दूध बेचेर मासिक एक लाख २५ हजार आम्दानी

dainikonline
दैनिक अनलाइन | कात्तिक १७, २०७६ आइतबार | 0

पाल्पा । साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय  हुमलाल अधिकारी पर्नुहुन्छ ।

अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म  पनि फस्टाएको छ ।

गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ ।

मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउनुहुन्छ ।

अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाईभैसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुहुन्छ ।

बीस लाखको लगानीमा गाईपालन व्यवसाय शुरु गर्दा  बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी  अहिले उहाँको प्रशंसा गर्छन् । नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् ।

दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी हुनुभएको छ ।

स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट  सफल भइने उहाँको जिकिर छ ।

आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बन्नुभएको छ अधिकारी ।

विदेशमा ५०/६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके  दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उहाँ बताउनुहुन्छ ।

पछिल्ला वर्षहरुमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर  आत्मनिर्भर हुन थालेका छन्  । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय