कोरोना राहत कोषमा केन्द्रका मन्त्री र सांसदको भन्दा बढी रकम जम्मा गरे नगर प्रमुखले

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

दिपसागर भण्डारी, सल्यान । बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गत १ बर्षभरिमा आफूले पाएको सेवा सुबिधाबापतको सबै रकम कोरोनाभाइरस रोकथाम, उद्वार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।

नगर प्रमुख बुढाथोकीले कोरोनाभाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार तथा विपन्न वर्गलाई राहत दिने उद्देश्यले स्थापना गरिएको कोषमा गत १ बर्षमा आफूले पाएको सेवा सुबिधाबापतको ४ लाख ५० हजार रकम जम्मा गर्ने घोषणा गर्नुभएको हो।

नगर प्रमुख बुढाथोकीले पहिलो स्थानीय निर्वाचनको चुनावी अभियानमा नै आफु निर्वाचित भएपछि पाउने सेवा सुबिधा बापतको रकम नगरको बिकास वा सार्वजनिक कार्यमा लगानी गर्ने प्रतिबद्धता गर्नुभएको थियो।

त्यस्तै, बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले ३० हजार रुपैयाँ जम्मा गर्ने बताउनुभएको छ। राहत कोषमा नगरपालिकाका १२ वटै वडाका अध्यक्षहरुले २० २० हजार रुपैयाँ, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ११ हजार, वडा सदस्यहरूबाट पहिले पाएको सेवासुबिधाबाट प्रतिव्यक्ति ६ हजारका दरले रकम जम्मा गर्ने घोषणा गरेका छन्। 

शनिबार बसेको बागचौर नगर कार्यपालिकाको बैठकले नगरभित्रका स्वास्थ्य कर्मचारी र चालकबाहेक अन्य शिक्षक तथा कर्मचारीहरूबाट १ महिनाको तलबबापतको रकम उक्त राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

त्यस्तै राहत कोषमा बागचौर नगरपालिकाको चालु बजेटबाट रकमान्तरण गरि २ करोड जम्मा गरिएको नगर प्रमुख लोकमान बुढाथोकीले जानकारी दिनुभयो। राहत कोषमा नगरपालिकाको २ करोड, जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरेर १ करोड र अन्य दाताबाट १ करोड गरि ४ करोडको कोष बनाउने लक्ष्यसहित निर्णय गरिएको बुढाथोकीले बताउनुभयो।

त्यस्तै बैठकले गाउँ टोलसम्म विदेश तथा बाहिरबाट आएका व्यक्तिहरुको थप तथ्यांक अपडेट गर्ने, प्रत्येक वडामा ३ ३ जनाको स्वयंसेवक टोली बनाउने र स्वयंसेवक राख्ने अधिकार वडा अध्यक्षलाई प्रत्यायोजन गरिएको बैठकपछि अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो।

त्यस्तै, नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उद्दार तथा राहत कोषमा सहयोग गर्न चाहने महानुभावहरुलाई ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ३०४०१००००००५ राखिदिन अनुरोध गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा ५ बेडको आइसोलेसन निर्माण गर्ने, जनकल्याण क्याम्पसमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने र आवश्यकताअनुसार नगरभित्रका साबिकका गाविसहरू पिपलनेटा, कोटमौला, कोटबारा, बाफुखोला, शिवरथमा क्वारेन्टाइन बनाउँदै जाने निर्णय गरिएको छ।

बागचौर नगरपालिका राप्ती राजमार्गमा पर्ने भएकाले नगरमा हिडेर आउनेका लागि साबिकका प्रत्येक गाविसमा १ १ वटा क्वारेन्टाइन बनाउने निर्णय गरिएको अध्यक्षा बुढाथोकीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय