श्रमिक नारीसम्म नपुग्ने नारी दिवस

dainikonline
केशरमान बुढाथोकी | फागुन २५, २०७६ आइतबार | 0

आज अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न शहरहरुका तारे होटेलहरुका सभाहलहरुमा नारीवादी आदर्शका खोक्रा भाषण छाँट्नका लागि फूलमाला र बेलुनहरुले सजिएका छन् । एनजीओ, आइएनजीओको बार्षिक कार्यतालिकाअनुसार विनियोजित बजेटले आज नारीवादी आदर्शका कुरा गर्न विभिन्न सभा÷सम्मेलनको आयोजना गरिएका छन् । तर नेपाली ग्रामीण समुदायका नारीलाई कुनै पत्तो छैन । नारी दिवस के हो ? यो केका लागि ? भन्ने कुराबाट नै बेखबर छन् ।  

विश्वमै महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन थालेपछि महिलाहरुमा जागरण ल्याउनका लागि संयुक्त राष्ट्रसंघले वि.सं. १९६६ देखि आजको दिनलाई नारीको दिन ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’का रुपमा मनाउन थालेको हो ।

विश्वका जोकोही नारीलाई आफू समाजमा दोस्रो दर्जाको नागरिकको अनुभूति नहोस् भन्ने उद्देश्य राखेर मान्न थालिएको नारी दिवसको महत्व अझै दूरदराजका नारीहरुसम्म पुग्न नसक्नु दुर्भाग्यको कुरा हो ।

समाजका नारीहरुलाइ सशक्तीकरण गर्नका लागि भव्य उत्सवको रुपमा मनाउन थालिएको अन्तर्राष्ट्रिय नारी दिवस जति नै तामझामका साथ मनाए पनि यसको आवश्यकता र महत्व शहरका तारे होटेलमा आयोजना गरिने भव्य नारी दिवसले दर्शाउन सक्दैनन् ।
 
सन् १९०९ देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिए पनि १९१४ देखि हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको छ । नारी दिवस सन् १९०९ अघिसम्ममा संसारमा नारीलाई मत दिने अधिकार केवल न्युजिल्याण्ड, अस्ट्रेलिया र फिनल्यान्ड गरी ३ देशमा मात्र सीमित थियो । 

नारीलाई पुरुषसरह अधिकार र स्वतन्त्रता दिने भनी संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालेपछि मात्र रुसमा सन् १९१७ मा, बेलायतमा सन् १९१८ मा, अमेरिकामा सन् १९२० मा, फ्रान्समा सन् १९४५ मा, जापानमा सन् १९४६ मा, इरानमा सन् १९६३ मा र स्वीट्जरल्याण्डमा सन् १९७१ मा नारीलाई मतदान दिने अधिकार प्राप्त भएको हो । नेपालमा भने यसको सुरुवात  प्रजातन्त्र आएपछि वि.सं. २००७ देखि नै सुरु भएको हो । 

संसारका सबै नारीपुरुष बराबर भएको भन्दै नारीलाई पनि पुरुषसरह स्वतन्त्र र बन्धनमुक्त बनाउन र २१ औं शताव्दीका नारीहरुमा पुरुषसरह जागरण पैदा होस् र पुरुषमा पनि महिला स्वतन्त्रता र महिला अधिकार आवश्यक छ भन्ने भावना विकास होस् भन्ने मान्यताले आयोजना गरिएको नारी दिवसले अझै एक मुठी सामल खान नसक्ने श्रमिक नारीहरुलाई छुन सकेको छैन । नेपालका शहरी क्षेत्रहरुमा पछिल्लो समय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को चर्चा परिचर्चा बढ्दो क्रममा छ ।
 
शहरी क्षेत्रका महिलाहरु यस दिवसलाई भव्य उत्सवका रुपमा लिएर यो  दिवसको अवसरमा भव्य कार्यक्रमहरुको आयोजना गर्दै लामालामा अभियान सञ्चालन गर्दै आएका छन् ।  


मार्च ८ भन्नेबित्तिकै समान ज्याला, समान मताधिकार र विश्व शान्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू सम्झनामा आउँछन् । ती मुठ्ठी न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज यो स्तरमा जुन व्यापकता र समर्थन बटुलेको छ,, यसको जगमा करोडौँ महिला, त्यसमा पनि विशेषतः महिला मजदुरको त्याग र सघर्षहरू चट्टानसरी उभिएको छ । यो दिवसले महिला मजदूर मुक्तिको लामो प्रक्रियाको शुभारम्भको दिनलाई सङ्केत गर्छ । तर नेपालको सन्दर्भमा, नेपाली महिलाहरू जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्, उनीहरु सामाजिक आर्थिक रूपले पिछडिएका छन् । यो चाडसँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ यो दिवसबारे जानकारसमेत छैनन् । शहरका मजदूर महिलाहरु पनि यही हालतमा छन् ।

विश्वभर ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै गर्दा दाङमा आजै घर निर्माणको काममा व्यस्त महिला श्रमिकहरु ।

वास्तविक नारीहरुलाई यस दिवसको अवसर पारेर जागरण ल्याउन थालिएको झण्डै ६ दशक भएपनि नेपालमा यसको वास्तविक प्रभाव पर्न सकेको छैन ।

मार्च ८ को अवसर पारेर नेपालमा पनि मनाउन थालिएको यो दिवसले गरिवीको रेखामुनि रहेका तथा पिछडिएका महिलाहरुका लागि ठोस योजना लिएर काम गर्न नसक्नु र वास्तविक नारी दिवसको सान्दर्भिकता नारीहरुलाई नै बुझाउन नसक्नुले यो दिवसको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।

श्रमिक महिलाहरुको हितमा मनाउने यो दिवसले वास्तविक श्रमिक महिलाहरुलाई नै प्रभाव पार्न नसकिरहेको वर्तमान अवस्थामा नारी दिवसकै औचित्यमाथि प्रश्न सिर्जना गर्नु हो । 
नेपालको सन्दर्भमा पनि विगत लामो समयदेखि मनाउँदै आइएको यो दिवसको प्रभाव, यसले चेतनास्तरमा ल्याएको परवर्तन, जागरणको दर आदि विषयमा कुनै ठोस परिवर्तन गर्न नसकेपछि आज यसको औचित्यमाथि नै बग्रेल्ती प्रश्न उठ्न थालेका छन् ।

समान काम, समान ज्याला, समान मताधिकार र विश्व शान्ति तथा महिला मुक्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू तारे होटेलका भित्ताहरुमा मात्र पोस्टर बनेर आउने मार्च ८ को कुनै औचित्य देखाउँदैन । हिजो आफ्नो अधिकारका लागि उठेका ती करोडौं मुठ्ठीहरु न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए ।
 
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज यो स्तरमा जुन व्यापकता र समर्थन बटुलेको छ, यसको जगमा करोडौँ महिला, त्यसमा पनि विशेषतः महिला मजदूरको त्याग र सङ्घर्षहरू चट्टानसरी उभिएको छ । महिला मजदूर मुक्तिको लामो कथा समेटिएको मार्च ८ ले महिला मुक्तिको शुभारम्भको दिनलाई सङ्केत गरेपनि पछिल्ला दिनहरूमा यो महिला मुक्तिको अन्य आयामहरूमा पनि फैलिएको छ ।

आफैमा यो एक महान ‘पर्व’ भएपनि आज नाना, खाना र छानाको अभावले तड्पिएका हजारौं नेपाली नारीहरु सडकमा बेल्चा र गैंती बोकेर तपतप पसिना चुहाइरहेका छन् । नेपालको सन्दर्भमा, नेपाली महिलाहरू जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्, उनीहरु सामाजिक, आर्थिकरूपले पिछडिएका छन्, यो चाडसँग आफ्नो खुशी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ ? यो दिवसबारे जानकारसमेत छैनन् । यसो हुनु नारी दिवसको औचित्यमाथि नै गम्भीर प्रश्न हो ।
 

केशरमान बुढाथोकी

(बुढाथोकी पत्रकारितामा क्रियाशील छन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय