अपराधीको राजनीतिकरण नहोस्

dainikonline
वैकुण्ठ ढकाल | कात्तिक ३, २०७६ आइतबार | 0

बा सधैं राजनीति भनेर हिँड्ने, छोरोलाई त्यसप्रति कहिल्यै पनि चासो लागेन । बाको निरन्तरको राजनीतिक इमान्दारिताले चर्चा चुलिँदै गएको थियो । सधैंको राजनीतिले छोरालाई पनि एकपटक बुझ्नु प¥यो भनेर केही सैद्धान्तिक किताबहरु खोजेर पढ्यो जून बाकै पुस्तकालयमा भेटिएका थिए । त्यही बेलामा चुनावको रौनक पनि छाइसकेका थियो । तर भर्खर भर्खर राजनीति पढ्न थालेको छोरोले पुस्तकमा पढेको कुरा र व्यवहारिकता बुझिरहेको थिएन । पुस्तक र व्यवहार निकै फरक पायो । एक दिन मुखै खोलेर बासँग यसबारे जिज्ञासा पनि राख्यो । राजनीतिको व्यवहारिक पक्षको बारेमा प्रयोगात्मक शिक्षा दिन जिद्धी गरेपछि बाले पनि तत्काल सहज हुने उपाय अपनाए ।
 
घर सानै थियो । कम्पाउण्ड चढ्न पनि अलि अलि मेहनत गर्दा सकिन्थ्यो । तैपनि छोराले बालाई कम्पाउण्ड चढ्न भने । जब छोरो कम्पाउण्ड चढ्न खोज्थ्यो । तर बाले तलबाट खुट्टा तानिदिन्थे । धेरैपटकको प्रयासमा पनि छोरो कम्पाउण्ड चढ्न नसकेपछि बासँग झर्को फर्को गर्न थाल्यो । 

बा केही बोलेनन्, केवल मुस्कुराइरहे । अनि अर्को काम लगाए छोरालाई । ल माथि छतमा गएर हाम्फाल, म समाउँछु । भुइँतले घरको छतबाट हाम्फाल्नु त्यत्ति जोखिमको काम थिएन । बाको आदेश पालना गर्न आनाकानी गरेनन् । त्यसमाथि बाले नै काँध थाप्छु भनेपछि त के समस्या भयो र ? गयो, हाम्फाल्न तयार भयो । जब हाम्फाल्दै गर्दा बाचाहिँ अर्कोतिर फर्किए । उसको गोडामा सामान्य चोट लाग्यो । बाले कुनै रेस्पोन्स गरेनन् ।
 
रिसाउने पालो फेरि छोराकै । बाको ओंठमा मुस्कान फेरि आयो । त्योसँगै जवाफ पनि– वास्तविक राजनीति यही नै हो । 

छोराले कति बुझ्यो, बाले दिएको राजनीतिको व्यवहारिक शिक्षा ।
 
नेपाली परिप्रेक्ष्यमा राजनीति भनेको वास्तवमा यही हो भन्ने भएको छ । राजनीतिको कुरा गर्दा अहिले चर्चा गर्नैपर्ने घटना र पात्र हुन्– नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम । जो अहिले नेपाली ‘हिटलर’को नाममा कुख्यात छन् ।

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता हुन अडोल्फ हिटलर । अहिले पनि उनी हिटलरका नामले विश्वभर परिचित छन् । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भयो । युद्धमा ६ करोड मानिसले ज्यान गुमाए । र त क्रुर तानाशाहको संज्ञा पाएका छन् हिटलरले ।
 
हिटलरको नेपाली संस्करण कसरी आयो त ? त्यसको लागि १२ वर्ष अघि फर्कनु पर्दछ । र, रौतहट पुग्नु पर्दछ । संविधानसभाको पहिलो निर्वाचनको तयारी भइरहेको थियो । त्यो माहोलले रौतहटलाई छाड्ने कुरै भएन । साविकको राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका– ४ मा २०६४ चैत २७ मा अकल्पनीय घटना भयो । अहिलेसम्म पनि घटनामा कति मारिए, कति घाइते भए भन्ने यकिन छैन । फिल्मको झल्को आउने त्यो घटनाका मूख्य खलनायक हुन् नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम । जसले बम बनाउन कारखाना नै चलाए । बम बनाउने क्रममा विष्फोट भयो । केही घाइते भए । सामान्य घाइतेलाई समेत नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइयो । शक्तिको आशीर्वादले आलमलाई बचाउँदै आयो । यसले उनलाई शक्ति आर्जनमा सहज हुँदै गयो । सभासद भएका आलम राज्यमन्त्री र मन्त्रीसम्म भए । अहिले पनि रौतहट २ बाट प्रतिनिधिसभाका सदस्य छन् । अनि अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् । बयान दिन अस्वीकार गरिरहेका छन् । त्यत्तिबेला सम्पूर्ण संयन्त्र प्रमाण लुकाउन लागि परे । अहिले प्रमाण जुटाउन लागिपरेको छ प्रहरी । १२ वर्षपछि खोलो फर्कन्छ भनेझैं भएको छ । अर्थात घटना भएको १२ वर्षपछि आलम पक्राउ परेका छन् । त्यतिबेला घटनाको प्रमाण मेटाउन आलमलाई साथ दिएको प्रहरी संगठनलाई अहिले तिनै आलमलाई दोषी प्रमाणित गरी सजाय दिलाउनु छ । 

यो लेखनको शुरुमै राजनीतिको व्यवहारिक प्रयोगको दृष्टान्त प्रस्तुत गरिएको छ । राजनीति कस्तो हुन्छ भन्ने त्यो सानो उदाहरण मात्रै हो । त्यसको सबैभन्दा ठूलो उदाहरण त आलम भएका छन अनि उनको पार्टी नेपाली कांग्रेस । त्यही कांग्रेसको नेतृत्व गर्ने सभापति शेरवहादुर देउवा जसले शुक्रबार भक्तपुर आयोजित कार्यक्रममा आलम पक्राउ पर्नुलाई कांग्रेसविरुद्धको षडयन्त्र भने । १२ वर्षपछि आलमलाई पक्राउ गर्न नमिल्ने भनेर बचाउमा उत्रिए । त्यसको एकमात्र कारण हो– आलम उनका कार्यकर्ता हुन्, सांसद हुन् । देउवाले अपराधीलाई राजनीतिकरण गज्जबले गरिदिए । अरुले पनि गर्छन् अपराधीको राजनीतिकरण र राजनीतिको अपराधीकरण । सामाजिक सञ्जालदेखि सर्वत्र देउवाको आलोचना भयो । अनि देउवा झल्याँस्स ब्युँझिए । चौबीस घण्टा नबित्दै विज्ञप्ति जारी गरे आफ्नै नाम र हस्ताक्षरमा । आफूले त्यसो नभनेको भन्ने ताकत थिएन देउवाको । साराका सारा मिडियाहरुसँग उनको भाषण रेकर्ड नै थियो । लाज ढाक्नका लागि दवावमुक्त अनुसन्धानमा प्रहरीलाई सघाउँछु भनेका छन् । अघिल्लो दिन दिएको अभिव्यक्तिले देउवाको कुरामा विश्वास गर्ने अलिकति पनि आधार छैन । उतिबेलै गृहमन्त्री थिए कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला । त्यो बेलामा अपराधीको राजनीतिकरण नगरेको भए १२ वर्षसम्म आलमको रजगज चल्ने नै थिएन । आलम पक्राउ पर्नुलाई त कांग्रेसविरुद्ध षडन्त्र देखिरहँदा देउवाले बुद्ध एयरको जनकपुरस्थित टिकट काउन्टरमा लात्ती बजारेको आरोपमा राजपा सांसद पक्राउ पर्नुलाई के देखे ? कि देख्दै देखेनन् ?
 
देउवाको विज्ञप्तिमा भनिएको छ– ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’ हो न्याय पनि यही हो । तर निर्दोष हुनु र निर्दोष देखाइनुबीच फरक हुन्छ भन्ने चाहिँ राजनीतिक नेतृत्वले बुझ्नु पर्दछ । अपराधी ‘कांग्रेस’ ‘कम्युनिष्ट’ वा अमुक अमुक पार्टीको ‘नेता’ ‘कार्यकर्ता’ हुनै भएन । अपराधी अपराधी नै हुनु प¥यो । राजनीतिको अपराधीकरण र अपराधीको राजनीतिकरण मात्रै नहुने हो भने धेरै कुरा आफैं ठीक हुन्छ । अहिलेलाई यत्ति मात्रै भनौंः घटनाको निष्पक्ष अनुसन्धान होस, राजनीतिक नेतृत्वले प्रहरीलाई सघाओस् । सघाउन सक्दैन भने पनि नअल्झाओस् ।
 

वैकुण्ठ ढकाल

लेखक: साहित्य र समसामयिक  विषयमा कलम चलाउँछन ।

[email protected]

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय