यस्ता छन् महाकवि देवकोटाका चर्चित दुई कविता

dainikonline
दैनिक अनलाइन | कात्तिक १०, २०७६ आइतबार | 0

यात्री

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?

मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो ?

हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार

मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार

नसा नदीका तरल तर, मन्दिर आफू अपार

कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?

मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज

चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज

शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।

भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर

ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर

खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर

साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ

चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात

छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।

सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा

बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दुस्खको गानामा

दर्शन किन्तु कहिँ दिँदैन, चर्म(चछुले कानामा ।

कुन मन्दिरमा जान्छौ यात्री, कुन नव(देश बिरानामा

फर्क फर्क हे १ जाऊ समाऊ, मानिसहरूको पाउ

मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ

मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।

 

 

पागल

जरूर साथी म पागल

यस्तै छ मेरो हाल।

म शब्दलाई देख्दछु

दृश्यलाई सुन्दछु

बासनालाई संबाद लिन्छु।

आकाशभन्दा पातला कुरालाई छुन्छु।

ती कुरा,

जसको अस्तित्व लोक मान्दैंन

जसको आकार संसार जान्दैन

म देख्दछु, ढुङ्गालाई फूल

जब, जलकिनारका जल चिप्ला ती,

कोमलाकार, पाषाण,

चाँदनीमा,

स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,

पत्रिएर, नर्मिएर, झल्किएर,

बल्किएर, उठ्दछन् मूक पागलझैँ,

फूलझैँ( एक किसिमका चकोर फूल

म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग

एक भाषा, साथी

जो लेखिन्न, छापिन्न, बोलिन्न,

बुझाइन्न, सुनाइन्न।

जुनेली गङ्गा(किनार छाल आउँछ तिनको भाषा

साथी १ छाल छाल

जरुर साथी म पागल

यस्तै छ मेरो हाल

तिमी चतुर छौ, वाचाल

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिके

एकै बाँकी रहन्छ

तिमी पाँच इन्द्रियले काम गर्छौ,

म छैटौँले

तिम्रो गिदी छ साथी

मेरो मुटु।

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,

म उसमा हेलेन र पद्मिनी पाउँछु,

तिमी बलिया गद्य छौ

म तरल पद्य छु

तिमी जम्दछौ जब म पग्लन्छु,

तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,

र ठीक त्यसैका उल्टो

तिम्रो संसार ठोस छ।

मेरो बाफ

तिम्रो बाक्लो, मेरो पातलो

तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,

ठोस कठोरता तिम्रो यथार्थ छ।

म सपनालाई समात्न खोज्दछु,

जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको

पान्ढीकीको बाटुलो सत्यलाई

मेरो छ वेग काँडाको साथी

तिम्रो सुनको र हीराको

तिमी पहाडलाई लाटा भन्दछौ,

म भन्छु वाचाल।

जरुर साथी।

मेरो एक नशा ढिलो छ।

यस्तै छ मेरो हाल

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको दिन पारेर उहाँको कविता साभार गरी प्रकाशित गरिएको हो ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय