पूर्व तयारी नहुँदा कोरोनाबाट मृतकको शव व्यवस्थापन गर्न समस्या

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा १ जेठ राति ज्यान गयो । ३ जेठमा स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको पुष्टि गरेपछि शव उठाउने तयारी भयो, तर अघि सर्ने कोही भएनन् ।

काभ्रेमा एउटा पनि शव वाहन छैन । कोरोनाका कारण मृत्यु भएपछि एम्बुलेन्स र अन्य सवारी साधनले शव बोक्न मानेनन् । पूर्व तयारी नहुँदा उनको शव व्यवस्थापन गर्न स्थानीय प्रशासन पनि अन्योलमा देखियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘भक्तपुरसँग समन्वय गर्दा त्यहाँ कोरोनाकै लागि छुट्टै शववाहन भएको बुझियो ।


त्यसैलाई यता बोलायौं, बल्ल सहज अनुभूति भयो ।’ भक्तपुर स्काउटको टोलीले धुलिखेल पुगेर शव उठायो । र, पशुपति आर्यघाटसम्म पुर्‍यायो । त्यसपछि बल्ल आइतबार काभ्रेको संकट व्यवस्थापन केन्द्रले कोरोनाबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न छुट्टै वाहन तयार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, भारतबाट आएका २५ वर्षीय युवकको बाँकेको नैरनापुर गाउँपालिका–६ स्थित क्वारेण्टाइनमै आइतबार ज्यान गयो । परिवारजनका अनुसार, क्वारेन्टाइनमा सिकिस्त युवकलाई पीपीई नभएका कारण एम्बुलेन्सले अस्पताल लैजानसमेत मानेनन् ।

उनको पीसीआर परीक्षणको रिपोर्टले कोभिड–१९ को संक्रमण पुष्टि ग¥यो । उनको पनि शव उठाउन सकस भयो । बाँकेमा पनि शववाहन छैन, न त कोभिड–१९ बाट मृत्यु भएकाहरूका लागि छुट्टै शववाहन नै तयार गरिएको छ ।

सरकारले हरेक जिल्लामा कोरोनाका बिरामी बोक्नका लागि कम्तिमा दुई वटा एम्बुलेन्सलाई छुट्टै व्यवस्थापन गरेर तयारी राख्न निर्देशन गरेको छ । तर, मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि भने छुट्टै शववाहन अनिवार्य गरेको छैन । त्यसो त सबै जिल्लामा शववाहन पनि छैनन् । साधारणतया मान्छे मर्दा ट्रक, ट्रयाक्टर र एम्बुलेन्सले नै घाट पुर्‍याउँछन्, ग्रामीण भेगमा मान्छेले नै शव बोकेर लैजाने चलन छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘शवबाट रोगको संक्रमण फैलिएको पुष्टि भएको छैन, तैपनि पूर्वसतर्कता अनिवार्य गरिएको छ । छुट्टै शववाहन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सकेसम्म अलग्गै शववाहन बनाउनु राम्रो हो, नभए बनाउनै पर्छ भन्ने पनि छैन ।’ कोभिड–१९ बाट मृत्यु भएकाहरूको शव बोक्न प्रयोग गरिएको वाहनलाई डिस्इन्फेक्सन गरी अन्य शव बोक्न प्रयोग गर्न सकिने उनको भनाइ छ ।

सरकरारले शव व्यवस्थापनका लागि ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्य्विधि–०७६’ नै जारी गरेको छ ।कार्य्विधिमा साधारण शववाहनकै प्रयोग गर्न सकिने उल्लेख छ ।

तर, कोरोनाका कारण मृत्यु भएको भनेपछि जोसुकैले शव उठाउन मानेका छैनन् । कार्यविधिले मृतकको शव व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट पारेको भएपनि कसले गर्ने भन्ने तोकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकाटाले कार्यविधिले तोकेबमोजिम शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित जिल्लाको प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको हुने बताए ।

मन्त्रालयले बनाएको कार्य्विधिले कोरोनाका कारण मृत्यु भएका व्यक्तिका आफन्तले पनि एक मिटर टाढाबाट मात्रै हेर्न पाउँछन् । शवलाई धेरै चलाउन पाइदैन, सकेसम्म छिटो सद्गत गर्नुपर्छ, व्यक्तिको कुलरधर्मअनुसार तिल, पानी छर्कने तथा फूल चढाउन भने पाइन्छ ।

शवको जथाभावी सद्गत् गर्नु हुदैन भने अन्तिम संस्कारका क्रममा सहभागी हुनेले पीपीई अनिवार्य प्रयोग गर्नुपर्छ । त्यस्तै, पोस्टमार्टम गर्नु पर्दैन भने पोस्टमार्टम गर्नै पर्ने भए विशेष सावधानी अपानउनु पर्छ ।

किनकि, मृतकको फोक्सो तथा अन्य अंगमा जीवाणु जिउँदै हुनसक्ने सम्भावना रहन्छ । ६० वर्षभन्दा माथिका व्यक्ति र दीर्घ रोगीलाई शवको नजिक जान समेत रोक लगाइएको छ । 
-नयाँ पत्रिका दैनिक

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय