जुत्ता किन्न पैसा नभएर नाङ्गै खुट्टा दौडिएकी धावकको अनुभव

dainikonline
दैनिक अनलाइन | चैत १, २०७६ शनिबार | 0

खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके। खेलाडी तम्तयार भएर मैदानमा उत्रिए। त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन्। त्यहाँ सबैका आँखा ती फुच्चीको खुट्टातर्फ सोझिए। उनी दौडका लागि नाङ्गो खुट्टामा आएकी थिइन्। कारण उनीसित जुत्ता थिएन। यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले। दौड शुरु भयो । नाङ्गै खुट्टाको भरमा दगुरेकी ती नानी तेस्रो भइन्। उनीभन्दा अब्बल प्रहरी र सेनाका खेलाडी मात्र निस्के। बैकुण्ठले उनलाई पिठ्यँमा धाप मार्दै बधाई दिए। 

विसं २०६८ फागुन तेस्रो साता सुदूरपश्चिमको धनगढीस्थित रङ्गशालाको दृश्य थियो त्यो । छैटौँ राष्टिय खृलकूद प्रतियोगिता चलिरहेको थियो। ती फुच्ची थिइन दार्चुलाकी सकुन्तला ठगुन्ना । त्यतिबेला छ कक्षामा पढ्दै गरेकी उनको उमेर मात्र १२ वर्षको थियो। सो प्रतियोगितामा पदक जित्ने उनी देशकै कान्छी खेलाडी बनिन्। सकुन्तलाको रहर भलिबल खेलाडी बन्ने थियो । गाउँमा सहजै खेल्न सकिने भलिबल। खासै लगानी पनि नचाहिने । त्यसैले तीन कक्षा पढ्दादेखि नै उनले भलिबल खेल्न थालिन । त्यो पनि पुरुष खेलाडीको टोलीमा संलग्न भएर । किनभने महिला मात्र खेल्न खेलाडी जुटाउन मुश्किल पथ्र्यो । 

विसं २०६८ मा पहिलोपटक सकुन्तलाले जिल्लास्तरीय प्रतियोगितामा भाग लिइन् । भलिबल खेल्न दार्चुला सदरमुकाम खलङ्गा झरेकी उनलाई एक हजार ५०० मिटर र तीन किलोमिटर दौडमा समेत सामेल गराइयो । ख्यालख्यालमै दगुरेकी उनी एक हजार ५०० मिटर दौडमा पहिलो तथा तीन किलोमिटरमा दोस्रो भइन्। त्यसपछि उनको ध्यान एथलेटिक्सतर्फ मोडियो । त्यही वर्ष क्षेत्रीय प्रतियोगितामा पनि सकुन्तलाले नौ जिल्लाका खेलाडीलाई उछिन्दै छैटौँँ राष्टिय खेलकूद प्रतियोगिताका लागि छनोट भइन्। जिल्ला र क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनी सुदूरपश्चिममा आयोजना भएको छैटौँ राष्टिय खेलकूद प्रतियोगिताका लागि छनोट भएकी थिइन् । १० किलोमिटर दौडमा तेस्रो हुँदै सकुन्तला एथलेटिक्समा उदाइन्। 

पहिलोपटकमै पदक जित्दै उनले आफूलाई अब्बल सावित गरिन् । सकुन्तलासित जुत्ता किन्न पैसा थिएन । गाउँघर र भिरपाखामा लगाउने गोल्डस्टार जुत्ताले दगुर्न सहज हुन्नथ्यो । त्यसैले उनी नाङ्गो खुट्टाको भरमा दगुरेकी थिइन् धनगढीमा । “नयाँ जुत्ता किन्न पैसा थिएन, जुत्ता किनिदिने कोही भेटिएनन्, त्यसैले नाङ्गै खुट्टा दगुरेकी हुँ”, हाल प्रशिक्षणका क्रममा काठमाडौँमा रहेकी सकुन्तलाले विगत सम्झिँदै भनिन्, “जिल्ला र क्षेत्रीय प्रतियोगितामा पनि त्यसैगरी दगुरेकी थिएँ ।” पछिल्लो समय भने उनी जुत्ता लगाएरै दगुर्ने गरेकी छिन्। विभिन्न ठाउँमा पुरस्कार जितेपछि उनले सहज हुने किसिमको जुत्ता किनेकी हुन्। 

छैटौँ राष्ट्रिय प्रतियोगितापछि उनी दार्चुला फर्किइन् । गाउँ फर्केपछि सकुन्तला घाँसदाउरा र मेलापातमै अल्झिइन् । प्रतियोगिता हुन्नथ्यो । गाउँमा न त दगुर्न ठाउँ थियो न अभ्यासको वातावरण नै । यस्तोमा चाहेर मात्र पनि उनको धाविका बन्ने धोको पूरा हुने स्थिति थिएन । यसबीचमा उनले विसं २०७२ मा गाउँकै जनहित माविबाट एसइई परीक्षा उत्तीर्ण गरिन् । बाबुआमाले खेल्न होइन, जागिर खान सहज हुने पढाइ थाल्न दबाब दिए । जेटिए पढ्न गाउँदेखिको टाढा रिठाचौपता गइन् । जहाँ उनले डेरा गरेर २९ महिनाको पढाइ पूरा गरिन् । पढाइ सकेर गाउँकै नौगाड गाउँपालिकामा अस्थायी जागिर शुरु गरिन् । “घरको अवस्था एकदमै कमजोर भएकाले जागिर खानुपरेको हो”, घरको अवस्था सम्झिँदै उनले भनिन्, “खेल त चटक्क छाडे ।” 

 बेलाबेलामा उनले आफू खेलमा फर्किन चाहेको कुरा साथीसङ्गी तथा आफन्तलाई सुनाउने गर्थिन् । गाउँमै बसेर पहिलाजस्तै खेलमा फर्किन सम्भव थिएन । उनले गाउँ छाड्नुपर्ने थियो । तर गाउँ छाडेर कहाँ जाने रु सकुन्तलासित कुनै विकल्प थिएन । उनका अघिल्तिर कमजोर आर्थिक अवस्था तगारो बनेको थियो । यस्तैमा तीन महिनाअघि साथी तथा आफन्त धिरज विष्टले सकुन्तला खेलमा फर्किन चाहेको कुरा फेसबुकमा स्टाटसमार्फत सार्वजनिक गरे । धिरजले सकुन्तलाका बारेमा लामो स्टाटस लेखे । यसरी खेल जीवनमा फर्किन खोजेको कुरा सामाजिक सञ्जालमा आएपछि देश तथा विदेशमा रहेका आफन्त र अन्यले सकुन्तलालाई सहयोगको आश्वासन दिए।

“सामाजिक सञ्जालमार्फत धेरैले सहयोगको बचन दिए, मलाई त्यो सब आश्वासन मात्र लाग्यो”, सकुन्तला भन्छिन् । यसरी सहयोग गर्न चाहनेमध्ये एक थिए काठमाडौँमा बस्दै आएका दार्चुलाकै प्रेमसिंह धामी । उनैले सकुन्तलालाई काठमाडौँ बोलाए । धामीको आग्रह सकुन्तलाले सितिमिति मानिनन् । धेरै करकाप गरेपछि उनी गत पुस दोस्रो सातातिर राजधानी आएकी हुन् । धामीले प्रशिक्षणका लागि सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा चाँजोपाँजो मिलाइदिए । यसबीचमा उनले सकुन्तलालाई कीर्तिमानी धावक बैकुण्ठसित फोनमा कुराकानीसमेत गराइदिए । “बैकुण्ठ गुरुसितको कुराकानीले पनि खेल्न उत्साहित भए”, उनले भनिन् । अहिले राजधानीमै रहेका आफन्तजनले बस्ने खाने चाँजोपाँजो मिलाइदिएका छन् । तर, यसरी सधैँभरि सम्भव नहुने उनको बुझाइ छ । 

“खेलेर केही हुन्न, जागिर खाउँ”, सकुन्तलालाई बाआमाको यही सल्लाह छ । उनी भने दगुरेरै देशका लागि पदक जित्न चाहन्छिन् । बाबुआमाले चाहेर पनि उनलाई आर्थिक सहयोग गर्न सक्ने स्थिति छैन । पाखोमा फलेको अन्न मुस्किलले तीन महिना पुग्छ । “हातमुख जोर्नकै समस्या छ, कसरी सहयोग माग्नु”, सकुन्तलाले घरको अवस्था सम्झिन पुगिन् । काठमाडौँमै बसेर खेललाई निरन्तरता दिन चाहन्छिन् सकुन्तला । तर उनले चाहेजस्तो सहज भने छैन । उनी सहयोगीको खोजीमा छिन् । सशस्त्र प्रहरी बलले अभ्यासका लागि खेल मैदान र प्रशिक्षक मात्र उपलब्ध गराइदिएको हो । अरु सहयोग उनलाई एपिएफको केही पनि छैन। “बस्ने खाने सुविधा पाए त खेलमै राम्रो गर्न सक्थे”, उनले पीडा सुनाइन्।

अढाइ महिनामा सकुन्तलाले छ वटा लामो दौडमा भाग लिएकी छिन् । ती सबैमा उनी पहिलो र दोस्रो भइन् । त्यहाँबाट पाएको पुरस्कार रकमले पनि बस्न खान केही हदसम्म मद्दत मिलेको उनले बताइन् । उनका दुई भाइ र तीन दिदीबहिनी पनि खेलमा उत्कष्ट छन् । सबै जनाले जिल्ला र क्षेत्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स र भलिबलमा पदक जितेका छन् । उनीहरू सबै गाउँमै छन् । 

गत पुस १२ गतेदेखि उनले हलचोकमा नियमित प्रशिक्षण थालेकी हुन् । यसबीचमा सकुन्तलाले चितवनमा भएको १५ किलोमिटर दौडमा पहिलोपटक भाग लिइन् । उनी सो दौडमा २५० जनालाई उछिन्दै पहिलो भइन् र रु पाँच हजार पुरस्कार प्राप्त गरिन् । तर, दुर्भाग्य उक्त दौडमा उनी खुट्टा मर्केर घाइते भइन्।

“चितवन जाने कि नजाने दोमन भएको थियो”, उनले भनिन्, “आठ वर्षदेखि कुनै प्रतियोगिता खेलेकी थिइन्, न त कुनै अभ्यास गरेकी थिएँ ।” राम्रो दगुरे एथलेटिक्समा कमब्याक गर्न सकिन्छ कि भनेर चितवन गएको उनी बताउँछिन् । नभन्दै त्यही प्रतियोगिताले सकुन्तलालाई एथलेटिक्समा फर्किने अवसर जुरायो । सेना दिवसको अवसरमा भएको १० किलोमिटर दौडमा उनी दोस्रो भइन् । 

यस्तै वीरगञ्जमा सम्पन्न १० किलोमिटर दौडमा पहिलो, भक्तपुरमा भएको नगरस्तरीय १० किलोमिटर दौडमा पहलो तथा २१ किलोमिटरको हाफ म्याराथनमा दोस्रो भइन् उनी । केही दिनअघि काठमाडौँमा सम्पन्न मदन भण्डारी रेसमा पनि सकुन्तला पाँच किलोमिटर दौडमा दोस्रो भइन् । यी सबै प्रतियोगिता उनले खुट्टाको चोट बोकेकै अवस्थामा खेलेकी हुन्। “चिकित्सकले तीन महिना आराम गर्न भनेका छन्”, उनले भनिन्, “म चोटिल अवस्थामै दगुर्दै आएकी छु ।” दगुर्न नछाडे चिकित्सकले मकहाँ उपचार गर्न नआउनु भनेको कुराले उनको मन झस्किरहन्छ। अब उपचारका लागि अर्को चिकित्सककहाँ जाने सकुन्तलाले मन बनाएकी छिन्। 

उनी हाल बिहान चार घण्टा हलचोकमा नियमित अभ्यास गर्छिन् । उनको एउटै उद्देश्य छ उत्कृष्ट धाविका बन्ने । यसका लागि उनी काठमाडौँका हरेक अप्ठ्यारा र चुनौतीको सामना गर्न तयार छिन् । उनलाई काठमाडौँको भीडभाड मन पर्दैन। न त यहाँको वातावण नै । दार्चुलाको दुर्गम गाउँमा शान्त वातावरणमा हुर्केकी सकुन्तला सबैभन्दा बढी त्रसित काठमाडौँको भीडबाट हुन्छिन्।

“पैदल हिँड्दा सयौँसित ठोक्किनु पर्छ, बस र माइक्रोमा यात्रा गर्दा जीउ नै कच्याककुचुक हुन्छ”, राजधानीमा दिनहुँ यात्रा गर्दाको पीडा सुनाइन् । त्यसैले हलचोक नजिकै डेरा सर्ने उनले मन बनाएकी छिन् । तर मन बनाएर मात्र पुग्दैन । सबै थोकका लागि काठमाडौँमा पैसो चाहिन्छ । सकुन्तलाको गोजी भने रित्तो छ । प्रतियोगितामा भाग लिने, पुरस्कार जितेको रकमले जेनतेन कोठा भाडा तिर्ने तथा खाने खर्च जुटाउने योजना छ सकुन्तलाको । “अब्बल धाविका बन्छु, नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउँछु”, कोटेश्वरको व्यस्त चोकमा हलचोकका लागि बस चढ्नुअघि सकुन्तालाले भनिन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय