सभापति देउवादेखि महामन्त्री कोइरालासम्म दर्जन केन्द्रीय नेता दाङमा, के परिणाम हात लाग्ला ?

dainikonline
दैनिक अनलाइन | मंसिर ८, २०७६ आइतबार | 0

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङमा केन्द्रित भएका छन् । दाङ क्षेत्र नं. ३ (ख) को चुनावी परिणाम आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइरालालगायत एक दर्जन बढी कांग्रेसका केन्द्रीय सदस्यहरुले दाङमै डेरा जमाएका छन् ।

यसैगरी पार्टी प्रवक्ता विश्वप्रकाश शर्मादेखि डा. रामशरण महतसम्मका केन्द्रीय नेताहरु पनि उक्त निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

कांग्रेसका शीर्ष नेताहरुको यो आगमनले उनीहरुको ध्यान विशेषरुपमा दाङ ३ (ख)मा केन्द्रित भएको देखिएको छ । निर्वाचन आउन केही दिनमात्रै बाँकी रहँदा दाङमा राष्ट्रियस्तरका शीर्ष नेता तथा कार्यर्ताहरुको घुइँचो लागेको हो । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिँदै गर्दा गाउँगाउँमा चुनावी माहोल बढ्न थालेको छ । दाङ क्षेत्र नं. ३ (ख) मा हुन गइरहेको निर्वाचनमा आ–आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याइनभ्याई भएको छ भने विभिन्न १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा भिडेका छन् ।

चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुले दाङलाई प्रदेशको राजधानी बनाउनेदेखि पश्चिम दाङको विकासलाई चुनावी नारा बनाएका छन् । त्यसअक्रममा आइतबार साँझ मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइरालालगायत एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरु दाङ पुगेको जिल्ला सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।

गत निर्वाचनमा कसको भागमा कति थियो मत ?
गत निर्वाचनमा विजयी तत्कालीन एमालेका उम्मेदवार उत्तरकुमार वलीले २३ हजार ९ सय ७० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत ल्याएका थिए । उक्त निर्वाचनमा ६५ हजार ८ सय २ मतदाता रहेकोमा ४४ हजार ६ सय ५१ मत खसेको थियो । जसमध्ये ४२ हजार ६ सय ४९ मत सदर भएको थियो । उक्त निर्वाचनमा २ हजार २ मत बदर भएको थियो । 

यसैगरी नेकपा मालेका टोपबहादुर डाँगीले ९१० मत प्राप्त गरेका थिए भने नयाँ शक्ति पार्टी नेपालका रुद्रबहादुर केसीले ८२ मतमात्र प्राप्त गरेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले पनि ८२ मत मात्रै प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय जनमोर्चाका देवबहादुर कामीले ५२ र स्वतन्त्र लीलाधर खड्काले १८ मत प्राप्त गरेका थिए ।

कांग्रेसको आशा
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दाङ ३ (ख)मा नेपाली कांग्रेसले १७ हजार ५ सय ३५ मत प्राप्त गरेर दोस्रो बनेको थियो । यसपटक कांग्रेसले आफ्ना पुराना, अनुभवी र स्थानीय नेता केशवराज आचार्यलाई उम्मेदवार बनाएको छ । स्व. खुमबहादुर खड्कापक्षीय नेता मानिने आचार्यको उम्मेदवारी र पार्टी एकढिक्का भएकाले परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने आशा कांग्रेसलाई हुनसक्छ । त्यही मेसोमा कांग्रेसका शीर्ष नेताहरु दाङमा केन्द्रित भएको बुझाई रहेको छ । यद्यपि, परिणाम आफ्नो पक्षमा पारिहाल्न चाहिँ त्यति सजिलो भने देखिँदैन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय