कम्युनिष्ट आन्दोलनमा यस्तो छ व्यक्तिवादी प्रवृत्तिको उराठलाग्दो रुप

dainikonline
गौरीलाल कार्की | कात्तिक १७, २०७६ आइतबार | 0

कम्युनिस्ट दर्शनमा व्यक्तिवाद भनेको एक प्रकारको अवसरवाद हो । यो मार्क्सवाद लेनिनवादलाई लागु गर्ने सन्दर्भमा निम्न पुँजीवादी चिन्तनबाट सुरु हुन्छ र अन्तमा संसोधनवादमा पतन हुन्छ । आज विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यसको बलियो प्रभाव परेको छ, जसको कारण क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । सामाजवादी राज्यव्यवस्था सहितको समाज निर्माण गर्ने अभियानमा लागेका मान्छेको समूह कम्युनिस्ट पार्टी हो । तर अहिलेको पुँजीवादी समाजमा व्यक्तिलाई  प्रधान मानिन्छ । पुँजीवादी व्यवस्थामा व्यक्तिलाई शक्तिशाली बनाउनको लागि उत्पादनका साधनहरू व्यक्तिका नाममा दर्ता गरिएका हुन्छन् । लामो समयदेखि उत्पादनका साधन व्यक्तिका नाममा दर्ता गर्ने चलन कायम भएको छ र झनपछि झन् त्यसलाई व्यवस्थित बनाउँदै लगिएको छ । समाजमा उत्पादनका साधन जसका नाममा दर्ता भएका हुन्छन् समाजका मालिक वर्ग तिनै हुने गर्दछन् । मालिक वर्गले पनि जनवादी तथा समाजवादी प्रकारका राम्रा कुरा गर्दछन् तर व्यबहारमा उनीहरूलाई जनवाद र समाजवाद चाहिएको हुँदैन । उनीहरूले श्रम तथा उत्पादन नगरे पनि त्यो मालिक वर्गलाई केही फरक पर्दैन किनभने उसलाई आवश्यक पर्ने वस्तुहरू उत्पादन कार्यमा लागेका श्रमजीवी वर्गले  आफ्नो परिश्रमबाट कट्टा गरेर मालिकलाई बुझाउने काममा यो व्यवस्थाले नै सहयोग गरेको हुन्छ । यदि श्रमजीवी वर्गले त्यसो नगर्ने हो भने नियम, कानुन, नैतिकता, अनुशासनको उल्लंघन भै उसका आवश्यकता पूरा हुने कुरा त कता हो कता उसको श्रम गर्ने अधिकार समेतबाट बंचित हुन्छ र उ स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारबाट समेत बंचित हुन्छ । त्यसैले आज नेपालमा बाहिर समाजवादका चिल्ला कुरा गरेर कम्युनिस्टको नाउँमा ६० प्रतिशतभन्दा बढी जनसंख्याको नेतृत्वको गर्ने भित्र व्यक्तिगत सम्पत्ति थप्ने काम गर्ने गरेर दर्जनौं कम्युनिस्ट भनिएका पार्टीमा आबद्ध भएका धेरै जसो मालिक वर्ग वन्नमा नै तल्लिन छन् । उनीहरूको लागि समाजवाद व्यक्तिगत सम्पत्ति थप्ने साधन बनेको छ ।

उपनिवेशवादी र साम्राज्यवादी शक्तिले वास्तविक समाजवाद निर्माण गर्ने शक्तिलाई कमजोर बनाउनको निम्ति उनीहरू मध्येबाट नै आफ्ना दलाल निर्माण गर्ने प्रयत्न गर्दछन् । यसै गरेर आफ्नो बुद्धि विवेक र योग्यता क्षमताको ख्याल नगर्ने, बौद्धिक र शारीरिक दुवै श्रम गर्न नसक्ने अवसरवादीहरूलाई छनौट गरेर समाजवादको स्थापना गर्ने बाटोमा तगारो तेर्साउने गरेका छन् । यो व्यवस्थामा जनताको सही र गलत मध्ये आफूलाई लागेको सही छनोट गर्न पाउने मताधिकारमा समेत विभिन्न डर, धाक, धम्की, प्रलोभन, विकास आदि का झुट्टा बकवासले गर्दा गलत उद्देश्यको जालमा फसाएर व्यक्तिगत सम्पत्ति थप्ने काममा उपयोग गरिरहेका हुन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा व्यक्तिगत सम्पत्ति थप्न र जनता झुक्काउन सजिलो पर्ने गरी निजी प्रभूत्व कायम गरेका हुन्छन् । यी सबै गलत कामले उत्पादनका साधनमा व्यक्तिगत स्वामित्व बढाउन सहयोग पुर्‍याइरहेको हुन्छ । अहिले त्यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा व्यापक रूपमा परेको छ । त्यसैले देशको स्वाभिमान, कम्युिनस्ट पार्टीको स्वाभिमान र श्रमजीवी जनताको स्वाभिमान कमजोर हुँदै गैरहेको छ । राष्ट्रिय शक्ति र समाजवादी शक्ति कमजोर हुँदै गएको छ । मालिक वर्गले मजदुर वर्गको कुरा गरेरै भए पनि व्यक्तिगत स्वामित्व बढाउने चलन बढिरहेको छ । यो समाजवाद निर्माणमा अवरोध नै हो । मजदुर वर्गको हकहितको सुरक्षा मजदुरवर्गले मात्र गर्न सक्दछ । कहिल्यै श्रम नगर्ने र आफुलाई मालिक बनाएर अरुलाई दल्ने अवसरवादी प्रवृत्ति भएका मालिकबाट श्रमजीवी वर्गको अथवा मजदुर वर्गको मुक्ति संभव हुँदैन । यस्ता अवसरवादीहरुलाई  समयमा नै बुझेर त्यसको भन्डाफोर गर्ने प्रयत्न नगरिकन समाजवादी आन्दोलन सहि बाटोमा हिड्न सक्दैन ।

यो व्यवस्थामा सम्पत्तिको अत्यन्त ठूलो महत्व छ । अहिलेको अवस्थामा त्यसलाई प्रयोग गर्न र बाँच्नको लागि सम्पत्ति जम्मा गर्नु पर्दछ तर सम्पत्ति आफ्नो नाउँमा जम्मा गरेर अरुलाई कजाउने र आफुले श्रम नगर्ने व्यक्तिहरु कम्युनिस्ट बन्न सक्तैनन् । उसो त व्यक्तिगत सम्पत्ति सबै तत्काल समाप्त पारेर वा संगठनलाई बुझाएर ठूलो क्रान्तिकारी कम्युनिस्ट भइने पनि होइन । कम्युनिस्ट हुने नै हो भने सामूहकि सम्पत्तिको सुरक्षा र बृद्धि गर्नुपर्छ । सम्पत्ति नभैकन हाम्रा आवश्यकता पूरा हुँदैनन् । सम्पत्ति नभैकन समाजवाद स्थापना हुन पनि सक्दैन तर आफूलाई समाजवादी भन्दै पनि रहने फेरि व्यक्तिगत सम्पत्ति जम्मा गर्दै जाने र सामूहिक सम्पत्तिलाई  समाप्त पार्दै जाने प्रवृत्ति गलत प्रवृत्ति हो । अझै त्यो भन्दा पनि ठूलो कमजोरी बौद्धिक श्रम अथवा शारीरिक श्रम जे सकिन्छ त्यो गर्नुको सट्टा अरुको श्रम शोषण गर्ने, कजाउने, काम जति अरुले गरिदिनु पर्ने, अरु माथि बल मिर्चाह गर्ने र शारीरिक श्रम पनि नगर्ने तर श्रमजीवी वर्गको स्वघोषित नेता बन्ने प्रवृत्ति झनै खराब प्रवृत्ति हो । कम्युनिस्ट आन्दोलनमा श्रम नगरिकन कार्यकर्ताको श्रममा उच्च सुविधा लिने प्रवृत्ति कम्युनिस्ट आन्दोलनको ठूलो समस्या हो । यसले व्यक्ति र शक्तिको पूजा, आदर्शवादको पक्षपोषण र माक्र्सवादको भ्रष्टीकरणलाई बढावा दिन्छ । यदि कोही व्यक्तिले आफूलाई कम्युनिस्ट भन्न रूचाउँछ भने उसले अनिवार्य रूपमा बौद्धिक र शारीरिक श्रम गर्नुपर्छ । त्यसो नगर्दा व्यक्तिगत सम्पत्ति थपेर व्यक्तिवादी बन्ने उद्देश्य र गैर कम्युनिस्ट बन्ने बाटो तिर अघि बढ्न बल मिल्छ । त्यसैले व्यक्तिवादी प्रवृत्तिलाई हतोत्तसाही पार्न श्रम गर्ने र सामूहिक श्रमबाट समस्या समाधान गर्नतिर अनिवार्य लाग्नुपर्छ ।

यस प्रकारको व्यक्तिवादी प्रवृत्तिलाई हतोत्साहित पार्नको लागि जहाँ काम गरिन्छ पारिश्रमिक पनि त्यहीबाट लिएर खर्च धान्ने बानी र परम्पराको विकास गर्नुपर्छ । वर्तमान व्यवस्था सम्पन्न वर्गका शासकहरूले शासन चलाउने व्यवस्था हो । जनताको पक्षमा वर्तमान व्यवस्थामा शासकहरूले काम गर्न सक्दैनन् । यो सत्तामा गएर काम गर्ने भनेको यही व्यवस्था भित्र  आफ्नो व्यक्तिवादी स्थिति बलियो पार्ने हो । यो व्यवस्थामा सत्तामा भाग लिनेहरुले केही आफ्ना भरौटेहरूलाई जागिर लगाउने, भ्रष्ट आचारणको विकास गर्ने, जनताको नाममा आफ्ना नातागोतालाई व्यक्तिगत सम्पत्ति थप्न सहयोग गर्ने आदि जनताका हित विपरीतका काम गरेको देखिएको छ । त्योभन्दा बढी जनताको पक्षमा काम गर्नको लागि आमूल परिवर्तन गरी जनताको पक्षमा काम गर्ने संगठनको विकास गर्न आफ्नो कार्यकतालाई सचेत र संगठित गर्दै नयाँ उत्पादक शक्ति बनाउनुपर्छ । एकैसाथ दोहोरो संघर्ष प्रथम वर्गसंघर्ष, द्वितीय उत्पादन संघर्ष गर्न लगाउनु पर्छ । नेता कार्यकर्ताहरु सक्षम श्रमजीवी वर्गको उच्च संगठित र अनुशासित शक्ति तयार गर्न तिर लाग्नुपर्छ । त्यसो गर्नको लागि राजनीतिक नेतृत्व यस्तो हुनुपर्छ जसको उच्च बौद्धिक श्रम गर्ने क्षमता होस् । श्रमजीवी वर्ग बीच एकता कायम गर्न सकोस् । आफ्नो भनाइ मात्रै सत्य अरु सबै झुठो भन्ने प्रकारको नहोस् ।  राजनीति जनताको पक्षमा स्थापित भएको होस् र वर्तमान शासक वर्गको विरूद्धमा लामो संघर्षको इतिहास बोकेको होस् । त्यस्तो महत्वपूर्ण बौद्धिक क्षमताको लागि सिद्धान्त र व्यवहारको एकता हुनुपर्छ । सिद्धान्त श्रमजीवी वर्गको नेतृत्व श्रमजीवीले मात्र गर्न सक्छ भन्ने तर  व्यवहारमा आफ्नो लागि समेत श्रम कहिल्यै नगर्ने लुटेरा, ठगहरू, पार्टीको आडमा पेट पाल्ने र व्यक्तिगत सम्पत्ति जोरजाम गर्नेहरुको जमघटले त्यसरी समाजवादी शक्तिको निर्माण हुन सक्दैन ।

प्रत्येक काम धेरै मान्छेको संयुक्त प्रयासबाट पूरा हुन्छ । एउटाको मात्र प्रयत्नबाट कुनै काम पनि पूरा हुन सक्दैन । आफू एक्लैले नै यो इतिहास निर्माण भएको हो भने जस्तै गरेर सोच्नु वा त्यस प्रकारका व्यबहार गर्नु र कसैलाई उ मात्रै सर्वश्रेष्ठ हो उसमा सय मा सय ठिक छ कुनै बेठीक छैन भन्ने शिक्षा ग्रहण गर्नु व्यक्तिवादी चिन्तन हो त्यसलाई माक्र्सवादले गलत मान्दछ । कुनै पनि काम सामूहिक प्रयत्नबाट पूरा हुने तर काम पूरा भएपछि उत्पादनका सामाग्रीहरू र उत्पादन भएको बस्तु व्यक्तिका नाममा दर्ता भै उसको व्यक्तिगत इच्छा अनुसार वितरण गर्ने तरिका सही होइन । सामूहिक प्रयत्नबाट उत्पादन भएका सबै बस्तु र आवश्यकताका सामाग्रीहरू सामूहिक स्वामित्वमा रहनुपर्छ र काम गर्ने व्यक्तिले आफ्नो योग्यता अनुसार काम गर्नुपर्छ र काम अनुसार पारिश्रमीक लिएर त्यसबाट आफ्नो आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । अहिलेसम्म एकातिर श्रम गर्नेले पारिश्रमिक थोरै पाएर अभावको समस्या झेल्न बाध्य हुने अर्कोतिर मालिक वर्गले थोरै काम गरेर वा काम नगरिकन उच्च सुविधा उपभोग गर्ने व्यवस्था अन्यायपूर्ण छ । त्यसैले आफूलाई कम्युनिस्ट भन्नेहरूले सामूहिक प्रयत्नबाट समस्या समाधान गर्ने अभ्यास गर्नु पर्छ । त्यसो गर्ने आवश्यकता महशुस नगरेको र लागु  गर्ने प्रयास नगरेको कारण समाज व्यक्तिवादी बन्दै गएको छ । जुन समाजवाद र समाजवादीको विपरीतको कुरा हो ।

नेपालका कम्युनिस्ट पार्टीमा काम गर्न संगठनमा जानु पर्ने तर खर्चको समस्याको समाधान व्यक्तिगत रूपले व्यहोर्नुपर्ने एउटा कारण र श्रमबजारमा श्रम बेचेर उत्पादन कार्यमा सामेल हुनेमा प्रतिस्पर्धा गर्न नसक्ने बेरोजगार व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बन्ने अर्को कारण यी दुई वटा यस्ता कारण हुन् जसले कम्युनिस्ट पार्टीलाई भ्रष्ट,परजीवी र व्यक्तिवादी बनाउन प्रोत्साहन मिलेको छ । त्यसको लागि जनताबाट सामूहिक रूपमा सहयोग उठाउन परे पनि हिसाब किताबको जाँच लेखा परीक्षण र यसको वितरण प्रणाली यदि सही भएन भने कम्युिनस्ट पार्टी श्रमजीवीको पार्टी हुनको सट्टा ठग, बदमास, राजनीतिक आडमा सम्पत्ति कुम्ल्याउने र अवसरवादी तथा दलालहरूको पार्टीमा बदलिंदै जान्छ । अन्तमा त्यो पार्टी पनि आखिर सम्पन्न वर्गको पार्टीमा रूपान्तरण हुन्छ । किनभने वास्तविक श्रमजीवीले जीवनभर श्रम गरिरहनपर्छ । अवसरवादीले सर्वहारावर्गलाई धोका दिन्छ पदको पाइदा उठाएर व्यक्तिगत सम्पत्ति जम्मा गर्दै जाँदा वर्ग परिवर्तन हुन्छ । आज सत्तासीन नेकपाको यही हालत भइरहेको छ । यहि व्यक्तिवादी चिन्तनबाट माथी उठ्न नसकेको कारण केही वर्ष पहिले चप्पल लगाएर संसद र सरकारमा छिरेका नेताहरू अहिले काठमाडौमा विलासी जीवन बिताइरहेका छन् भने कार्यकर्ताको हालत अत्यन्त दयनीय छ । त्यसैले सम्पन्न वर्गको व्यक्तिले कतै श्रमजीवीको कुरा र पुँजीवादीको काम त गरिरहेको छैन ? त्यस संगठनमा लागेका श्रमजीवीहरूले छुट्टाउँनै पर्ने अनिवार्य शर्त हो । यसले पार्टीमा व्यक्तिवादी प्रवृत्ति र अराजकता त सिर्जना गर्छ नै त्यस भित्रका क्रान्तिकारी सर्वहारा श्रमजीवीहरु पाखा लगाइने, लखेटिने र ठगिने संभावना अत्यधिक रहन्छ । कम्युनिस्ट आन्दोलनले यो घनचक्कर लगाइरहदा यस प्रवृत्तिका विरुद्ध क्रान्तिकारी सर्वहारा श्रमजीवीहरु जतिसुकै कष्टकर अवस्थामा पनि आत्तिने, विचलित हुने, भाग्ने र पलायन हुने काम गर्नु हुँदैन बरु यस प्रवृत्ति विरुद्ध निरन्तर सम्झौताहिन संघर्ष गर्नुपर्ने हुन्छ । यसरी निरन्तर संघर्ष नगर्ने हो भने सिंगो संगठन संसोधनवादको शिकार हुँदै जाने निश्चित हुन्छ । यसपछि क्रमश संगठनको नाम कम्युनिस्ट काम पुँजीवाद र दलालमा रुपान्तरण हुँदै जान्छ । जुन हामीले सत्तासीन नेकपामा देखिरहेका छौं । यो एउटा सार्वभौम नियम हो ।

कम्युनिस्ट आन्दोलन हाँक्ने निश्चित आधारभुत सिद्धान्त छ । त्यस सिद्धान्त अन्तरगत विभिन्न क्षेत्रका अलगअलग नीति निर्माण भएका हुन्छन् । कार्यनीति र रणनीति, संगठनात्मक नीति, आर्थिक नीति, कार्यकर्ता परिचालन र व्यवस्थापन नीति, मुल्यांकन पद्धति र जिम्मेवारी बाँडफाँड सम्बन्धि निति, आलोचना आत्मालोचना र सुधारको नीति, गल्ती कमजोरी छानबिन तथा कार्वाही सम्बन्धि नीति, संगठन सुदृढीकरण र शुद्धिकरण सम्बन्धि नीति आदि । यी सम्पुर्ण नीतिहरु सहि रूपमा निर्माण र कार्यान्वयन हुनु आवश्यक छ । आज कम्युनिस्ट आन्दोलनमा यस प्रकारका महत्वपूर्ण नीतिहरु के साँच्चै सहि रूपमा निर्माण र कार्यान्वयन भएका छन् त ? उदाहरणका लागि आर्थिक नीतिलाई लिउँ । कम्युनिस्ट आन्दोलन हाँक्न बनेको आर्थिक नीति अनुसार सम्पुर्ण कर्ताले हिसाबकिताबमा पारदर्शिता देखाउने गरेका छन् त ? प्रमाण सहित ठोकुवा गरेर भन्न सकिन्छ त्यो हुन सकेको अवस्था छैन । त्यस्तै प्रकारले अन्य थुप्रै नीति कार्यान्वयनमा समस्या छन् । त्यसको प्रमुख कारण हो कम्युनिस्ट आन्दोलन भित्र हुर्कदै गएको व्यक्तिवादी प्रवृत्ति । स्व-अध्ययन र अनुसन्धानको कमीले आम कार्यकर्ताले यस प्रकारका समस्याको पहिचान गर्न सक्दैनन् । पार्टी तथा नेतृत्वलाई देवताको रूपमा ठान्छन् । हामी सबैमा थोर बहुत निम्नपुँजीवादी चिन्तन छ भन्ने हेक्का राख्दैनन्, जसको कारण व्यक्तिवादी प्रवृत्ति झन्झन्  मौलाउँदै जान्छ । त्यसको भरपुर फाइदा अवसरवादीहरुले उठाउने मौका पाएका हुन्छन् । आन्दोलनका नीति, गतिविधि, कार्यान्वयन र समिक्षालाई प्रमुख मान्नुको सट्टा ब्यक्ति प्रमुख मान्ने प्रवृत्ति बढेर जान्छ । यस्तो संवेदनशील अवस्थामा नीति निर्माण त हुन सक्छन् तर सहि ढंगले कार्यान्वयन भएका हुदैनन् । नीति बनाएर मात्रै हुँदैन त्यो बनेको नीति कार्यान्वयन हुनुपर्छ । त्यो भनेको नीति अनुसार नेतृत्व र कार्यकर्ताको चरीत्र पनि रुपान्तरण हुँदै जानुपर्छ । त्यसो हुन नसकेको अवस्थामा कम्युनिस्ट आन्दोलन पतनको दिशामा जाने खतरा बढेर जान्छ ।

कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयताको आधारमा अनुशासनको पालना गरेर काम कार्वाही गर्ने गर्छ । जनवाद भनेको स्वतन्त्रतापूर्वक वर्ग र पार्टीको पक्षमा काम गर्न पाउने अधिकार हो । आफ्नो मतको सुरक्षा गर्न पाउने अधिकार हो । केन्द्रीयता भनेको केन्द्रको निर्णय तल्ला कमिटीहरूमा अनिवार्यरूपमा लागु  गराउन पाउने अधिकार हो । यसको अर्को अर्थ केन्द्रीयता अनुशासन हो र जनवाद स्वतन्त्रता हो । यसको लागि पार्टीको सबैभन्दा कडा अनुशासन पालना गर्ने केन्द्रीय समिति हुनुपर्छ । जब केन्द्रिय समिती नै अनुशासनमा बस्न सक्दैन त्यसबेला केन्द्र पार्टीमा नै अवसरवादी, बौद्धिक श्रम गरेर प्रतिस्पर्धा गर्नुको बदला बल मिर्चाह गर्ने र श्रम गर्ने क्षमता कमजोर भयो भने तला समितिमा केन्द्रियता होइन नोकरशाही तथा अधिनायकवाद लाद्ने गर्छन् र गर्नै पर्ने अवस्था सृजना हुन्छ अनिमात्र व्यक्तिवादी प्रकारका केन्द्रीय निर्णय लागु हुन्छन् । त्यसबेला तल्ला कमिटी र सदस्य सचेत रहनुपर्छ र कतिपय व्यक्तिवादी निर्णय जुन संगठनको दीर्घकालीन अहित गर्ने प्रकारका छन् त्यसलाई लागु गर्ने होइन कि उलंघन गर्नु नै क्रान्तिकारी श्रमजीवीको लागि अनुशासन हुनजान्छ । त्यस्तो अवस्थामा केन्द्रिय संगठनले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने हुनसक्छ । यस्तो बेला केन्द्रिय संगठनले आफ्नो निर्णय पुनर्विचार गर्नुको बदला जब अनुशासनको नाउँमा अधिनायकवाद लागु गर्दछ त्यो अवस्था केन्द्रियता लागू गराएको अवस्था होइन कि पार्टी स्वयं अवसरवादी वा व्यक्तिवादी अराजकताको आधारमा संचालन भई क्रान्तिकारी तथा श्रमजीवीलाई धोका हुने अवस्था रहन्छ । त्यसैले पार्टीका कार्यकर्ताले सतर्कतापूर्वक केन्द्रीय नेता र नीतिको सही मूल्यांकन गर्ने क्षमताको विकास गर्न र अन्धभक्त नबन्ने प्रयत्न गर्नुपर्छ । यस क्रियाकलापलाई संगठनले स्वभाविक रूपमा नलिएर तल्ला तहमा अराजकता र अनुशासन बिहिनता बढी भएको देख्न थाल्छ । यस अनुरुप केन्द्र पार्टीको कमजोरी नदेख्ने वा छोप्ने र स्थानीय समितिहरु र त्यस व्यक्तिवादी प्रवृत्ति विरुद्ध संघर्ष गरिरहेका नेता कार्यकर्तालाई क्रमश तहसनहस बनाउने संभावना बढी रहन्छ ।

कम्युनिस्ट पार्टी स्वयं विश्व विद्यालय हो । त्यहाँ बैठक, जुलुस, सम्मेलन, भेला, हड्ताल, बन्द आव्हान्, पर्चा, पोष्टर आदि विभिन्न कार्यक्रमबाट श्रमजीवी वर्ग अनुशासित सचेत र संगठित बन्दै अगाडि बढनुपर्छ । जनताको बीचमा गएर जनतासँग सिक्नुपर्छ । तर त्यसो नभै संगठनलाई व्यक्तिको वरिपरि घुमाएर पार्टीको नेतृत्व र कार्यकर्ता, कार्यकर्ता र जनता तथा जनता र नेतृत्व आदिबीच सुमधुर सम्बन्धको नाउँमा आफ्नो व्यक्तिवादी अवसरको फाइदा उठाउन लाग्दा जनताबाट पार्टी किनारा लाग्छ र सत्तासीन शासक बुर्जुवा वर्गलाई सहयोग पुग्ने र व्यक्तिवादी हैकम बढ्ने र क्रमश आन्दोलन संसोधनवादी बन्दै जाने खतरा रहन्छ ।

गौरीलाल कार्की

(कार्की वामपन्थी राजनीतिकर्मी र लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय