देशको माटो जोगाउन अभिप्रेरित गर्ने गीत : आमा तिम्रो छातीको पाटो

dainikonline
नारायण शर्मा | जेठ ३, २०७७ शनिबार | 0

आमा तिम्रो छातीको पाटो
छिमेकीले  बनायो  मूलबाटो...

नेपाल आमाको छातीमाथि यतिबेला दुष्ट छिमेकीले  बिषालु नङ्ग्रा गाडिरहेको छ । नेपाल आमाका अङ्गहरु चुँडिएका छन्, लुछिएका छन् । नेपाल आमाको छाती लिपुलेकबाट मानसरोवर जाने  मूलबाटो खनेको छ– दुष्ट छिमेकीले । नेपाल आमाले आफ्नो अस्मिता रक्षाका लागि गुहार मागिरहेकी छिन– आफ्ना सन्तानहरुसङ्ग । अमरसिंह थापा र बलभद्र कुँवरहरुले इतिहासमा देखाएको त्यो वीरतालाई फेरि एकपटक बिउँझाउन आव्हान गरिरहेकी छिन् नेपाल आमाले ।  नेपाल आमाको त्यही पुकारलाइ बोकेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत रहेको एक गीत आएको छ– आमा तिम्रो छातीको पाटो ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष तथा चर्चित सर्जक रमेश बिजीको शब्द सिर्जना र वरिष्ठ लोकगायक नारायण रायमाझीको सङ्गीत रहेको यस गीतमा स्वर नारायण रायमाझी र शान्तिश्री परियारको रहेको छ । सरल शब्दहरुमा  देशभक्तिको मार्मिक भाव अभिव्यक्त गरिएको यो गीत सुनेपछि केही नलेखी बस्न मनले मानेन । गीतले साँच्चै नै नेपाल आमाको अहिलेको यथार्थ व्यथा समेटेको छ ।
लिपुलेक र कालापानी सुस्ता मेरै थियो
भन्थे बरै पुर्खाले त अझ धेरै थियो
निमोठेर खायो हजुर चिमोठेर खायो
आज आफ्नै छिमेकीले उठिबास लायो
आमा तिम्रो छातीको पाटो
छिमेकीले बनायो मूलबाटो...

दक्षिणतर्फको धुर्त छिमेकीको विस्तारबादी नीतिका कारण हाम्रो देशको सिमाना दिन प्रतिदिन साँघुरिदै गइरहेको छ । पश्चिम दार्चुलाको लिम्पियाधुरादेखि पूर्व ताप्लेजुङको तुम्लिङसम्म दर्जनौं स्थानहरुमा गरेर कुल ६१ हजार हेक्टर नेपाली भूमि लुटेको छ दुष्ट छिमेकीले । ऊसङ्ग सीमा जोडिएका हाम्रा २६ जिल्लामध्य २३ वटा जिल्लाका विभिन्न स्थानमा नेपाली भूमि अतिक्रमण गरेको छ उसले । दार्चुला जिल्लामा मात्र कालापानीदेखि लिम्पियाधुरासम्म ३७ हजार हेक्टर नेपाली भूमि निमोठेको छ– दुष्ट छिमेकीले । नवलपरासीको सुस्तामा १४ हजार ५ सय हेक्टर नेपाली भूमि मिचेको छ । पूर्वको चियाभञ्ज्याङमा ४ हजार १ सय हेक्टर नेपाली जमिन लुटिएको छ । गीतले ठिकै भनेको छ– इतिहासमा नेपालको सिमाना यो भन्दा झनै विशाल थियो । पश्चिम किल्ला काँगडादेखि पूर्वमा टिस्टासम्म नेपालकै  भूमि थियो पहिले । दुष्ट छिमेकीले छलकपट गरी हामीबाट छिनेको थियो– मेचीपूर्व र महाकाली पश्चिमको जमिन । छिमेकीको भूमि लुट्ने बानी परेको धुर्त दक्षिणी छिमेकी भारले त्यसपछि पनि निरन्तर नेपाली भूमि निमोठिरहेको छ, चिमोटिरहेको छ । नेपाली जनतालाई उठिबास लगाउन खोजिरहेको छ । ‘आमा तिम्रो छातीको पाटो’ गीतले दुष्ट छिमेकीको असली रुप छरपस्ट पारिदिएको छ ।

किन यति कमजोर भयो गोर्खालीको  छाती
पराइले परेड खेल्दा आफ्नै छातीमाथि
आफ्नै माटो जोगाउन माटै बनम् बरु
बिउँझ न ए अमरसिंह र बलभद्रहरु
आमा तिम्रो छातीको पाटो
छिमेकीले  बनायो मूलबाटो...

अब बेला आएको छ देशको माटो जोगाउन वीर पुर्खाहरुको वीरताको गाथालाई  आत्मसात गर्दै अघि बढ्ने । देशका माउधनीहरु नेपाल आमाको अस्मिता दुष्ट छिमेकीले लुटिरहँदा रमिते बनिरहेका छन् । देशको अभिभावक मानिने सरकार लाचार बनिरहेको छ । दुष्ट छिमेकीको अत्याचार निकै बढेर गएको छ । यस्तोलाई पनि कसरी छिमेकी  भन्नु ? जसले अप्ठ्यारो र विपत्ति परेका बेला सहयोग गर्नुको सट्टा मौका छोपेर झनै लुट्ने काम गर्छ । भूकम्पले हामी थिलोथिलो परेका बेला नाकाबन्दी लगायो । अहिले कोरोना कहरले तड्पिरहेका बेला हाम्रो लिपुलेक क्षेत्रमा मोटरबाटो बनाई उदघाटन गर्यो । अहिले रोजीरोटीका लागि उसको देशमा पुगेका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई क्वारेन्टाइनबाट उठाएर बोर्डरमा ल्याई छोडेको छ, ताकि हजारौंको संख्यामा रहेका ती प्रवासी नेपालीको व्यवस्थापनमा नेपाल अल्झियोस् । त्यही बेलामा आफूले उसको जमिन लुटिरहन पाइयोस् । यही कुनियतका साथ नै उसले त्यो अमानवीय व्यवहार गर्दैछ । अहँ, यस्तो शत्रुवत ब्यवहार गर्ने ऊ कदापि असली छिमेकी हुन सक्दैन । उसका विस्तारवादी हर्कतका बिरुद्ध अब हामी जाग्नैपर्छ । अमरसिंह र बलभद्रहरु बनेर अब हामी जाइलाग्नु पर्छ त्यस दुष्ट छिमेकी भनाउँदो शत्रुका बिरुद्धमा । मातृभूमिको रक्षाका लागि आवश्यक परे शहीद बन्न पनि तयार हुनुपर्छ हामी । त्यो वीरतापूर्ण इतिहासलाई स्मरण गरौं – हाम्रा पुर्खाहरुले आधुनिक हतियारले भरिपूर्ण रहेको अंग्रेज सेनासङ्ग खुकुरी र तरवारका भरमा लडेका थिए र तिनीहरुलाई परास्त गरेका थिए । 

एकमुठ्ठी पानीको भरमा कोखिलामा ससाना लालाबालाहरुलाई बोकेर पनि नालापानीमा अंग्रेजविरुद्ध लडेका थिए हाम्रा पुर्खाहरु । अमरसिंहको वीरताको त्यो इतिहास, उजिरसिंहको वीरताको त्यो गाथा, फेरि एकपटक स्मरण गरौं । हामी तिनै वीर पुर्खाका सन्तति हौ । फेरि एकपटक हामीले देखाउने बेला आएको छ– नेपाली जातिमा वीरताको त्यो रगत अझै सुकेको छैन । त्यसरी अगाडि बढियो भने मात्र  हामीले आफ्नो भूमि फिर्ता ल्याउन सक्नेछौ । ‘आमा तिम्रो छातीको पाटो’ मूलतः त्यही सन्देश बोकेर आएको छ ।

देशको माटो लुटिएका बेला स्वाभिमानी देशभक्तहरुलाई अमरसिंह र बलभद्र बन्न आव्हान गर्दै ल्याइएको यो गीत वास्तबमै उत्कृष्ट खालको छ । यसले मातृभूमिको रक्षाका लागि आवाज उठाइरहेका नेपालीहरुलाइ उर्जा दिने विश्वास राख्न सकिन्छ । सर्जक रमेश बिजी, गायक र गायिका नारायण रायमाझी र शान्तिश्री परियार लगायत देशभक्तिपूर्ण भावको यो उर्जावान गीत ल्याउन योगदान पुराउने टिमका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक धन्यवाद । आगामी दिनमा पनि देशको माटो जोगाउन अभिप्रेरित गर्ने खालका यस्तै उर्जावान देशभक्तिपूर्ण गीतहरुले निरन्तरता पाऊन् भन्ने अपेक्षासहित यो गीतको सफलताको हार्दिक शुभकामना !

सुनौं गीत

नारायण शर्मा

(शर्मा हाँक साप्ताहिकका सम्पादक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय