खानेपानी ऐनले धेरै विवादहरु समाधान हुने मन्त्री मगरको यस्तो दावी

आयोजनाहरुलाई छिटो सम्पन्न गर्न स्पीडमा काम गर्दैछौं : खानेपानी मन्त्री

dainikonline
दैनिक अनलाइन | कात्तिक २५, २०७६ सोमबार | 0

बर्दिया । खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानीसम्बन्धी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु समाधान गर्ने बताउनुभएको छ । 

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीयस्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाई अधिकार नीतिगत आवश्यकता र चुनौतिहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु समाधान हुँदै जाने बताउनुभएको हो । 

मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पुराउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताउनुभयो । ‘हिजोका दिनमा योजनाहरु धेरै बने । भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुगे’, उहाँले भन्नुभयो, ‘अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिइसकेको छु ।’

खानेपानी र सरसफाईको क्षेत्रमा देशैभरिको गुरुयोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘खानेपानीका समस्याहरुलाई नीतिगतरुपमा कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयले योजना बनाउने छ’, उहाँले भन्नुभयो, ‘समस्यालाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्नेछ । योजनाका जटिलतालाई हामीले ध्यान दिएका छौं । मन्त्रालय मातहत रहेका ठूला आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब स्पीडमा काम गर्दैछौं ।’

‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं’, उहाँले जोड भन्नुभयो, ‘जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय