पहिलोपटक राइफल भिरेर सेन्ट्री बस्दा

dainikonline
केएल पीडित | बैशाख ३, २०७७ बुधबार | 0

‘कमरेड ! ओ कमरेड !!’ मध्यरातको समयमा मलाई एक अपरिचित युवकले जोडले झक्झकायो, ‘उठ्नुस् त ।’

म घोर निद्रामा थिएँ । त्यो झकझकाहटले झसङ्ग भएँ म । एकाएक मेरो निद्रा खलबलियो । तर बोल्ने जाँगर थिएन । ‘उँः’ गरेर खुट्टा तनक्क तन्काएँ र निद्रामै फर्किए ।
   
‘ओ कमरेड ! उठ्नुस् त ।’ उसैघरि फेरि त्यो युवकले झक्झकायो मलाई । यसपटक उसको आवाज र झक्झक्याई अझ कडा थियो ।
 
मलाई अलि नमजा लाग्यो । नमजा मात्र हैन हल्का झोंक नै चल्यो । हैन को मान्छे हो यो मध्यरातमा कराउने ? मीठो निंदमा डुबेको बेला अर्कालाई बिनासित्ती तनाव दिने ? रिसले मेरो कन्सिरी तातेर आयो । उठेर गाला फुट्नेगरी बजाइदिउँ जस्तो पनि लाग्यो । तर दाँत किटेर थामिए ।

‘किन होला ?’ निद्रामै आँखा नउघारी  शान्तसँग बोलें म । भित्रभित्रै भने खुब मुर्मुरिएको थिएँ ।

‘तपाईं केएल पीडित हो ?’ उसले मेरो मुखतिर टर्च बाल्यो, झललल । 

‘हो, म केएल पीडित हुँ ।’ हाइ काढ्दै केही झर्केर बोलें म । 

उसको हर्कतले म चिढिँदै गएको कुरा युवकलाई बोध गराउनु थियो मलाई । ताकि अब उप्रान्त उसले मेरो निद्रा बिथोल्ने धृष्टता नगरोस् ।

‘तपाईंको सेन्ट्री बस्ने पालो छ कमरेड । उठ्नुस् है । टाइम भइसक्यो ।’ युवक झन् तात्न पो थाल्यो ।
 
सेन्ट्री बस्ने रे !? म अक्क न बक्क भएँ । एकछिन ट्वाँ परेर उसलाई हेरेँ ।
 
१७÷१८ वर्षको खाइलाग्दो  युवक अघिल्तिर दृढ उभिएको थियो र एकनासले मलाई घुर्दै थियो ।
 
‘म त पत्रकार हुँ । घोराहीबाट आएको हुँ । म तपाईंहरुको इन्चार्ज  कमरेड हिरामणि दुःखीको साथी हुँ । उहाँले मलाई यहाँ रिपोर्टिङको लागि लागि ल्याउनु भएको हो ।’ मैले एकै सासमा सम्पूर्ण बेलिबिस्तार सुनाएँ ।

कुन्नि किन हो ? एकदम हलुको महशुस भयो यसपटक मलाई । एउटा पत्रकार छापामार बनेर सेन्ट्री बस्ने कुरा त भएन नि । पत्रकारले त केवल रिपोर्टिङ गर्ने हो । खासमा कुरा यस्तो हो नि त ! अब बल्ल युवक ठाउँमा आउने भो । अब भने सेन्ट्रीको गलपासोबाट छुटकारा पाइने कुरामा शतप्रतिशत ढुक्क थिएँ म । म उसैघरि निश्चिन्त भएर घुर्न लागे– घुँर्र, घँुर्र ।

‘मैले त तपाईंलाई चिन्दैन कमरेड । पत्रकार हो कि अरु केही ? बेलुका सेन्ट्रीको लिस्ट बनाउँदा कमाण्डर कमरेडले तपाईंको नाम टिपाई दिनु भएको हो । अब तपाईंले सेन्ट्री गर्नैपर्छ ।’ यसपटक युवक उर्दीको शैलीमा बोल्यो– ‘उठिहाल्नुस् कमरेड । हामी श्वेत इलाकामा छौं । जुनसुकै बेला पनि हामीलाई दुश्मनले घेर्न सक्छ । हाम्रो सानो लापरबाहीले पार्टी र क्रान्तिलाई ठूलो क्षति पुग्न सक्छ । हामी अत्यन्त सम्वेदनशील अवस्थामा छौं । यो बेला अलमलिने र बहस गर्ने समय होइन कमरेड । तपाईं सेन्ट्रीको लागि छिटो तयार हुनुहोस् । तपाईंको टाइम शुरु भइसक्यो ।’

युवक पूरापुर टकटकियो । 

उफ् ! गर्दागर्दै स्थिति त एकाएक भयंकर तनावपूर्ण पो बन्न थाल्यो त ! अब के गर्ने ? कसो गर्ने ? भयंकर अलमलमा परेँ म । यसो छड्के नजरले युवकलाई हेरे । युवक अधैर्यभावमा मलाई घुरिरहेको थियो । प्रष्ट थियो, अब ऊ मेरो ल्याङल्याङ एक मिनेट सहने मुडमा थिएन ।  

छापामारहरुको संस्मरणमा पढे बाहेक मलाई सेन्ट्रीबारे ‘क’ पनि थाहा थिएन । कसरी बस्ने सेन्ट्री ? पत्रकार हुँ भन्दा पनि युवक सुन्दैन । एकहोरो आफ्नै नियमको रटान  मात्र गर्छ । आज ठूलो विपतको भूमरीमा परे म । थकान र निद्राले पनि एक हाल गरेको छ । यस्तोमा अझ सेन्ट्री ! वाफ रे ! आज साँच्चिकै बाह्र बज्ने भो मेरो । उफ् !!!

निरुपाय भएपछि आँखा मिच्दै उठेँ म । अरु कुनै गुञ्जाइस थिइन अब । 

‘म त कहिल्यै सेन्ट्री बसेको छैन । सेन्ट्री बस्दा के के गर्नुपर्छ ?  केही थाहा छैन ।’ मैले अत्यन्त निरीहभावमा सुस्केरा काढ्दै आफ्नो अवस्था जाहेर गरेँ । 

मेरो निरीहताप्रति युवकले केही न केही सहानुभूति देखाउँछ भन्ने झिनो आशा मेरो मनमा अहिले पनि थियो । तर अब गुनासो र अनुनय गर्ने मुडमा थिएन । अहँ ! यसपटक पनि उसमा कुनै बदलाव देखिएन । बरु उल्टो  झन्झन् अडिग र कठोर पो देखिदैं थियो ऊ । मान्छे लालसेना जो प¥यो । क्रान्तिको लागि सबथोक न्यौछावर गरेको मान्छे । ऊ कहाँ चुक्थ्यो र ? ऊ कहाँ झुक्थ्यो र ? उसको यो क्रान्तिकारितालाई भने मैले उच्च सम्मान गर्नैपर्छ । यो बेला ऊसँग अनावश्यकरुपमा बाझ्नु किमार्थ सही हुने छैन । किमार्थ क्षम्य हुने छैन ।  

अब यो महाविपत्तिको सामना नगरी मैले धर पाउने अवस्था कतै रहेन । अतः ढुङ्गाझै गरुङ्गो मन लिएर धौ धौ उठेँ म, खुइय गर्दै ।  

‘यता आउनुस् कमरेड ।’ युवकले जमिनतिर घोप्टो पारेर टर्च बाल्यो र कोठाबाट बाहिर निस्क्यो । मैले ज्ञानी बालकझैं उसलाई पछ्याएँ लुखुर लुखुर । अर्को कोठाको भ¥याङ छेउँ पुगेपछि युवक रोकियो ।

‘तपाईं २ घण्टा सेन्ट्री बस्नु पर्नेछ । त्यसपछि अर्को कमरेडलाई उठाउनु होला ।’ टर्चको उज्यालोमा एउटा सानो चिर्कटो हेर्दै उसले भन्यो– ‘तपाईं पछि पालो आउने कमरेडलाई चिन्नुहुन्छ ?’ 

‘अहँ चिन्दिन ।’ म टकटकिएँ । 

‘ल आउनुस् म चिनाई दिन्छु ।’  युवकले पुनः पहिलेकै कोठामा पु¥यायो मलाई । त्यो कोठामा करिव १५÷२० जना युवकहरु खाँदिएका थिए । ती सब जनयुद्धका लालसेनाहरु थिए । यसअघि म पनि यही कोठामा गुइँठिएको थिए । उनीहरुलाई यसअघि मैलै कहिल्यै देखेको र भेटेको थिएन । उनीहरुसँग म बिल्कूल अपरिचित थिएँ । 

‘उः उहाँ हुनुहुन्छ ।’ युवकले कोठाको पूर्व÷दक्षिण कुनामा गुइँठिएको एक युवकतिर टर्च बालेर संकेत ग¥यो । ‘तपाईंको पालो सकियो भने उहाँलाई उठाउनु होला ।’ 

‘हुन्छ ।’ स्वीकारोक्तिमा मैले सुस्तरी टाउको हल्लाएँ । अब म सम्पूर्ण हिसाबले युवकको लाइनमा आइसकेको थिएँ । 

युवक र म त्यहाँबाट निस्केर पुनः भ¥याङ भएको कोठामा आयौं । 

‘अबको २ घण्टाको लागि हाम्रो जीवन तपाईंको हातमा छ कमरेड । कुनै किसिमको लापरबाही नगर्नु होला ।’ युवक एकाएक केही भावुक औं गम्भीर देखियो ।

‘हुन्छ ।’ मैले सुस्तरी लामो सास फेरे– स्वाँ ।

उसैघरी युवकले आफूसँग भएको राइफल,  ग्रिनेड, खुकुरी, टर्च, घडी र सेन्ट्री बस्नेहरुको सूचिसहितको एउटा चिर्कटो मलाई थमाई दियो । 

अहिलेसम्म गुलेली बाहेक मैले कुनै हतियार चलाएको थिएन । अब यो राइफल र ग्रिनेट कसरी भिर्ने ? कसरी चलाउने ? 

अब सेन्ट्री शुरु हुनेवाला थियो । तर म भने झन्झन् हतास र विचलित हुँदै थिएँ । चल्ती गाडीको इञ्जिनझैं शरीर भित्रभित्रै उधुमले थरथराइरहेका थियो । दिमागमा दशथरिका कुरा एकैचोटि आइरहेका थिए । 

अब जे भए पनि अबको २ घण्टा यी सब चुपचाप झेल्नुको कुनै विकल्प थिएन मसँग । जे होला देखजाला भनेर होमिनु नै मेरो परिस्थिति थियो । म साँच्चिकै सबै हिसाबले एकदम विवश र लाचार थिएँ ।  

‘कमरेड ! मैले यी हतियार अहिलेसम्म कहिल्यै देखेको र छोएको थिएन । मलाई केही मेसो लगाईदिनुस्  है ।’ 

भित्र जे गुज्रेको भए पनि बाहिर भने सेन्ट्रीको लागि आफू तयार र केही हदसम्म उत्साहित औ रोमाञ्चित भएको छनक देखाउँदै बोले म ‘लालसेनाहरुको संस्मरणमा त यी हतियारबारे केही पढेको त थिएँ तर पहिलोपटक आज देखें । तपाईंहरुको क्रान्तिलाई धेरै बुझेको छु मैले । पत्रकार जो परे नि कमरेड !’

मैले फेरि एकपटक उसलाई आफू पत्रकार भएको सम्झाउने धृष्टता गरेँ । त्यो साँच्चिकै फगत एउटा धृष्टता मात्र थियो । जिन्दगीको कुनै मोडमा आत्मतृष्टिको लागि धृष्टता पनि आवश्यक हुँदोरहेछ । आज यो कुरा बहुत गजबले महशुस भो मलाई । मेरो पेशाप्रति त्यो युवकमा पाँच पैसाको रुचि थिएन भन्ने कुरा मलाई गजबले बोध भइसकेको थियो । र, पनि मैले फगत एउटा धृष्टता गरे, आत्मतुष्टिको लागि । युवकलाई त यतिबेला केवल पार्टी र क्रान्तिको रक्षासँग मात्र मतलब थियो । लालसेना जो प¥यो । 

वास्तवमा म पनि उसको बारेमा शतप्रतिशत स्पष्ट थिएँ । उसको संकल्प, उसको यात्रा र उसको सपनाबारे ममा कुनै द्विविधा र भ्रम थिएन । निमुखाजनहरुलाई न्याय दिलाउन र यो जनमारा व्यवस्था उखेल्न ऊ जनक्रान्तिमा होमिएको एक सुरवीर क्रान्ति–योद्धा थियो ।

यसपटक पनि उसले मप्रति कुनै अतिरिक्त रुचि देखाएन । मप्रति उसको रवैयामा एक रौं जति पनि बदलाव आएन । उसले मेरो आग्रह भने अत्यन्त सहजताका साथ स्वीकार ग¥यो । यतिबेला यही नै मेरो लागि ठूलो कुरा थियो । मेरो मन पनि क्रमशः सन्तिदै थियो । 

युवकले बडो स्नेहीभावका साथ मेरो काँधमा राफल झुण्ड्याइदियो । कम्मरमा ग्रिनेडको ब्याग बाँधिदियो र कम्मरको देब्रेतिर बडेमानको खुकुरी लट्काइदियो । हातमा टर्च र घडी । हुलियामा म अब बिल्कुल लालसेना जस्तो देखिए । एक ख्याउटे र डरपोक पत्रकारको छवि मबाट क्रमशः गायब हुन खोज्दै थियो । मभित्र क्रमशः सौर्यभाव जागृत हुँदै थियो । 

हतियार भिराई दिएपछि  युवकले मलाई सेन्ट्रीको नियम र अपनाउनु पर्ने सावधानीबारे बताउन आँगनमा ल्यायो  र उत्तरतिर रहेको सानो थुम्काछेउँ ओत लागेर उभिन निर्देशन दियो । 

‘यहीँबाट चारैदिशा नजर राख्नुहोला । दुश्मन जहाँबाट पनि आउन सक्छ । प्रत्येक १५÷२० मिनेटमा यो एरिया एकपटक पूरै घुम्नु होला । कतैबाट दुश्मन आएको संकेत मिल्यो भने हामीहरुलाई तु. खबर गर्नुहोला ।’ अन्तिम निर्देशन दिएर युवक सुत्न गयो ।

जुनेली रात थियो । आकाशभरि चहचह जून लागेको थियो । जूनको उज्यालोले पर परसम्मका घरगोठ, बुट्याँन र रुखहरु प्रष्ट देख्न सकिन्थ्यो । मैले एकदम चंख भएर एक झपट चारैदिशा नजर डुलाएँ । सब करिब करिब ठीकठाक लाग्यो । सब चिज शान्त र अटल थिए, म बाहेक । म त एकदम अशान्त र अस्थिर थिए । मभित्र अनेक विचार, भावना र तर्कनाहरुको जब्बर  ज्वारभाटा सलबलाइरहेका थिए । भित्र म उधुमले हल्लिदैं थिएँ ।

‘स्वाँ’  मैले सुस्तरी लामो सास फेरेँ । डगमगाउँदै गरेको शरीरलाई थाम्ने अनेक प्रयत्न गरेँ । एकछिन सास रोके, आँखा चिम्ले । आफू एक सुरवीर क्रान्तियोद्धा भएको कल्पना गरेँ । कवि कृष्णसेन इच्छुक, पूर्ण विराम, ईश्वरचन्द्र ज्ञवालीका अनेक युद्ध–कविताहरु स्मरण गरे । मन–मस्तिष्कलाई शान्त बनाउन खुब प्रयास गरेँ । तर सब बेकाम भएँ । मेरो मनोदशामा बीसको उन्नाइस जति पनि सुधार भएन ।

युवकले दिएको घडी गोजीमा थियो, निकाले र हेरें । रातको सवा बाह्र बजेको थियो । मैले २ बजेसम्म सेन्ट्री गर्नुपर्ने थियो । अझैं पौने २ घण्टा थियो । यत्रो समय कसरी गुजार्ने होला ? उफ् !!??

जूनको उज्यालोमा मैले एकपटक आफूलाई नियालें । ओहोहो मेरो हुलिया ?!  लिखुरे र काँतर ज्यानको काँधमा बडेमानको राइफल ! कम्मरमा ग्रिनेट र खुकुरी ! । हातमा टर्च ! ओहोहो !!??

सुनसान मध्यरातमा थुम्को मुन्तिर ठिंग उभिएको छु । उभिएको भएपनि अनेक शंका र भयले विचेत विचेत छु । घरि यता हेर्छु, घरि उता हेर्छु । फनफनी घुमेको घुम्यै छु । जहाँबाट पनि जुनसुकै बेला पनि ‘दुश्मन’ आउन सक्छ । बश्, यही कुराले दिमाग घोंचेको घोंच्यै छ । । यस्तो जगजगीमा एक ख्याउटे र काँतर पत्रकारले बाँच्न र बचाउन कसरी सक्ला ?!  मेरो हंसले ठाउँ छोडिसकेको थियो ।

एकातिर दुश्मन आएर कतिखेर छातिमा ड्याम्म गोली हान्ने हो र मलाई केराको थामझैं लडाउने हो भन्ने भयले मुटु काँपिरहेको थियोे भने अर्कोतिर भिरेका हतियारले तर्साइरहेका थिए । कुनबेला यी हतियार पड्केर चोक्टा चोक्टा हुन्छु भन्ने डरले विचेत थिएँ । स्थिति यति भयावह थियो कि मैले भोलिको बिहान देख्ने कुनै छाँटकाँट थिएन । ‘दुश्मन’  आउला नआउला तर यो सुकुटे जीउमा झुण्डिएका बम र बन्दुक जुनसुकै बेला पड्किन सक्छन् । मलाई मनको बाघले आधा निलिसकेको थियो । 

अहो ! मृत्युको यो कस्तो भय हो ?!

मेरो मनमा अनेकथरि विचार, भावना र प्रश्नहरु उर्लिरहेका थिए । म चैते हुरीमा परेको पिपलको पातझैं शंका र भयले एकमिसै फर्फराइरहेको थिएँ । 

केही पर खल्याङबल्याङ सुनियो । आवाज एकदम मधुरो र अस्पष्ट थियो । त्यो आवाजसँगै रातको सन्नाटा केही हदसम्म खलबलियो । ओहो ! कतै ‘दुश्मन’  पो आयो कि ? मेरो मनमा एकाएक चिसो पस्यो ।  शरीरमा कम्पन तीब्र भयो । मुटुको धड्कन ह्वात्तै चौगुणा बढ्यो ।  
अब के गर्ने होला ?! म एकदम चंख र सतर्क भए । खुर्र दगुरेर घरभित्र जाउँ कि जस्तो लाग्यो । भाँडमा जाओस् सेन्ट्री भन्ने पनि सोंचे । तर क्रान्तिकारीहरुको जीवनसँग यो तहको गैरजिम्मेवारी र खेलाँची किमार्थ उचित हुँदैनथ्यो । यो तहसम्म गिर्न मलाई मेरो नैतिकताले पनि किमार्थ दिँदैनथ्यो । न्यायपूर्ण समाज निर्माणका लागि लडिरहेका लालसिपाहीहरुको जीवन जोखिममा पारेर म मोर्चाबाट कुनै हालतमा भाग्न मिल्दैनथ्यो । म मरेर भए पनि क्रान्ति–योद्धाहरुलाई बचाउनै पथ्र्यो । यो समय कायर बनेर ‘दुश्मन’ को अघि पीठ फर्काउने एक रौं पनि छुट थिएन मलाई । 

म एकाएक सम्हालिएँ र एकदम दृढ औ जोशिलो भावका साथ खुकुरी निकालेँ । थोरैबेरका लागि भए पनि म एक सूरवीर योद्धाझैं भए र स्थिति नियाल्न केही पर निस्किएँ । एकदम चंख भएर छिटोछिटो त्यो परिवेशलाई एक चक्कर लगाएँ । 

लगभग १ बजेतिर एकाएक कुकुरहरू जोडजोडले भुक्न थाले । लौ यसपालि त पक्कै गाउँमा ‘दुश्मन’ घुस्यो । अब बिना बाजै सिलटिम्मुर खाने भएँ मैले । मनमा त्रासको आँधीबेहरी चल्यो, हुइयँ, हुइयँ । म उत्तिखेरै जमिनमा घोप्टो परेँ ।  त्यो बेला ज्यान जोगाउने अचूक उपाय त्यही थियो । सास थामेर केही बेरसम्म म  घोप्टो परिरहें । ‘दुश्मन’सँगै जीउका हतियार पड्केलान् भन्ने डर पनि उस्तै थियो । तर चूपचाप सब ब्यहोर्नु थियो मलाई । 

कुकुरहरु लगातार भुकिरहे, घ्वाङ ! घ्वाङ !!

एकमुठी सास बिनासित्ति जाने भयो आज । हे भगवान ! मेरो रख्खे गर । मान्छे त नास्तिक हुँ तर हरहिसाबले लाचार भएपछि त्यहाँ मैले ‘भगवान’ गुहारेँ पटकपटक । मलाई प्रष्ट थाहा थियो कि त्यो बेला ‘भगवान’ भन्दा मेरो सौर्य र चातुर्यताले नै मलाई बचाउन सक्थ्यो । तर आफूलाई सम्हाल्न समेत नसकिरहेको म त्यहाँ एकाएक सूरवीर बन्ने रत्तिभर गुञ्जाइस थिएन । 

हे ‘भगवान !’ कस्तो महाचक्रमा परे म ? एउटा पत्रकार र लेखकको रुपमा जनयुद्धमा जनताको उभार र क्रान्तिवीरहरुको संकल्प र सपनाहरु नजिकबाट नियाल्न आएको मान्छे म आज कहाँ फसे ?! यो महाविपत्तिबाट आज मलाई कसले पार लाउला ? हे ‘भगवान’ ! 

ठीक यहीबेला मैले लेखक, कवि एवं राजनीतिज्ञ हिरामणि दुःखीलाई संझिएँ । उनलाई सम्झेर मलाई खुब झोंक चल्यो । खासमा मलाई यो महाविपत्तिको भुंग्रोमा जाक्ने कमरेड हिरामणि दुःखी हुन् । एउटा पत्रकारलाई बम र राइफल भिराएर मध्यरातमा त्यो पनि ‘दुश्मन’ को एरियामा सेन्ट्री बस्न पठाउने ? उनी भने कतै तातो ओछ्यानमा मस्तले घुर्दै होलान् । उनी कहाँ उम्किए ? थाहा छैन । म भने यो  बिरानो ठाउँमा ‘दुश्मन’को गोली खाएर बिनाबाजै मर्ने भएँ । कथंकदाचित बाँचेछु भने स्यालझैं बाठा यी हिरामणिसँग एकएक बदला लिनेछु । 

आजको केही दिनअघि भूमिगतरुपमा घोराहीको एक छिमेकीकहाँ पुगेका कमरेड हिरामणिले मलाई घोराहीबाट दाङको पश्चिमी पहाडी गाउँहरु हुँदै सल्यानका केही वस्तीहरुमा घुमाएर बाघमारेको बोलाहा खोलाको तिरैतिर धनौरीको देवीपुरसम्म ल्याएका हुन् । नेकपा (माओवादी) दाङको एरिया नं. ७ को इन्चार्ज थिए उनी । यो ७ नं एरियामा पश्चिम दाङका गाउँबस्तीसहित सल्यान जिल्लाको तत्कालीन लक्ष्मीपुर–९ को ओखेला लगायतका केही पहाडी बस्तीहरु पनि पर्दथे । हामी देवीपुर झर्नुअघि बाघखोर डाँडा, काभ्रा, अखेला, टोड्के, रामनगर लगायतका थुप्रै गाउँवस्तीहरु घुमेका थियौं । त्यहाँको ग्रामीण जीवन परिवेशका अनेक घामछायाँ, दुःखसुख, गरिबी, अभाव, भेदभाव, उत्पीडन र उनीहरुको संघर्ष एवं मुक्तिको आकांक्षालाई नजिकबाट उधिन्ने एक गजबको अवसर पाएको थिएँ मैले ।   

हिजो साँझ मात्र हामी एक विशेष सैन्य दस्ता (स्क्वायड)सँग यहाँ आएका थियौं । आफ्नो एरियामा पहिलोपटक एक विशाल खुला जनसभाको व्यापक तयारीमा थिए कमरेड हिरामणि । हामी यहाँ आइपुदा अँध्यारो छिप्पिदैं थियो । हामी आएको घरमा एरिया पार्टीका नेता, कार्यकर्ता, लालसेना र जनमिलिसियाहरुको ठूलो घुइँचो थियो । विशेष भेटघाट र छलफलमा व्यस्त भएका हिरामणि अबेरसम्म पनि देखा परेनन् । म त्यहाँ एक्लो र निरीह भएँ । बिरानो ठाउँ । बिराना मान्छेहरु । न कसैले मलाई चिन्थ्यो न मैले कसैलाई । दुखम् सुखम् बुझ्ने कोही थिएन । यतिका दिनसम्म हरक्षण मलाई सँगै डो¥याएका कमरेड हिरामणि अहिले भने कता गायब कता ? मलाई बिरानो ठाउँमा एक्लो र अलपत्र पारेर साँच्चै उनी कहाँ गए हँ ?!

केही ढिलो भए पनि मेसमा घुसेर पेटपूजा गरे । पेटको मुसा अब शान्त भयो । सुत्नेबेला भने मलाई ठूलै सकस प¥यो । केही दिनको लगातारको हिंडाइले म लखतरान थिएँ । निद्राले आँखा टालिन थालिहाल्यो । तर अझैं सुत्ने ठाउँको कुनै ठेगान थिएन । खाना खाइवरी सब लाखापाखा लागिसकेका थिए । घरका सबै कोठामा मान्छे टनाटन थिए । म पो अलपत्रमा परें । कुनै सुइँको नदिएर एकाएक गायब भएका कमरेड हिरामणिलाई एकछिन मनमनै खुबसँग गाली गरेँ । 

अन्त्यमा हारथाक भएर त्यो घरको दक्षिण कोठामा गएर कोच्चिए जहाँ १५÷२० जना युवाहरु खाँदिएर सुतेका थिए । 

ओहो ! कतिखेर कुकुरहरु थामिएछन्, थाहै भएन । कमरेड हिरामणिलाई सम्झेर म त कता कता हराएछु ? 

उठेर एकपटक फेरि चारैतिर नियाले । बिरालोका चालमा अलि पर परसम्म पुगे । सब ठीकठाक थियो ।

आकाशमा जून उस्तैगरी चम्किरहेको थियो र ताराहरु पनि उस्तैगरी चम्किरहेका थिए । थिए ताराहरु । यतिबेला सिंगो परिवेश बिल्कुल शान्त र अटल थियो । आँखामा देखिने घरहरु, गोठहरु, बुट्याँनहरु र रुखहरु सबका सब शान्त थिए । सबका सब अटल थिए । म भने अझै पनि उस्तै अशान्त र विचलित थिएँ । आफैले भिरेका ज्यानमारा बम र बन्दुकले मलाई शान्त हुन पटक्कै दिइरहेका थिएनन् । यिनीबाट कतिखेर छुटकारा पाइने हो ? 

अन्ततः २ पनि बज्यो । 

अब बाँचे म । अहो ! बडो मुश्किलले यो महाविपत्तिबाट त्राण पाएँ मैले । छिटछिटो भित्र पुगेर अर्को कमरेडलाई हतियार र पालो बुझाएँ । मन र शरीरमा बेग्लै किसिमको स्फूर्ति महशुस गरेँ मैले । वाह ! क्या गजब । भोलिको सुन्दर बिहान नियाल्न पाउने भएँ मैले । उत्तिखेरै मेरो ज्यानमा प्राण भरिएर आयो । 

भोलिपल्ट बिहान उठ्नेबित्तिकै मैले राति सेन्ट्री बसेको आँगन, थुम्को, त्यो घर, पर पर देखिने वस्ती, रुख, बुट्याँन र बाटाहरु एकछिनसम्म नियालेँ ।  

एउटा नयाँ अनुभवसँगै जनक्रान्तिमा पनि मैले केही योगदान दिएको गौरवबोधले छाती चौडा भयो । फेरि एकपटक कमरेड हिरामणिलाई सम्झिएँ । अहिले भने उनीप्रति मभित्र अगाध श्रद्धाभाव जागेर आयो । मलाई जनक्रान्तिको उभार र भव्यतामा प्रत्यक्ष सामेल हुने दुर्लभ अवसर जुराइदिएकोमा उनलाई मनमनै धन्यवाद दिएँ । 

एकैछिनमा गजबको फूर्तिका साथ कमरेड हिरामणि पनि टुपुल्किए । उनी निकै हतारो र धपेडीमा थिए । उनको क्षेत्रमा उनको नेतृत्वमा पहिलो विशाल खुला जनसभा हुँदै थियो । यसको व्यवस्थापनको उच्च चाप उनमा थियो नै । तर पनि उनी उत्तिकै उत्साहित र फुर्तिला थिए । सबैतिर एकनासले माहुरीझैं खटिरहेका थिए । यसै पनि उनी हमेशा उत्साहित र जाँगरिला मान्छे हुन् ।
 
‘ठीक छ नि ?’ उनले जोशिलो हात मिलाउँदै सोधे । 

‘ठीक छ ।’ म मुस्कुराएँ ।

२०५७ सालको माघ महिनाको एक बिहान थियो त्यो । अरु दिन भन्दा आज कमरेड हिरामणि निकै उत्साहित र रोमाञ्चित भइरहेका थिए । आज उनी पहिलो खुला विशाल जनसभाद्वारा जनजनमारा व्यवस्था र त्यसका मतियारहरुलाई क्रान्तिकारी जनसमुदायको असली ताकत र सामथ्र्य देखाउँदै थिए । यो कुराले म पनि उनी जस्तै उत्तिकै उत्साहित र रोमाञ्चित बनिरहेको थिएँ । 

बिहानको खाना खाइवरी हामी कार्यक्रमस्थलतर्फ लाग्यौं । गाउँगाउँबाट हजारौं जनता रातो झण्डा हल्लाउँदै र गगनभेदी नारा उराल्दै अघि बढिरहेका थिए,– 
जनयुद्ध–जिन्दाबाद !
नेकपा (माओवादी) –जिन्दाबाद !
वीर सहिद–अमर रहून् !
प्रतिक्रियावादी राज्यसत्ता –मूर्दावाद !

२०७७ बैशाख २ गते
साँझ ६ः१२
 

केएल पीडित

(पीडित नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष, साहित्यकार तथा चलचित्र लेखक र निर्देशक हुन्)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय