... तर सूचना पूर्ण असत्य पो रहेछ,

dainikonline
नरेन्द्रजंग पिटर | कात्तिक २१, २०७६ बिहिबार | 0

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षातामा हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले गरेका ऐतिहासिक निर्णयहरू जसले समाजवादउन्मुख परिकल्पनाको लागि युगान्तकारी बैठकका संकल्प भन्न सकिन्छ । यो निर्णयले पार्टीलाई मात्रै नभई नेपालकै राजनीतिक इतिहास र आदर्शको लागि नजिर बन्ने छ भने स्वयं प्रधानमन्त्री एवं पार्टी अध्यक्षको गरिमा पनि बढ्ने विश्वस्त हुन सकिन्छ । निराश जनमत आशावादी हुनेछ भने गणतन्त्रविरोधीका सपना पनि चकनाचुर पार्नेछ । पारित प्रस्तावहरू अध्यक्ष स्वयंले टेवुल गर्नुभएको भन्ने सूत्रको दावी छ । प्रस्तावहरु एकमतले पारित गरेर हिजैदेखि कार्यान्वयन गर्न परिपत्र समेत गरिएको छ । सुटुक्क मैले पाएको खबर देश हितको लागि सार्वजनिक गरेको मात्र हुँ ।
...............................................................................................
क) आफ्नो गिर्दो स्वास्थ्य अवस्थालाई ध्यान दिँदै प्रधानमन्त्रीले विश्वासप्राप्त नेतालाई सरकारको कार्यकारी नेतृत्व हस्तान्तरण गर्दै आफू पार्टी र सरकारको अभिभावक मात्र बन्ने । 
ख) भ्रष्टाचारको शून्य सहनशीलता आफ्नो प्रमुख लक्ष्य भएकाले २०४८देखि नै नीतिगत वा व्यक्तिगत भ्रष्टाचारको अध्ययन अनुसन्धान गर्दै कानुनको घेरामा ल्याउने । २०६३ पछिका घटनाहरूलाई केन्द्रमा राखेर तत्काल फाष्ट ट्रयाक अभियान थाल्ने ।

१) यस महाअभियानमा बमबार्ड द हेडक्वाटर गर्न प्रत्यक्ष वा परोक्ष भ्रष्टाचारमा मुछिएका नेतृत्वलाई स्वेच्छाले पदबाट राजीनामा दिएर छानविनमा सहयोग पु¥याउन पहिला अनुरोध गर्ने, नटेरे पार्टीले नै सिधै कारवाही गर्ने । 

२) विषय किटान : 

भ्याट बिल प्रकरण, चूडामणि काण्ड, आयल निगम जग्गा प्रकरण, वाइडबडी विषय, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण र महासचिव पौडेलको संलग्नता अभियोग, एनसेल प्रकरण, आलम प्रकरणको सिण्डिकेट प्रमुख रहनेछन् ।  त्यसलाई प्रत्यक्ष वा परोक्ष सहयोग गर्ने, कानुनी प्रपञ्च मिलाउँदै वैधानिक बनाउन मतियार बनाउनेलाई समेत कानुनी कठघरामा उभ्याउने ।

३) सर्वोच्च अंगको नेतृत्व गरेर (पूर्व सेनापित रबिन्द्र क्षेत्री र पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीलगायत) पलायन हुने राष्ट्रसेवकलाई रेडकर्नर नोटिस जारी गरी देश भित्राउने र कानुनको सामना गर्न बाध्य पार्ने । अन्य देशको नागरिकता लिएको भए पनि कुटनीतिक सक्रियता देखाएर अपराधीलाइ नेपाल ल्याउने । अझ राजदूत नै पनि विदेशमा बस्नु देशकै बेइज्जत भएको छ । 

४) सुरक्षाको कारण देखाएर विदेशी नागरिकता (भिसावाला)को सत्यतथ्य प्रष्ट्याउन सम्बन्धित देशको सरकारसँग सहकार्य गर्ने ।

५) विदेश पलायन भएर पनि नेपालबाट तलब भत्ता खाने, राष्ट्रको सम्पत्तिमा पढेर त्यतै भासिनेसँग राष्ट्रले गरेको खर्च असुल गर्ने ।

६) मन्त्री, सांसद र जिम्मेवार निकायले सरकारी स्कूलमै आफ्ना सन्तान  पढाउन पर्ने र स्वास्थलाभ सार्वजनिक वा सामुदायिक अस्पतालबाट लिन अनिवार्य गराउने । कसैको पनि विदेशमा गरिएको उपचारको सरकारी खर्च नउठाउने । यसले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार गर्ने छ । 

७) व्यक्तिगत समस्या समाधान गर्न कुनै सरकारी मिसिनरीको प्रयोग गर्ने छैन भने अन्य नेता र ब्यूरोक्रेसीलाई  भयदोहन वा लालचको भरमा विपक्ष, विरोधीसँग कुनै बदलाभाव  राखिने छैन ।

८) सबै नेता, कार्यकर्ता र नागरिकले एक न एकदिन मर्नुपर्छ भन्ने स्वबोध गर्दै  आफना कर्तव्य पूरा गर्न नैतिकता देखाउनु पर्ने छ । बैठकले यसलाई गम्भीर रुपले लिने छ ।

 
ग) संगठन सम्बन्धमाः 
१) पार्टी कम्युनिष्ट विचार, सिदान्त र आदर्शले चल्नैपर्छ । यसलाई अस्वीकार गर्नेहरू स्वेच्छाले पार्टी संगठनबाट बिदा लिनुपर्छ । चिनियाँ राष्ट्रपतिको हालैको नेपाल भ्रमण स्मरण गर्दै, सीकै भनाइअनुसार पनि धनी बन्न चाहनेहरू राजनीति हैन ब्यापार गरून् भन्ने कुरा हामीले पनि सिक्नै पर्छ । निजी सम्पत्ति राख्ने कम्युनिष्ट बन्नै सक्दैनन् । मैले पनि मेरो सबै सम्पति राष्ट्रको नाममा दान गरिसकेको छु । ट्रेडमार्किया कम्युनिष्टमा अब पार्टी चलाइने छैन ।

घ) कम्युनिष्ट भनेको उसका दृष्टिकोण र मान्यता द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादले निर्देशन गर्ने हुँदा वैज्ञानिक सोच अनिवार्य हुन्छ । यसको अर्थ ऊ अदृश्य, परभौतिक शक्तिमाथि विश्वास गर्दैन भन्ने हो ।  त्यसैअनुसार जीवनपद्धति बनाउँछ भन्ने हो । जसले पालन गर्न सक्दैन, त्यसले ज्योतिषको शरण लिए हुन्छ वा घण्ट बजाए हुन्छ ।


ङ) सरकार र पार्टीको सम्बन्धः  
१) पार्टीले सरकार चलाउने हो, सरकारले पार्टी चलाउने हैन । सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारीका सिद्धान्तमा अब पार्टी चल्नेछ । पार्टी सदस्य र अध्यक्षको भूमिका फरक होला तर कम्युनिष्ट पार्टीका हरेक सदस्यको हैसियत भने बराबर र कार्यकारी हुन्छन् ।  नामकाजी नभई कामकाजी हुन्छन् । मानार्थ सदस्य कम्युनिष्ट पार्टीमा हुँदैनन् ।

२) वर्गीय र पेशागत समस्या उठान र संघर्षको हतियार जनवर्गीय संगठनहरू बन्न नसकेकाले अब जबसको खारेजी गर्ने ।

३) नेताहरू गुटबाज, चाकड र चम्चाबाट पूरै सम्बन्ध विच्छेद गर्ने, गर्न नसक्नेलाई पार्टीबाट बिदाइ गर्ने । म आजैका दिनदेखि मेरो गुट अन्त गरेको घोषणा गर्दछु । म समग्र पार्टी र देशको नेता बन्ने प्रतिबद्धता ब्यक्त गर्छु । अन्य कमरेडहरुले पनि सो गर्न साहस देखाउनु पर्छ ।

४) अब कुनै पनि फर्जी मुठभेडमा मानिस मारिनु पर्ने छैन । विचार र आस्थाकै भरमा कोही पनि गिरफतार हुनुपर्ने छैन । पुलिस, प्रशासनलाई राजनीतिक हितमा प्रयोग गरिने छैन । अदालतको पूर्ण स्वतन्त्रता कायम गरिनेछ । न्यायको सुक्रीबिक्री अन्त गरिनेछ । सत्ताका स्वायत्त संवैधानिक अंगलाई कतैबाट प्रभाभित गर्ने कर्मको कडाइपूर्वक नियन्त्रण गरिने छ ।

५) कुनै पनि एनजिओ आइएनजीओपतिलाई सरकारी सल्लाहकारमा नराख्ने । एनजिओ आइएनजीओपतिहरु  कम्युनिष््रट हुनै सक्दैनन् । सदस्यता समेत खारेज गरिनेछ  ।

६) साम्राज्यवाद मुर्दावाद नभन्ने र निजी सम्पत्तिमा मोहनी लाग्नेहरु कम्युनष्टि हुनै सक्दैनन् । त्यसैले डिभी भर्नेहरुको पार्टी सदस्यता च्यूत गरिने छ ।

७) सहसचिवदेखि नै  आइएनजीओको सेवा गरेर रिटायर्ड लाइफमा सल्लाहकार बन्ने कर्मचारीको निगरानी गर्ने र सचेत गराउने वा कारवाही समेत गरिनेछ ।  

८) सरकार राज्यको ब्यबस्थापक हैन अभिभावक हो ।

९) सूचनाको हकमा सर्वसाधारणको पहुँच ब्यवस्थित गर्ने । मर्यादित प्रेस सभ्य समाजको एउटा अंग हो । पर्चाकार र पत्रकारको भिन्नता परिभाषित गरिनेछ ।

१०) राजनीतिमा सिण्डिकेट र नीतिगत भ्रष्टाचारको अन्त गर्ने । माफियाहरुलाई सिंहदरवार र मन्त्री क्वाटरमा प्रतिबन्ध लगाइने छ ।

११) एनजिओ र आइएनजिओकर्मीलाई राजनीतिमा प्रतिबन्ध लगाउने । एनजिओ र आइएनजिओकर्मीलाई समाज कल्याण परिषदमा सबै सूचना, कार्यक्रम र बजेट पारदर्शी गर्न अनिवार्य गराउने छ । आइएनजिओको आवरणमा धर्म परिवर्तन गराउने वा नीतिगत हस्तक्षेप गर्ने संस्थालाई कडा कारवाही गरी देश निकाला गरिने छ ।

१२) राज्यको धर्म हुँदैन । धर्म विषय ब्यक्तिको निजी विषय भएकाले राज्य तटस्थ बस्छ तर प्रलोभनमा धर्म परिर्वतनको भने विरोधी हुन्छ । कम्युनिष्ट पार्टीका सदस्य भनेका द्वन्द्वात्मक तथा ऐतिहासिक भौतकिवादका पक्षधर हुन आवश्यक छ । राज्यले सबैको आस्थाको रक्षा गर्नुपर्छ तर अवैज्ञानिक विषयमा प्रोत्साहन भने गर्न मिल्दैन । सार्वजनिक पदधारण गरेकाले संविधानको मर्मअनुसार चल्न अनिवार्य हुने छ ।

१३) नेपाललाई आधार बनाएर मित्रराष्ट्र भारत र चीनविरोधी अभियानलाई पूर्ण निषेध गर्ने । त्यस्ता संघसंस्थासँग जोडिएका पार्टी कार्यकर्ताको पार्टी सदस्यता खारेज गर्ने र नागरिकको हकमा भने सचेत गराउने । 

(तर प्राप्त समाचार भने असत्य रहेछ । एजेण्डा नै प्रस्तुत भएको रहेनछ । ऐतिहासिक निर्णय लाग्यो । यसै पनि दुबै अध्यक्ष गम्भीर निर्णयका जोखिम लिने नेतृत्व हुन् । मैले पनि क्रसचेक गरिन । मसमक्ष पुगेको निर्णय खबर पूर्णरूपमा फर्जी भएको कुरा अब भने पुष्टि भइसक्यो । पार्टीको भरपर्दो सूत्र भन्छ ः यो षडयन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरोधीहरूले चलाएका हल्ला मात्र हुन् ।)
 

नरेन्द्रजंग पिटर

(पिटर साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय