छठ पर्व : सर्वजन हिताय सर्वजन सुखाय

dainikonline
धर्मेन्द्र झा | कात्तिक १६, २०७६ शनिबार | 0

देशभित्र त्यस्ता थुप्रै साँस्कृतिक अवयव छन् जसले देशलाई एकतासूत्रमा आवद्ध गर्न मद्दतमात्र पुराउँदैनन् समग्र राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छन्÷गर्दछन् । त्यस्तै एउटा प्रतीक हो, महपर्व छठ । 

प्रत्येक वर्ष शुक्ल षष्ठी (प्रदोश षष्ठी)को साँझ र सप्तमीको बिहान सूर्यलाई अर्घ दिई मनाइने यो पर्व चार दिने अनुष्ठान हो । सदाझैँ यस वर्ष पनि यो पर्व प्रारम्भ भइसकेको छ । विहीवार नुहाईधुवाई अर्थात शुद्ध हुने क्रमबाट प्रारम्भ हुने यो पर्वअन्तर्गत शनिवार मुख्य अनुष्ठानको आयोजना हुँदैछ । 

पर्वअन्तर्गत शुक्रवार धवार खरना अर्थात व्रतालुद्वारा व्रतको प्रारम्भ हुने र आइतवार सूर्यदेवलाई विहानको अर्घ अर्पण गर्दै पारनको आयोजनापश्चात पर्व समापन हुनेछ ।  

महपर्व छठ पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको भइसकेको छ । पछिल्लो दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ । यस अर्थमा आजको सन्दर्भमा यो पर्व अमेरिका, बेलायत, युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व आज एउटा खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन । विगतमा विभिन्न दायित्व, पेशा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली÷भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्वको बनाउन भूमिका निर्वाह गरे । 

पछिल्लो दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुङदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको पाइएको छ । देशको राजधानी काठमाडौलगायत उपत्यकाका विभिन्न तलाउ—पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो । 

२०२०—३० को दशकतिर उपत्यकाको कीर्तिपुर, बल्खु, कालिमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पूरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको साँस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ । र, यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्वपूर्ण प्रतीक बन्न पुगेको छ भन्दा असान्दर्भिक हुँदैन । 

पछिल्लो अवस्थामा विश्लेषणको यत्न गर्ने हो भने यो पर्व संवादको उपयुक्त माध्यम हो भन्न सकिन्छ । आपसमा संवाद गर्न जे जस्तो अवस्था आवश्यक पर्दछ, छठमा उपलब्ध छ । संवादमा सबैको सम्मान, प्रतिष्ठा र मर्यादाको ख्याल गर्नु वाञ्छनीय छ । आफ्नो कुरा सुनाउनेमात्र होइन अरुको कुरा पनि सुन्ने आग्रह संवादमा गरिन्छ ।

यीमध्ये कुनै पनि कुराको अनुपस्थितिमा संवादले मूर्तरुप ग्रहण गर्न सक्दैन । ध्यान दिइयो भने छठको सन्देश पनि यही नै हो, संवाद अर्थात सर्वजन हिताय सर्वजन सुखाय । 

यहाँ सन्दर्भ छठको छ,। यसैमा केन्द्रित हुनु उचित हुन्छ । मूलतः यो पर्व सूर्योपासनासँग सम्बन्धित छ । यस पर्वमा सूर्यको उपासना गरी तिनैको पूजा अर्चना गर्ने गरिन्छ । शास्त्रीय मान्यताअनुसार यो पर्व कात्र्तिक शुक्ल षष्ठीको तिथिमा मनाइन्छ । 

यसलाई प्रदोश षष्ठी पनि भनिन्छ । यो पर्व कहिलेदेखि मनाउन सुरु गरियो ? त्यसको एकिन गर्न सकिएको छैन । व्यवहारमा मैथिल सभ्यताको प्रारम्भसँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ । 

यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ । यो पर्व जलाशय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ । 

पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाईमा विशेष ध्यान दिइन्छ । यो शुद्धता र सफाईको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ । यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन् । 

जस्तै उखु, बोट समेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ । यसैगरी यो पर्वको केन्द्रीय पूजनीय तत्व हो सूर्य । सूर्यलाई शक्ति मानिन्छ । यस आधारमा यो पर्व शक्ति पर्व पनि हो । सूर्य ऊर्जाकेन्द्र हो ।

यसै ऊर्जाले प्रकृति—सृष्टि सञ्चालित छ । ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन । यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्व छ । मूलतः नेपालको मध्य तथा पूर्वी तराई—मधेशमा हर्षोल्लास र बडो श्रद्धापूर्वक मनाइने महापर्व छठ उदाउँदो र अस्ताउँदो सूर्यको उपासना गरी मनाइने गरिन्छ  ।

यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता तथा सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ । 

माथि चर्चा गरिसकियो, यो पर्वले विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरिरहेको छ । छठ पूजाघाटको उपस्थिति विश्लेषणले पनि यो पुष्टि गर्दछ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन, त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन । पूजा र उपासनामा कसैलाई निषेध गर्दैन । 

छठ घाटमा मधेशीमात्र उपस्थित हुँदैनन् । हिन्दूमात्र पनि उपस्थित हुँदैनन् । सम्पन्न, धनी र हुनेखानेमात्र सहभागी हुँदैनन् । जातपातका आधारमा छुवाछूत देखिँदैन । छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन ।
 

धर्मेन्द्र झा

(झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय