शहीद कमरेड भूमिराजलाई श्रद्धासुमन !

dainikonline
दैनिक अनलाइन | बैशाख ३०, २०७७ मंगलबार | 0

सागर कुवँर 

आज ३०औं शहीद भूमिराज दिवस । बैशाख ३० अर्थात शहीद भूमिराज सापकोटा स्मृति दिवस हो । बागलुङको बुर्तिबाङ क्षेत्रमा आफ्ना गतिविधि बढाएको भन्दै जनतालाई दुःख दिने प्रशासनका विरुद्ध नाराबाजी गर्दा गोली लागेर भूमिराज सापकोटा शहीद हुनुभएको थियो ।
  
उत्तरगंगा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी सापकोटालाई २०४७ साल बैशाख ३० गतेका दिन बुर्तिबाङस्थित इलाका प्रहरी कार्यालयमा तत्कालीन अवस्थामा कार्यरत एकजना प्रहरी सहायक निरीक्षकको आदेशमा गोली हानी हत्या गरिएको थियो ।

बागलुङ जिल्ला नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको उर्बरभूमि भनेर चिनिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा बागलुङको योगदान नवीन खालको छ । नेपालको प्रजातान्त्रिक तथा वाम आन्दोलनमा बागलुङले धेरै नेता कार्यकर्ता जन्मायो । तीमध्य देशको लागि बलिदान गर्ने शहीदहरु हुनुहुन्छ । त्यही शहीदहरुमध्ये एक हुन् भूमिराज सापकोटा । भूमिराज सापकोटा बागलुङ जिल्लाको प्रथम विद्यार्थी शहीद हुनुहुन्छ ।
 
२०४६ सालको सीमित प्रजातान्त्रिक अधिकार प्राप्तिपश्चात जनतामा आएका उत्साह र जनतालाई पूर्णरुपमा सार्वभौमसत्तासम्पन्न बनाउनु पर्छ भन्दै संविधानसभाको निर्वाचनको पक्षमा आवाज उठिरहेको थियो । त्यसका साथै, नेपाली जनताको रगतमा होली खेलिरहेको पञ्च–घुसखोरी जनविरोधी अपराधी तत्वहरुलाई कारबाहीको श्रृङ्खला सचेत युवा विद्यार्थीहरु र राजनीतिक पार्टीको नेतृत्वमा अगाडि बढेको थियो ।

देशमा भर्खर बहुदलीय व्यवस्था शुरु भएको अवस्था, जहाँ पञ्चायतविरुद्धको गतिविधिमा संलग्न भएकालाई अनावश्यक मुद्दा लगाउने, दमन गर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने तत्कालीन प्रहरी सहायक निरीक्षकका विरुद्ध निसीभुजी क्षेत्रमा अभिभावक तथा उत्तरगंगा उच्च माध्यमिक विद्यालयका अध्ययनरत विद्यार्थीहरुले नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए ।

त्यसप्रकारको जनविरोधी तत्वहरुलाई कारवाही गर्ने काम बागलुङ जिल्लाको विभिन्न ठाउँहरुमा चलेको थियो । साथै गाउँ–गाउँमा राजा, कांग्रेस र वाममोर्चाको बीचमा भएको त्रिपक्षीय सम्झौताको विराध गर्दै सार्वभौमसत्ता जनतामा हस्तान्तरणको लागि संविधानसभाको निर्वाचनको नारा घन्किरहेको थियो । यही क्रममा २०४७ साल वैशाख ३० गते बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इञ्चार्ज धर्मबहादुर गुरुङको विदाइको दिन थियो ।

जाली फटाहाहरु उसको विदाइको तयारी गरिरहेका थिए भने सचेत क्रान्तिकारी युवा विद्यार्थीहरु र न्यायप्रेमी जनसमुदाय भने पञ्चायतकालमा लगातार निर्दोष जनता र विद्यार्थीहरुलाई झुट्टा मुद्दामा फसाउने, यातना दिने, घुस खाने भ्रष्ट अपराधीलाई कारवाही गर्नुपर्छ भनेर सई गुरुङलाई कालोमोसो दलेर बजार परिक्रमा गराउने तयारीमा थिए ।

सोहीअनुसार अखिल (छैठौं) र स्थानीय जनताको अग्रसरतामा सई धर्मबहादुर गुरुङलाई कालोमोसो दलेर भ्रष्ट अपराधीलाई कारवाही गर, घुस खाएको पैसा फिर्ता दे भन्ने नारा लगाउँदै बजार परिक्रमा गरी चौकीनेर आइपुग्दा भ्रष्ट सईको होस गुम हुँदा अपराधी सईले गोली ठोक्न आदेश दियो । प्रहरीले अन्धाधुन्द गोली चलाउँदा २०४७ साल वैसाख ३० गते कमरेड भूमिराज सापकोटाको छातीमा गोली लाग्यो र घटनास्थलमा नै शहादत प्राप्त गर्नुभयो । जिल्लाको साविक अधिकारीचौर गाउँ विकास समिति वडा नं. ८ मा जन्मेका शहीद सापकोटा अध्ययनका सिलसिलामा पनि मेहनती, कर्तव्यनिष्ठ, इमान्दार र मिलनसार एवं धैर्य स्वभावका भएको उहाँका सहकर्मीहरुले बताउँछन् । 

राजनीतिमा त्याग र बलिदानको भावना हराउँदै गएको वर्तमान अवस्थामा शहीद क. भूमिराजले देखाएको त्यो साहसको महत्व आज झन बढेर गएको छ । त्यो कलिलो उमेरको शहीद क. भूमिराजबाट हामीले धेरै सिक्नुपर्नेछ । 

एउटा कलिलो उमेरको विद्यार्थी जसले अन्याय, अत्याचारका विरुद्ध आफ्नो बलिदानलाई सहर्ष स्वीकार गर्यो, त्यो महान सिपाही आज हाम्रो माझमा भौतिक रुपमा नभए पनि शहीद क. भूमिराजले देखाएको बाटोमा हाम्रो यात्रा निरन्तर अगाडि बढ्नुपर्छ । त्यो शहीद क. भूमिराजप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । 

अन्याय नसहने तर न्याय र समानताका लागि आफूलाई अग्रसर बनाउने सापकोटाको ३०औं स्मृृति दिवसका अवसरमा उनीप्रति सबैले श्रद्धासुमन अर्पण गरौं । न्यायका खातिर ज्यानको आहुति दिने वीर विराङ्गना सबैका साझा हुन् भन्ने भावनाको विकास गरौं । कमरेड भूमिराजप्रति उहाँको ३०औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन !
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय