बागलुङका प्रदेशसभाहरुमा नेकपाकै उम्मेदवार र वामगठबन्धनकै विजय सुनिश्चित भइरहेको छ ।

पोखरा पुगेर प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा दिएको विवादित अभिव्यक्तिप्रति देश विदेशबाट उहाँको चर्को आलोचना, विरोध र भत्र्सना नै भयो । खासमा उपचुनावलाई लक्षित गरी उहाँले ‘प्रधानमन्त्री केपी ओलीकै सल्लाह र सहमतिमा भारतले कालापानी क्षेत्र आफ्नो सीमाभित्र पारेर नक्सा सार्वजनिक गरेको’ भन्ने तथ्यहीन अभिव्यक्ति दिएको कारणबाट उहाँ स्वयम् नै कति अत्तालिनु भएको छ ? स्पष्ट हुनपुग्यो । अझ ‘२१ महिनामा सरकारका २१ असफलता’ भनी नेपाली कांग्रेसले सार्वजनिक गरेका बुँदाहरु आकाशतिर फर्केर थुक्दा आफ्नै अनुहारमा परेजस्तै हुनपुगे । चाहे नेपाली कांग्रेस होस् वा विवेकशील, साझा र समाजवादी पार्टी– सबैले निशाना सत्तारुढ नेकपालाई बनाउन खोजे पनि जनतामा नेकपाको लहर सिर्जना भएको छ । विपक्षीहरुले उपचुनावको सिलसिलामा हुँदा थाप्न खोजिएको जालमा पर्नबाट मतदाताहरु स्पष्ट र सचेत देखिन्छन् । र, प्रतिस्पर्धीहरु अन्ततः नेकपाका उम्मेदवारहरुको पक्षमा उर्लिएको लहर देखेर अत्तालिइसकेका छन् । अझ कालापानीको अस्त्रले ‘व्याकफायर’ भइसकेको अवस्थाले नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा अत्यन्त रक्षात्मक हुन पुगेको छ । किनभने सभापति देउवाको मन्तव्य सत्तारुढ नेता, कार्यकर्ता, बुद्धिजीवी र कास्कीका मतदाताहरुलाई भन्दा बढी नेपाली काँग्रेस र कोइराला परिवारका एक हस्ती डा. शेखर कोइरालालाई बढी आश्चर्यजनक लागेको अवस्था उहाँ स्वयम्ले सार्वजनिक गर्नुभएको छ । राष्ट्रियताको विषयलाई यस्तो असंवेदनशील एवं हल्का टिप्पणी गर्न खोज्नु गलत र अनुत्तरदायी कार्य हो ।

जनमतको अति सामान्य मापन
यो उपचुनावलाई ससाना पार्टीले मिनी जनमत संग्रहको रुपमा चर्चा गर्न खोजे पनि यथार्थमा यसले ‘खड्कुलोमा पाकिरहेको भातको सिता’ जस्तै स्थानमात्र राख्दछ । यो विगत दुई वर्षमा सरकारले गरेका काम र हासिल गरेका उपलब्धिहरुको परीक्षण गर्ने हैसियतको जनमत पनि होइन । बरु यसले संघीय, प्रदेश र स्थानीय निर्वाचनपछि जनताको मनोवल र आकर्षणलाई आजको परिवेशमा सामान्यरुपमा मापन गर्ने काम निश्चय नै गर्छ । यसबाट जनमतको सामान्य मापनसम्म हुनसक्छ । यसबाट जनताको आकांक्षा छाम्न र बुझ्न पनि सहयोग र संभव हुन्छ । 

यसमा हुने जनमतको निर्णय वा हारजितले विद्यमान सत्ता संरचना र पक्ष प्रतिपक्षको हैसियतमा कुनै हेरफेर हुँदैन । केवल कारणवश रिक्त स्थानहरुको परिपूर्तिमात्रै हुन्छ । र, पाँच वर्षसम्मका लागि आफूले विजयी बनाएका प्रतिनिधिहरुको हठात् रिक्तता र अभावलाई नयाँढंगले प्रतिनिधित्व, निरन्तरता र प्रतिस्थापन गरेर नयाँ जनप्रतिनिधि निर्वाचित गर्छ । रविन्द्र अधिकारी, उत्तरकुमार ओली, हरिशरण लामिछाने, टेकबहादुर घर्ती र तारा सुब्बालगायतको स्थानमा उहाँहरुको भावना, मर्म र निष्ठाको निरन्तरतालाई नवीकृत गरी नेकपाका उम्मेदवारहरुलाई नै पुनः निर्वाचित गर्छ भन्ने स्पस्ट छ । उपचुनावलाई यही विशिष्ट स्थितिमा बुझेर परिणामको प्रतीक्षामा व्यग्र रहनु उचित एवम् बुद्धिमानी हुन्छ ।
 

सूर्य थापा

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र प्रचार तथा प्रकाशन विभागका उपप्रमुख हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय