जीवन शर्मा भन्छन्, प्रधानमन्त्रीको बोली व्यवहारमा देखाउनुपर्छ

dainikonline
नारायण शर्मा | मंसिर ५, २०७६ बिहिबार | 0

जनवादी गायक जीवन शर्माको बारेमा परिचय दिइरहनु नपर्ला । दशकौंदेखि नेपाली प्रगतिशील गीतसंगीतको क्षेत्रमा क्रियाशील जीवन शर्मा राष्ट्रियता, मातृभूमिको रक्षा तथा विदेशी हस्तक्षेपका विरुद्ध उठ्ने आन्दोलनका आवाज हुन् । पछिल्लो समय राष्ट्रियताको पक्षमा देखिएको अभूतपूर्व एकताले उनको मन प्रफुल्ल बनेको छ र यही मौकामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताको पक्षमा बोलेका कुराहरुलाई कुटनीतिकरुपमा व्यवहारमा उतार्नुपर्ने बताउँछन् । यहाँ प्रस्तुत छ, उनै जनगायक जीवन शर्मासँग नारायण शर्माले गरेको कुराकानी :

नेपाल आमाले आफ्नो अस्तित्व रक्षाका लागि गुहार मागिरहेको यो बेला प्रगतिशील साँस्कृतिक आन्दोलनको एक धरोहर मानिनु हुने तपाईं जनगायक जीवन शर्मा कहाँ के गर्दै हुनुहुन्छ ? 

म अहिले पनि निरन्तर जनताको घर आँगनी र दैलोमा पुगिरहेको छु । जनताकै बीचमा गएर कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालका हुन्, त्यसलाई जोगाउन जनता अघि बढ्नुपर्छ भन्ने आशयका गीत संगीतहरु प्रस्तुत गरिएको छ । कोहलपुर र सुर्खेतको डाडाँगाउँमा हजारौ जनताका बीचमा कार्यक्रम गरियो । सुर्खेतकै वीरेन्द्रनगरमा थियो अर्को कार्यक्रम । अब कैलालीको धनगढीतर्फ लागिँदै छ । यसरी अहिले पनि हामी जनताका बीचमा चेतना जगाउँदै, उनीहरुलाई देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताप्रति सचेत र जागरुक बनाउँदै हिँडिरहेका छौं जनसंगीतको माध्यमबाट । 

अहिले देशको यो चहराइरहेको घाउलाई निको पार्न अभिप्रेरित गर्ने खालका के छन् तपाईसँग त्यस्ता सांगीतिक मलमहरु ? 
हामीसँग पहिलेदेखि नै त्यस्ता सांगीतिक खजनाहरु छन् । जस्तो ‘छोड छोड विस्तारवाद’ बोलको गीत छ । जसमा हामीले प्रष्टरुपमा आव्हान गरेका छौं– छोड छोड विस्तारवाद नेपाल भूमि छोड, भारतीय सेनाहरु कालापानी छोड । अहिले यही गीतलाई अझ विस्तार गर्दै हामीले गाउँदै हिँडेका छौं– भारतीय सेनाहरु लिम्पियाधुरा छोड, कुटियाङ्दी छोड, लिपुलेक छोड । 

देशको राष्ट्रिय एकताको पक्षमा, टुक्राटुक्रा पारेर देशको अस्तित्व समाप्त पार्न चाहने शक्तिहरुलाई खबरदारी गर्दै लेखिएका यस्ता अरु पनि कैयौं गीतहरु छन् । ‘मधेशी पहाडी हिमालका हिमाली’, ‘एक मुठ्ठी साहस छ भने आज यो वीर जातिमा ः विदेशी बुट टेक्न नदेऊ नेपाली छातीमा’, ‘तलमा प¥यो बेशीको फाँट माथि प¥यो कैलाश ः यतिमा राम्रो मिलेको देश टुक्रिन्छ कि झै लाछ’ यस्तै गीतहरु गाउँदै हिडिएको छ अहिले । पहिलेदेखि नै हाम्रो देश पूरै टुक्राटुक्रा पारेर खान खोजेको थियो । अहिले देशको एउटा कुनाबाट हाम्रो भूमि खान शुरु गरेको छ । भारतीय विस्तारवादको यो लुटाहा प्रवृत्तिका विरुद्धमा जनतालाई सचेत बनाउने, जगाउने र आन्दोलनमा लामबद्ध गराउन अभिप्रेरित गर्ने खालका अरु पनि कैयौं गीतहरु निर्माण गरिएको छ । अहिले तिनै गीत गाउँदै हिडिएको छ । यही विषयमा केन्द्रित रहेर नयाँ गीतहरु पनि बन्दैछन् । 

आफ्नो मातृभूमिको छातीमा सामाज्यवादी भारतका विस्तारवादी खुनी नंग्राहरु गाडिएको यो बेलामा कलाकर्मीहरुको दायित्व के हुनुपर्छ भन्ने लाग्छ यहाँलाई ? 

कलाकर्मीहरु यसै पनि संवेदनशील हुने गर्छन् । यो एक प्रकारले राष्ट्रिय संकटको बेला हो । यस्तो बेला हरेक क्षेत्र र विधाका कलाकारहरुले आफ्नो सिर्जनामार्फत राष्ट्रिय एकताका पक्षमा उभिनुपर्छ । अहिले धेरै कलाकारहरुले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपका विरुद्धमा रातारात नयाँ गीतहरु ल्याउनु भएको छ । यसरी चेतनामूलक गीतहरु आउनु राम्रो कुरा हो । यसलाई हामीले सकारात्मक रुपमा नै लिनु पर्दछ । ती गीतहरुले राष्ट्रियताको रक्षाका लागि चलेको आन्दोलनलाई मद्दत पु¥याएका छन् । तर यस प्रकारका चेतनामूलक गीतहरुले अहिले मात्र होइन अरु बेलामा पनि लेखिनु पर्छ । अहिले सबै विधाका कलाकार र साँस्कृतिककर्मीहरु एकजुट हुनुपर्ने बेला आएको छ । आफ्नो मातृभूमिको रक्षा गर्न जनतालाई अभिप्रेरित गर्ने खालका सिर्जनाहरु यस्तो बेला अझ बढी आउनु पर्छ । सिर्जना गर्ने मात्र होइन साँस्कृतिककर्मी एवं कलाकारहरु जनताकै बीचमा गएर नेपाली भूमिको रक्षाको संघर्षमा पंक्तिबद्ध हुनुपर्ने बेला हो यो ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता, पशुपतिनगर लगायतका स्थानमा लुटिएको हाम्रो भूमि फिर्ता लिन अब कुन मार्गबाट हामी कसरी अघि बढ्नुपर्छ भन्ने लाग्छ यहाँलाई ? 

जनस्तरबाट सशक्त आन्दोलनको निर्माण गर्ने र सरकारी तवरबाट परिपक्व कुटनीतिक पहल गर्ने, यी दुबै कामलाई हामीले साथसाथै अगाडि बढाउनु पर्दछ । यो अब अन्तर्राष्ट्रिय मामिला भइसकेको छ । कालापानीमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा चीन समेत बोलिसकेको हामीले सुनेका छौं । छिमेकी देशको साँध सिमाना मिचेर बिस्तारै–बिस्तारै आफ्नो देश फैलाउने भारतको यो विस्तारवादी नीति र प्रवृत्तिबाट भुटान, बंगलादेश, पाकिस्तान सबै छिमेकी देशहरु प्रताडित छन् । अब हामी अन्तर्राष्ट्रिय समुदायसम्म पनि पुग्नु पर्दछ । अन्तर्राष्ट्रिय अदालतसम्म यो विषय पु¥याउनु पर्दछ । जनस्तरबाट खबरदारीपूर्ण दबाबमूलक आन्दोलन निरन्तर अगाडि बढाउनु पर्दछ भने सरकारले बोल्ने मात्र होइन, आन्तरिक कुटनीतिक पहल तुरुन्त अगाडि बढाउनु पर्दछ । 

प्रधानमन्त्री बोल्नुभयो त यस विषयमा– हामी आफ्नो भूमि फिर्ता ल्याउँछौ, कालापानीबाट भारतीय सेना फिर्ता गराउँछौं भनेर । प्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाईलाई कुन रुपमा लिनु भएको छ ? 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई हामीले सकारात्मक रुपमा लिनु पर्दछ । कालापानीबाट भारतीय सेनाहरु हटाउँछौ, लुटिएको नेपाली भूमि फिर्ता गराउँछौ भनेर प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनु भएको छ, यो धेरै राम्रो बोल्नु भएको छ । अब उहाँले उक्त बोलीलाई व्यवहारमा उतारेर देखाउनु पर्दछ । राजनीतिक स्तरबाट नै तुरुन्त कुटनीतिक पहल अगाडि बढाएर, आवश्यक परे अन्तर्राष्ट्रिय समुदायसम्म पुगेर पनि आफ्नो उक्त अभिव्यक्ति अनुरुपको ठोस काम गरेर देखाउनु पर्छ प्रधानमन्त्रीले अब । 

सरकार र राजनीतिक दलहरुलाई यो समस्या समाधानार्थ के छन् तपाईंका ठोस सुझावहरु ? 

यो हामी सबैका लागि खुशीको विषय हो कि भारतीय अतिक्रमण र हस्तक्षेपका विरुद्धमा अहिले नेपालका राजनीतिक दलहरुमा अभूतपूर्व एकता देखिएको छ । विद्रोही नेकपादेखि सत्तासीन नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससम्मका सबै दलहरु भारतको विस्तारवादी नीतिका विरुद्धमा एकजुट देखिएका छन् । सरकार पनि राष्ट्रिय एकताको पक्षमा केही दृढ देखिएको छ । यो प्रकारको राष्ट्रिय एकताको भाव हुनु राम्रो हो । दलगत स्वार्थ, सत्ता स्वार्थका कारण यो एकतामा अब खलबल आउन दिनु हुँदैन । सरकार र सबै राजनीतिक दलहरु यसैगरी एकताबद्ध भएर अगाडि बढियो भने मात्र यो समस्याको हामीले सही प्रकारले समाधान गर्न सक्नेछौ । अन्तर्राष्ट्रिय समुदायले पनि अनि मात्र हामी माथि विश्वास गर्न सक्नेछ । त्यसैले सरकार र सबै राजनैतिक दलहरुलाई मेरो यही आग्रह छ, राष्ट्रिय एकताको यो भावलाई निरन्तरता दिइयोस् । 

देशको माटो जोगाउन आवाज बुलन्द गरिरहेका देशभक्त नेपालीहरुलाई तपाईंका त्यस्ता विशेष सल्लाह र सुझावहरु केही छन् कि ? 

अहिले देशमा जनस्तरबाट राष्ट्रिय एकताको पक्षमा जुन आवाज मुखरित भइरहेको छ, यो निकै नै सकारात्मक छ । आफ्नो मातृभूमिको रक्षाका लागि जनस्तरबाट जुन आवाज उठिरहेको छ, यसलाई अझ उचाइँमा पु¥याउनु पर्दछ । राष्ट्रियता रक्षाको यो आन्दोलनलाई अब एक महाआन्दोलनका रुपमा विकसित गरेर लैजानु पर्दछ  । अहिले विभिन्न पार्टी, संगठनहरुले छुट्टाछुट्टै आफ्नै प्रकारले आन्दोलन अघि बढाइरहेका छन् तर ती सबै आन्दोलनहरुमा एकै प्रकारका माग र आवाज उठिरहेको हामीले देखेका छौ । जब हामी एउटै उद्देश्यका लागि संघर्षरत छौं भने छुट्टाछुट्टै आन्दोलन किन ? यो मातृभूमिको रक्षाको सवाल हो, अब हामी आ–आफ्नो पार्टी संगठनका झण्डाहरुलाई एकातर्फ राखेर राष्ट्रिय झण्डालाई समाएर राष्ट्रिय एकताको एकीकृत आन्दोलनको दिशामा अगाडि बढ्नु पर्दछ । जनताको त्यो एकीकृत शक्तिलाई साथमा लिएर सरकार पनि अगाडि बढ्नु पर्दछ । त्यसरी अघि बढियो भने मात्र हामीले कालापानीबाट भारतीय सेना हटाउन सक्नेछौ । लुटिएको नेपाली भूमि फिर्ता गर्न सक्नेछौ । सबै नेपाली एक भएर अघि बढे मात्र हामीले यो देश जोगाउन सक्नेछौं ।
 

नारायण शर्मा

(शर्मा हाँक साप्ताहिकका सम्पादक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय