मालामोह : भद्दा भारतीय नक्कल

dainikonline
सूर्य थापा | कात्तिक ३०, २०७६ शनिबार | 0

(बितेको डेढ वर्षयता मैले नेपालमा मूलतः राजनीतिक नेतृत्वले क्वीन्टल, आधा क्वीन्टल, सवा क्वीन्टल र ठूलाठूला आकारका गलाभरि माला लगाएका दृश्यहरुलाई निकै नजिकबाट रुचिका साथ हेरिरहेको छु । गलाभरिका मालाले नपुगेर टाउकोसम्म र टुप्पीमाथिसम्मै माला लगाएर मख्ख पर्ने प्रवृत्तिअन्तर्गत मूलतः मुख्य र प्रभावशाली नेताहरु लक्षित गरेर होडबाजी नै चल्यो । प्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुखहरुसम्म मात्रै सीमित नगरी यसो गर्ने क्रमलाई मुख्यमन्त्री र कतिपय युवा नेताहरुका गला भर्नसमेत तछाडमछाडसहित विस्तार गरेको देखिएको छ । यसबारेमा यसअघि नै दैनिक अनलाइन डटकममा विस्तृत विश्लेषण र तस्बिरहरुसहित मेरो आलेख प्रकाशित छ ।

अहिले यहाँ नेपालमा हुर्किरहेको माला होडबाजीको मूलस्रोततर्फ पुग्ने प्रयास गरिएको छ । सरसर्ती खोजी गर्दा नेपालमा पर्सादेखि बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, कपिलबस्तु, कैलाली र डोटीमा गरिएको माला लगाइदिने र लगाउने होडबाजीको मुख्य स्रोत छिमेकी भारत र त्यहाँको पूmलबजारको बजारीकण प्रक्रिया नै रहेको स्पष्ट देखिएको छ । भारतमा पनि उत्तर प्रदेश र बिहार नै यसका मुख्य ‘उद्गमस्थल’, ‘प्रेरणा स्रोत’ ‘अनुकरणीय ...’ र ‘उत्प्रेरणा’ रहेको पाइएको छ । ‘माला महात्म्य : मोह र खतरा’को फ्लोअपका रुपमा यहाँ भारतीय पाटो र दृष्टान्त प्रस्तुत गरेको छु ।)

छिमेकी मित्रराष्ट्र भारत लोकतान्त्रिक अभ्यासको लामो र निरन्तर परिवेशको विश्वमै एक उदाहरणीय मुलुक मानिन्छ । त्यहाँ लोकतन्त्रका अनेकौं रुप, अनुभव, भावभङ्गी र अभ्यासहरु रहेका छन् । तथापि प्रतिस्पर्धात्मक ‘संघीय संसदीय गणतन्त्र’ त्यहाँको प्रणाली हो । नेपालमा स्थापित संघीय गणतन्त्रात्मक शासन प्रणाली मूलतः वेष्ट मिनिष्टर (बेलायत) र भारतीय लोकतान्त्रिक अनुभवकै विस्तार हो । लामो समय बेलायती साम्राज्यको औपनिवेशिक राज चलेर सन् १९४७ मा स्वतन्त्र हुन पुगेको भारतमा त्यही साम्राज्य र उपनिवेशिक शोषण, दमन र दासताका प्रवृत्ति र अवशेषहरु अझै जनस्तरसम्म कायम रहेको पाइन्छन् । तर, मालामोहलाई औपनिवेशिक राजको परिणाम नभएर मूलतः सत्तरीको दशकपछि देखा परेको ‘देवी अर्चना’ प्रवृत्तिका रुपमा मात्रै पाउन सकिन्छ । 

स्वतन्त्र भारत निर्माताहरुको मोह छैन
अंग्रेज साम्राज्यका विरुद्ध महात्मा गान्धीको नेतृत्वमा अहिंसात्मक र सत्याग्रह आन्दोलन छेडिएको थियो । भारत छोडो आन्दोलन (Quit India Movement)का रुपमा त्यसलाई इतिहासमा विस्तृतरुपमा पढ्न र बुझ्न सकिन्छ । त्यस आन्दोलनका नेताहरु महात्मा गान्धी, जवाहरलाल नेहरु, मोहम्मद अलि जिन्ना र सरदार वल्लभ भाइ पटेलहरुका खासै यसखाले ठूला, भद्दा र चाकडीको पर्याय ठानिने माला लगाएका तस्बिरहरु खोजी गर्दा उपलव्ध भएनन् । ‘गुगल सर्च’ले गुगल संसारमा त्यस्ता तस्बिरहरु उपलबध गराउन सकेन । तसर्थ, यो संस्कृति सन् १९६० अघि खासै प्रचलित र प्रोत्साहित थिएन भन्न सकिन्छ ।

भारतका पूर्वराष्ट्रपति अब्दुल कलाम

भारतका राष्ट्रपति प्रकाश कोविद

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह

चाकडीको नयाँ शैली आरम्भ
भारतीय राजनीतिमा इन्दिरा गान्धीको उदय र प्रधानमन्त्रीका रुपमा उहाँ बढी शक्तिशाली भएपछि ‘माला’को यसखाले चाकडी शुरु भएको देखिन्छ । तसर्थ, यो ‘शक्तिशाली’ देवी ‘इन्दिरा’को अर्चनाको रुपमा थालनी भएको भनेर भन्न सकिने आधार र तस्बिर उपलब्ध भएको छ । इन्दिरा गान्धीपछि उहाँका छोरा राजीव गान्धीले यसलाई निरन्तरता दिएको देखिन्छ । फलस्वरुप उहाँलाई माला लगाइदिने क्रममा आत्मघाती बम प्रहारमा परेर असामयिक रुपमा ज्यान गुमाउनु प¥यो । यदि ठूला आकारका मालाको प्रयोग र धेरैले स्वागतमा लाइन लागेर माला लगाइदिने संस्कारलाई प्रोत्साहन नगरिएको भए राजीव गान्धीको त्यसखाले दुःखद हत्या नहुन पनि सक्थ्यो ।

भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धी, जसको मालामै राखिएको आत्मघाती बम आक्रमणमा परी मृत्यु भयो ।

राजीव गान्धीपछि यो परिवारमा उहाँकी पत्नी सोनिया गान्धी, छोरा राहुल गान्धी र छोरी प्रियङ्का गान्धीले कांग्रेस (आई)को विभिन्न समयका अध्यक्ष र महासचिवका जिम्मेवारी बहन गर्दा मूलतः उत्तर प्रदेशका विभिन्न स्थानहरुमा यस्ता मालाहरु लगाएको पाइएको छ । यस हिसाबले कांग्रेस (आई)को राजनीतिमा क्वीन्टल तौलका माला प्रयोगले पारिवारिक राजनीतिका ४ पुस्ता गुजारिरहेको अवस्था छ ।

इन्दिरा गान्धी

राहुल गान्धी

सोनिया गान्धी


प्रियङ्का गान्धी

भारतीय जनता पार्टीमा उस्तै प्रतिस्पर्धा
कांगेस (आई)को वैकल्पिक शक्तिका रुपमा सन् सत्तरीको दशकपछि भारतीय राजनीतिमा देखा परेको भारतीय जनता पार्टी (भाजपा)का नेताहरु अटलविहारी वाजपेयी, लालकृष्ण आडवाणी, हालका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी र गृहमन्त्री अमित शाहले आआफ्नो तहबाट यस्तो माला आशक्तिलाई निरन्तरता दिएको विगत र वर्तमानमा देखिन्छ । उहाँहरुको यसखाले अभ्यास र प्रयोगबाट माला प्रयोगको यो क्रम बिहार, उत्तर प्रदेश हुँदै गुजरातसम्मै पुगेको पाइन्छ ।

भाजपाले यस संस्कृतिलाई कांग्रेस (आई)सँगको प्रतिस्पर्धाकै तवरमा अवलम्बन गरेको तथ्य पुष्टि गर्न राहुल र प्रियङ्का गान्धीको पुस्ताकै स्मृति इरानी र योगी आदित्यनाथले लगाएका मालाहरुले दृष्टान्तको काम गरेको भन्न सकिन्छ । यो प्रवृत्ति दक्षिण भारतसम्म पुगेको देखाउन एम.करुणानिधिका छोरा स्टालिनले पहिरिएको यस्तो माला पर्याप्त छ । यसरी बिहार र उत्तर प्रदेशको चिनोका रुपमा ‘माला मोह’ र ‘सत्कार शैली’ भारतव्यापीजस्तो भइरहेको पाइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

स्मृति इरानी

भारतका गृहमन्त्री अमित शाह

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ

सत्ताको शिखरसम्म जारी होडबाजी
भारतका राष्ट्रपति रामनाथ कोविदसमेत यस्तो माला पहिरिएको अवस्थामा देखिनु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन सिंह पनि यस्तो मालामा हर्षित मुद्रामा देखिँदा पञ्जाव र शिख समुदायसम्म पनि मालाको प्रयोग विस्तारित हुन पुगेको देखिन्छ ।

तर भारतलाई न्यूक्लियर पावरका रुपमा विश्वको आणविक शक्ति बनाउने वैज्ञानिक अब्दुल कलाम आजाद राष्ट्रपति भएर विदा हुँदासमेत यस्तो मोहबाट टाढै रहन सचेत देखिनु भएको पाइन्छ । उहाँले माला त लगाउनु भएको छ, तर क्वीन्टल तौल र मालाले टाउको पूरै ढाक्नेगरी धेरै मालाको थुप्रोले पुरिन खोजेको तस्बिर भेटिएन ।

मायावती र लालुप्रसादको सौख
भारतीय राजनीतिमा गान्धीको त्याग र साधारण जीवनलाई नेहरुको शालीन र भद्र शैलीले प्रतिस्थापन ग¥यो । त्यसलाई इन्दिरा गान्धीको ‘संकटकाल’सम्म आइपुग्दा चाकडी, भक्तिभाव र पूजाअर्चनाको प्रवृत्तिमा बदलिएर हावी भयो । त्यसलाई गरिब भारतीय जनतासम्म आफ्नो रवाफ प्रदर्शन गर्ने सौखका रुपमा बिहारमा लालुप्रसाद यादव र उत्तर प्रदेशमा मायावती तथा दक्षिण भारतमा जयललिताले आफ्नो विलासी जीवनयापन एवं अभ्यासको अलगअलग शैलीका उत्कर्षमा पु¥याएको देखिन्छ ।

खासमा यो डरलाग्दो गरी फैलिएको व्यक्तिपूजाको प्रवृत्ति बनेको छ । मायावतीले त फूलको क्वीन्टल तौलका मालाले नपुगेर रुपियाँको विशाल मालासमेत लगाएको देख्न सकिन्छ । यसबाट यो सिद्धान्त, दर्शन, विचार र साधारण आधारित गान्धीको अभ्यासको परित्याग र प्रतिस्थापन बन्यो । व्यक्तिगत आडम्बर, चाकडी र व्यक्तिपूजाका रुपमा गान्धीको देशको लालु र मायावतीहरुले नयाँ परिचय नै बनाइदिए । र, ठूलाठूला माला लगाउने होडबाजी गरे । यसको निम्ति ढोका खोलिदिने कार्य इन्दिरा गान्धीको कार्यकालबाटै भएको विश्लेषण गर्न सकिन्छ ।

लालुप्रसाद यादव

मायावती

भारतीय कम्युनिष्टहरु अलग र टाढै
नेपालमा इन्दिरा, आडवाणी, लालु र मायावतीहरुको यसखाले अभ्यासलाई कम्युनिष्ट नेताहरुले समेत अनेक रुपमा अनुकरण गरेका दृश्यहरु व्यवहारमा रहेको भए तापनि भारतीय कम्युनिष्ट नेताहरु यस्तो होडबाजीबाट अलग र टाढै रहेको पाइन्छ । पहिलो पुस्तादेखि अहिलेसम्मकै भारतीय कम्युनिष्ट नेताहरुका यसखाले तस्बिर खोजी गर्दा खासै उपलब्ध हुन सकेनन् । यस हिसावले सिद्धान्त, निष्ठा र वैचारिक राजनीतिबाट बिमुख बन्दै व्यक्तिवादी र रवाफी पुस्तैनी पारिवारिक राजनीतिमा जकडिएका वा धार्मिक, साम्प्रदायिक र क्षेत्रीयतावादी राजनीतिको आगो फुकेर शक्ति आर्जन गरी सत्तासीन बन्न पुगेका शक्तिहरु यस्तो होडबाजीमा बढी अभिशप्त र अभ्यस्त भइरहेको स्पष्टै देख्न पाइन्छ । तसर्थ, यो लोकतान्त्रिक, समाजवादी वा कम्युनिष्टहरुले मोह देखाउने अभ्यास होइन । यस्ता माला लगाउने, आफूलाई आम जनताबाट भिन्न र विशेष देखाउन खोज्ने, कार्यकर्ता, जनता र मतदातालाई खुट्टा ढोग्न लगाउने रवैया लोकतान्त्रिक हँुदै होइन र मान्न सकिँदैन ।

निष्कर्षमा लोकतन्त्र भारत हुँदै नेपालसम्म आइपुग्यो । राजनीतिक दलहरु भारतमा स्थापित भएर नेपाली जनताको मायामा जनमनसम्म स्थापित भए । दुई देशबीच लामो र घनिष्ट सम्बन्ध छ । यसैक्रममा यो माला संस्कार पनि भारतमा अभ्यास हुँदै नेपालमा भद्दा नक्कल भइरहेको छ । ‘शव बोकेर घाट’ पु¥याएजस्तै गरी सीमापारिबाट क्वीन्टल तौलका माला बोकेर ४÷६ जना कार्यकर्ताहरु असिनपसिन दौडिरहेका दृश्यहरु त आँखामा बहुतै बिझाउने गरेका छन् ! के कम्युनिष्ट, के पञ्च, के मधेशकेन्द्रित वा पूर्वमधेसवादी दल र के आधुनिक पूँजीवादी पार्टी ? सबका सबले उन्नत र अनुकरणीय रुपमा नै यहाँ यसको तीब्र होडबाजी गरिरहेको देखिन्छ । यो कत्ति पनि शोभनीय मानिएको छैन । यसमा अविलम्ब सुधार गरेर शोभनीय बनाउनुपर्ने खाँचो रहेको छ ।
 

सूर्य थापा

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र प्रचार तथा प्रकाशन विभागका उपप्रमुख हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय