भेडीकम्बलको प्वाल

dainikonline
क्षितिज मगर | कात्तिक १६, २०७६ शनिबार | 0

पुरानो भेडीकम्बल । कम्बल बीच भागको प्वाल । र, प्वाल जस्तै जिन्दगी ।

दृष्टिपातपछि यस्तो लाग्छ–
–मानौँ यो प्वाल मेरो मुटुको प्वाल हो, जहाँबाट अतीत निसृत भइरहन्छ ।
–मानौँ यो प्वाल जीवनको एक घाउ हो, बिगत बल्झाइरहन्छ ।
–मानौँ यो प्वाल नमीठो सपना हो, केबल झस्काइरहन्छ ।
–मानौँ यो प्वाल पाइलाको ‘ठेस’ हो, सधैँ लडाइरहन्छ ।
–मानौँ यो प्वाल कल्पनाको त्यान्द्रो हो, अन्तहीन सोचाईमा अल्झाइरहन्छ ।

(सम्झेर मुटु कटक्क खान्छ । आँखा धमिलिन्छ । त्यसै त्यसै थर्थराउँछन् ओँठहरु । दाँत किटिन्छन् । मुट्ठी कसिन्छन् । र, श्वास छिटछिटो बढ्न थाल्छ । अप्रत्याशित श्वासप्रश्वास । विगत उभिन्छ आँखामा । किशोरीवस्थाका रंगीन याम फर्कन्छन् पूर्ववत् । कल्पनामा फर्कन्छु– गाईग्वाला बस्दाको रोमाञ्चित क्षण, वसन्तकालीन जंगलका उल्लासमय पल, जुनेली यामका साँझ र रातहरु । स्मृतिका धुमिल चित्रहरु स्पष्ट भएर उभिन्छन् । लालभञ्ज्याङ उभिन्छ । खागला छेडा उभिन्छ । चारे धुरी आउँछ । खुङ दमार आउँछ । रीखोला सुसाउँछ । सुसाहटको लयमा आँखाबाट अर्को रीखोला कलकलाउँछ थाहै नपाई । कारण– यी चित्रसित अभिन्न गाँसिएका क्रियाकलापहरु आउँछन् र दिलका उजाड गराहरुमा डोजरले झैँ खनेर मलाई विस्मृत पारिदिन्छन् ।)

जीवनमा घोचिरहने यो कम्बलको प्वाललाई त्यसो भए उसको र मेरो प्रेमकहानी चकनाचुर परेजस्तै टुक्राटुक्रा पारेर जलाइदिउँ त ? उसले मलाई घात गरेजस्तै मैले पनि यो कम्बललाई दोबाटोमा लगेर फ्याँकिदउँ त ?

अहँ, हुँदैन हुँदैन ।

मान्दैन मन । एक मनमा पीडाको पहाड बोकेर अर्को मनको पूर्वी आकाशमा जीवनका आशावादी विचारहरु जुर्मुराउँछन् मेरा । सकारात्मक भावनाहरु फक्रिन्छन्, तिहारको सयपत्रीजस्तै । गम्छु । गहिरिएर सोँच्छु । उसको र मेरो विच्छेदित सम्बन्धको बिन्दुबाट बैशाख यामको पल्लवित पालुवाझैँ जीवनवादी विचार टुसाउँछ । अँधेरा स्मृतिहरु उज्यालिन्छन्, घामझैँ । पीडित आत्मा एकाएक सबल र स्फुर्तिला हुन्छन् पानी पाएपछिको बिरुवाझैँ । कावा खाँदै उडेका मलेवाझैँ निर्बाध र स्वतन्त्र हुन्छ मेरो मन ।

अर्को जुनीमा नि सँगै रहने’ उसको झुटो कसम । एकै जुनीको पूर्वाद्धमै नदीका दुई किनार भएका छौँ ऊसँग आज । उसबेला लालभञ्ज्याङका गुराँसलाई साक्षी राखेर एकाकार भएका हाम्रा बाचाका बारेमा गुराँसहरु बोल्न सक्दैनन् । हाम्रो गहिरो प्रेमकिस्साको प्रत्यक्षदर्शी रुखहरु, खागलाछेडाका चट्टानहरु मुक्तकण्ठले बक्न सक्दैनन् । न न्याउली चरीको रुवाईमा अभिव्यक्त हुन्छ हाम्रो पूर्व प्रेमकहानी । न त कोइलीको भाकामै प्रस्फुटित हुन्छ हाम्रा प्रेमारम्भका संवादहरु । सक्दैन, रीखोलाले पनि सुसेल्न सक्दैन कि, उसले के के आश्वासन दिएको थियो प्रेममा । मैले के बचन दिएकी थिएँ स्वीकृतिमा ।

यसकारण यो कम्बल र कम्बलको प्वाललाई सुरक्षित राखेकी छु ।
मनमा यस्तो लाग्छ–
–यो प्वाल मेरो पहिलो प्रेमको साक्षी हो, जो निर्धक्क बक्न सक्छ ।
–यो प्वाल मेरो समर्पणको ठोस प्रमाण हो, जो मेरो कहानी साबित गर्न सक्छ ।
–यो प्वाल मेरो जिन्दगीको एक मोड हो, जसमा मेरो वर्तमान उभिएको छ ।
–यो प्वाल मेरो अतीतको एउटा किताब हो, जसलाई निर्बाध पढ्न सकिन्छ ।

के हो त यो भेडीकम्बलको प्वाल ?

के छ त यसको रहस्य ?

यो कहानी बताउनु भन्दा पहिले म आफ्नो कहानीको पृष्ठभूमि बताउन गइरहेकी छु ।

जेलबाङदेखि पश्चिमतिर नागबेली बन्दै उभिएका डाँडा र ती डाँडा बीच बीचबाट बनेका गहिरो खोँच, एउटा खुङ्खोला र अर्को सुकाखोला । बायाँतिरको खोला नाउँ मात्रको खोला हो । हिउँद सुख्खा रहने र वर्षा मात्र बग्ने हुँदा ‘सुकाखोला’ भनिन्छ । अलि माथिको शिरानलाई ‘मन्जुवाखोला’ । यही मन्जुवाखोलाको बायाँपट्टि नमुर्गागाउँ र दायाँपट्टि खर्कडाँडापछिको आउने खोला नै ‘खुङ्खोला’ हो । खुङ्खोलाको शिरानमा थपक्क बसेको सानो गाउँ नै खुङ्गाउँ हो, अर्थात मेरो जन्मभूमि । त्यहीँबाट बग्ने खुङ्खोलामा तल झाँक्रीखोला र अलि तल जेलबाङ फाँटको किनारमा सुकाखोला मिसिएपछि मात्र रीखोला बन्छ ।

यो गाउँमा मानव बसोबासको आदिमकालदेखि कति कहानीको जन्म र अन्त भए होलान्, त्यो कसैले लेखाजोखा राखेनन्– जसरी खुङ्खोला र सुकाखोलामा कति भेल उल्र्यो ? हिसाब हुन्न । प्रेम ? घात ? कति आँशु ? कति पसिना ? अहँ, कसैले कहीँकतै केही पनि लेखेनन् अथवा बताएनन् । तर आज म मेरो कहानी बताउँदै छु । सम्भवतः शताब्दीकै छरपस्ट र अराजक कहानी ।
म सानी छँदा उसले मलाई हात डो¥यायो होला । पिठ्युँमा बोक्यो होला । म्वाई खायो होला । खै के के लीला भयो ? म आफूलाई याद आउने अवस्थामा पाउँदा सबभन्दा नजिकको साथी उही थियो । हुन त अरु अरु पनि थिए । जोखे थियो, नौले थियो, मुले थियो, गोडल्फे थियो । र, थिए– हिकासरी, बिनमति, लालसरी, बनमाली । तर मलाई किन हो किन ऊ नै मन पथ्र्यो । ऊ अथवा सन्तु बुढा । उसको मामाछोरी कहलिएकी थिएँ म । मगर साइनोमा म साली र ऊ भेना । सालीलाई भेनाले आफ्नो बनाउने जन्मसिद्ध हक नै मानिन्थ्यो मगर संस्कारमा । त्यो कथनले पनि हाम्रो बालमनोविज्ञानमा ठूलो घर बनाएको थियो शायद । “न ज्या सु ?”– कसैले सोधेमा ऊ मैतिर इङ्गित गर्दै निर्धक्क भन्थ्यो– “बनिसरा साली ।”

उमेरले मभन्दा सन्तु पाँच वर्षले ठूलो थियो । ऊ कालोपाटी बोकेर स्कूल गएको नै दुई वर्ष बढी भइसकेको थियो । अब ऊ सन्तुबाट वसन्त भयो । खैर, कहिल्यै भनिन मैले वसन्त, मायाले बोलाउँथेँ– सन्तु । ऊ झोलामा किताब बोकी खुरुरु डौडेर स्कूले हुनुको शान देखाउँथ्यो ।

मेरो घरबाट उसको घर अथवा नमुर्गागाउँ जान आधी घण्टा लाग्थ्यो । तेर्सै तेर्सो बाटो । ऊ स्कूलबाट कहिलेकाहीँ मेरो घर आउँथ्यो र सँगै उसको घर जान्थ्यौँ । फुपु भन्नुहुन्थ्यो– “माङ् उडाले जिन्हुज्याव र ?” लाजले म रातोपिरो भई बटारिएकी हुन्थेँ । उसको ओँठमा पुरुष हुनुको अपराजित मुस्कान कोरिन्थ्यो, मानौँ मलाई भगाई भित्र्याउँदै छ । हरेक पर्वमा फुपुको ‘जुङ्’ पु¥याउन जान्थेँ म । सानो झोलामा एक माना चामल, एक बोटल रक्सी, केही मासु र रोटीका पोका बोकेर उसको आँगन टेक्न नपाउँदै ठूला मान्छेले भन्थे– “आबो ऐडे ज बाहारी जै ने ।” बुहारी बन्ने कुराले किन हो खै, आनन्द लाग्थ्यो ।

जब ‘चारेधुरी’मा कुहिरोले छपक्क ढाक्थ्यो । खोलानाला बढ्थे । जमिनमा जुकाको लश्कर स्याउँस्याउँती नाच्न थाल्थे । तब हुन्थ्यो स्कूलको बर्खे बिदा । बिदाका दिन हाम्रो जीवन अविस्मरणीय लीलामा फेरिन्थ्यो । मलाई अहिले लाग्छ, मानवलाई सबैभन्दा ठूलो स्वतन्त्रता बालसंसारमा मात्र सम्भव छ । त्यो स्वतन्त्रताभित्रको हाम्रो बाल्यलीला के के भयो भयो । छुट्टीका दिन– बाख्राग्वाला जानु, पौडी खेल्नु, चराका गुँड खोज्दै हिँड्नु, के के संसारको रचना गरेर खेल्नु हाम्रा दिनचर्या थिए, बाल्यजीवनका । 

कुनै दिन थियो त्यो । मन्जुवाखोलामा पोखरी बनाएका थियौ, ढुङ्गाले बारेर । सन्तु कम्मरमा बाँधेको पेटी खोल्यो र ‘बल्ला’ भुइँमा राख्यो, भेष्ट पनि त्यहीँ राख्यो अनि रहमा हामफालेर भन्यो– “डेई खेवैने ।” त्यसपछि नौले गयो । अनि मुले, जोखे र गोडल्फे पनि । हिकासरीले मैलो परेको बल्लाको गादो निकालिन् र घाँगर पनि फुकालेर एकै ठाउँ शिरको रुमालसित थुपारिन् । क्रमशः लालसरी, बनमाली, बिनमति र मैले पनि त्यसै गर्न हतारियौँ । ‘छोप्ल्याङ् छोप्ल्याङ्’ गर्दै पानीमा रमाउन थाल्यौँ । माछाझैँ जलक्रिडामा हेलिएका हामी । सन्तु बाहेक कोही कसैको शरीरमा एक धर्सो समेत कपडा थिएन । स्वतन्त्रता सर्वेसर्वा थियो । न कुनै तुच्छ सोँच । न त कुनै कामवासनाको विचार । लोभ थिएन, स्वार्थ थिएन । रीस थिएन, राग थिएन । थियो त त्यही स्वतन्त्र वाल्यजीवन । बाल्यसंसार– जलक्रिडाको उमङ्ग । रोमाञ्च थियो । उत्साह थियो । खुशी थियो । हाँसो थियो । साँच्ची ! बालशौभाग्य अथवा बाललीलाको निस्वार्थ र उत्कट खिलखिलाहट थियो त्यहाँ । एउटा रुमानी उल्लासपूर्ण बालसखी र सामिप्यता । 

“चुचना”– छेउँमा उभिएको गोडल्फेको पिसाव फेर्ने टुप्पामा हिकासरीले आफना साना औंलाले तल माथि गरिदिई र पानीमा हाम्फाली । न आक्रोश, न गुनासो । गोडल्फे पनि हाँस्दै, रमाउँदै पछिपछि हाम्फाल्यो । एकछिनसम्म पानीमा समातासमात गरेर हाँसे । त्यो क्रियाकलाप सबको उन्मुक्त हाँसोको गर्भभित्र विलीन भयो । नौलेले बनमालीको टाङ्मुनि हेर्न खोज्यो । बनमाली पानीको छालमा आफूलाई लुकाउँदै पौडी । पानीभित्र सन्तुले मलाई कहाँ कहाँ छोएर के के ग¥यो ? त्यो पनि बालरोमाञ्चको त्यो कोलाहलभित्र कता गायब भयो भयो । जोखे र बिनमति एकेक हातले अँगालो पारी अर्को हातले नाक थुन्थे र एकैचोटि पानीमा डुबेर बाहिर निस्की रमाइरहेथे । मुलेले लालसरीको गुप्ताङ्गमा पानी छ्यापी छिल्लियो । दुबै हत्केला घोप्टो पारी लालसरीले आफूलाई बचाई । केही बेरपछि सबले एक अर्कोमाथि पानीका फोहरा वर्षायौँ । अनि शुरु भयो औधी खुशी र हाँसोका उल्लासपूर्ण गुञ्जन । यस्तो लाग्थ्यो, मानौँ प्रकृतिबाट हामीलाई सब गर्न छुट थियो ।

अर्काे स्मरणीय कुरो ! बाख्राहरु छाडिदियौँ उही पारामा । 

खर्कडाँडाको बाँजो गराहरुमा वस्ती बसाल्ने भयौँ ।

बाल्य जमात उही थियो हाम्रो, मात्र एक वर्षको उमेरलाई छिचोलेका थियौँ । मेरी सानी बहिनी मनिसरा ठूली भएर हाम्रो जमातमा थपिएकी थिई । अँगेरबुटाका सुरिला हाँगाहरु काटेर खम्बा र दलिन तयार पा¥यौँ । त्यसमाथि ‘ढोकायो’का पातले छायौँ । लस्करै आ– आफ्ना घरहरु तयार भए एकैछिनमा । मुश्किलले दुईजना ओतिन मिल्ने बर्खेगोठ पाराको डिजाइनमा तयार भएका ‘ओत’लाई घर भन्ने भयौँ । ‘घर’हरुको लाइन तयार भई गाउँ नै बन्यो ।

अब त्यो गाउँमा जोडाजोडी बस्ने भयौँ ।

नौलेको बनमाली छँदै थिई । मुले र लालसरी पनि पहिलेदेखिकै जोडी थिए । जोखे र बिनमति, गोडल्फे र हिकासरी पूर्वजोडीहरु भए पनि हिकासरीले जोखेलाई ‘रे’ मानेर खेल्ने भनेपछि बिनमति ठुस्किएकी थिई । उसले गोडल्फेलाई रे (श्रीमान) मान्न तयार भइनी । भनी, “इ, नो मोढे स कटाका ओली रीज्याउ... ।”

“उई, कटालाई नक्कल पारीज्याबे लिखुरीय”– गोडल्फे पनि के कम ?

समूहमा सबभन्दा पातली बिनमति नै थिई । त्यही भएर लिखुरी भनेपछि उसको कन्सिरी तातिन्थ्यो । फतफताउन थाल्थिन्– “नङ् गोडल्फे, मोढे, घुढुलु, नङै मालेव हर्पे, अङ्गार... ।”

सन्तुले उनीहरुको विवाद समाधान गरिदियो । “जो स मिलीडे मनि टाय... सोजोका सा नि बे”– सन्तुले दुबैलाई सम्झाए बुझाएपछि अन्तमा यही भनाईमा सहमत भए । जोडी जो जसको भए पनि यो त बलबलाको खेल मात्र हो भन्ने कुरा हिकासरीले सबभन्दा पहिले बुझेर जोखेलाई स्वीकारी । भनी– “हो टा किनी मैदाने य ओज्या ङा टा है ।”

जोखेको अर्को नाम ‘मैदाने’ थियो, कारण– उसको घर मैदानमा थियो । जग्गा जहाँ पनि चउरैचउर परेको थियो उसको । ‘बलबला’को यो खेलमा हिकासरी मैदाने अथवा जोखेको हुने भएपछि गोडल्फेको अनुहारको रंग बदलियो । तर केही बोलेन ऊ । मुख बिगार्दै बिनमति पनि अब गोडल्फेसितै जोडी बन्ने स्वीकृति दिई । म र सन्तु त अभिभाज्य नै थियौँ ।

सबै जोडी बन जाने भयौँ, नजिकैको झाडीमा । केहीबेरपछि सबका घरघर घाँस र दाउरा आइपुग्यो । दुईचार पात भएको डालीलाई घाँसको भारी र दाउराको स–साना टुक्रालाई भारी मानेर उत्साहित र रोमाञ्चित जोडीहरु घरघर भित्रिए । 

एकैछिनपछि रात प¥यो । प्रत्येक घरमा जोडाजोडी सुत्ने भए ।

“ङा छु छ ऐसेने कि ?”– तोते बोलीमा बहिनी मनिसराले किचलो गर्न थाली ।

“नङ् पार राय गे सेर बुज्यु डी बे ।”– मैले फकाएँ ।

सबैभन्दा ठूली मान्छे अथवा बज्यै बन्न नमान्ने भई मनिसराले ।

“ङा के सन्तु भेना य ओज्या टा ने ची ।”– मनिसराले जिद्दी गरी ।

केहीबेर अघि बन जाने बेला साथमै रहेकी बहिनीले अहिले सुत्ने बेला मेरै जोडा पो ताक्न थाली । जे गरी सम्झाए पनि नमान्ने भई । आँखाबाट आँशुका ढिक्का खसाल्दै रुन पो थाली । यो समाधान गर्न पनि सन्तु नै अघि स¥यो । फुक्र्याएर भन्न थाल्यो– “हुन्के हुन्के, ङा स ओखरे ज बोलोङ् है ।” सधै उनीहरु सँगै रहने कुराले मलाई कताकता चसक्क घोच्यो । फेरि सम्झेँ, यो त बलबलाको खेल पो त ।

अचम्मको त्यो बालशुलभपना ! बाललीला !!

स्वाभाभिक जैविक क्रियाको मानवजन्य त्यो प्राकृतिक खेलको नक्कल । खै, कसरी सिक्यौँ ? किन त्यही खेल खेल्यौँ ? सम्झँदा हाँसो लाग्छ अचेल । 

त्यो गाउँका सबै ‘रे’हरु आ–आफ्ना ‘ज्या’माथि चढ्थे । धेरै हैन एकैछिन मात्र । हिकासरीमाथि जोखे थियो । बनमालीमाथि नौले थियो । उसै तवरमा मुले र लालसरी, खोसिएको मेरो सन्तु र सानी बहिनी मनिसरा पनि गाउँभित्रको यो क्रियाकलापमा सहभागी थिए । हेर्दै थिएँ, उसको ओँठमा सन्तुष्ट बाल्यमुस्कान थियो, अथवा अपराजित हाँसो ।

गोडल्फे र बिनमतिको हालत भने केही फरक थियो । निरीह जस्तै बेजोडी बनेकी म सबको क्रियाकलाप नियालीरहेकी हुन्थेँ । आफूमाथि चढ्न आएको गोडल्फेलाई बिनमतिले लात्ताले बाहिर हु¥र्याइदिई । सँगसँगै उनीहरुको घर पनि भत्कियो । आक्रोशित थिई बिनमति– “इटा व मोढेलाइ मनि टर्ट....।”

“उई, कटालाय जैसि व लुजा बे ।”– गोडल्फेको गुनासो ।

रोमाञ्चको त्यो रात्रिकाल मानिएको सुनसानलाई उनीहरुको कचिङ्गलले होहल्लामा परिणत गरिदियो । फेरि भनाभन । झगडा । होहल्ला । त्यो हाम्रो खेलको गाउँ असलीको गाउँ जस्तै बन्यो । यसपटक पनि सन्तुले नै सो झगडा साम्य पारिदियो । अनि मलाई कानमा खुसुक्क भनेथ्यो– “टला के नङ्स याज बिहे ङाडो है ।”

केहीबेरपछि भाले बास्यो । उज्यालो भयो । सब जोडी जंगल गए । म बज्यै बनेर घरै बस्ने भएँ । मनिसरा र सन्तु बन गए यसपटक । घाँस र दाउराको भारी फेरि पनि घरघर भित्रिए । रात प¥यो फेरि । उही क्रियाकलापमा निमग्न सबै जोडी । यसपटक चाहिँ गोडल्फे र बिनमति झगडा गरेनन् । 

फेरि उज्यालो । बन जाऊ । फेरि फर्केर उही रात ।

एकैछिनमा दर्जनौँ दिन र रात बित्थ्यो त्यो हाम्रो गाउँमा । 

बाल्यवस्थाको यो रमाइलो खेलमाथि पूर्णविराम लगाएर समयको रेफ्रीले सिट्ठी बजायो । अर्थात केही वर्षपछि उमेरको खुड्किलोमा माथि पुग्यौँ हामी ।

कति वर्षा रुँदै हामीबाट बिदा भयो ?

कति हिउँद हाम्रा छालामा चिसो डामेर भाग्यो ?

समयको अनन्त गति नियमित बित्यो । दिन बिते । महिना बिते । र, बिते वर्षहरु ।

मन्जुवा खोलामा धेरैपटक बर्खेभेल उर्लेर बग्यो । बगाईसँगै हाम्रो बाल्यवस्था पनि रीखोला हुँदै लुङ्ग्री माडी पुग्यो । खुङ्पातल र लालभञ्ज्याङ्मा धेरैपटक पातहरु पलाए झरे, गुराँसहरु फुले ओइलिए । सँगसँगै परिवर्तित हाम्रा सोँचाई र विचारमा नजानिँदो पारामा धेरै इच्छा र आकाँक्षाहरु पलाए, झरे, फेरि फुले ओइलाए । अब सर्वाङ्ग नाङ्गो भई मन्जुवा खोलामा पौडी नखेल्ने भयौँ । खर्कडाँडामा वस्ती पनि नबसाल्ने उमेरमा पुगिसक्यौँ ।

लामो समयको अन्तरालपछि हिजो घाँस काट्न सन्ध्याकालीन समयमा त्यहाँ पुगेकी थिएँ । उस्तै थियो खर्कडाँडा, मात्र मेरा बालसखीहरु थिएनन् । र, त्यो उमेर थिएन मसँग । टोलाईरहैँ, गमिरहेँ– उही खर्कडाँडाको उतिस रुखमुनि बसेर । यस्तो लाग्थ्यो, उहिले वस्ती बसालेका बाँजो गराहरुले पिरतीको वस्ती बसाल्न आह्वान गरिरहेथे । छेउँको झाडीले पनि ‘माया मा¥यौ कि’ भनिरहेझैँ लाग्यो । अलि परको मन्जुवा खोला बालक्रिडाबिहीन रोइरहेझैँ लाग्यो । “एक दिन तिमीसितै बिहे गर्छु... ।”– सन्तुको आवाज गुञ्जियो कानमा । आँशुले आँखा धुमिल भयो विगत सम्झेर ।

समयले मान्छेका बाल्यकाल र किशोरावस्था बीच ठूलो खाडल बनाइदिँदोरहेछ । यही खाडलबाट बिकसित मानवचेतनामा बाल्यकालको जस्तो निस्वार्थपना र निश्छलता बिल्कुलै नहुँदोरहेछ । मानवस्वार्थ र अभिमान यहीँनेरबाट अङ्कुराउँदो रहेछ र मान्छे मान्छे भन्दा फरक खुड्किलोमा उक्लिँदो रहेछ । 

धन्य समय ! धन्य मानवचिन्तन !!

बाल्यवस्थामा सँगै रहने भनेकाहरुप्रति निष्ठुरी समय किन निर्मम बन्छ हँ ? सोँच्छु, खर्कडाँडामा वस्ती बसालेका उहिलेका दौतरीहरु कोही पनि जोडी बन्न सकेनन् । सम्बन्धलाई टुक्र्याइदिनु र अर्को सम्बन्धमा लगेर जोडिदिनु– यो बलवान समयको कपटी खेलसँग पराजित हुँदोरहेछ मान्छे । गोडल्फेलाई खर्कडाँडाको वस्तीमाझैँ लात्ता हान्ने अवस्थामा छैनी बिनमति । बन्दुक बोकेर छापामार बनी, जनयुद्धमा । गोडल्फे अरबदेश कता गयो कता ? नौले अर्कीसित बिहे गरी कालापार गयो । बनमाली रुल्बाङगाउँ पोइल गई । मुले र लालसरी आ–आफ्नो दुनियाँमा कहाँ गए कहाँ ? जोखे पनि माओवादी सेनाको कमाण्डर भयो । उसको हिकासरीलाई आर्मीले गोली दागेर हत्या गरे । उहिले खर्कडाँडाको रुमानी वस्तीमाझैँ ‘मैदानेको बुढी हुन्छु है’ भनेर नभन्ने गरी शाही सेनाका क्रुर गोलीले हिकासरीलाई सदाको लागि छिनिदिएको थियो ।

एउटै अपवादको कुरो । हो, मानव जीवनको महाअपवाद– मनिसरा र सन्तुले मात्र खर्कडाँडाको जीवनलाई साकार पारेका छन् ।

कसरी साकार भयो उनीहरुको जीवन ? त्यसभन्दा पहिलेको मेरो कहानीको स्थान कहाँ थियो ? त्यो पनि बताउँदै छु ।

म किशोरीवस्थाको पूर्वाद्र्धमा पुग्दा सन्तु पूर्णवयस्क उमेरमा उक्लँदै थियो ।

खर्कडाँडाको वस्ती बसाल्ने बाल्यखेलमा मात्रै मनिसराले मलाई पराजित गरेकी थिई । त्यस उप्रान्तका सबै बैशालु याममा ऊ भन्दा अघि थिएँ । सन्तुसँग घामछायाँ जस्तै बनेका थियौँ हामी । साँच्ची ! उमेरको डिग्रीसँगै एक बिना अर्को रहनै नसक्ने कोणमा पुगेका थियौँ । कसरी कसरी एक अर्कोमा हराइसकेका थियौँ हामी दुई ।

खुङ्पातलमा सोत्तर बटुल्न साथ छुट्दैनथ्यो । घाँस काट्न सँगै हुन्थ्यौँ लालभञ्ज्याङ्मा । सुख्खा घुर्रा बटुल्न खागलाछेडा र घमखोला माथिको भीरमा होस कि दाउरा बटुल्न माझिङ् धुरी र चारेधुरी होस पाइलामा पाइला खपाएर हिँड्नै पथ्र्यो हामीलाई । एकको अनुपस्थितिमा संसारै छैन जस्तो गरेर लिप्त थियौँ, खर्कडाँडाको बालवस्तीको जोडी जस्तै बनेर । भलै एकछिन मनिसराले खोसेकी थिई । सन्तुले गाई फुकाएर छिप्छिपे पु¥याउनु र मैले खर्कडाँडा काटेर गाईलाई ऊकहाँ पु¥याउनु त दैनिकी नै थियो हाम्रो । बुज्युधुरीबाट उज्यालो पोखिनु अगावै डाँफेछेडा पुगेका हुन्थ्यौँ घसेरी साथीहरुसित । त्यहाँ सबभन्दा पहिले मेरो कानले उसकै आवाज खोज्दथ्यो । मुटु ठिहि¥याउने चिसो सिरेटो र पाइला चिर्ने तीखा र चिसा तुषारोका किला पनि तातो र गर्मीझैँ मान्थ्यौँ एकले अर्कोको उपस्थितिमा ।

गाईगोठमा ‘गोठाल्नी’ थिएँ म । समयानुसार कहिले खुङ्कुना त कहिले ‘डाँफेछेडा’ गोठ सारिन्थ्यो । 

प्रत्येक साँझ ऊ मेरो गोठमा आइपुग्थ्यो । बोलाउँथ्यो– “न एसे व ?”

“अहँ ।”

“कटाने बे ?”

“नमालीया मी र माहुय ।”– ऊ बिना निदाउन नसकेको कुरा गरेकी हुन्थेँ ।

“कैले क ङासिकिन मनि नमाङल् ?”

“हत् माबनीय”– अशुभ नबोल भन्थेँ– “ऐ टालीन् ।”

“हा हा जिन्दगी ची, भरोसा के माटाय नी ।” 

“साँचो माया ची माछुटीय ।”

“टाने के आव जुनी ल याज माङ्क, छुटो जुनी मनि.... ।”– उसले अर्को जुनीमा पनि साथ रहने बाचा गथ्र्योँ । त्यसै त्यसै हौसिन्थेँ म, मानौँ अर्को जुनि पनि यही हो ।

त्यसपछि शुरु हुन्थ्यो हाम्रो उल्लासमय साँझ । मानौँ बाहिरको अन्धकार अन्धकारै होइन । तल खोला सुसाउँथ्यो, वर्षायामको खोला । रातका किराहरु किर्किराउँथे वरिपरि । त्यही लयमा हाम्रो प्रेमालाप शुरु हुन्थ्यो । सुनौला भविष्यका महत्वाकाँक्षी योजनाहरु बन्थे । प्रेमिल स्पर्श । कोमल आलिँगन । गला नजिकैको मात लगाउने श्वासप्रश्वास ।

ननिदाएरै चिप्लेर जान्थ्यो रात ।

उभौलीको जौबारीको गोठदेखि शुरु भएको हाम्रो प्रेमकहानीको यात्रा अर्को उभौलीसम्म पनि त्यही रफतारमा चल्यो । 

जेलबाङको पढाई सिध्याएर सन्तु अब टाढाको गजुल स्कूल पढ्ने भयो । हाम्रो भेटघाट पातलिँदै गयो । ऊ बिना नितान्त एक्लो गाई ग्वाला बसेँ । नियास्रा दिन बिताएँ । रन–बन डुलेँ । उकाली ओराली गरेँ । घाँसदाउरा गरेँ । भविष्यको मीठो दाम्पत्य जीवन सम्झेर । कुनै रात हुन्नथ्यो उसको सम्झना बिनाको । कल्पनामै बित्थे दिन ।

मेरो जीवनमा अर्को उभौली थपियो । त्यो उभौलीसँगै मनिसरा पनि सात कक्षा पास गरी दाङ घोराही पढ्न जाने भई । स्कूलमा राजनीतिक अस्थिरताका कारण स्कूल छाडेर सन्तु पनि घोराही झर्यो । जानुभन्दा अघिल्लो साँझ मेरो गोठ आयो ऊ । भविष्यको मीठो आश्वासन मायावी लयले बेरेर हातमा थमाइदिएथ्यो– “राम्रो पढ्छु.... ब्रिटिशे लाहुरे हुन्छु ।” स्वर्णिम कल्पनामा म आफूलाई लाहुरेनीमा दर्ज गरेकी हुन्थेँ ।

गाई ग्वाला बस्दा म ऊनको झोलामा क्रुसले बुनेर उसको नाउँ लेख्थेँ । सुन्दर फूलबुट्टा भरेर रुमालमा उसकै नाउँ कोरेकी हुन्थेँ । सेतो रुमाल, रंगीन फूल, फूलजस्तै सपना । सपनाको आकाशभरि उसको सुनौला नाउँ र तारा जस्तै सुन्दर उसको आकृति । झलझली आउँथ्यो आँखाभरि । 

उसको सम्झनामा मेरो गोठाल्नी जीवन वर्षदिन बित्यो । फोन थिएन । मोबाइल थिएन । सकी नसकी दुईचार अक्षरका चिट्ठी कोर्थेँ, मनका भाव पोखेर कोर्न जान्दिनथेँ । एकाध उसका चिट्ठीपत्र आउँदा ऊ नै आएर अँगालो मारेझैँ भान पथ्र्यो । पढिरहन्थेँ, हेरिरहन्थेँ महिनौसम्म । अजीव प्रेमरसले आल्हादित हुन्थ्यो हृदय ।

ऊ नआएपछि सपनाले पनि मलाई किन त्यसरी झस्काइरह्यो ? अचम्म लाग्छ । सपनीमा ऊसँगै घाँस काट्न बिरानो जंगल पुगेका हुन्थ्यौँ । जसै उसले मलाई अँगालोमा बेथ्र्यो, ठीक त्यही बेला मलाई ऐठन पथ्र्यो । उकुसमुकुस र छट्पटीपछि ब्युँझन्थेँ, म आफूलाई एक्ली पाउँथे गोठमा । पुनः निदाउँथेँ । साथै हुन्थ्यौँ फेरि । सधैँ खुट्टाको चप्पल हराएकी हुन्थेँ । खोज्थेँ, बिपनामा उसलाई सम्झे जसरी । अहँ, पाउन्नथेँ । खाली खुट्टा हिँडेकी हुन्थेँ ।

“घोराहीको कुनै अस्पतालमा थिएँ । घाँसको भारीसँगै लडेर हात भाँचिएको थियो मेरो... सन्तु पनि थियो त्यहाँ । तर ऊ एक्लै थिएन । स्कूल पढ्दै गरेकी कुनै शिक्षित केटी थिई ऊसँग । मान्छेहरु भन्दैथिए– ‘हिजो मात्रै टीकाटालो भाको... ।’ मुटु कुँडलिएर आयो, असारे झरी खस्यो आँखामा.... ।”– झल्याँस्स ब्युँझिएँ । उफ ! के सपना देखेकी थिएँ । 

ब्युँझिसक्दा पनि आँखाबाट निरन्तर अश्रुधारा छुटिरहेथ्यो । जोड जोडले चलिरहेथ्यो मुटु ।

खुईँय गर्दै सोँचेँ, सपना सपनामै हराओस् । उफ ! बिपना नहोस यो । 

दशैँ आयो । सन्तु पनि आयो । सोँचे, भाग्यमानी छु ।

बिपनामा ऊसितको सम्बन्ध उत्तिकै गाढा थियो ।

पन्ध्र दिनको बिदापछि ऊ दाङतिरै फर्कियो । मेरो मनमुटु उतै लगेर गएजस्तो लाग्यो । सपनाले मलाई गिज्याए पनि मेरो बिपना बलियो छ भनेर छाती गर्वले ढुक्क फुल्यो ।
अहँ, होइन रहेछ । समय मेरो बिपक्षमा उभियो ।

उसको गहिरो सम्झना मेरो गोठाल्नी जीवनको बाटो भएर तीन महिना घस्रिएपछि समयले मेरा भावनामाथि बज्रपात गरेर त्यो आँशु झार्ने सपनालाई साँचो बिपनामा सावित गरिदियो । उफ ! पक्षपाती समयले मलाई अन्याय ग¥यो, घोर अन्याय । 

एकाबिहानै गोठमा आई धनिसरा । सुनाई– “मनिसरा नाना त पोइल गई रे ।”

“हँ ! कोसित ? कहाँ ? कहिले ?”– आश्चर्य र जिज्ञासा एकैचोटी बेरिए मनमा । प्रश्नपछि प्रश्न गरेँ बहिनीलाई ।

“कोसित हुनु नि ? सन्तु भेनासित रे... खुबै पढ्ने कहलिएर गाकी, पोई पो खोज्न गा‘रैछे । .... कहीँ नभाको बैँश ।”

भाउन्न झैँ लाग्यो । आँखा रिङ्न थाल्यो । मेरो लागि पृथ्वी भासिएझैँ भो । आकाश फाटेझैँ भो । आफुले आफैलाई वसमा राख्न सकिन । मुटु बटारिएर असीम पीडा आँखाबाट झर्न थालेपछि म बाहिरिएँ ।

मेरो संसारको सब सब चीज गुमेजस्तो लाग्यो । दिन पनि अँधेरो देख्न थालेँ । रातभरि आँशुको तालमा डुब्थेँ । बिहान उठ्दा शिरानी नुनिला आँशुले निथ्रुक्क भिजेको हुन्थ्यो । काममा चासो थिएन । रुची थिएन खानाको ।

सोँचे, खर्कडाँडामा मनिसराले मेरो जोडी खोसिदिएकी थिई । त्यो बलबलाको खेल थियो । तर वास्तविक जीवनको यो खेलमा पनि साँच्चै मेरो सन्तुलाई खोसिदिई । लाग्यो, त्यो अवास्तविक बाल्यखेल नै मेरो जीवनको कटु यथार्थतामा जोडिने दुर्भाग्य आएछ । जिन्दगी खर्कडाँडा वस्तीको खेल जस्तै भयो । 

‘निकै जिद्दीवाली थिई मनिसरा । सानो छँदा सबै कुरामा आफ्नो जीत हुनै पथ्र्यो । नभए ऊ आवेशमा ममाथि झम्टिन्थी । चिथोर्थी, टोक्थी, थुक्थी र के के हो भन्नै नसकिने गाली गर्थी मलाई । सानी सम्झेर माया गर्थेँ र उसलाई पुलपुलाउँथेँ । मलाई लाग्छ, त्यो पुलपुलाहट र मायामै मैले उतिखेरै मेरो सर्वस्व सुम्पेर आत्मसमर्पण गरेछु । पराजित भएछु । सानी छँदा मलाई खुट्टा तान्थी र ढालेर चिथोर्थी, अब कहिलेसम्म मेरो खुट्टा तानिरहन्छे ? सुलीचौर हटारु को जाने भन्ने बिवाद चल्यो । बुवाआमाका आडले म जाने भएथेँ । ऊ जान नपाएको झोकमा तल लुम्बाडाँडासम्म पछिपछि ढुङ्गा हान्न गएकी थिई धेरै पहिले । अब ऊ कहिलेसम्म मलाई ढुङ्गा हानिरहन्छे ? सानो छँदा खाने थाल पनि खोसिदिन्थी । अहिले त झन भाग्य नै खोसिदिई ।’

यसरी स्मृतिका घटनाहरुको नागबेली आँखाभरि उभिरह्यो । र, अतीतसित म आफै प्रश्न गर्दै गएँ । उत्तर पनि आफै दिँदै गएँ ।

बिहे खबर सुनेको तेस्रो दिनको बिहान सन्तु मेरो गोठमा झुल्कियो, रुझेको बिरालो जस्तो मुडमा ।

आक्रोश र पीडाले आँखा देख्न छाडेँ । कुनै दिन निकै सुन्दर लाग्ने उसको रुप कुरुप देख्न थालेँ । असहजता बढ्न थाल्यो, उहिलेको सपना ऐँठन जसरी । ऊमाथि मैले झम्टिएँ त ? घृणाले चिथोरेँ त ? मेरा अढाई वर्षको प्रेमको ब्याज मागेँ त ? उसले दिएको एक एक बचनको सत्यता खोजेँ त ? अहँ, केही पनि मागिन । एक शब्द पनि बोल्न सकिन । मात्र आँखाबाट अढाई वर्षीय प्रेमको जिन्दगी झरिरह्यो । मुटु हुँडलिरह्यो । छातीमा भूईँचालो गइरह्यो । मुखबाट रुवाईको हिक्का छुटिरह्यो । झुकेका परेली साहसपूर्वक उठाएर उसले भन्यो– “मलाई जीवनभरि पापी र धोकेवाज सम्झिरहे है बनिसरा ।” न यसको प्रतिवाद गरेँ । न त उसको भनाईसित कुनै आग्रह र गुनासो नै । फेरि पनि “हिक्क... हिक्क” को जवाफ फर्काएँ ।

“खर्कडाँडामा पछि तिमीसितै बिहे गर्छु भनेर किन नगरेको त ?”

यो भनिन मैले ।

“अर्को जूनीमा पनि सँगै रहौला भनेर यही जूनीमै किन छुट्टियौ त ?”

यो पनि भनिन मैले ।

“लाहुरे बन्छु भन्थ्यौ, के लाहुरे नबनेरै बहिनीलाई बिहे ग¥यौ त ?”

यो त झन भन्दै भनिन मैले ।

मात्र ऊ बोलिरह्यो । आँशुले जवाफ दिइरहेँ मैले ।

सन्तु र मेरो गहिरो प्रेम सम्बन्धबारे के मनिसरालाई थाहा थिएन त ? थियो । डाँफेछेडाको गाईगोठमा हामी सँगै बसेको बारेमा ऊ अनभिज्ञ थिई त ? निश्चितै होइन । तब फेरि किन मेरो खुशी देख्न चाहिन त मनिसराले ? यसको जवाफ मसित छैन । उसले नानाथरिका कुरा गरेकी भनेर कसैले मलाई सुनाएथे– “दिदी बनिसराले मलाई नपढाएर भेना सन्तेसित बिहे गरी भने बालको खाल उखेलीदिन्छु.... स्कूल पढ्ने केटासित ग्वाला बस्ने केटीको जोडी सुहान्न ।”

उसकै कुरा सही । धन्य बहिनी, म प्रेमयुद्धमा पराजित भएकी छु ।

बिहेको छ महिनापछि जाँड धोकिरहेका समूहबीच सन्तुको तीखो आवाज सुनेर मेरो शरीरमा एकैचाटी हजार सुइयोले घोँचेजस्तै भयो । नशाको सुरमा ऊ भन्दै थियो– “अरे यार केटीको भरै हुन्न... डाँफेछेडाको गोठमा बनिसरासित कुन चाइने केटो मस्तसँग सुतेको भेटेँ, त्यसपछि छोडिदिएँ ।” गफको लामो अन्तरालपछि कुनै जवानलाई सुझाउँदै थियो– “मैले जस्तै दिदीलाई छाडेर बैनीलाई भगाइदे न यार, हा हा हा ... ।”

“बेइमान पुरुष ।”– मनको आवेश मनमै रोकेँ ।

“बनिसरा दिदी जोसित पनि बस्थी, त्यै भएर तिम्रो भेनाले छाडिदिए । त्यस्तै होला तिम्रो पनि, सबैसित मन नबाँड्नु... ।”

मनिसराले जुन केटीलाई नैतिक शिक्षा दिई उही केटीले मलाई यो कुरा सुनाउँथिन् ।

वाह ! मेरो चोखो आत्माको यस्तो धज्जी ? मेरो प्रेमकहानीको भद्दा मजाक ? यो मनमुटु उसकै लागि साँचेर कसैसित हाँसोठट्टा समेत गरिन । केबल यो दिलको सिँहासन उसकै निम्ति सजाएँ । तर अहिले यो छाती चिरेर देखाउन सक्दिन म । सोँच्छु, उनीहरुको बिहेको औचित्य प्रस्ट्याउन छद्म झुटको खेती गरिरहेछन् । जान्नेहरु भन्थे ‘चतुर खेलाडीले आफ्नो गल्ती ढाकछोप गर्न अर्को महागल्ती गर्छ’– सम्भवतः उनीहरु यही रणनीतिमा छन् । उनीहरुको तर्कनासित मेरो कुनै आग्रह छैन । मनमनै शुभकामना दिन्छु– शुभ रहोस तिमीहरुको दाम्पत्यजीवन । धन्य जुवाई बहिनी !

हजुर, शुरुमै भनेकी थिएँ नि, भेडीकम्बलको प्वाल । ऊ दशैँ बिदामा एक साँझ मेरो गोठ आयो । मीठो प्रेमजालभित्र सुनौला भविष्यको बात मार्दै अँगालोमा बेरिएका थियौँ । भुुसुक्कै निदाएछौँ । निद्रामै शरीर चल्दा चुलोको ठूलो अगुल्टोनेर कम्बल धकेलिएछ र आगोले पोलेछ । हो, यो त्यही प्वाल हो । जसलाई अचेल पनि सुमसुमाइरहेछु, आफूबाट चोइटिएको जिन्दगीको एक कालखण्ड सम्झेर । त्यो रात नै हाम्रो अन्तिम रात थियो, जसको ठोस प्रमाण यो भेडीकम्बलको प्वाल ।

२० भदौ २०७५
घोराही, दाङ ।

 

क्षितिज मगर

(मगर तत्कालीन जनमुक्ति सेना नेपालका ब्रिगेड भाइस कमाण्डर हुनुहुन्छ र हाल साहिल्य लेखनमा सक्रिय हुनुहुन्छ ।) 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय