विदेशबाट फर्केर ‘फूल’खेती

dainikonline
रासस | कात्तिक १३, २०७६ बुधबार | 0

घोराही । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।

अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् ।

शुरुका केही वर्ष तिहारको लागि मात्र उहाँले फूलखेती गर्नुभएको थियो । 

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उहाँको भनाइ छ ।  उहाँले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गर्नुभएको छ ।

अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उहाँले  वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताउनुभयो । आउँदो वर्ष १८ कट्टामा फूलखेती उहाँको भनाइ रहेको छ ।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताउनुभयो ।

“दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ”, रोकाले भन्नुभयो । अहिले उहाँले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गर्नुभएको छ । 

घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताउनुभयो । “दैनिकजसो फूलको अडर आउने गरेको छ छ”, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन”, रोकाले भन्नुभयो ।

आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उहाँको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् ।

“काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोकाले भन्नुभयो । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उहाँको भनाइ छ । अहिले उहाँले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताउनुभयो । 

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताउनुभयो ।

गत वर्ष उहाँले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताउनुभयो । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उहाँको भनाइ छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय