हार्दिक श्रद्धाञ्जली कमरेड निर्मल लामा !

dainikonline
दैनिक अनलाइन | बैशाख २७, २०७७ शनिबार | 0

डीआर पौडेल
आज बैशाख २७ गते । क. निर्मल लामाको स्मृतिदिवस । आजकै दिन वि.सं. २०५७ मा कमरेड निर्मल लामाको निधन भएको थियो ।
 
निर्मल लामा नेपालको राजनीतिक आन्दोलनका एकजना त्यस्ता हस्ती हुनुहुन्छ, जसले नेपालको राजनीतिलाई गरी खाने वर्गमा पु¥याउनुभयो । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनका एकजना त्यस्तो धरोहर हुनुहुन्छ, जसले सिद्धान्तलाई व्यवहारसँग जोड्नुभयो । जनसंघर्ष, वर्गसंघर्ष र क्रान्ति प्रक्रियालाई सँगसँगै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो र जोडेर लैजानुभयो । उहाँले नेपालको राजनीतिमा इमान, निष्ठा, समर्पण, प्रतिबद्धता, नैतिकता र वर्गप्रेमको त्यस्तो धरहरा बनाउनुभयो, जसको मञ्जिलमा आजसम्म उहाँबाहेक अर्को कोही पुग्न सकेको छैन । 

निर्मल लामाको जन्म वि.सं. १९८९ माघ १ गते दार्जिलिङमा मजदूर परिवारमा भएको थियो । मजदुरी नगरी बिहान बेलुकाको हातमुख जोड्ने समस्या समाधान नहुने भएपछि उहाँका बाबुआमाले उहाँलाई सानैदेखि मजदूरीमा लगाउनुभयो । यसरी मजदूर परिवारमा जन्मेर मजदूरको रुपमा हुर्केका निर्मल लामाले भारतीय स्वतन्त्रता संग्रामको क्रममा दार्जिलिङमा भएका मजदूर आन्दोलनमा सहभागी हुने क्रमसँगै राजनीतिकरुपमा आफूलाई आगाडि बढाउनुभयो । किशोरावस्थामै निर्मल लामा साथीहरु बटुलेर टिम बनाएर पूmटबल खेल्ने र समसामयिक राजनीति र आन्दोलनका विषयमा छलफल गर्ने गर्नुहुन्थ्यो । त्यस्ता छलफलमा आफ्नो तर्क र विचार परिपक्व र राम्रो होस् भन्नको लागि पाका अभिभावकहरु, पुराना र अनुभवी मजदूरहरु र बौद्धिक व्यक्तिहरुसँग छलफल गर्ने र विभिन्न विषयमा जानकारी लिन पत्रपत्रिका र पुस्तकहरु पढ्ने गर्नुहुन्थ्यो । 

मजदूर आन्दोलनमा सहभागी हुने, पाका अभिभावकहरु, पुराना र अनुभवी मजदुरहरु र बौद्धिक व्यक्तिहरुसँग छलफल गर्ने र पत्रपत्रिका र पुस्तकहरु पढ्ने क्रमसँगै आफूहरु दार्जिलिङमा आप्रवासी नेपालीको रुपमा रहेको, आफ्नो मातृभूमि नेपाल भएको, नेपालमा पनि राणाशासनका विरुद्धमा आन्दोलनको तयारी भइरहेको थाहा पाउनुभयो । सहपाठीहरुका बीचमा छलफल गर्दै नेपालको राजनीतिक आन्दोलनमा सहभागी हुने निर्णयमा पुग्नुभयो । ससानो डफ्फा बनाएर त्यसको नेतृत्व गर्दै उहाँ नेपालको राजनीतिक आन्दोलनमा जोडिन आइपुग्नुभयो । 

प्रारम्भमा निर्मल लामा नेपाली काँग्रेसमा संगठित भई नेपालको राजनीतिक आन्दोलनमा जोडिनुभयो । राणाशासनका विरुद्धको आन्दोलनमा सक्रिय सहभागी बन्नुभयो । २००७ सालको परिवर्तनपछि दैलेखको बडाहाकिम पनि बन्नुभयो । तर बिस्तारै नेपाली काँग्रेसले नेपालको राजनीतिक आन्दोलनको नेतृत्व गरेर परिवर्तनलाई संस्थागत गर्न सक्दैन । जनतालाई न्याय, समानता र स्वतन्त्रता दिन सक्दैन भन्ने कुरामा विश्वस्त हुनुभयो । त्यसैले नेपाली काँग्रेस पार्टी परित्याग गरी कम्युनिष्ट पार्टीको सम्पर्कमा पुग्नुभयो । र, नेपालको कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, सांगठानिक रुपमा नेतृत्व गर्दै नयाँ उचाइमा पु¥याउनुभयो । 

नेपालको कम्युनिष्ट आन्दोलनमा जतिबेला अन्ध नक्कल गर्ने संस्कृति झ्याङ्गिएको थियो, आफूलाई चिनियाँ वा रुसी कम्युनिष्ट पार्टीको पक्षमा उभ्याउनुपर्ने संस्कार नै बनेको थियो । ‘चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै एकातिर चीनको अन्धनक्कल गरिरहेका हुन्थे भने अर्कोतिर रुसले संसारमा आफ्नो प्रभूत्व (सामाजिक साम्राज्यवादी हस्तक्षेप) बढाउनको लागि तेस्रो विश्वका देशका शासकहरु र कम्युनिष्ट पार्टीहरुलाई पनि प्रभावमा राखिराख्ने नीति अपनाएको थियो । त्यसको प्रभाव पनि नेपालका कम्युनिष्टहरुमा जबर्जस्त रुपमा थियो । त्यस्तो स्थितिमा नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक पहिचानको खोजी गर्नु, नेपाली क्रान्तिको बाटो, त्यसको स्वरुप, रणनीति, कार्यनीति र कार्यक्रमिक शृङ्खला तयार गर्नु आफैंमा एउटा जटिल काम थियो । नेपाली कम्युनिष्ट आन्दोलन ठोस कार्यदिशाको अभावमा रुमलिएको बेला विश्व कम्युनिष्ट आन्दोलनको खोजबिन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै नेपाली क्रान्तिको मौलिक कार्यदिशा निर्माण गर्नमा कमरेड निर्मल लामाको विशिष्ट योगदान रहेको छ । 

परम्परागत अन्धनक्कलको प्रभावबाट मुक्त हुन नसकेको मानसिकता र प्रतिशोधको राजनीतिका कारण प्रारम्भमा कमरेड निर्मल लामाले अगाडि सारेका विचार, चिन्तन, सैद्धान्तिक प्रस्थापना र निष्कर्षलाई आत्मसात गर्न नेपालका धेरै कम्युनिष्टहरुलाई गाह्रो प¥यो । अन्ततः सबैजसो कम्युनिष्ट घटक र नेताहरुले एक वा अर्को रुपमा कमरेड निर्मल लामाका मौलिक विचारलाई स्वीकार गरे । ढिलोचाँडो आज प्रायः सवै कम्युनिष्टहरु उहाँको पथचिन्ह र मार्गदर्शनमा हिंड्न आइपुगेका छन् । यसबाट उहाँको राजनीतिक दूरदर्शिता व्यवहारिकरुपमै थप पुष्टि भएको छ । 

कमरेड लामा पहिले हरेक विचार, राजनीति, सिद्धान्त, कार्यक्रमलाई जननीतिको कसीमा दाँजेर विचारविमर्श, विश्लेषण र संश्लेषण गर्नुहुन्थ्यो । त्यसको सकारात्मक परिणामपछि मात्रै आमरुपमा अवलम्बनको लागि पार्टीमा सिफारिस गर्नुहुन्थ्यो । जनताको लागि बनाइने हरेक नीति, विचार वा सिद्धान्तको निर्माण र विकासमा जनताको कुनै न कुनै प्रकारको संलग्नता र सहभागिता हुनुपर्ने कुरामा उहाँको जोड हुन्थ्यो । त्यसैले कतिपय उहाँका नयाँ सोच, विचार, चिन्तनहरु पार्टीको औपचारिक बैठकका एजेण्डा बन्नुभन्दा पहिले बौद्धिक छलफल र सार्वजनिक बहसका विषय बन्दथे । यसका कारण उहाँ कैयौंपटक पार्टीमा विवादमा पर्नुभयो, उहाँको आलोचना भयो तर पनि जननीति अवलम्बन गर्न चुक्नुभएन । 

जनताको संलग्नता र सहभागितामा मात्रै नेपालको क्रान्ति सफल हुन्छ र दीर्घकालीन सशस्त्र संघर्ष र जनविद्रोहको संयोजनबाट मात्र नेपालको क्रान्ति प्रक्रिया निर्णायक विजयमा पुग्छ भन्ने निष्कर्षका साथ ‘नेपाली जनक्रान्तिको दिशा’ सार्वजनिक गर्दा धेरैले उहाँको विरोध गरे । कतिपयले उग्र वामपन्थी त कतिपयले घोर दक्षिणपंथीको आरोप लगाए । तर उहाँ कहिल्यै कसैको विरोध र आरोपका कारण कसैसँग झुक्नुभएन, गल्नुभएन । बरु जनसंघर्ष र वर्गसंघर्षको उठान र विकासमा लगातार जोड दिइरहनुभयो । 

जीवनको उत्तराद्र्धमा उहाँ क्यान्सरले थलिनुभयो । त्यतिबेला पनि उहाँले ‘जनसम्बन्ध, जनसंघर्ष र जननीतिलाई वर्गसंघर्षसँग जोडेर मात्रै वर्गसंघर्ष सफल हुन्छ । जनयुद्ध सफल हुन्छ, अन्यथा अहिले चलिरहेको सशस्त्र संघर्षबाट नेपाली क्रान्तिले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ’ भन्नुहुन्थ्यो । यो कुरा उहाँले २०३५ सालमै भन्नुभएको कुरासँग मिल्दोजुल्दो थियो । त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘नेपालमा सशस्त्र संघर्ष भनेको नै जनयुद्ध हो । आम जनसमुदायले भाग नलिएसम्म यो सफल हुन सक्दैन ।’ (निर्मल लामाका केही रचनाहरु) । 

मृत्युको केही दिन अगाडि मात्रै काठमाडौंमा भएको नागरिक अभिनन्दनको अवसरमा उहाँले भ्रष्टाचारका विरुद्धमा जनसंघर्ष गर्नुपर्ने र त्यसलाई वर्गसंघर्षकै रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहाँले नेता कार्यकर्ताहरुलाई भ्रष्ट र पार्टीलाई भ्रष्टीकरण हुनबाट जोगाउन आम कार्यकर्ता र जनता पनि सचेत हुनुपर्नेमा जोेड दिनुभएको थियो । कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित पार्टी हो । कम्युनिष्ट पार्टीका हरेक सदस्यहरु समाजका विभिन्न समुदाय र वर्गका जनसंगठन वा वर्गीय संगठनका नेता कार्यकर्ताहरु हुन् । तिनीहरुमार्फत् नै पार्टीले जनतासँग सम्बन्ध बढाउने, जनसंघर्ष गर्ने हो भन्ने कुरामा कमरेड लामा अत्यन्तै सचेत हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘पार्टी संगठनलाई पनि जननीतिअनुसार अगाडि लैजानुपर्दछ । पार्टीका नेता, कार्यकर्ता र आम सदस्यहरु सधैं जनतासँगसँगै तर एक कदम अगाडि हुनुपर्दछ ।’ 

जननीतिका सफल प्रयोगकर्ता, वर्गसंघर्षका प्रेरणास्रोत, वैचारिक मार्गदर्शक, राजनैतिक अभिभावक, जननेता कमरेड निर्मल लामाबाट हामीले धेरै कुरा सिक्नुपर्ने छ । आजको दिनले हामी सबैलाई प्रेरणा देओस् । स्मृतिदिवसको सन्दर्भमा उहाँबाट सिक्ने प्रण गरौं । उहाँको पे्ररणादायी जीवन र व्यवहारलाई आत्मसात गर्ने कोशिश गरौं । यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड निर्मल लामा ! लालसलाम कमरेड निर्मल लामा !!

(नेपाली कम्युनिष्ट आन्दोलनका एक धरोहर स्व. निर्मल लामाको १८औं स्मृतिदिवसका अवसरमा पूर्वमन्त्री एवं नेता स्व. धनिराम पौडेल अर्थात डीआर पौडेलले लेख्नुभएको यो आलेख ehulaki.com मा प्रकाशित भएको थियो । यसपालि पनि  उहाँकै यो आलेखलाई पुनः स्व. लामाको १९औं स्मृतिदिवसका अवसरमा प्रकाशित गरेका छौं, सम्पादक)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय