हामीलाई भोट नदिनेलाई पनि पछुतो लाग्नेगरी काम गर्छौं : मुख्यमन्त्री पोख्रेल

dainikonline
दैनिक अनलाइन | मंसिर ५, २०७६ बिहिबार | 0

रुकुम । मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा बोल्दै उहाँले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्नसक्ने बताउनुभयो । नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेको उहाँले बताउनुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै नभएर जनआकांक्षा पूरा गर्ने मिशनका साथ एकता भएको स्पष्ट पार्नुभयो ।

‘‘तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेपछि विरोधीहरुले कार्यान्वयन हुन्न भने, हामीले कार्यान्वयन ग¥यौ, पार्टी एकता हुन्न भने, हामीले पार्टी एकता गरेर देखायौं, सरकारले केही काम गरेन भन्ने भ्रम फैलाइएको छ, यो सरकारले जनताको जीवनमा परिवर्तन हुनेगरी काम गरेर देखाउँदैछ’’ उहाँले भन्नुभयो । विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि 
काम गर्दोरहेछ भनेर देखाउने बताउनुभयो । ‘‘मत नदिएका व्यक्तिलाई पनि मत नदिएकोमा पछुतो लाग्ने गरी काम गरेर देखाउँछौं’’, उहाँले भन्नुभयो ।

उहाँले जनताले तिरेको करबाट विनियोजन भएको विकास बजेटमा कसैले लोभ गर्न नहुने बताउनुभयो । ‘‘विकास बजेटमा जनप्रतिनिधि, कर्मचारी कसैले पनि लोभ नगरौं, लोभलालच भएको छ छैन ? अनुगमन गरौं’’, उहाँले भन्नुभयो, ‘‘मैले जिल्लास्तरमा हुने विकास निर्माणका काम प्रभावकारी भए नभएको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई भनेको छु, तपाईहरु पनि अनुगमन गरी खबरदारी गर्नुस् ।’’

सदरमुकाम विवादमा नफसौं
उहाँले रुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यो झगडा जनताको नभई नेताको भएको बताउनुभयो ।
‘‘अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ, । अदालतले जे फैसला गर्छ, त्यसलाई स्वीकार गरौं । सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ । अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाँको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ । तपाईहरु ढुक्क हुनुस्’’ उहाँले भन्नुभयो । उहाँले पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्ननपर्ने बताउनुभयो ।

अर्गानिक जिल्ला बनाउन आग्रह
मुख्यमन्त्री पोखरेलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । अर्गानिक उत्पादनलाई जोड दिएर अघि बढ्दा रुकुमले धेरै फाइदा लिने उहाँले बताउनुभयो । अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सुविधासम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन 
मुख्यमन्त्रीले रुकुमकोट जिल्ला अस्पतालको उदघाटन गर्दै अस्पताल बिरामीको विश्वास जित्ने हुनुपर्ने बताउनुभयो । अस्पताल राम्रो भयो भने मात्रै उपचार गर्न आउनेको संख्या बढ्ने भएकाले सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले जिल्ला अस्पतालमा हुनुपर्ने न्युनतम सुविधा र पूर्वाधारको गुरुयोजना बनाउन निर्देशन दिनुभयो । ‘‘पैसाको समस्या छैन । प्रदेश सरकारले पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्छ । त्यसबाट नागरिकले राम्रो सेवा पाउनुपर्छ’’ उहाँले भन्नुभयो । उहाँले अस्पतालले बिरामी भएपछि उपचार गर्ने मात्रै नभई बिरामी हुन नदिने गरी जनचेतना कार्यक्रम सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय