‘वुहान भाइरस’ लेख्ने अमेरिकी प्रस्ताव अस्वीकृत, निस्किएन जी ७ राष्ट्रको संयुक्त विज्ञप्ती

dainikonline
एजेन्सी | चैत १३, २०७६ बिहिबार | 0

कोरोना भाइरस (कोभिड १९) को संक्रमणविरुद्ध संयुक्त विज्ञप्ती जारी गर्ने जी ७ राष्ट्रको योजना एउटा शब्दका कारण तुहिएको छ।

जी ७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तीमा  ‘उहान भाइरस’ शब्द राख्न खोजेपछि संयुक्त विज्ञप्ती जारी गर्ने योजना तुहिएको हो। 

अमेरिकी विदेश मन्त्रालयले अन्य देशका विदेश मन्त्रालयलाई चीनको वुहानबाट उक्त भाइरस फैलिएको भन्दै त्यसको नाम नै उहान भाइरस राख्न मनाउन खोजे पनि अन्य देशहरुले उक्त शब्द अस्वीकार गरिदिएका छन्। यसले गर्दा अहिलेको विश्वव्यापी कोरोना भाइरसको आतंक फैलिनुमा चीन नै मुख्य दोषी रहेको देखाउने अमेरिकी चाहनामा ब्रेक लाग्न पुगेको छ।

‘अमेरिकाले जे संकेत ग¥यो त्यो रेडलाइन हो,’ एक युरोपेली कुटनीतिज्ञले भने,‘यस भाइरसको यस किसिमको ब्रान्डिङसँग समेत हुन र त्यसलाई फैलाउने प्रयासमा तपाई सहमत हुन सक्नुुहुन्न।’ अमेरिकाले प्रस्ताव गरेको विज्ञप्तीको मस्यौदामा पनि चीनलाई महामारी फैलाएकोमा गाली गरिएको थियो, ती कुटनीतिज्ञलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ। 

विश्व स्वास्थ संगठनले यस रोगलाई कोभिड–१९ वा कोरोना भाइरस नाम दिएको छ, अमेरिकाले जी ७ राष्ट्रका विदेशमन्त्रीसामु प्रस्तुत गरेको १२ अनुच्छेद लामो विज्ञप्तीको मस्यौँदामा भने यसलाई ‘वुहान भाइरस’ लेखिएको छ। 

बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा समावेश जी ७ राष्ट्रको अध्यक्ष अमेरिका भएकाले उसैले संयुक्त विज्ञप्तीलाई अन्तिम रुप दिनुपर्छ। संयुक्त विज्ञप्ती निस्कन नसकेपछि सदस्य राष्ट्रले आफ्ना विदेशमन्त्रीमार्फत अलग विज्ञप्ती निकालेका छन्। कोरोनाको महामारीका कारण यो बैठक भिडियोमार्फत गरिएको थियो।

यस बैठकबारे फ्रान्सले निकालेको विज्ञप्तीमा अहिलेको महामारीलाई ‘कोभीड–१९ महामारी भनिएको छ । कोरोना भाइरसको महामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओ निरन्तर चीनमाथि खनिएका छन् । उनीहरुले चीनकै कारण भाइरस फैलिएको आरोप लगाइरहेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय