कोरोना भाइरस संक्रमणका कारण मिर्गौलाका बिरामी समस्यामा छन् : मिर्गौला रोग विशेषज्ञ काफ्ले

‘बिरामीको ज्यान धान्न मात्र डायलाइसिस गर्नुपर्ने अवस्था छ’

dainikonline
दैनिक अनलाइन | चैत १४, २०७६ शुक्रबार | 0

काठमाडौं । स्वस्थ मिर्गौलाले काम गर्न छाडेपछि त्यसलाई सक्रिय बनाउन डाइलाइसिस गरिन्छ । त्यसले बिरामीको ज्यानमा ‘अक्सिजन’ भर्छ । तर, कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय मिर्गौला बिरामीहरू समस्यामा परेका छन्, उपचार पाउन गाह्रो भएको छ ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभर चार हजार ६ सय २० जना बिरामीले नियमित डाइलाइसिस गरिरहेका छन् । तर, देशभर लकडाउन र सीमा नाका बन्द भएपछि पछिल्लो समय नियमित डाइलाइसिसमा समस्या भएको छ ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार कोरोनाबाट भन्दा पनि डाइलाइसिस गरेर बिरामी जोगाउनु ठूलो चुनौती देखिएको छ । ‘कोरोनासँग लड्नु त छँदै छ, तर त्योभन्दा ठूलो समस्या मिर्गौला फेल भएकाहरूको नियमित डायलाइसिस गर्नु हो । डायलाइसिस सेवा दिन सकिएन भने उनीहरू मर्छन्,’ उनले भने ।

सूचीकृत अस्पतालहरूले स्वास्थ्यकर्मीको उपलब्धता र भैपरी आउने समस्यालाई मध्यनजर गर्दै चार घण्टा गर्ने डाइलाइसिस सेवा दुई घण्टामा झारेका छन् । लकडाउनको समय यकिन नभएकाले त्यसको उचित व्यवस्थापन गर्न डाइलाइसिस दुई घण्टामा झारिएको अस्पतालहरूले बताएका छन् ।

डा. काफ्लेका अनुसार वैशाखको दोस्रो हप्तासम्म पुग्ने उपकरण छन् । ‘कतिपय अस्पतालसँग कम पनि हुन सक्छ, यसवेला तत्काल उपकरण आउने सम्भावना छैन । त्यसैले लकडाउन नखुल्दासम्म बिरामी बचाउनु पर्छ । ती बिरामीलाई बचाउन चार घण्न्टा डायलाइसिस गरेर सम्भव नहुन सक्छ । त्यसैले डाइलाइसिस अवधि दुई घण्टामा झारेर बिरामीको ज्यान धान्ने आधार मात्रै तय गरेका छौँ,’ उनले भने ।

डाइलाइसिसका लागि राष्ट्रिय मिर्गौला उपचार केन्द्र, शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीर अस्पताल, नोबेल मेडिकल कलेज, ग्रान्डी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपालगन्ज मेडिकल कलेज बाँकेलगायतसँग तीन महिना पुग्ने उपकरण मौज्दात छ ।

‘हामीसँग पर्याप्त उपकरण छ । अस्पतालमा आएका बिरामी निराश भएर फर्कनु पर्दैन,’ ग्रान्डी अस्पतालका प्रमुख डा. चक्रराज पाण्डेको दाबी छ । त्यस्तै, कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल, धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पनि आवश्यक उपकरण अस्पतालसँग रहेको बताए । ‘संख्यामा कति भन्ने हुन्छ, तर हामीसँग डाइलाइसिस गर्न पुग्ने उपकरण छन्,’ श्रेष्ठले भने । लामो समय देश लकडाउनमा रहेको अवस्थामा भने भन्न नसकिने उनले बताए ।

डाइलाइसिस गर्दा डायलाइजर, ट्युबिङ, त्यसमा चाहिने हेटारिन पन्जा, स्लाइन, डायलाइसिस

फ्ल्युड आवश्यक पर्छ । डायलाइजर अहिले ल्याउन बन्द छ । ‘केही समयलाई पुग्ने भए पनि लकडाउन नखुल्दासम्म आउने अवस्था छैन ।

त्यसैले भएका उपकरणको सही प्रयोगले त्यो अवधिसम्म धान्ने भन्नेमा हामी पुगेका हौँ,’ डा. काफ्लेले भने, ‘लकडाउन एक महिना हुँदा डाइलाइसिसमा रहेकालाई कसरी जोगाउने भन्ने अभियानमा छौँ । मिर्गौलाका बिरामीहरू डाइलाइसिस पाएनन् भने बाँच्दैनन् । कोरोनासँग भन्दा पनि यो वेला मिर्गौला फेल भएकालाई डाइलाइसिसको बढी चिन्ता छ ।’

प्रदेश १ मा तीन सय ६०, प्रदेश २ मा दुई सय १०, बागमती प्रदेशमा ३ हजार एक सय २४, गण्डकी प्रदेशमा तीन सय ७५, प्रदेश ५ मा पाँच सय ४०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा ६ जनाले नियमित डायलाइसिस सेवा लिइरहेका छन् ।

सरकारले मिर्गौला प्रत्यारोपण गर्नलाई प्रोत्साहन गर्ने गरी सहज व्यवस्था गरेको छ । मिर्गौलारोगीले पहिलो जाँच गराउँदा ५० हजार रुपैयाँ पाउँछन् । त्यस्तै, प्रत्यारोपण गरे चार लाख र पछि औषधि–उपचार खर्चबापत एक लाख पाउँछन् । यो रकम अस्पतालले पाउनेछ, बिरामीले सो रकमबराबरको सेवा पाउने छन् । डाइलाइसिस गर्नुपरे आजीवन निःशुल्क हुने व्यवस्था छ ।

डायलाइसिसमा समस्या भए चीनबाट उपकरण ल्याउँछौं : प्रा.डा. दिव्या सिंह शाह
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ
डाइलाइसिस मिर्गौला बिरामीको नियमित प्रक्रिया हो । उनीहरू चिकित्सकको सम्पर्कमा हुन्छन् । सरकारी तथ्यांक जति हो बिरामी त्योभन्दा बढी छैनन् । मिर्गौला रोगको उपचारका लागि स्वास्थ्य जाँच गराउन नेपाली विदेश गए पनि डाइलाइसिस सेवा लिनुपर्ने अवस्थामा भने नेपालमै आउने गर्छन् । नेपालमा निःशुल्क सेवा भएकाले उनीहरू विदेश जाँदैनन् ।

कोरोना भाइरसको प्रकोपका वेला हामीले कसरी संक्रमणबाट जोगाउने भनेर निर्दे्शिका बनाएका छौँ । डाइलाइसिस गर्ने व्यक्तिहरू पनि आइसोलेसनमा बस्नुपर्ने हुन्छ । कसैमा रुघाखोकी देखिएको अवस्थामा अन्य बिरामी जस्तै ज्वरो क्लिनिकमा पठाइनेछ ।

त्यस्तै, डाइलाइसिस गरेको व्यक्तिलाई कोरोना देखिएमा पाटन अस्पताल र शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिने भएको छ । स्वास्थ्यकर्मीहरूले डाइलाइसिसको समयमा मास्क, पन्जा लगाउने त्यस्तै बिरामीले पनि लगाउनुपर्छ ।

डाइलाइसिसका लागि आवश्यक पर्ने उपकरण जर्मनी र अस्ट्रेलियाबाट आउँछन् । भारतमा बन्दैनन् । सबैले एक वर्षलाई पुग्ने टेन्डर गरेको हुन्छ । तर, डायलाइसिस फ्ल्युड नेपालमा उत्पादन हुने भएकाले उनीहरूले पर्याप्त पुर्‍याउन सकेका छैनन् । अन्य उपकरण भने सबै बिक्रेताले स्टकमा राखेका हुन्छन् । त्यसैले डाइलाइसिसका लागि आवश्यक पर्ने उपकरण अभाव नहुन सक्छ, एक–दुई महिनालाई समस्या हुँदैन ।

समस्या देखिए कार्गोबाट पनि सामान ल्याएर सेवा प्रवाह गर्न सकिन्छ । अन्तिम विकल्प भनेको चीन पनि हो । डाइलाइसिस गर्ने व्यक्तिहरू अस्पतालको नजिक बस्ने भएकाले उनीहरूको डाइलाइसिसमा कुनै समस्या हुने छैन । नियमित गाडीको रुट पर्ने ठाउँमा उनीहरू अस्पतालको गाडी वा एम्बुलेन्सका माध्यमबाट पनि अस्पताल आइरहेका हुन्छन् ।

डायलाइसिस गर्ने सूचीकृत अस्पताल

वीर अस्पताल
शिक्षण अस्पताल
पाटन अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
कान्ति बाल अस्पताल
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी उपक्षेत्रीय अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कोसी अञ्चल अस्पताल
जनकपुर अञ्चल अस्पताल
भेरी अञ्चल अस्पताल
सेती अञ्चल अस्पताल
नेपाल मेडिकल कलेज, जोरपाटी
गण्डकी मेडिकल कलेज, कास्की
युनिभर्सल मेडिकल कलेज, रूपन्देही
चितवन मेडिकल कलेज, चितवन
कलेज अफ मेडिकल साइन्सेस, चितवन
नेपालगन्ज मेडिकल कलेज, बाँके
मणिपाल शिक्षण अस्पताल, कास्की
राष्ट्रिय मिर्गौला उपचार केन्द्र, वनस्थली
गोल्डेन अस्पताल प्रालि, मोरङ
बी एण्ड बी अस्पताल, ललितपुर
आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
नेसनल डायलाइसिस सेन्टर, वसुन्धरा
सिद्धार्थ सिटी हस्पिटल, बुटवल
अल्का अस्पताल, जावलाखेल
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल
चरक मेमोरियल हस्पिटल, पोखरा
हिमाल हस्पिटल, बानेश्नर
बयोधा हस्पिटल, बल्खु
भेनस अस्पताल, बानेश्वर
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
सुमेरु सामुदायिक अस्पताल, धापाखेल
ग्रान्डी अस्पताल, धापासी
नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लिमिटेड, मोरङ
क्रिमसन अस्पताल, मनिग्राम रूपन्देही
ग्रिनसिटी अस्पताल, प्रालि धापासी
ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल
लेकसिटी हस्पिटल, पोखरा
मेची अञ्चल अस्पताल, झापा
पूर्णटुङ बिर्ता सिटी अस्पताल, झापा
जानकी हेल्थकेयर अस्पताल, धनुषा
धुलिखेल अस्पताल ,काभ्रे
विराटनगर अस्पताल, मोरङ
ओमसाई पाथीभारा हस्पिटल, झापा
भरतपुर अस्पताल, चितवन
किस्ट मेडिकल कलेज, इमाडोल
नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
ब्लुक्रस हस्पिटल, त्रिपुरेश्वर
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेत
धौलागिरी अञ्चल अस्पताल, बाग्लुङ
राप्ती अञ्चल अस्पताल, दाङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल

डाइलाइसिस गरेका बिरामीमा कोरोना देखिए पाटन र शिक्षण अस्पताल भर्ना

डाइलाइसिस गरेका बिरामीलाई कोरोना संक्रमण भएको खण्डमा शिक्षण अस्पताल र पाटन अस्पतालमा भर्ना गरिनेछ । संक्रमितहरूको शिक्षण र पाटनमा नियमित डायलाइसिस हुन्छ । शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा राखेर उनीहरूको उपचार हुनेछ ।

चिकित्सकहरूले बताएअनुसार धेरैजसो मिर्गौला रोगले नेफ्रोनमा आक्रमण गर्छ  । यसले गर्दा मिर्गौलालाई काम नलाग्ने पदार्थ छान्ने क्षमता प्रभावित गर्छ । एउटा मिर्गौला यदि ७५ प्रतिशत ठीक छ भने पनि व्यक्तिले स्वस्थ जीवन यापन गर्न सक्छ । 
-नयाँ पत्रिका दैनिक

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय