प्रमोद धितालका तीन कविता

dainikonline
प्रमोद धिताल | फागुन २४, २०७६ शनिबार | 0

१. बकपत्र

केही मानिसहरु बहुलाएको धेरै भयो
थाहा पाएँ
अब जीवित हुनुको प्रमाण
बहुलाउनु मात्र हो
त्यसैले त
उनीहरुकै जमातमा सामेल भएँ म।

सद्धे बन्ने सूत्रहरु पढेपछि थाहा भो 
हो, यतिखेर
जीवित हुनको लागि मैले
बहुलाउनै पर्ने भयो।

जतिखेर म बाँचेको सभ्यताले 
जन्माइरहेको देखें असभ्यहरुको पल्टन
मैले पढ्दै गरेको नैतिक शिक्षाले 
मौलाइरहेको देखें अनैतिक दुनियाँ
सौभाग्यका मन्त्रहरुले
आवाद गरिरहेको देखें दुर्भाग्यको मरुभूमि

सद्धे मानिस माफ गर मलाई !
जीवित हुनको लागि 
मैेले बौलाउनै पर्ने भयो।

२. भिन्नता

बोकेर हिड्नु 
बनिबनाउ आदिम उत्तरहरु 
नगर्नु प्रश्न कुनै कुरामाथि
सुत्नु पशुजस्तै बिना वेचैनी
उठ्नु सपना बिना नै रित्तो रित्तो
र कुद्नु 
अनिश्चित सौभाग्यको
अन्धवेगमा 
अज्ञात मालिकले कोरिदिएको भाग्यरेखामा
सुरक्षाको नाउँमा हिड्नलाई
नउठाउनु जोखिम कुनै पनि अज्ञात बाटोतिर

तिम्रो निम्ति यही हो जीवन भने
यहींनेरबाट अन्त्य हुन्छ
तिम्रो र मेरो साइनो
छुट्टिन्छ हामी हिड्ने बाटोको नक्सा

याद गर
तिम्रो निम्ति जुन जीवन हो
मेरो निम्ति त्यो 
घोषणा गर्न बाँकी
मूर्दाबाहेक केही होइन ।

३. आजको साँझ

आजको साँझ
यतिखेर एउटा शुभ साइतको घोषणा गरिएको छ
भोलि बिहानदेखि थालनी हुनेछ नयाँ यात्राको।

पारित भएको छ एउटा संकल्प प्रस्ताव
छेपाराले बदल्ने छैन अब रंग 
गोमनले ओकल्नेछ
विषको ठाउँमा केवल सञ्जिवनी अमृत।

सिंह बन्नेछ शाकाहारी
र हुनेछैन ऊ स्वेच्छाचारी
तानशाहले लेख्ने छ
स्वतन्त्रताका गीतहरु
पेशेवर नामूद जल्लादले
सिकाउने छ अहिंसाको पाठ।

भोलि बिहानदेखि
दुनियाँ बदलिनेमा आशावादी छन् मानिसहरु
गोहीले बगाएको छ भर्खरै
संवेदनाको आँसु र गरेको छ एक मिनेट मौनधारण
सहिदहरुको नाउँमा।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय