बन्दुक, कलम र अब फूलसँग क्षितिज

dainikonline
उदय जीएम | कात्तिक ४, २०७६ सोमबार | 0

उनी बन्दुकसँग खेले । उनी कलमसँग पनि खेले । र, अब फूलसँग खेल्दैछन् । बन्दुकसँगको साइनो त उनको २०६९ सालमै चटक्कै चुँडिएको थियो । कलमसँग भने फुर्सदमा अझै पनि खेल्दैछन् कहिलीकसो । फूलसँग भने उनी उसैगरी खेलिरहेका छन् ।

घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँको झण्डै डेढ बिघा जमिन । त्यही जमिनमा तिहारको छेकोमा ढकमक्क फुलेका छन् सयपत्री फूलहरु । सयपत्री फूलसँग खेलिरहेका भेटिन्छन्, क्षितिज मगर ।

रोल्पा जिल्लाको साविक जेल्बाङ गाउँ विकास समिति वडा नं. ४ अर्थात हालको सुनछहरी गाउँपालिका वडा नं. ७ । हो, यही ठाउँमा जन्मिएका थिए उनी । माओवादी जनयुद्धको उदगम थलोको रुपमा देशविदेशमा परिचित रोल्पाली ठिटो क्षितिजलाई सानै उमेरदेखि राजनीतिको बाछिटाले छुन थाल्यो । त्यसैले त उनी २०४७÷०४८ सालदेखि नै विद्यार्थी आन्दोलनमा सक्रिय हुन थाले । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ सालदेखि थालेको जनयुद्धको प्रारम्भ विन्दुदेखि नै उनी पनि त्यसैमा मिसिए ।

‘जनयुद्ध’को आँधीबेहरीमा हजारौं साथीसङ्गी, दाजुभाइ, दिदीबहिनीले शहादत प्राप्त गरे उनकै वरिपरि । युद्धको मोर्चामै रहेर पनि ‘भाग्य’ले बाँचे वा ‘काल’ले लगेन उनलाई । समयक्रमसँगै हेलिएर माओवादी शान्तिप्रक्रियामा आइपुग्यो । तत्कालीन जनमुक्ति सेनाको ब्रिगेड सहायक कमाण्डरमा रहेकै बेला निस्किए उनी स्वेच्छिक अवकाश । २०६९ सालमा स्वेच्छिक अवकाशमा निस्किएपछि बन्दुकसँगको उनको साइनो त्यहींनेर टुङ्गियो ।

बन्दुकसँग खेल्ने निर्दयी मनमात्रै थिएन उनीसँग । उनीसँग थियो एउटा भावुक कवि मन । त्यसैले उनलाई डोर्यायो कलमले । विभिन्न साहित्यिक र समाचारमूलक पत्रपत्रिकाहरुमा मर्मस्पर्शी र यथार्थपरक साहित्यिक रचनाहरु पस्किँदै आएका क्षितिजले आफ्नो कलमको नीवलाई तिखार्दै रहे, उजिल्याउँदै रहे । त्यही मेसोमा उनले ‘आस्थाका पर्खालहरु (कवितासंग्रह– २०६२) लिएर आए पाठकमाझ । दुई वर्षपछि उनले ‘सुनछहरीको ऐनामा’ (कथासंग्रह– २०६४) पनि पस्किए पाठकमाझ । तत्कालीन माओवादीले चलाएको ‘गण्डक अभियान’मा समेत सहभागी क्षितिजले त्यतिबेलाको डायरी २०६८ मा प्रकाशित गरे, ‘गण्डक अभियान ।’ र, अहिले पनि साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएका क्षितिजले गीतहरु पनि रेकर्ड गराइसकेका छन् ।

बसाइँ सराई नगरे पनि हाल उनी घोराही उपमहानगरपालिकाको वडा नं. १४ का बसोबासी हुन् । रोजीरोटी र दिनचर्याको हिसावले आफूलाई एउटा मजदूरको चिनाउने क्षितिजका साहित्यिक रचना भने निरन्तर कोरिइरहेका छन्, निरन्तर ... । भन्छन्, ‘कथासंग्रह, कवितासंग्रहका पाण्डुलिपि तयार भइसकेका छन् । प्रकाशन गर्न भने बाँकी छ ।’

रोजीरोटी र जीवनचर्याका लागि काम गर्नु त छँदैछ, त्यसबाहेक कलमसँगको उनको घनिष्ट सम्बन्ध भने लोभलाग्दो छ । परिस्थितिले उनलाई बन्दुकसँग खेल्ने बनायो । युद्धका मोर्चाहरु हाँक्ने बनायो । अब भने कलम र फूलसँग खेल्दैछन् उनी । ‘तिहार आँगनैमा आइसकेको छ । लाखौं करोडौं मूल्यबराबरको नक्कली फूल बिक्री हुन्छ यो बेला । त्यसैले यो मौसमको सयपत्री फूलको मागलाई हेरेर केही आर्थिक गर्जो टारिन्छ कि भनेर फूलको खेती गरेको हुँ’, क्षितिज भन्छन्, ‘दाजुभाइलाई प्लाष्टिकको नक्कली फूल लगाइदिनु भन्दा बारीमै फुलेको सयपत्रीको फूल लगाइदिँदा त्यसको अर्थ नै बेग्लै हुन्छ ।’ कलमको यात्रा, फूलसँगको प्रेम निरन्तर चलिरहोस् । शुभकामना !

 

क्षितिजको कुरा

उदय जीएम

(जीएम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा दैनिक अनलाइनका प्रधानसम्पादक हुन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय