२६ वर्षपछि डुल्दै हिड्दा भारतमा

dainikonline
उदय जीएम | फागुन २४, २०७६ शनिबार | 0

उसो त छिमेकी भारत हाम्रा लागि पानीपँधेरो । ‘वल्लो घरको नरे, पल्लो घरमा सरे’ भनेजस्तै । फुत्त उता गयो, भारत । फुत्त यता आयो, नेपाल । उसै पनि भारतसँगै टाँसिएको जिल्लाको बासिन्दा परियो । आ... हाम्रा लागि त हाटबजारै त हो नि । त्यसैले भारत जाने निम्तो आएसि उति जाँगर चाहिँ चलेन ।

कुरै गर्ने हो भने नयाँ दिल्ली त कतिचोटी गइयो, गइयो । बुटवल–भैरहवाको बाटो हुँदै नयाँ दिल्ली । बढनी–कृष्णनगरको बाटो हुँदै नयाँ दिल्ली । नेपालगञ्ज–रुपैडिहा हुँदै नयाँ दिल्ली । त्यसपछि महेन्द्रनगर हुँदै पनि नयाँ दिल्ली । एसएलसी दिएपछि आजभोलिका केटाकेटीहरु ब्रिजकोर्शतिर लाग्छन् । आफू त गएकै भारत । यसकारणले पनि भारत भ्रमण भनेपछि त्यति उत्सुकता नजाग्नु स्वाभाविक थियो । जाँगर नचल्नु जायज थियो मेरा लागि । गइराखेको, आइराखेको ठाउँमा फेरि जानुको अर्थ पो के थियो र ?

‘उहिलेका के कुरा गर्नुहुन्छ ? कति धेरै परिवर्तन भइसकेको छ । गएर हेरेर आउनुस् न ।’ अध्यक्ष गोविन्द आचार्य सरको यो भनाई कानमा ठोकिएपछि भने, ‘म यसो विचार गर्छु । जाने मुड बन्यो भने सरलाई फोन गर्छु ।’ फेरि चार÷पाँच दिनका लागि भारत जानका लागि समय निकाल्नु पनि त उत्तिकै चुनौती थियो । यसो गमे र हातका औंलाहरु गनें । हैट ! नेपाल–भारत सीमा क्षेत्रका बजारमा गएका कुरालाई नगन्ने हो भने त दुई हातका औंलाले पनि नपुग्ने भइसकेछ नयाँ दिल्ली नगएको । झण्डै पाँचवटा हातका औंलाले मात्रै पुग्ने भइसकेछ । अर्थात नयाँ दिल्ली नगएकै झण्डै २६ वर्ष पुगिसकेछ ।

यस्सो सोंचे, ‘नयाँ दिल्ली नगएको त धेरै लामो समय बितिसकेछ । झण्डै साढे २ दशकको अवधिमा त कति ठूलो परिवर्तन आइसक्यो होला ? उतिबेला मोदी सडकमा उफ्रिन्थे, अहिले उनको राज छ । विकासको गति पनि बढेको होला । नयाँ दिल्लीलाई नयाँ तरिकाले हेर्न पाइने भयो । यति सोचेपछि मन अलिकति फर्कियो । कहाँ जाने ? किन जाने ? कोसँग जाने ? कसरी जाने ? कसले लैजाने ? केही थाहा थिएन मलाई । तैपनि अध्यक्षज्यूलाई फोन गरेर भने, ‘अध्यक्षज्यू, ठिकै छ नि त । लौ म जान्छु ।’ उहाँले ‘पक्का नि फेरि’ भन्दै कबुलनामा गराएर फोन राख्नुभयो ।

फोन आयो । फोनमा बोल्दै थिइन्, बन्दना सिन्हा । त्यसपछि थाहा भो कि भारत भ्रमणमा लैजाने संस्थाको नाम रहेछ, युनोप्स । ‘युनोप्स’ भूकम्प प्रभावित जिल्लामा काम गर्ने संस्था रहेछ । आफूचाहिँ २०७२ सालको भूकम्पबाट प्रभावित भएका जिल्लावासी नभएकाले होला, नामै पहिलोपटक सुनें । यसले भूकम्पबाट प्रभावित जिल्ला नुवाकोटमा पुनर्निर्माणको काम गरिरहेको रैछ । भ्रमण दलमा नुवाकोटका १० स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष हुनुहुँदो रहेछ । युनोप्सका पदाधिकारीहरु त यसै पनि भ्रमण दलमा हुनुहुने भइहाल्यो ।

जाने दिन २०७६ माघ २७ गते । फ्लाइट त बेलुकी ४ बजे थियो । तर, बिहान ९ बजे नै होटल अन्नपूर्णमा बोलाइएको थियो । पुगियो । र, जम्काभेट भयो– पाँच दिने यात्राका सहयात्री नुवाकोटका जनप्रतिनिधिहरुसँग । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गीता दाहाल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुङ्गाना, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्य, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा र उपाध्यक्ष मायादेवी न्यौपाने होटलमा आइसक्नु भएको थियो । त्यस्तै, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र उपाध्यक्ष रोजिना राई, मेघङ गाउँपालिका अध्यक्ष आशा तामाङ र उपाध्यक्ष शान्ति लामा, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङ र उपाध्यक्ष मञ्जु बुढाथोकी, तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे र उपाध्यक्ष ईश्वरी उप्रेती, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा र उपाध्यक्ष सीता खतिवडा पनि साथमै हुनुहुन्थ्यो । त्यस्तै, तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारा रिमाल पनि भ्रमण दलको सदस्य हुनुहुन्थ्यो । हामी सबैको समन्वयकर्ता हुनुहुन्थ्यो, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ । युनोप्सबाट बन्दना सिन्हा हुनुहुन्थ्यो भने राज देवल र युनोप्सकी प्रोग्राम डाइरेक्टर जेनेभी भने भ्रमण व्यवस्थापनका लागि पहिले नै नयाँ दिल्ली गइसक्नु भएको थियो । र, साथमा जोडिएको थिएँ म ।

माघ २७ देखि फागुन २ गतेसम्मको भारत भ्रमणका लागि हामी त्यहाँ जम्मा भएका थियौं । होटल अन्नपूर्णमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ सरले संक्षिप्तमा नुवाकोटमा चलिरहेको पुनर्निर्माणका विविध पक्षहरुबारे प्रकाश हाल्दै तथ्याङ्कसहित जानकारी गराउनु भयो । भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजयकुमारले भारत भ्रमण सुखद र उपलव्धिमूलक रहने विश्वास व्यक्त गर्दै भ्रमण टोलीलाई बिदाई गर्नुभयो । खानापछि हाम्रो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हिड्यो ।

मलाई लाग्छ, भ्रमण टोलीमा एउटै जिल्ला नुवाकोटका स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षहरु रहनुभएकाले उहाँहरुबीच चिनापर्चीको समस्या थिएन । धेरै घुलमिल नभएकै भए पनि उहाँहरुबीच एकले अर्कोलाई नचिन्ने समस्या त पक्कै थिएन होला । आफू परियो, हाँसको बीचमा बकुल्ला जस्तो । मेरा लागि भ्रमण टोलीका सबै सदस्य नयाँ र अपरिचित । त्यसै त असहज लागिरहेको थियो, त्यैमाथि नुवाकोटका पत्रकार साथीहरुले बेलकोटगढी नगरपालिकाका प्रमुख र उपप्रमुखलाई लक्ष्यित गरी गोदेरै समाचार बनाएका रैछन् । परेन फसाद ! यसै त तलदेखि माथिसम्म (स्थानीय सरकारदेखि प्रदेश र संघका सरकार) पत्रकारहरुलाई हेर्ने दृष्टिकोण नै नकारात्मक छ, त्यसैमाथि पत्रकारहरुले लखेटिरहेका पात्रहरु साक्षात आफ्नै अगाडि भएपछि के हुन्छ ? धन्न, कसैले कुनै गुनासो गर्नुभएन, आक्रोश पोख्नुभएन, आपत्ति जनाउनु भएन । उहाँहरुलाई त कस्तो भयो कुन्नि ? म आफूलाई चाहिँ त्यो समाचार पढेर असहज महसुस भइरह्यो । समाचारले लज्जित बनाइरह्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि चेकजाँच गरेर नयाँ दिल्ली उड्नका लागि जहाज पर्खेर बस्यौं । जहाजको यात्राबाट झरिसक्दासम्म जनप्रतिनिधि साथीहरु अलि खुल्न थाल्नु भएको थियो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेर हामीलाई लिन आएको बसमार्फत पश्चिम बिहारस्थित र्याडिसन ब्लु (जहाँ हाम्रो चारै दिनको बसोवासको व्यवस्था मिलाइएको थियो)मा पुग्यौं । होटल यति ठूलो रहेछ कि आफू बसेको तलामा पुगेपछि पनि कोठा खोज्न आपत । होटलका कर्मचारीहरुको सहायताले कोठा भेटियो तर यहाँको सुविधा प्रयोग गर्न अर्को आपत । अरु साथीहरुलाई त के भयो कुन्नि ? आफूलाई चाहिँ सडकबाट उठाएर अत्याधुनिक सुविधानसम्पन्न ठाउँमा पुराएपछिको अवस्था आइलाग्यो । जेनतेन काम चलाइयो । अर्को दिन बिहानै ७ बजे उत्तराखण्ड प्रदेशको रुड्कीमा अवस्थित केन्द्रीय भवन अनुसन्धान केन्द्रको अवलोकन गर्ने कार्यतालिका थियो । होटल पुग्दासम्म राति अबेर भइसकेको थियो । त्यसैले भुतुक्कै निदाएको अत्तोपत्तो भएन ।

बिहानै ७ बजे भ्रमण टोली उत्तराखण्डको रुड्की प्रस्थान गर्यो । रुड्की पुग्न हामीलाई करीव ५ घण्टा बताइएको थियो तर त्यो भएन । झण्डै ६ घण्टामा रुड्कीको सिबीआरआईमा लखतरान हुँदै पुगियो । भारतमा विकेन्द्रीकरणको राम्रो उदाहरण सिबीआरआई रहेछ । हामीलाई राजधानीमा रहनुपर्ने जस्तो लाग्ने सिङ्गो भारतवर्षका लागि भवनसम्बन्धी अनुसन्धानको सम्पूर्ण काम गर्ने महत्वपूर्ण संस्था रुड्कीमा रहेछ ।

एउटा ठिङ्ग उभिएको ‘घर’ अर्थात भवन देख्दा हामीलाई अति सामान्यभन्दा सामान्य नै लाग्छ । भवनको यति विशाल आयाम र पत्र हुँदारहेछन् भन्ने कुरा रुड्कीमै थाहा पाइयो । चाहे नेपालको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण भइरहेका घरहरु होऊन्, चाहे भारतकै ‘प्रधानमन्त्री आवास योजना’ होस्, तिनको डिजाइन र नक्सा रुड्कीमा तयार हुँदारहेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सारेको ‘प्रधानमन्त्री आवास योजना’अन्तर्गत भारतका हरेक प्रान्तमा स्थानीय स्रोतसाधनको उपयोग गर्दै कमभन्दा कम लागतमा त्यहाँको भौगोलिक, सामाजिक, साँस्कृतिक परम्पराअनुसारका भूकम्प प्रतिरोधी घरहरु कसरी निर्माण गर्न सकिन्छ भन्ने कुराका सबै नमूनाहरु हामीलाई देखाइयो । रुड्कीमा तयार तिनै नमूनाहरुका आधारमा घरहरु बन्दारहेछन् ।

रुड्कीको नाम सुन्नेबित्तिकै म चाहिँ अलि बढी उत्साहित थिएँ । किनभने मेरा केही साथीहरु रुड्कीमा पढेर आएका थिए । त्यसमा पनि रुड्कीमा सम्पन्न ‘अखिल भारत नेपाली विद्यार्थी संघ’को अखिल भारतीय सम्मेलनबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अध्यक्ष र मेरा साथी विप्लव अधिकारी महासचिवमा चयन भएका थिए । मनमा यही सोच्दै मैले सकेसम्म रुड्कीलाई मनमा सजाउने प्रयत्न गरें ।

केन्द्रीय भवन अनुसन्धान केन्द्र रुड्कीमा परिचय, त्यहाँका वैज्ञानिकहरुको प्रस्तुति र छलफलपछि पेटपूजा पनि त्यही गरियो । त्यहाँ बुझ्दा भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार रुड्कीबाट बसमा करीव १ घण्टामा पुगिने जानकारी भयो । यत्ता आइसकेपछि मध्यरातमा भए पनि नयाँ दिल्ली पुगिहालिन्छ, हरिद्वार पनि पुगिहालौं भन्ने सहमति भयो । र, लाग्यौं हरिद्वारतिर । हरिद्वार पुगिसकेपछि त्यहाँ खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरें मैले । नुवाकोटका जनप्रतिनिधिहरु त त्यसै पनि आतंकित नै थिए पत्रकार र मिडियासँग । ‘भ्रमण’लाई उहाँहरुको ‘अपराध’कै सरह प्रचार गरिएछ यता । मैले पोष्ट गरेका तस्वीरहरु प्रयोग गरेर ‘भूकम्पपीडितहरुका लागि आएको रकमबाट नुवाकोटका जनप्रतिनिधिहरुले तीर्थाटन’ गरेको आशयका समाचारहरु केही अनलाइनहरुमा देख्ने दुर्भाग्य प्राप्त गरें मैले पनि । आफ्नो २५ वर्षभन्दा लामो पत्रकारिता यात्रामा पहिलोपटक ‘म पत्रकार हुँ’ भन्न लज्जाबोध भयो । अरुले त भन्थे, ‘पत्रकारहरु असनका साँढेजस्ता भए ।’ यस्ता आरोपहरुको ठाउँका ठाउँ प्रतिवाद गरिन्थ्यो । यसपटक भने आफू पनि सोंच्न वाध्य भएँ, ‘पत्रकारहरु असनका साँढे भएकै हुन् त ? दाल मे कुछ काला है ।’

समाचारमा पत्रकारिताको आधारभूत कुरा त के कखरा समेत देखिएन । यता हाम्रो पत्रकारिताको लज्जास्पद पाटो, उता यात्राका क्रममा नुवाकोटका जनप्रतिनिधिहरुबाट यदाकदा पत्रकारिताप्रति आउने व्यंग्यवाण खप्ने सकसपूर्ण अवस्था झेल्दै भए पनि यात्रालाई उपलव्धिपूर्ण र सौहार्दपूर्ण बनाउने ध्याउन्नमा लागियो । नेपाली पत्रकारिताको अवस्था र स्तरबारे चिन्तित हुँदै चारदिने यात्रा पूरा गर्दा ‘फलामको चिउरा चपाउनुसरह’ भयो । हुन त पदीय जिम्मेवारीका कारण पत्रकारिताका विषयमा यति लेख्न नहुने हो कि ? तर, आफ्नो अनुहार ऐनामा हेरेर कतै दाग लागेका छन् भने निर्ममतापूर्वक सफा गर्नु पनि हाम्रै दायित्व र कर्तव्य हो ।

‘हाम्रो जिल्ला दाङमा पनि जनप्रतिनिधिहरु हुनुहुन्छ । उहाँहरु पनि विदेश जानुहुन्छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र वडाध्यक्ष शक्तिराम डाँगी यतिबेला विदेशमै हुनुहुन्छ । हाम्रा पत्रकार साथीहरु भ्रमण र कार्य सफलताको कामना गरिरहनु भएको छ । तपाईंहरुको चाहिँ के हो यस्तो ? स्थानीयस्तरमा केही खटपट छ कि ?’ भ्रमण दलका केही जनप्रतिनिधि र युनोप्सका साथीहरुसँग मैले प्रश्न पनि गरें । युनोप्सका साथीहरुलाई सोधें– ‘साँच्चिकै हाम्रो भ्रमण भूकम्पपीडितका लागि आएको पैसाले नै हो त ?’

पछि थाहा भो– भूकम्पपीडितका लागि रकम आउने, उनीहरुले त्यो रकम प्राप्त गर्ने र प्राप्त रकम सदुपयोग भए÷नभएको प्रमाणित गर्नेसम्मका लामो र जटिल प्रक्रिया रहेछ । त्यसमा स्थानीय तह, युनोप्स, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रत्यक्ष रेखदेख र संलग्नता हुँदोरहेछ । भूकम्पपीडितका लागि आएको १ पैसा पनि यताउता गर्न असम्भव हुँदोरहेछ ।

यो पनि थाहा भो कि स्थानीयस्तरमा युनोप्स र पत्रकारबीच खटपट भएकै रहेछ । भूकम्पपीडितले समयमै राहत रकम पाउन्, त्यसबाट गुणस्तरीय घर समयै निर्माण होस्, दुरुपयोग नहोस् भनेर पत्रकारहरुले पहरेदारी गर्नुपर्छ । निरन्तर खबरदारी पनि गरिरहनु पर्छ । कमजोरी पनि निरन्तर औंल्याइरहनु पर्छ । तर, मैले पढेको समाचारमा ‘स्वार्थकेन्द्रित’ गन्ध ह्वास्स आइरहेको थियो । त्यही भएर नै नुवाकोटका आदरणीय जनप्रतिनिधिहरु पनि सबै पत्रकारलाई एउटै घानमा हालेर पिसिरहनु भएको थियो । एक हदसम्म उहाँहरुको पिसाई पनि ‘जायज’ नै लाग्यो । 

जेहोस्, भारतको पवित्र तीर्थस्थल मानिने हरिद्वारपछि नयाँ दिल्लीका लागि लामो यात्रा तय गरियो । मध्यरात २ बजेतिर ओछ्यानमा ढलियो लखतरान परेर । अर्को दिनदेखि हाम्रा सबै गन्तव्य नयाँ दिल्ली वरिपरि नै थिए । तेस्रो दिन हामीले ह्याबिट्याट सेन्टरमा त्यहाँको प्रस्तुति र भूमिहीनहरुलाई कसरी पुनस्र्थापित गरियो र उनीहरुको बाँच्ने आधार कसरी खोजियो भन्ने कुरालाई सहभागीहरुबाट सुन्ने मौका मिल्यो । नेपाली भ्रमण टोली त्यहाँ रहेको थाहा पाएर नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जीव सिंह पुरी आउनुभयो र आफ्ना केही कुरा राखेर सामूहिक तस्वीर खिचेर जानुभयो । नेपालका लागि राजदूतको पदावधि सकेर भर्खरै स्वदेश फर्किनुभएका पुरीले हामीसँग भेट्दा निकै खुशी देखिनुहुन्थ्यो । ‘नदेखुन्जेल को हो को हो, देखे मायामोह’ भन्ने गीत त्यसै लेखिएको होइन रहेछ । केही वर्ष नेपाल बस्दा उहाँमा नेपालप्रतिको मायामोह प्रष्टै देखिन्थ्यो ।

त्यसपछि हामीले विभिन्न झुपडपट्टीबाट उठाइएर पुनस्र्थापित गरिएका बस्ती अवलोकन गर्यौं । 

चौथो दिन ‘इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टेक)’को भ्रमणमा पुगियो । त्यहाँको प्रस्तुतिले हाम्रा प्राकृतिक एवं मानवनिर्मित ऐतिहासिक सम्पदाहरु र पुरातत्वको महत्वको छिपछिपे भएपनि ज्ञान प्राप्त भयो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त नेपालका केही सम्पदाहरुको जीर्णोद्वारको जिम्मेवारी इन्टेकलाई रहेछ । उनीहरुको मूलमन्त्र रहेछ, जीर्णोद्वार वा पुनर्निर्माण मात्र होइन जीवन्तता ।

अन्तिम दिन राष्ट्रिय आपदा व्यवस्थापन अथोरिटीमा पुग्यौं । हाम्रोमा विपद व्यवस्थापन केन्द्र भनेजस्तै भारतमा नेशनल डिजास्टर म्यानेजमेण्ट अथोरिटी (राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण) रहेछ । त्यहाँ भारत वर्षमा आपतकालीन अवस्थामा कसरी काम गर्ने ? उद्धार, औषधोपचार र उनीहरुको बसोबासको प्रवन्ध कसरी गर्ने लगायतका विषयमा थाहा पायौं । आपतविपतका बेलामा काम गर्नका लागि त्यहाँ सुरक्षाफोर्स नै बनाइएको रहेछ । एनडीएमएको प्रस्तुतिपछि खाना खाएर हाम्रो टोली भारतीय विदेश मन्त्रालयतिर लाग्यो । विदेश मन्त्रालय र रक्षा मन्त्रालय रहेको त्यो भवनलाई ‘साउथ ब्लक’ भनिँदोरहेछ । साउथ ब्लकमा ज्वाइन्ट सेक्रेटरी (दक्षिण एशिया हेर्ने) पियूष मिश्रसँगको परिचय र छलफलपश्चात हामी निस्कियौं । भनिन्छ नि, नेपालमा सत्ताको साँचो खोज्न हाम्रा नेताहरु दिल्ली हानिन्छन् । साँचो खोज्न हो वा अरु केही खोज्न ? हामी विदेश मन्त्रालयबाट बाहिरिँदा हाम्रा पूर्वमन्त्री राजेन्द्र महतो साउथ ब्लक भित्रिदै थिए । त्यसपछि साउथ ब्लक, संसद भवन वरिपरि फोटो खिच्ने व्यवस्था गरिएको रहेछ । हामीले पनि त्यसै गर्यौं र हानियौं– दिल्ली हाटतिर । भारतका सबै प्रदेशका उत्पादनहरु पाइने ‘दिल्ली हाट’ नेपालका लागि पनि अनुकरणीय लाग्यो । त्यसपछि भने हानियौं– हाम्रो प्यारो देश नेपाल प्रस्थान गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ । बेलुकी करीव ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल उत्रियौं । र, विदाईका हात हल्लाउँदै आआफ्नो गन्तव्यतर्फ सोझियौं ।

अब खै नुवाकोटका जनप्रतिनिधिज्यूहरुसँग भेट हुन्छ कि हुँदैन ? थाहा छैन । केही जनप्रतिनिधिहरुसँग आक्कलझुक्कल भेट भइहालेमा पनि एक्लो दोक्लो नै होला । तर, यो भ्रमणका अविस्मरणीय पलहरु सदा रहिरहने छ । छिपछिपे रुपमा भएपनि भारतले गरिरहेका उन्नति र प्रगतिलाई झ्यालबाटै सही नियाल्न र बुझ्न पायौं । त्यसअनुसार हामीले आफ्नो ठाउँमा जीवनव्यवहारमा अलिकति पनि लागू गर्न सकेमा राम्रै हुनेछ । नुवाकोट जिल्ला समन्वय समितिले प्रमुखमा अत्यन्त समन्वयकारी सन्तमान तामाङलाई पाएको रहेछ । जहाँ पनि अगाडि सर्ने र ‘पुरोहितका गाई’जस्ता भ्रमण दलका हामीहरुलाई एउटै ठाउँमा ल्याएर हिँडाउन सक्ने समन्वयकारी भूमिका स्मरणयोग्य छ । युनोप्सकी प्रोग्राम डाइरेक्टर जिनेवी, समन्वय अधिकृत बन्दना सिन्हा र राज देवलको सहृदयी र समन्वयकारी साथ प्रशंसायोग्य र स्मरणीय रहे ।

लामो यात्रामा बाटो काट्ने बहानास्वरुप दोहोरी गीतमा हानिहाल्ने र गाउन कस्सिहाल्ने सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर तामाङ र समन्वय समितिका प्रमुख सन्तमान तामाङले यात्रालाई रसिलो बनाउनुभयो । जतिखेर पनि दोहोरीमा झटारो आएपछि जवाफ फर्काइहाल्ने ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा र स्वरमा स्वर मिलाइहाल्ने भ्रमण दलका सबै सदस्यहरुको रमाइलो पाटोले बाटो काटेको पत्तै भएन । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा हरिद्वारमा एकछिन हराउँदा सबैका अनुहार हेर्न लायक थिए र हामीसँग सञ्चार सुविधा नहुनुको पीडा अनुभूत भएको थियो ।

दोधारै दोधारमा भ्रमणमा निस्केको म फर्किँदासम्म निकै खुशी भएँ । नजिकको तीर्थ हेला भनेझैं छिमेकी भारतले गरेका पछिल्ला प्रगतिहरुलाई अलिकति भए पनि बुझ्ने अवसर पाएँ । र, आफ्नो देशका पुरातात्विक, ऐतिहासिक, धार्मिक, प्राकृतिक सम्पदा तथा धरोहरहरुको मूल्य र महत्व भित्रैदेखि अनुभूत गर्ने मौका पाएँ । हामीले अवलोकन गरेका सबै पाटापक्षको बारेमा फेरि पनि छुट्टाछुट्टै लेख्ने प्रयास गर्नेछु । 

‘आउँदा जाँदा लाउँला पिरती ।’

उदय जीएम

(जीएम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा दैनिक अनलाइनका प्रधानसम्पादक हुन् ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय