नेपालको पहिलो कोरोना संक्रमितले यसरी सुनाए आफ्नो अनुभव

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

काठमाडौँ । चीनको वुहानबाट गत डिसेम्बरयता सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसोसम्म नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९ पुगिसकेको छ। तीमध्ये पहिलो संक्रमित युवा भने निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका छन्।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। उनले कोभिडको लक्षण, अस्पतालको निगरानी र उपचार प्रक्रिया लगायतका अनुभव यसरी सुनाए :

म चीनको वुहानमा अध्ययनको क्रममा थिए। जनवरी ३–४ को बीचमा मलाई सामान्य लक्षण देखिन थालेको थियो। सुरुमा त खोकी लाग्यो। त्यसबेला मसँग तापक्रम नाप्ने थर्मोमिटर थिएन। ज्वरो आएको छरछैन भनेर थाहा पाउनै सकिएन।

त्यसबेला वुहानमा शून्य डिग्रीको तापक्रम थियो। एसी भएको कोठा तातो थियो। सिरक ओढेर सुत्दा हल्का पसिना आउने हुन्थ्यो। त्यसैले ज्वरो नै हो कि होइन, खुट्याउन सकिएन। जाडो बिदाको सदुपयोग गर्न म नेपाल फर्कने तयारीमा थिएँ। यसका लागि एक महिनाअगाडि नै टिकट बुक गरेको थिएँ।

घर फर्कन ४/५ दिन बाँकी थियो। वुहानमा नयाँ भाइरस देखियो भन्ने खालका समाचार आउन थाले। त्यसलाई सुरुमा गम्भीर रुपमा लिएको थिइनँ। त्यतिबेला संक्रमितको संख्या ज्यादै कम थियो। फेरि वुहानमा मात्रै देखिएको थियो। मलाई ज्वरो आएको त्यति महसुस थिएन। अलिअलि खोकीचाहिँ थियो। कोरोनाकै संक्रमण होला भनेर म आफैंमा विश्वस्त हुन सकिरहेको थिइनँ। रुममै बसिरहेँ। बाहिर हिँड्यो भने झन् बिरामले सताउँछ भनेर निस्किइनँ। किनकि घर जाने समय पनि आउनै लागेको थियो।

जनवरी ९ मा बिहान साढे ७ बजेको फ्लाइट थियो। वुहानदेखि कुनमिङ, कुनमिङदेखि काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि म काठमाडौंको आफ्नो कोठामा गएँ। ३/४ दिन नै बसेँ। त्यसबेला औषधिको रुपमा कफसिरप र सन्चो प्रयोग गरें। ठीक नभएपछि जनवरी १३ मा १० बजेतिर टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल गएँ।

डाक्टरलाई देखाउँदा त्यतिबेला मेरो शरीरको तापक्रम ९९.६ थियो। डाक्टरले ट्राभल हिस्ट्री र ब्याकग्राउन्डबारे सोधे। उनीहरुलाई वुहानको अवस्थाबारे पक्कै थाहा थियो। त्यसपछि मलाई अस्पतालको निगरानीमा बस्न आग्रह गरियो।

म अस्पतालमा ४ दिन बसें। दुई दिनसम्म चाहिँ सुत्दाखेरि श्वासप्रश्वासमा समस्या देखिन्थ्यो। श्वास छिटोछिटो चलेकोजस्तो लाग्ने। अक्सिजन लेभल ९० भन्दा माथि हुनुपर्ने रहेछ। श्वासप्रश्वासमा समस्या हुँदा मलाई २ दिन ३० देखि ४० मिनेटसम्म अक्सिजन दिइयो। एन्टिबायोटिक कफ सिरफजस्ता औषधि खुवाइयो।

तेस्रो दिन नै निको भइसकेको थिएँ। ममा पहिलेका लक्षण देखिन छाडिसकेका थिए। काठमाडौंको तापक्रम र शरीरको प्रतिरक्षा प्रणालीले काम गर्‍यो होला। तेस्रो दिनदेखि खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन छाड्यो। थप लक्षण देखिन सक्छ कि भनेर चौथो दिन पनि निगरानीमा राखियो। लक्षण नदेखिएपछि जनवरी १७ को बिहान १० बजेतिर म अस्पतालबाट डिस्चार्ज भएँ। र, सरासर आफ्नै रुममा फर्किएँ।  कान्तिपुर दैनिकमा खबर छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय