बाहिरिन थालेका सिंहदरवारिया एक मन्त्री मित्रको बकपत्र !

dainikonline
नरेन्द्रजंग पिटर | मंसिर ४, २०७६ बुधबार | 0

(सिहदरवार आफैमा पूर्णसत्ता नभए पनि नेपाली सत्तासंस्कृतिको केन्द्र भने हो । त्यहाँ पस्ने, बस्ने र निक्लिनेहरुका आफ्नै कथाव्यथा हुन्छन् । शक्तिको केन्द्रमा हुँदा आदर्श र सिद्धान्त ख्याल नगर्नेहरु बाहिरिने बित्तिकै भने रन्थनाउँछन् । सत्ताले केहीलाई मात्र विचलित गरेन । 

आज केहीको मन्त्री श्रीपेच उतारिनेछ अनि उनी विशेषबाट समान्य मान्छे दरिनेछन् । यो कथा आज बाहिरिन थालेका सिंहदरवारिया एक मित्रले सुटुक्क सुनाएको सपनाको कुरा हो । उनी अयोग्य बनेर योग्यहरुको भीडबाट बाहिरिन थालेका भूतपूर्व आर्दशवादी हुन् । आप्mना सत्तासिँढी यात्रामा उनले पनि आदर्शको ठूलो लडाइँ लडेका थिए । मारिएका भए, शहीदमा उनको नाम सिरानकोटीमै लेखिन्थ्यो । जिउँदा ‘महान’ र ‘गौरवशालीहरु’ले उनका नाममा पनि १ मिनेट मौनधारण गर्थे । इतिहास निर्माता भनेर ‘आदर्शवादीहरु’ले महानताका कबिता लेख्थे । उनको पनि एउटा ट्रष्ट बनेर चौराहामा शालिक खडा हुनसक्थ्यो र परिवारले पनि शहीदखेती गर्दै सेतो सारी लगाएर सत्ता सिँढी चढथे । सत्ताको हक जाहेर गर्थे ।) 

हिजो यो ठूलो मान्छेले एउटा भयङ्करको सपनी देख्यो । इच्छााशक्तिका लागि सपना पनि  देख्न सक्नुपर्छ,  तर सपनालाई ब्यबहारमा फेर्न पनि त सक्नुपर्छ । मान्छे नत्र बौलाउँछ । सेन्सरहीन मान्छेलाई अरुले बौलाहा भन्छन् । कि कसो ! केही न केही डिप्रेस त मान्छेको जात हुन्छन् अरे । दिउँसै सपना देख्नु भन्या अलच्छिन लाग्नु हो । उठ्दा साँच्चैको हो कि सपनीमा भनेर ठम्याउन गाह्रो भो । समय पत्तो भएन । किन आज दिमागले काम गर्दैन हँ ? पक्कै पनि यो बिजुलीपानीको करामत हैन  ! ७ महिनादेखि ‘नत्रभने’ भनेका प्रधानमन्त्रीले हिजो ढुक्कसाथ भनेपछि मनमा ढ्याङ्ग्रो बजेर तन्काइदिएको हुँ । नधोकेको पनि लामै दिन भएको थियो । अड्कलै काट्न सकिन । मेरो चिच्याहटले छेवै कोठाको रामु आइपुग्यो । ठूलै मान्छेको सङ्गै बस्दा उसको पनि टोला मोहल्लामा कम भाउ छैन । हिजोसम्म वास्ता नगर्नेहरुले पनि अब उसलाई नमस्ते गर्न लागेको सुनाउँछ । कतिका कामको सिफारिस पनि गर्ने र सिंहदरवारभित्र आउनेजाने पनि भइसकेको छ ऊ । ऊ पनि मेरो साख्खै नजिकैको हो । मलाई पट्याउन उसको खुशामद गर्नुपर्छ भनेर धेरैले भन्न लागेका मात्रै हैनन् खुशामदै गर्न पनि थालेका छन् । त्यसैले पनि मेरो सेवा सुश्रुषा गर्दा ऊ आफूलाई भाग्यमानी सम्झन्छ । एकाएकको मेरो चिच्याहटले आतङ्कित हुँदै भन्यो, ‘‘हेैन हो..... सरज्यू , .....के भो हँ ?’’ चारैतर्फ हेरेँ । सपनी हो कि विपनी ? पत्ता नलगाई हुँदैनथ्यो । उसका सामने मुर्ख हुन चाहन्नथेँ म । दिउँसै बर्बराउन थालेको मैले भयङ्कंरको सपना देखेको रहेछु । क्वाँ क्वाँ रुवाइदिने सपना !

‘‘बिहानैदेखि बज्ने टेलिफोनका घण्टी बजेका थिएनन् । अर्जी, बिन्ती र खुशामद लिएर आउनेको भीड पनि छैन । फोन बिग्रिएको, लाइन काटिएको वा टावर नभएको हो कि भनेर जाँचें । सबै ठिक छ । तब मैले पक्का सोचेँ, मेरो करार सकिएछ बाबै । अब म फुटपाथको मान्छे बन्ने भएँ । अबको जागिर रोड इन्स्पेक्टरको हुनेछ । हल्लने छु ।  अहो !..... मेरो लचकदार कालोे कार, अर्कैको भए पनि बसेको बङ्गंला, आसेपासे र भरौटेहरु, घुम्ने कुर्सी, सही गर्ने फाइलहरु, देख्नेबित्तिकै जिउ मर्काउने भट्टी साहुनी । सबैले के अब मलाई खोजेका त होलान ? मेरो के खाँचो होला र ? अब भने गाईजात्रै भयो । दरवारभित्र करार सकिएको मान्छे । रस चुसिएर फयाँकिएको उखुको खोष्टो न हो । सबै सत्यानाश भो बा....।’’ 

सानाको पिर सानै ठूलाको पिर ठूलै । सपना पनि ठूलै । आपत र बिपत पनि ठूलै । अझ सानुबाट चिट्ठै परेर अकस्मात पुर्पुरो ठूलो भएको भुण्टेको त कुरै छोडिदिउँ । टाउको रिङायोे । मुख च्यापच्याप्ती सुक्यो । भाउन्न भयो । तीन त्रिलोक चौध भुवन देखिए । तारा गन्न थालियो । दिउँसै रहेछ । क्रमशःः शान्त हुदै गएँ । रामुले चिसोपानी ल्याइदियो । २ गिलास घटघट पिइदिएँ । तात्तातोे कफी ल्यायो । त्यो पनि खाएपछि सुर फेरियो । बेकारको सपनाले पो लखेटेको रै’छ हो ..। लामो सुस्केरा काढेँ । कम्युनिष्ट हुँ । धर्मकर्म त मान्दिन । मेरा उतारचढावका अनुहार रामुले पढेछ । ..‘‘सरज्यू, बिरामी हुनुभएछ झैँ लाग्यो नि ! आराम गरिबक्स्योस ।’’ अब म फेरि सुत्न चाहन्न । सुत्दिनँ । फेरि सपना आइदियो भने...। बरु विपनादेखि डराउन्न, सपना भनेपछि अब कुथ्थुर । यस्तै सपनाले धेरै मेरो सङ्गीहरु सकिएका छन् । बाब्बा रे ! म अब सपना देख्दिन ।

अबको यो पंक्ति भने पत्तै नपाई करार सकिएको अघिल्लो दिनको कुरा हो । सररर मेरो कार हुइँकिदै सिंहदरबारभित्र पस्यो । गेटमा धेरै चिनेजानेका थिए । केही परिचित अनुहारहरु पनि दरबारको अग्लो पर्खालमुनि बसेर आशाका सपना बुनिराखेका देखिए । कहिले १ बज्ला र आफ्ना भाग्यविधातासङ्ग दुःखेसो साटेर सुखसन्तोषको कुम्लो बोक्दै घर फर्कौंला भन्ने जोहोमा लागेका ती दुःखी र कर्महारा मनुवाहरुमध्ये अझ कसै कसैलाई त  टाढैबाट ठम्याएँ । किन, कसरी र कुन परिस्थितिमा चिनेजानेका हौ र अहिले किन तर्कन चाहेका छौ भनेर कसैले मलाई सोध्छ भने ज्यान गएपनि भन्दै भन्दिनँ । किनकि म अहिले ठूलो मान्छे भएको छु । मेरो चालढाल, गति र मति बुझे भइहाल्यो नि ! केको खस् खस् हँ !  

उनीहरुका अनुहारमा जे–जे झल्किन्छन् । म रामै्रसँग पढ्न सक्छु । कालो सिसाको गाडीमा मलाई कसैले देख्दैनन् । म भने सबै कुरा देख्छु । आज पनि गाडी बिस्तारै हाँक्ने ड्राइभरलाई उर्दी दिएँ । दिउँसै सपना देख्न थालेछु । ‘‘म एउटा गरिबको छोरो । सभ्य हुन सकिनँ । मेरा कुल कुलायनले यो भाग्य पाएनन् । मौकामा चौका पर्दा यो ठाँउमा आपूm पुगेको कुरा मलाई राम्रै हेक्का छ । उम्दा मेरा हिजोका साथीहरुले मेरो यो चालढाल देख्न र भोग्न पाएनन् । सङ्गै लडाइँमा थिए । सपनाका कुरा गथ्र्यौं । सुन्दर संसांर यसरी र उसरी बनाउने भनेर माथापच्ची गथ्र्यौं । योजना बन्थे । उनीहरु पनि अहिले हुन्थे भने या त पर्खाल बाहिर १ बजेको लाइनलाई कुर्थे या त पर्खालभित्र म जस्तै हुन्थे । या त हिजोलाई र हाम्लाइ सम्झदै गाउँवस्तीमा हुन्थे । या त भावी विद्रोहका इनिसेटर बन्थे । जे बन्थे, बनुन् । अब मैले  चिन्ता लिनु हुँदैन । लियो कि फसियो । ती दिनलाई बिर्सिन भने यो औकात भावुक कविको पागलपन झैँ हुनसक्छ । कवि र कविता पनि त कहाँ एकैझैँ हुन्छन र ! त्यो म बन्न चाहन्न । देश अनुसारको भेष र कपालअनुसारको केश बनाउनु पर्छ । हे गरिबेको छोरा ! अहिलेसम्म धेरै बेवकुफी गरिसकिस् । अनेकौं घाट, कुवा र नदीनालाका पानी पिइसक्दा पनि तेरो चेत खुलेन भने कहिले खुल्ने होला ! अब पनि मौकामा चौका हान्न सकिनस् भने तेरा मलामी पनि कोही हुने छैनन् ।’’ लचकदार, भव्य कार उफ्रँदा बिउँझिदै एक्कासी चिच्याउन पुगेछुु । म जस्तै कहानी बोकेको मेरो ड्राइभर । ऊ पनि आत्तिएर सोध्यो, ‘‘सर, के भो ?’’ । झयाप्प गरेर कडा बे्रक मार्दै गाडी रोकिएपछि झल्यास्स भइएछ । त्यसबेला म पर्खालभित्र पुगिसकेको रहेछु ।

अहिले अनौठो स्वभाव बनाउनु परेको छ । स्वाङ्ग नपारी हुँदै हुँदैन । कामै चल्दैन । नत्र कसले टेर्ने यहाँ ? न त मेरो यो खान्दानी हैसियत हो न त स्वाभाव । कालो सिसाले म उनीहरुबाट छलिएको छु कि उनीहरु मबाट । गम्छु । ठम्याउन सक्तिनँ । 

सपना देख्ने मान्छे र कविता कोर्ने कविसँग हम्मेसी कसैले यारी गर्दैनन् । भावनामा बगेर प्रेम गर्ने प्रियसी पनि उक्ताएर छोडपत्र गरिदिन्छे । आफन्तजन पनि उक्ताउँछन् । अब क्रमशः ड्राइभर भने अभ्यस्त हुँदैछ । के गरोस्, कर्मले दपेडेको ऊ पनि मेरो निगाहमा जिउने तरिका सिक्दैछ । तर म भने कसको निगाहमा छु कुन्नि ! सिंहदरवार पसेपछि गजधम्म फुलेको थुलथुले कर्ममा, जिउ डालमा र व्यवहारमा पनि । एकाएक ठूलो मान्छे बन्न गाह्रो पो पर्दाेरहेछ । आफ्नो त जङ्गली, गाउँले र पाखे आनी–बानी । बर–ब्यबहार, नातागोता, छरछिमेक, चिनजानका सबै उस्तै । साना काँठीको भुण्टे, ठूलै मान्छे भएर ठूलो ठाउँमा आउनु परेको छ । यहाँको अदबै गजबको । बाहिर र भित्रका मान्छेलाई नियाल्छु । गम्छु । स्वआतङ्क नहोस् भनेर कहिलेकाहिँ त दिउँसै तन्काइदिन्छु पनि । देखिने र हुने बाहिरका र भित्रका मान्छे फरक छन् र हुन्छन् । यो कुरा कसरी र कसलाई भन्दिउँ ? ठूलो मान्छे भएपछिको मेरो यो अनुसन्धान र आबिष्कार हो । विद्यावारिधिको थेसिस हो । कैयौं रिसर्च आर्टिकल लेखियो । कैयौ मानतावादी गोष्ठीमा भाषण दिइयो । कैयौं पानाको बायोडाटा नै छ । यसैमा मैले पनि प्राडा बन्नु छ । अहिलेसम्म त विश्वविद्यालयमा मेरै जगजगी छ नै क्यार । कतिपय त्यहाँका ठूला पनि यो ठूलेसँग खुशामद गरेर अझ ठूला बन्न धाएकै छन् । यस्सो उनीहरुको काम गरिदयो । आफ्नो काम  पनि फत्ते । फेलोसिप लियो, गाइडका पनि त मुखै छन् । सपनै छन् । थेसिस लेख्ने एउटा कर्महाराले बचन दिएकै छ । भाइभा कमिटीका, कुरा के गरौ र ? तिनीहरुले पनि नधाएका हुन र ? प्राज्ञिकता त्यहाँ पनि यही ठूले जस्तो नै त हो नि । पार्टी कार्यकर्ता बनेर आची र गोबर एउटै भनेकै हुन क्यार ?  । उनीहरुलाई पनि ठूलो बन्न प¥या छैन र ?

ड्राइभर भने करारको मान्छे । स्थायी भए अर्कै हुन्थ्यो । यसरी टेथ्र्यो कि टेर्दैनथ्यो ? के थाहा ? अहिले जे भनेपनि मुण्टो हल्लाउन पर्ने । म नै उसको भाग्यविधाता । मसङ्गै आउँछ र जान्छ । मेरोसँगै उसको पनि करार कुनै दिन सकिन्छ ।  हामी दुबै अस्थायी । तर किन हो कुन्नि ? मलाई ठूला भन्दिन्छन् र पो यो ठूले ठूलो पल्टन्छु । करार सकिएपछि हामी दुबै बेकरार हुनेछौ । तब हामी पनि १ बजेको प्रतिक्षामा लाममा लाग्ने छौँ अथवा जै रामजीकी भनेर सदाका लागि बिदा हुनेछांै । त्यसबेला ऊ र म दुबै दुबैका करारमा हुने छैनौं । उसको हातको स्टेरिङ्गले मलाई यात्रा गराउनुपर्ने छैन । कहीँ जाक्देला कि भनेर फगतको चिन्ता लिनुपर्ने छैन भने मेरो मन्जुरीनामाले उसले ज्याला थाप्नुपर्ने छैन । सोच्दछु.....त्यसबेला मेरो यो कालो लचकदार कार, टक्र्याइने सलामीहरु, मेरो प्राडा र यो मेरो रुतवा । बाहिर र भित्रका मान्छेहरुले के पो भन्लान् ?

हामी दुबैजना केही महिना पहिलासम्म त्यस्तै लाममा बस्ने गरेका थियौं । छिट्टै नै यो दरबारका लागि हामी पनि मूल्यहीन वस्तु ठहरिनेवाला छौं । कोही चाँडै कोही ढिलो । सबैलाई गिज्याउँदै ठडिएको छ यो संरचना । आफनै संस्कारमा सबैलाई पछ्याउँदै । राणाहरुले जन्माए । शाहहरुले हुर्काए । पञ्चायतले मलजल ग¥यो । कागे्रसले फलायो फुलायो र एमालेले थाङ्ग्रो हाल्यो । अहिले हामी माओवादी पनि दमाहाँ ढोल पिट्दै यहाँ आइपुगेका छौँ । आदर्शका खल्ली खाएर आएका । त्यसैमध्यको एउटा म । यसैले आफूलाई र अरुलाई छुट्याउन मनको अग्लो पर्खाल ठड्याउदै गजधम्म फुलेर बसेको छु । मजस्तै हिँजोका ठूला मान्छेहरु दिनहुँजसो आउँछन् । गिज्याएर सलाम ठोक्छन् । उनीहरुले कुनै दिनमा हामीजस्तै तँ पनि हुन्छस् बाबै....। ज्यादा फुर्तिउर्ति नगर भन्या’झैँ लाग्छ । मेैले पनि मुण्टो हल्लाउने बानी सिकिसकेको छु ।
 

नरेन्द्रजंग पिटर

(पिटर साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय