कविता: मेरो ईश्वर

dainikonline
अनिता न्यौपाने | असोज ११, २०७६ शनिबार | 0

हरेक बिहान आफैले रोपेको 
फूल टिपेर चढाएको हो तिमीलाई ।
मेरै आफ्नै हातले, 
त्यसैमा थपेको हो !
दूबो, धुप,अविर, केशरी जौ तील 
अनि तेल हालिहालि कहिले ननिभोस् भनेर बालेको हो दियो 
र, दुई हात जोडेर मागेको हो तिमीलाई 
भनेको हो मेरै मनले 
मेरो लागि प्रेम पूजा हो 
र, तिमी मेरो ईश्वर 
मेरो जिन्दगीको अन्तिम साससम्म पनि तिमीलाई पुजिरहन पाउँ 

त्यहि ईश्वरलाई साक्षी राखेर 
घुमेको हो सात फन्को 
ईश्वरलाई पहिलो पटक  चढाएर हालेको हो सिउँदोमा सिन्दुर 
पहिलो पटक ईश्वर नै मानेर लगाएको गलामा पोते
र बाआमाको भन्दा बढि विश्वास गरेर 
ईश्वर नै सम्झेर चढेको हो डोली 

ईश्वरकै बरदान भनेर 
रक्सीको मातमै सही
तिम्रो विर्यलाई पुर्याएको हो 
मेरो अस्तित्वको पाठेघरसम्म 
र सुम्सुमाएको हो आफ्नै बढ्दै गरेको पेटलाई 
 देखेको हो एउटा सुन्दर सपना तिमी ईश्वर नै सम्झेर 

आफ्नो वचनहरूलाई सम्झिसम्झि 
हजारौं लातिहरू, लाखौं चोटहरू
तिमीले दिदा पनि ईश्वर ठानेर माफ गरेकै हो पटकपटक 
थाहा थियो तिमी माफीका लायक त हैनौ 
तर मनले ईश्वर मानेपछि 
सब कुरा जायज लाग्दा रहेछन् 

तिमीले मेरा अनिच्छापूर्वक पटकपटक
बलात्कार गरिरहँदा 
म कति पटक दुखे, कति पटक सहे तिम्रो यातना शिविरका 
अनगिन्ती घाउहरूलाई 
यसको जवाफ न तिमीसँग न म नै बताउन सक्छु 

हे मेरो ईश्वर 
मलाई मेरो जिन्दगीमा म बनेर बाँच्नको लागि 
तिम्रो साथ, माया, स्नेहको रूमाल चाहिएको हो 
तिमी दानव बनेर पटकपटक मेरो बध गर्छाै भने 
मैले पनि लिन सक्नु पर्छ 
अन्तिम निर्णय र सुनाउन सक्नु पर्छ 
मेरो पेटमा हुर्कदै गरेको सन्तानलाई 
भन्न सक्नुपर्छ मेरो अस्तित्व लुट्ने 
एउटै मान्छे तिम्रो बाबा हो 
उ तिम्रो बाबा हो तर मेरो लोग्ने हैन 
मैले त्यही दिन आफैले पूजा गरेको ईश्वरलाई सुनाएर
मेरो जिन्दगीको अन्तिम फैसला
भनेकी हुँ ! मलाई लोग्ने चाहिएको थियो ईश्वर 
तिमीले मेरो लागि किन लोग्ने मान्छे पठायौ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय