नाकामा खाद्यान्न अभाव, गढवा र राजपुर दुई पालिका खाद्यान्न पठाउने तयारीमा

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

शिवु खनाल
दाङ । जिल्लाका नाकाहरु अनिश्चितकालीन बन्द भएपछि भारतसँग सीमा जोडिएका गढवा र राजपुर गाउँपालिकाका सिमाक्षेत्रमा खाद्यान्नको अभाव हुन थालेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणले गर्दा भारतसँग सीमा जोडिएका दाङको गढवा र राजपुर गाउँपालिकाका सीमाक्षेत्रमा साना ठूला गरी २६ वटा नाकाहरू अनिश्चितकालीन बन्द गरिएको हो । 

‘यता छिमेकी राष्ट्र भारतले पनि २१ दिनको लकडाउन गरेपछि नाकामा बसोबास गर्दै आएका नाकाबासीहरुले भारतबाट कुनै पनि सामाग्री ल्याउने अवस्था छैन । नेपालको भूमि हुँदै आउन बाटो छैन’, राजपुर गाउँपालिका– ७ भौवानाकाका श्याम झाँक्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नाकाहरू अनिश्चितकालीन बन्द भएपछि खाद्यान्न किन्न भारत जान पाएका छैनौं । घरमा भएको खाद्यान्न सबै सकिन लाग्यो । सबै थोक भारतकै मुख ताक्नुपर्छ । आफ्नै भूमिमा जाने बाटो छैन । नाकामा अन्नपानीको समस्या उत्पन्न हुन थाल्यो ।’

राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा खाद्यान्न पु¥याउनको लागि गाउँपालिकाले लाग्ने ढुवानी खर्च व्यहोर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नाकाबासीका लागि अत्यावश्यक खाद्य सामाग्री निःशुल्क ढुवानी गरिदिने गाउँपालिकाले निर्णय गरेको हो । सीमाक्षेत्रमा बसोबास गर्दै आएका नाकाबासीहरुले आफै आएर खाद्यान्न किनेर जैजान्छन् भने नाकामा लैजाने खाद्यान्नको लाग्ने ढुवानी खर्च गाउँपालिकाले व्यहोर्छ ।’ ‘राजपुर गाउँपालिकाको १, ६ र ७ नम्बर वडाहरुमा नाकाक्षेत्रहरु रहेका छन् । ती वडाका वडाध्यक्षहरुलाई आफ्नो वडाहरुको बारेमा बुझ्न फिल्डमा खटिन निर्देशन दिइएको छ’, अध्यक्ष केसीले भन्नुभयो ।

यता गढवा गाउँपालिका अध्यक्ष सहजराम यावदले गढवा उद्योग बाणिज्य संघसँग समन्वय गरेर नाकामा खाद्यान्न उपलब्ध गराउने बताउनुभयो । अध्यक्ष यादवका अनुसार वडाध्यक्षलाई नाकामा परिचालन गरेको र नाकाको डाटा के आउँछ ? त्यही अनुसार अगाडि बढ्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘केही स्रोत र आम्दानी नभएकाहरुलाई डाटा संकलन गरी खाद्यान्न उपलब्ध गराउने छौँ ।’ यस्तै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले दुईवटा गाउँपालिकाका नाका क्षेत्रमा खाद्यान्न उपलब्ध गराउने सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह खेल्ने बताउनुभयो ।

अध्यक्ष आचार्यले भन्नुभयो, ‘गढवा उद्योग वाणिज्य संघले दुईवटा नाका क्षेत्रमा खाद्यान्न उपलब्ध गराउने विषयमा गाउँपालिकाका अध्यक्षहरुसँग पनि कुराकानी भएको छ । खाद्यान्न उपलब्ध गराउने विषयमा गढवा, लमही र घोराहीका व्यापारीहरुसँग समन्वय गरी सकभर नाफा नखाने गरी नाकामा खाद्यान्न उपलब्ध गराउने छौँ ।’ ‘सिमाक्षेत्रमा बसोबास गर्दै आएका नाकाबासीहरु बिना बर्दीका सिपाही हुन् । ती नाकाबासीलाई कसरी हुन्छ ? भरसक निःशुल्क नभए पनि सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने छौँ ।’

कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सीमा जोडिएका दाङको गढवा र राजपुर गाउँपालिकामा पर्ने साना ठूला २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरिएको हो ।  चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दुबै देशका अधिकारीबीचको सहमतिमा दाङका सीमानाका पूर्णरुपमा अनिश्चितकालीन बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । नेपाल–भारत सीमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलावास, खङ्ग्रा, भौवा, पटौली, सुनपथरीलगायत सानाठूला २६ नाकाहरु स्थिति सामान्य अवस्था नहुँदासम्मका लागि पूर्णरुपमा बन्द गरिएका हुन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय