राष्ट्रियताको संघर्षमा एउटा जीत, धन्यवाद सरकार !

dainikonline
सुदर्शन पराजुली | जेठ ७, २०७७ बुधबार | 0

धेरै धेरै बधाई र धन्यवादको लायक भएको छ नेपाल सरकार ।  हेपाहा प्रबृत्तिको रुपमा सन १९६२ देखि र प्रजातन्त्र प्राप्ति पछि २३ बर्ष भन्दा बढि को​ र लगातारको राष्ट्रियताको संघर्षले एउटा जीत प्राप्त भएको छ । नेपालको नक्सामा कालापानी, कुटियाङ्दी र लिपुलेकलाई समेट्ने अस्तिको मन्त्रीपरिषदको निर्णयले । 

मन्त्री योगेश भट्टराइज्युले भन्नुभएको जस्तो यो हाजिरीजवाफमा सोधिने छ पक्कै र इतिहासमा दर्ज भएको छ यो । सङ्गसङ्गै यी तिनवटा कुरालाई पनि विशेष ध्यान दिएर इतिहासमा समेटियो भने मात्रै नेपाली जनताले सधै जित्नेछन् र यो सरकारको पालाको नेपालको इतिहासमै अंग्रेजहरुसङ्ग भन्दा पछिको एउटा ठूलो युद्धको ऐतिहासिक जीत हुनेछ नेपाल र नेपालीको लागि । 

१. यो नक्सा कसले बनायो र त्यो भूभाग किन र कसरी छुटायो ? कि कति बेलादेखि भारतले नै नक्सा बनाइदियो या बनाउन दिइयो यो राष्ट्रघाती काममा को को संलग्न थिए ? के के कारण थियो ? 
२. छुटेको भूमि नक्सामा त समेटियो अनि साँच्चै भूमिचाहिँ कसरी र कहिले समेटिन्छ हाम्रो जमिनमा ? 
३. पाठ्यक्रममा यी सबै कुरालाई कसरी र कहिले समेट्ने ? कक्षा १ र ११ बाहेकका सबै पुस्तक छपाई गरिसकिएको हुनुपर्छ । कि त एउटा छुट्टै पुस्तक तयार पारौं । 

माथि भनिएका इतिहाससहित यो कालापानी, कुटियाङ्दी, सुस्तासहित भारतले अतिक्रमित गरेको मेचीदेखि महाकालीसम्म ६९ स्थान, फिर्ता भएका भए तिनको पनि विवरण र फिर्ता हुन बाँकी ठाउँहरुको विवरण, आफ्नो सीमा सुरक्षार्थ खटिएका स्वतस्फुर्तरुपमा खटिएका र ज्यान गुमाएका नेपालीको विवरण र स्थानीय पालिका हुनुभन्दा पहिला रहेका सिमा सुरक्षा पोष्टको स्थिति र स्थानीय सरकार आएपछि लगाइएका बार, स्थानीयले थपेका पोष्ट र नेपाल सरकारले थपेका पोष्ट आदि र यो राष्ट्रियता, सिमा अतिक्रमण र राष्ट्रघाती सन्धि सम्झौताविरुद्ध राष्ट्रियताको पक्षमा जनस्तरबाट भएका सिमा रक्षा र सुरक्षाका बारे विद्यालय र विश्वविद्यालयस्तरीय पाठ्यपुस्तक बनाऔं । नभए पुरानो नक्सा छापिएका जति पाठ्यपुस्तकको त्यो पेजको नक्सा हटाई नयाँ राखौं र सामाजिक विषयको, नक्सा र माथिको भनिएको विवरण राखी नयाँ पुस्तक तयार पारौं विद्यालयस्तरमा । सो को निम्ति यही हो आफूलाई चुस्त राख्ने र यो पहललाई जनस्तरसम्म र सबै बालबालिकाले सधै पढ्नेगरी इतिहासमा अझै असल काम गर्ने मौका । शिक्षा मन्त्रालय र मन्त्रीज्यूलाई यो सुवर्ण अवसर हो । नपुग थपेर आदरणीय बुद्धिनारायण श्रेष्ठ, भैरव रिसाल र स्थानीयहरुको समेत भोगाइ र अन्य कुरा समेटी पाठ्यक्रम तयार पार्न दिऔं विद्यालय लागुन्जेलसम्म भ्याउने गरी । हामीले हाम्रा भोलिका कर्णधार, यो देशका नीतिनिर्माता तहमा पुग्ने आजका विद्यार्थी भाइबहिनीहरुले सत्यतथ्य पढ्न, सिक्न, जान्न पाउनुपर्छ । २०५४ सालमा राष्ट्रघाती महाकाली सन्धि, सिमा अतिक्रमणको बिरुद्ध र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा भएका मध्यको अत्यन्तै ऐतिहासिक काम थियो यो ‘ब्युझौं, बुझौं र संगठित होऔं, राष्ट्रिय स्वाधिनता र मातृभूमिको रक्षाको अभियानमा अघि बढौं’ भन्ने मूल नाराका साथ खोक्रा पेट अनाज भेट नहुने भोका र नाङ्गा उठ, कोदाला उठ, बन्चरा र हसिया, नाम्ला र डोका उठ । साहुका करकापमा कठिनता भोग्नेहरु हो उठ । ताकेका जिमिदारले युवतीका लोग्नेहरु हो उठ । २०५४ सालमा तत्कालीन अखिल नेपाल जनवादी युवालिग जसको मूल नेतृत्व हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गर्नुभएको थियो । पार्टीको नेतृत्व तत्कालीन नेकपा एकताकेन्द्रका महासचिव नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ (तत्कालीन नाम कमरेड सन्देश थियो)ले गर्नुभएको थियो । त्यतिबेला भारतले नेपालको ६९ ठाउँमा सीमा अतिक्रमण गरेको थियो । युवालिगले १३ दिने मेची–महाकाली–काठमाडौं साइकल यात्रा, सर्वहारा र सच्चा कम्युनिष्ट नेता आदरणीय निर्मल लामाको स्वयं उपस्थितिमा गरिएको थियो । ७ दिने महोत्तरी, सिन्धुलि, काभ्रे, काठमाडौ पैदल यात्रा र जनप्रदर्शन तथा ४९ दिने पैदलयात्रा आदि कार्यक्रम गरिएको थियो । 

राष्ट्रियता जोगाउन म पनि मूल नेतृत्वमा थिए । त्यतिबेला गिरिराजमणि दाइले ‘भारतीय सेना कुटियाङ्दी पारि जा’ भन्ने किताब लेख्नुभएको थियो । तत्कालीन नापी विभाग प्रमुख बुद्धिनारायण श्रेष्ठको विशेष सहयोगमा यो नक्सा र दार्चुलाको ब्यास क्षेत्रको तत्कालीन जनगणनाकर्ता आदरणीय भैरव रिसालको योगदानमा त्यो किताब तथ्यसहित प्रकाशन गरिएको थियो । त्यतिबेला न बेलामा खान पाइन्थ्यो न बस्न नै सजिलो थियो यति धेरै मानिसहरुको निम्ति । दालमठ, चिउरा खाँदै परालमा सुत्दै यो अभियान सम्पन्न गरिएको थियो । आज त्यसको प्रतिफल प्राप्त भएको छ । त्यतिबेला भारतले महाकालीको पूर्णागिरिमा बाँध बाँधिरहेको थियो । त्यो बाँधको निरीक्षण, अध्ययन, अवलोकन र जनमत बुझेर प्रतिवेदन बुझाउन युवालिगले म सुदर्शन पराजुलीसहित ईश्वरी भट्टराई, माधव कोइराला, जगत पार्की, परिक्षद शर्मासहितको टोली बनाई केन्द्रीय समितिले पठाएको थियो । भारतको टनकपुर हुँदै बाँधस्थल जाँदा पूर्णागिरिको मन्दिर हुँदै महाकाली नदीमा डुङ्गा तरेर नेपाल आउँदा झण्डै डुङ्गा पल्टिएको थियो । हामी मध्य जेठको दिनमा दिनभरि भित्री मधेस हुँदै सालघारीको जङ्गलै जङ्गल ठाउँठाउँमा फाट्टफुट्ट बस्ती हुँदै बिहान ५ बजे हिडेको बेलुका ७ बजे बास बस्ने ठाउँमा पुगेका थियौं । त्यो अवधिमा न भोक भन्न पाइने न प्यास । त्यहाँमाथि जनयुद्धको बिगबिगी भएको बेला जुनसुकै पक्षबाट जतिबेला पनि घेरामा परेर मर्न सकिने स्थिति थियो । त्यस्तो अवस्थामा पनि देश र जनताको निम्ति बिना डरत्रास हिँडेका थियौं । मन र मस्तिष्कमा राष्ट्र प्रेमको भावना र साथमा जिम्मेवारीबोध थियो हामीमा । 

आज त्यसको प्रतिफल प्राप्त भएको छ । हिजोको मन्त्रीपरिषदको बैठकले उक्त नक्सालाई नेपालको नक्सामा समेट्ने निर्णयले अत्यन्तै हर्षित र खुशी छु र छौ । ती हिँडाइ हुन् या मेची–महाकाली अभियान । सबै अभियानमा भोक, प्यास, थकाई, दुःखकष्ट केही नभनी हिड्ने हामी हजारौं साथीहरु आज सबैको त्यो दुःख खुशीमा परिणत भएको छ । त्यतिबेला जनस्तरबाट पाएको माया, खाना, पानी जहाँ जहाँ पायौं, पार्टीको आँखाभन्दा माथि उठेर धेरै ठाउँमा सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले सहयोग गर्नुभएको थियो । उहाँहरुप्रति सबैमा हार्दिक हार्दिक हार्दिक नमन । केहीले पार्टीको आँखाले मात्रै हेरेर गाली गर्नुभयो, लखेट्न खोज्नुभयो, पानी माग्दासम्म दिनु भएन । उहाँहरुले यो असम्भव कुरा हो आदि आदि भनी हामीलाई दुःख समेत दिनुभयो । पुलिसको लाठी र भाटा समेत खुवाउनु भयो । राति सुत्नको निम्ति पराल किन्न जाँदा समेत पार्टीगत आँखाले हेर्नुभयो । कम्युनिष्ट भन्ने, प्रजातन्त्रवादी भन्ने नेताहरुले पनि अहिले यो नक्सालाई, यो अतिक्रमित भूमिलाई समेट्न संसद र सडकमा जुन भूमिका खेल्नु भयो, त्यसका लागि ढिलै भए पनि धन्यवाद । अब सबैको चासो र चिन्ता कालापानी, कुटियाङ्दी लगायत सुस्ता, महेशपुर, पशुपतिनगरसहितको मेचीदेखि महाकालीसम्मका ६९ स्थानका अतिक्रमित भूमि फिर्ता गर्नुछ । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउन, नयाँ नक्सा र सिमा सुरक्षामा जनस्तरबाट भएका पहल, प्रयत्न, सङ्घर्ष र भारतीयको आक्रमणमा सिमा सुरक्षा गर्दा ज्यान गुमाएकाहरुको विवरण आदि समेटी सबै लेबलका पाठ्यक्रम र पाठ्यपुस्तकमा समेट्न दबाब सिर्जना गरौं । जय मातृभूमि, जय नेपाल आमा । नेपाल आमाको सबैले रक्षा गरौं । जननि जन्मभुमिस्च स्वर्गादपि गरियसि । सजग बनौं, होशियार रहौं । हाम्रो कार्यभार अझै सकिएको छैन ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय