एनआरएन कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मीमाथि आर्थिक अपारदर्शिताको आरोप

dainikonline
दैनिक अनलाइन | कात्तिक १७, २०७६ आइतबार | 0

अर्जुन बराल

सौल । ‘नेपालका लागि नेपाली’ भन्ने मूल नारालाई आत्मसात गरी स्थापित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौं कार्यसमितिका अध्यक्ष यज्ञराज सुवेदीले लामो समयसम्म पनि संस्थाको हिसाबकिताब पारदर्शी तरिकाले नबुझाएकाले आरोप लगाएका छन् । आर्थिक पारदर्शिताका लागि ढिलो गरेको खण्डमा आफूले कानुनी बाटो अवलम्बन गरी संस्थाको रकमलाई पारदर्शी बनाउन बाध्य हुनुपर्ने भन्दै अध्यक्ष सुवेदीले जतिसक्दो छिटो निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङलाई हिसाब बुझाउन समयसीमा दिएको बताइएको छ ।

भएको के छ ?
विभिन्न कारणले दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि अस्थायी बसोबास गर्नेगरी गैर आवासीय नेपाली संघ दक्षिण कोरिया अभिभावक रहने गरी उसकै सक्रियतामा स्थापित नेपाल हाउस स्थापनाको सातौं बर्षसम्म आइपुग्दा पूर्ण लङ्गडोसरह भएको अवस्थामा निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले पूर्णरुपमा सञ्चालन गर्नेगरी ३,१५,००,००० कोरियन वन पैसासहित जिम्मेवारी लिएका थिए । विविध कारणले सौलको क्यापिटल सिटीमा रहेको नेपाल हाउस लक्ष्मी गुरुङकै कार्यकालमा दुई स्थान परिवर्तन गर्दासम्म आइसियुमा छटपटिएको अवस्था जस्तै छ । सम्भवतः बाँच्ने सम्भावना छैन भने दुई वर्षको अवधिमा नेपाल हाउसकै भाडा, मर्मत, स्थान परिवर्तनका नाममा ५,७३,१३,१३० (५ करोड ७३ लाख १३ हजार १ सय ३०) कोरियन वन अर्थात नेपाली ५० लाख भन्दा बढी रकमलाई खर्च देखाइएको छ । उक्त खर्चलाई नयाँ कार्यसमितिले अस्वाभाविक खर्चको रुपमा लिएको छ ।

आइसिसि सदस्य शुल्क व्यक्तिले तिर्नुपर्नेमा संस्थाले तिर्नेगरी केन्द्रमा ११,००,००० कोरियन वन रकमसहित अर्को केन्द्रलाई बुझाएको भन्ने शीर्षकमै ११,००,०००
(११ लाख) कोरियन वन निकासीसहित एनआरएनएलाई कोरियामा नै दर्ता गर्नेगरी संस्था दर्ताको लागि भन्ने शीर्षकमा ३०,००,००० (तीस लाख) कोरियन वन रकम खर्च देखाइएको छ । तर, कानुनी प्रक्रियाका लागि एक पैसा नबुझाएको नयाँ कार्यसमितिको आरोप छ । निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले घुमाउरो पाराले पूरै ३० लाख कोरियन वन फिर्ता आउने बताएकी छन् ।

नारामा मजदूरमैत्री एनआरएन बताए पनि एनआरएनए कोरियाकी निवर्तमान अध्यक्ष गुरुङले आफनो २ बर्षको कार्यकालमा संस्थाको तर्फबाट एक नेपाली मजदूरलाई मात्र ३ लाख कोरियन वन आर्थिक सहयोग गरेको देखाइएको छ । उनले मजदूरका लागि आफनै ब्यतिगत खर्चमा धेरै सहयोग गरेको बताउँदै गर्दा राजदूत, पत्रकार अनि कोरियामा आउने मन्त्री, नेता लगायतका नाममा कुल ३७,९६,९०० (३७ लाख ९६ हजार ९ सय) कोरियन वन रकमलाई भोजभतेरका नाममा गरिएको अनावश्यक खर्चका रुपमा नयाँ कार्यसमितिले मनोमानी भएको बुझेको छ । 

निर्वाचनको मुखमा विविध कारण देखाई नेपालीको घर नामबाट परिचित नेपाल हाउसलाई स्थान परिवर्तन गर्दा नेपाली असनबजार नामबाट परिचित दोङदेमुनमै निवर्तमान अध्यक्षको पूजा रेष्टुरेन्ट रहेकै भवनमा सारी नेपाल हाउस मर्मत शीर्षकमा गरेको खर्च रकम २२,००,००० (२२ लाख) कोरियन वनलाई नेपाल हाउसका नाममा आफनै रेष्टुरेन्ट मर्मत गरेर खर्च देखाइएको नयाँ कार्यसमितिले आरोप लगाएको छ । एनआरएनए कोरियाभित्र आर्थिक अनियमितताका बिषयमा कोरियाको नेपाली समाजलाई नजिकबाट बुझेका एकजना मजदूर बैरागी माइलाले फेसबुकमार्फत यस बिषयलाई लुकाउन नहुने भन्दै केही समय अघिदेखि नै आक्रोश पोख्दै आएका थिए ।

त्यस्तै कोरियामा रहेका नेपाली संघसंस्थाले गर्ने कार्यक्रममा सहयोगका नाममा एनआरएनए संस्थाको कोषबाट बाँडिएको ४१,३१,००० (४१ लाख ३१ हजार) कोरियन वनलाई सहयोग गर्नुको कारण उल्लेख नभएकाले जथाभाबी गरिएको खर्चका रुपमा बिचार गर्नुपर्ने शीर्षकमा नयाँ कार्यसमितिले महत्वपूर्ण बुँदाको रुपमा राखेको छ । त्यस्तै अझ चाखलाग्दो कुरा त निवर्तमान कार्यसमितिका कोषाध्यक्ष आलोक बाँनियाको खातामा ५५,००,००० (५५ लाख) कोरियन वन रहेको विवरण सहितको आर्थिक प्रतिवेदन निवर्तमान कार्यसमितिले बाहिर ल्याए पनि स्वयम गुरुङले ५० लाख मात्र रहेको बताएकी छन् । अध्यक्षको भनाई र आर्थिक प्रतिवेदन दुबैका अर्थमा ५ लाख कोरियन वन फरक परेर बाझिएका छन् । कोषाध्यक्ष बाँनियालाई अवैधानिक कारोबारमा संलग्न रहेको आधारमा कोरियन प्रहरीले पक्राउ गरी डिपोर्ट गरिसकेको छ । स्मरणरहोस्, सातौं अधिवेशनमा कोषाध्यक्षको खाताको रकम ६ महिनाभित्र आफूले उठाउने गरी अध्यक्ष गुरुङले कागजी सहीछाप गरेको भनेर निर्वाचन मण्डलले जानकारी गराएको छ ।

एनआरएनए दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङको छैठौं कार्यसमितिले आफनो कार्यकालमा कुल १२,८८,४२,५०० (१२ करोड ८८ लाख ४२ हजार ५ सय) कोरियन वन आम्दानी देखाएको छ । तर, ११,१३,४१,४४५ (११ करोड १३ लाख ४१ हजार ४ सय ४५) कोरियन वन खर्च सातौ अधिबेशनबाट संकलित रकमबाट गरेको प्रष्ट देखिएको छ । साथै, १,७५,०१,००० (१ करोड ७५ लाख १ हजार) कोरियन वन बचत भएको देखाए तापनि कानुनी प्रक्रियामा खर्च नभएको र कोषाध्यक्षको खातामा फरक परेको रकम समेत गरी जोड्दा २ करोड कोरियन वन भन्दा बढी हुनुपर्नेमा संस्थाको खातामा १ करोड कोरियन वनको हाराहारीमा रहेको बुझिएको छ । छैठौं कार्यसमितिभित्रैबाट अध्यक्ष गुरुङले अधिकांश निर्णय पदमा नरहेका ब्यक्तिबाट सल्लाह गरेर जाने गर्दा यस्तो अवस्था आएको जानकारी दिएका छन्, जुन आश्चर्यलाग्दो बिषय छ । नयाँ कार्यसमितिले ७,७०,४०,२३० (७ करोड ७० लाख ४० हजार २ सय ३०) कोरियन वन अर्थात ७० लाख नेपाली रुपैयाँ बराबरको हिसाब चित्तबुझदो प्रमाणको अभावले देखिएको छ । कुन मितिमा, कसरी, कुन प्रक्रियाबाट रकम निकासा गरिएको हो ? त्यो प्रष्ट नभएकाले हिसाब नबुभ्mने र संस्थाको नाममा हुने अनावश्यक खर्च समेत रोक्ने प्रतिबद्धतासहित आफनो कार्यकालमा हुने खर्चलाई पारदर्शी बनाउन भन्दै नयाँ कार्यसमितिले संस्थाका पूर्व उपाध्यक्ष दिनेश हिराचन संयोजक रहने गरी लेखासमिति बनाएको छ । आफनो कार्यकालमा भएका खर्चका के कस्ता शीर्षकमा नयाँ कार्यसमितिले चित्त नबुझाएको हो त्यसको जानकारी प्राप्त हुनासाथ आफनो कार्यसमिति बीचमा छलफल गरेर जानकारी दिने निवर्तमान अध्यक्ष गुरुङले बताएकी छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय