प्रतिकूल मौसम र महामारीसँग जुध्दै किसान

dainikonline
दैनिक अनलाइन | बैशाख २२, २०७७ सोमबार | 0

भेषराज बस्नेत

नेपालगञ्ज । प्रतिकूल मौसमका कारण हिउँदे खेतीमा करिब ५० प्रतिशत उत्पादन गुमाएका बाँकेका किसान बिक्री वितरणको बेला अहिले बन्दाबन्दीको मारमा परेका छन्। 

कृषिलाई नै मुख्य पेशा बनाउँदै आएका डुडुवा गाउँपालिका–६ हिरमिनियावासी यतिबेला निराश देखिन्छन्। खेती स्याहार्ने र तरकारी लगाउने याम मङ्सिरदेखि फागुनसम्म अत्यधिक वर्षाका कारण उत्पादन ह्वात्तै घटेको छ। 

उत्पादित हिउँदे तरकारी देशमा जारी बन्दाबन्दीका कारण सहजरुपमा बिक्री वितरण गर्न नपाउँदा कृषि पेशालाई नै आयआर्जनको प्रमुख माध्यम बनाएर वर्षौंदेखि खेती गर्दै आएका यहाँका किसान यो वर्ष निराश भएका हुन्। 

“यो वर्ष खेती किसानी सबै पानीले सखाप बनायो, हिउँदे खेतीमा ठूलो असर गरेको छ, आलु रोप्यौँ शुरुमै पानी परेर कुहियो, दाना पनि सानो लागेको छ तरकारी पनि असिनाले क्षति पु¥यायो उत्पादन ५० प्रतिशत कम भयो”, स्थानीय किसान जयपाल मौर्य भन्नुहुन्छ, “उत्पादन भएको तरकारी पनि लकडाउनका कारण अहिले बिक्री गर्न पाइएको छैन।”

हिरमिनियामा रहेको महातरकारी उत्पादन सहकारी संस्था लिमिटेडका कोषाध्यक्षसमेत रहेका मौर्यले तीन बिघा क्षेत्रफलको जमिनमा यो वर्ष आलु लगाउनुभएको थियो। उत्पादन सोँचेजस्तो नहुँदा उहाँ खिन्न हुनुभएको छ। “आलुमात्र होइन यो वर्ष सबै बालीमा धोका भएको छ, आलु खनेर मकै रोपेको निरन्तर पानी परेर उम्रिएन, भिण्डी पनि उम्रिएन तरकारी खेतीबाट आम्दानी गर्नै नपाउने अवस्था छ”, उहाँले भन्नुभयो। 

स्थानीयवासी गुलाम रब्बानी खाँले मौसमले खेती गर्ने प्रणालीमै असर गरेको बताउनुहुन्छ। हिउँदमा निरन्तर परिरहेको पानीले खाद्यान्न बालीमा ५० प्रतिशत र तरकारी बालीमा ९० प्रतिशतसम्म क्षति पु¥याएको उहाँको अनुमान छ। एक वर्षमा तीन बाली लगाउँदै आएका हिरमिनियाका किसानले यो वर्ष मुस्किलले दुई बालीमात्र स्याहार्न भ्याएका छन्। 

हिउँदमा निरन्तर परेको वर्षाद्ले बीउ तथा परिश्रमको क्षति भएको गुनासो गर्दै खाँले जलवायु परिवर्तनका कारण केही वर्षयता कृषि उत्पादन क्रमशः घट्दै गएको बताउनुभयो। तरकारी खेतीबाटै आर्थिकरुपमा आत्मनिर्भर बन्दै आएका किसानलाई यो वर्ष प्राकृति र कोरोना महामारीसँग जुध्नुपर्ने अवस्था आएको खाँको भनाइ छ। 

जलवायु परिवर्तनले अत्यधिक वर्षा भई हिउँदे खेतीको उत्पादन घट्नु र बिक्री गर्ने समयमा कोरोना भाइरस सङ्क्रमणको त्रासले कृषिमा आत्मनिर्भर किसानलाई यो वर्ष जीविकोपार्जनमै कठिनाइ हुने उहाँको अनुमान छ।  

नेपालगञ्जदेखि करिब १० किलोमिटर पूर्वदक्षिणमा भारतीय सीमासँग जोडिएको हिरमिनिया तरकारीको खास क्षेत्रका रूपमा चिनिन्छ। यहाँका अधिकांश किसान तरकारी खेतीमै लागेका छन्। यहाँ उत्पादन भएको तरकारीले भारतीय तरकारीको आयातलाई कम गरेको छ। अधिकांश किसान बजारका लागि नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार पुग्ने गरेका छन्।
 
हिउँदको सिजनमा यहाँबाट विगतमा दैनिक २० देखि २५ क्विन्टल साग उत्पादन हुने गरेकामा अहिले कमी आएको स्थानीयवासी बताउँछन्। तरकारी भण्डारण र वितरणमा सहज होस् भनेर यहाँका किसानले १३ वर्षअघि माहा तरकारी उत्पादन सहकारी संस्था नै गठन गरेका छन्। यही सहकारीले किसानको उत्पादन खरिद गरेर बिक्री गर्ने र मल, बीउ उपलब्ध गराउने गरेको सहकारीका कोषाध्क्ष जयपाल मौर्यले बताउनुभयो।
 
सहकारीको तथ्याङ्कअनुसार हिरमिनियामा २५ देखि ३० हेक्टर जमिनमा तरकारी खेती हुन्छ। आलु खेतीबाट मात्रै किसानले वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी गर्छन्। अन्य तरकारी करिब रु पाँचदेखि सात करोडको निर्यात हुने गरेको छ। त्यसैगरी वसन्ते मकैबाट रु दुई करोडभन्दा बढी हिरमिनियाका किसानले भित्र्याउने गरेका थिए। तर यो वर्ष उत्पादन कम हुँदा आम्दानीमा ५० प्रतिशत कमी भएको छ। 

यो समस्या हिरमिनियाको मात्रै होइन। बाँकेकै खजुरा गाउँपालिका वडा नं २ सीतापुरमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका किसान लालबहादुर खत्रीले कृषि कर्ममा अथक मेहनत गरे पनि यो वर्ष अकल्पनीय घाटा व्यहोर्नु परेको बताउनुहुन्छ। “यो वर्ष हिउँदमा निरन्तर आएको हिउँदे वर्षाले सबैजसो तरकारी खेतीबाट किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ”, उहाँले भन्नुभयो।

कृषक खत्री गोलभेँडा र कुखुरापालक किसान हुनुहुन्छ। परम्परागत रुपमा गोलभेँडा खेती गर्दै आउनुभएका उहाँले आधुनिक प्रविधि अपनाएर झण्डै दोब्बर उत्पादन लिँदै आउनुभएको छ। परम्परागत रुपमा लगाइने गोलभेँडाको एक बोटमा पाँचदेखि छ किलोसम्म उत्पादन हुन्छ। आधुनिक प्रविधि अपनाएपछि आठदेखि दश किलोसम्म उत्पादन लिन सकेको उहाँको भनाइ छ। “यो वर्ष मौसमले पनि साथ दिएन कोरोना महामारी पनि आयो, खेतबारीमा मेहनत गरी खाने किसानलाई दोहोरो मार परेको छ”, उहाँले भन्नुभयो। 

कृषि विकास बैंकको जागिरबाट अवकाश लिएसँगै पूर्णरुपले खेतीमा लाग्नुभएका खत्रीले आधुनिक इजरायली प्रविधि, थोपा सिँचाइ गरेर गोलभेँडा उत्पादन गरिरहनुभएको छ। उहाँले वार्षिक रु २० लाखसम्म आय आर्जन गर्दै आएको बताउनुहुन्छ। तर यो वर्ष भने मौसम र कोरोना महामारीले ५० प्रतिशत आम्दानी घट्ने उहाँ बताउनुहुन्छ। 

“यो वर्ष हिउँदे खेती सबै वर्षाले सखाप पा¥यो, पानी परेको परी गरेर गोलभेँडा पनि राम्रो हुन पाएन, उत्पादनमा ५० देखि ८० प्रतिशतसम्म क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “महँगो दरको बीउ, मल खरिद गरी मेहनत गरेर रोपेको खेती पानीले हुन दिएन जसोतसो उत्पादन भएको तरकारी पनि कोरोनाको लकडाउनले बिक्री गर्न पाइएको छैन।” उहाँले किसानको उत्पादन र खेतीको बीमा गराउने व्यवस्था नीतिगत बनाउन सकेमात्र व्यावहारिक रुपमै किसानले फाइदा लिन सक्ने बताउनुभयो।
 
बन्दाबन्दीले नोक्सानी

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि कृषि उपज बजारसम्म पु¥याउन नपाउँदा किसान थप पीडित हुन पुगेका छन्। हिउँदमा निरन्तर पानी परेका कारण उत्पादन कमी भएको आलुलगायतको तरकारी किसानले बजारसम्म पु¥याउन सकेका छैनन्। 

तरकारी बिक्रीका लागि बजार पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको किसान खत्रीको भनाइ छ। बन्दाबन्दीमा पनि किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने उहाँको माग छ। बन्दाबन्दीका कारण नेपाली किसानले उत्पादन गरेको तरकारी बजार पु¥याउन नसकिरहेको बेला भारतीय तरकारीलाई निर्वाधरुपमा नेपाल भित्रिन दिइएकामा खत्रीको आपत्ति छ। 

उहाँले मान्छे आउन जान नदिने तर भारतीय तरकारी दैनिक आउन दिने कुरा गलत भएको बताउनुभयो। हरियो तरकारीलाई अत्यावश्यक भन्दै घर घरमा पु¥याउँदा त्यसैबाट कोरोना सङ्क्रमण फैलिन सक्नेतर्फ सचेत हुनुपर्ने उहाँको सुझाव छ। गाउँमा उत्पादित तरकारी किसानले बजारमा ल्याउन नसकेपछि घर घर पुग्ने मात्र नभई यहाँ सञ्चालित तरकारी बजारमा समेत ९० प्रतिशत भारतीय तरकारी रहेको छ।

नेपालगञ्ज नाकाबाट बन्दाबन्दी शुरु भएपछि पनि भारतबाट खाद्य वस्तुसँगै तरकारी नियमितरुपमा आयात भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तराम निरौलाले जानकारी दिनुभयो। नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार, चैत ११ देखि २९ सम्म १९ दिनमा रु दुई करोड ७१ लाख नौ हजार ८१८ को १० लाख ७० हजार ४०६ किलो आलु आयात भएको छ। रु ८५ लाख ९४ हजार ९३९ बराबरको ४९ लाख आठ हजार ८२५ किलो गोलभेँडा आयात भएको छ। यो अवधिमा रु ३५ लाख ७६ हजार ९४६ को विभिन्न थरिका तरकारी आयात भएको नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क छ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बन्दाबन्दीका कारण किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि थोक बजारसम्म पु¥याउन नसक्दा भारतीय तरकारीको बिक्री वितरण भएको हुन सक्ने बताउनुहुन्छ। बन्दाबन्दीमा किसानसँग आवतजावतको इजाजत नहुँदा बजारमा तरकारी बिक्री गर्न ल्याउन नसकिएको र यस सम्बन्धमा प्रशासनसँंग पहल भइरहेको प्रमुख ढकालको भनाइ छ। 

कृषिमा स्थानीय तहको चासो

बाँकेका स्थानीय तहले कृषिको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेका छन् तर कार्यान्वयनको समयमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएका कारण किसानले लाभ पाउन सकेका छैनन्। 

यहाँको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि अध्यक्ष कृषि कार्यक्रमका नाममा रु एक करोड २५ लाख बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन सकेको छैन। गाउँपालिकामा कृषिमा जागरण ल्याउन कार्यक्रम बनाइए पनि अहिले कोरोना महामारीका कारण कार्यान्वयन गर्न नसकिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो। 

खजुरा गाउँपालिकाले बृहत् खजुरा सम्मेलन आयोजना गरी गाउँपालिकालाई आधुनिक कृषि प्रणालीको माध्यमबाट आर्थिक समृद्धि गर्ने घोषणा गरेको छ। बाँकेमै खजुरा क्षेत्र कृषि उत्पादनमा अगाडि रहेकोले यसलाई प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति बताउनुहुन्छ। 

चालु आव २०७६/७७ मा रु ६० लाख बजेट विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष कक्षपतिले यो वर्ष प्रतिकूल मौसम र कोरोना महामारीका कारण क्षति व्यहोरेका किसानलाई गाउँपालिकाले कृषि शाखाको तथ्याङ्कका आधारमा राहत उपलब्ध गराउने बताउनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय