कोरोना महामारीसँगै देखिएको अन्तर्राष्ट्रिय प्रवृत्ति

dainikonline
कुमार शाह | फागुन २२, २०७६ बिहिबार | 0

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको नोभेल कोरोना भाइरस महामारीका रुपमा विश्वभर फैलिइरहेको छ। यसको असीमित फैलावटले आजभन्दा १७ वर्षअघि चीनमै देखिएको सार्स र केही वर्ष अघिमात्र कंगोमा देखिएको इबोलालाई माथ गरेको छ। अन्य भाइरसजस्तै यसले पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा तीब्र रुपमा आक्रमण गर्ने गरिरहेको छ। चीनले यो महामारीलाई वुहानबाहेक अन्य प्रान्तहरुमा फैलनबाट सफलतापूर्वक रोक्न सके पनि यो भाइरस सबै महादेशमा फैलिइसकेको छ। स्वास फेर्दा, हाछ्युँ गर्दा, हात मिलाउँदा र हावाबाट पनि सर्ने भएकाले यो रोग निकै संक्रामक र घातक प्रमाणित भएको छ। चीनको छिमेकी देश हुनुको कारणले नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा रहेको छ। 

यहीँ जोखिमलाई मध्यनजर गरेर सर्वोच्च अदालतले केही अन्तर्राष्ट्रिय हवाइ उडानहरु अनिश्चित कालका लागि रोक्न नेपाल सरकारका नाममा आदेश जारी गरिसकेको छ। रोक्नका लागि आदेश गरिएका अन्तर्राष्ट्रिय हवाइ उडानमध्ये छिमेकी देश चीनसहित जापान, इरान, बहराइन तथा दक्षिण कोरिया रहेका छन्। यी देशहरुमा कोरोनाको संक्रमण निकै उच्च र खतरनाक बन्दै गएको छ। मानव स्वास्थ्यका हिसाबले निकै जोखिमपूर्ण वैश्विक आयाम लिएको यो भाइरस संक्रमणसँगै उठेको बहसले अहिलेको विश्वमा विकसित केही नयाँ प्रवृत्तिलाई सतहमा ल्याइदिएको छ। 

शंका–आशंकाको लाभ : 

नोभेल कोरोना भाइरस चीनमा त्यति नै बेला उत्पत्ति भयो, जुन बेला अमेरिका–चीनको व्यापार युद्धले अर्को नाटकीय मोड लिनु जरुरी हुन गएको थियो। किनकि, चीन–अमेरिका एकअर्काले सामानमा कर बढाएर मात्र त्यो युद्धको तार्किक अन्त्य हुने संकेत देखिएको थिएन। ठीक त्यहीँ बेला चीनको घना आवाद रहेको वुहानमा नोवल कोरोना भाइरस एक्कासी उत्पत्ति हुन गयो। यो युद्धको अर्को रुपमा देखा पर्यो।  

केही बौद्धिक मानिसले वुहानमा भएको कोरोना भाइरस अमेरिकाले चिनियाँ जनजीवन र अर्थतन्त्र तहस नहस पार्न छोडिदिएको भनी संगीन प्रश्नहरु पनि उठाए। जब चीन र इरानमा यो अकल्पनीय रुपमा फैलिएर हजारौंको ज्यान लियो, तब यो मानव निर्मित जैविक अस्त्र त होइन भन्ने आशंकामा ठूलै बल पुग्न गयो। यो ‘मानव निर्मित जैविक अस्त्र’सँग लड्न चीनले आश्चर्यजनक विवेक र व्यवस्थापन व्यवहारिक प्रयोगमा ल्यायो। केवल ४८ घण्टाभित्र हजारौं बेडसहितको अत्याधुनिक अस्पताल निर्माण गरेर कोरोना संक्रमितहरुको उपचार सुरु गरियो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरु यो ‘जैविक अस्त्र’ विरोधी युद्धमा जीवन बलिदान गर्दै भाइरस संक्रमितको सेवामा समर्पित भएर रेकर्ड कायम गरे। 

यस्तो अवस्थामा अमेरिकाले मानवीय समवेदनासमेत बिर्सिएर चिनियाँले खाना खान नै नजानेको, काँचोपाको जे पनि खाने गरेको, अशिष्ट, अन्जान र भोकाको रुपमा प्रचार गर्न थाल्यो। समुद्री खानाका कारण चिनियाँ कोरोना भाइरसको शिकार हुन पगेको दोषारोपण गरिरह्यो। डब्लुएचओले चेतावनी दिनेबाहेक चीनलाई अरु कुनै पनि सहयोग गरेन। 

जैविकास्त्र लडाइँको चरण ? :

विश्वको अतिमहाशक्ति भनिने संयुक्त राज्य अमेरिका संरक्षणवादी नीति लिएर ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भन्ने नारासहित अमेरिकाकै लागि विश्वभर जे पनि गर्ने नीति तथा कार्यक्रम लिएर अघि बढेको छ। यसले कमजोर हुदँ पछाडि धकेलिइरहेको अतिमहाशक्ति अमेरिकाको स्थान अब कसले लिन्छ र कुन महादेशले अगुवाइ गर्छ भन्ने बहस सतहमा ल्याएको छ। दोस्रो विश्वयुद्धको समयदेखि एशिया महादेश र यस महादेशमा रहेका शक्तिशाली राष्ट्रहरु तत्कालीन सोभियत रुस वा जापानलाई उदाउँदा अतिमहाशक्तिका रुपमा पश्चिमा राष्ट्रहरुले लिएका थिए। त्यसैले दोस्रो विश्वयुद्ध एशियाली भूगोलमा लड्ने र रुस तथा जापानलाई ध्वस्त गराउने पश्चिमा महाशक्ति राष्ट्रहरुको निशाना र रणनीति बन्न गए। फलतः जापानमा आणविक बम बर्साइए र सोभियतलाई समाजवादी विचारबाट च्यूत गरी पछि १५ वटा गणराज्यमा टुक्र्याइयो।

अहिले फेरि एशिया बलशाली बन्दै गएको छ। रसिया फौजी शक्ति र प्रविधिका हिसाबले निकै सबल छ र चीनले व्यापारका साथै रणनीतिक समृद्धिका हिसाबले निकै द्रुत गतिलाई पछ्याइरहेको छ अनि जापान क्रमशः अमेरिकी संरक्षण र प्रभुत्वबाट मुक्त हुँदै गइरहेको छ। अमेरिका घर फर्कनु, युरोप सुस्ताउँदै जानु तर एशियाली देशहरु समृद्धिको शिखरतर्फ लम्कनु अमेरिका लगायतका पश्चिमा देशका लागि शुभसंकेत होइन।

यति नै बेला दक्षिण अमेरिका र अफ्रिका लगायतका महादेश आत्मनिर्भर, स्वाभिमान र सचेत हुँदै जानु पनि पश्चिमा महाशक्तिहरुको टाउको दुखाइको विषय भएको छ। विश्वमा आणविक अस्त्रसम्पन्न देशहरुको संख्या बढ्दै गएका बेला अमेरिका लगायतका पश्चिमा देशहरु अघोषित रुपमा जैविक अस्त्र प्रयोग त गर्दै छैनन् भन्ने बलियो आशंका जन्मिएकै छ। त्यसैले कोभिड नाइन्टिन वा कोरोना भाइरस प्राकृतिक हो वा मानव निर्मित पत्ता लगाउनु जरुरी भएको छ। 

जीव विकास क्रम र भाइरसको क्षितिजीय आयाम :

अबको विश्व मानव जातिको सहवरण र सहकार्यका हिसाबले एउटै गाउँजस्तो बन्न गएको थप पुष्ट्याइँ कोरोना भाइरसको फैलँदो क्षितिजीय आयामले देखाइरहेको छ। यसले अबको विश्वमा सकार होस् वा नकार कुनै पनि मानव निर्मित वा प्राकृतिक, राम्रा वा नराम्रा, असल वा खराब सबै कुराहरु विश्व मानव समुदायका साझाजस्तै हुने कुरामा दुइमत नरहेको पुष्टि गरेको छ। 

जीव विकासक्रमका हिसाबले मानिस बाँदरबाट विकसित भएको प्राणी हो। एउटा हाँगो बाँदर नै रहने र अर्को हाँगो क्रमशः विकास हुँदै मानवमा परिणत हुने जीव विकासको क्रमलाई यदि हामीले स्वीकार गर्छौं भने भाइरस पनि मानव जातिले विकास गरेको औषधिको प्रतिरोध गर्दै पक्कै पनि नयाँ नयाँ स्वरुपमा विकसित हुँदै जान्छ। प्राणीका रुपमा मानवजाति संसारभर रहेजस्तै भाइरस पनि जीव भएकाले संसारभर रहन्छ, यसलाई मानवनिर्मित राष्ट्रिय वा अन्तर्राष्ट्रिय सीमा तथा क्वारेन्टाइनले छेक्न सक्दैन। त्यसैले भाइरस पनि वैश्विक विचरण गर्न स्वतन्त्र छ। हालको कोरोना भाइरसको क्षितिजीय फैलावटले त्यही कुरालाई संकेत गरिरहेको छ। 

यदि मानवले नै विज्ञान तथा प्रविधिको दुरुपयोग गरेर आफैले कोही कसैलाई तह लगाउन, तर्साउन वा निमिट्यान्न पार्न जैविक अस्त्रको निर्माण र प्रयोग गर्ने मूर्खता गरेछ भने त्यसको बिनासलिलाबाट स्वयम् आफू पनि बच्ने देखिदैन। 

महासभ्यताको अन्त्य ! 

विश्वका धेरै पुराना महासभ्यताको अन्त्य किन र कसरी हुन गयो भन्ने कुरा अझै पनि रहस्यमय बनिरहेको छ। हामीले मानव जातिको विनास धर्मशास्त्रअनुसार अजंगका राक्षसहरुले गर्छन् भन्ने भ्रम पालेका छौं। व्यवहारमा अनुभूत गरेका हिसाबले ठूलाले सानालाई (मानव तथा सबै प्राणीका हकमा) सिध्याउँछन् भन्ने अनुभूत गरेका छौं, जस्तै बाघले बाख्रा खान्छ र भ्यागुताले सर्प। तर सबैलाई सडाएर सिध्याउने भनेको आँखाले देख्न नसकिने अतिसुक्ष्म जिवाणु र विषाणुले हो। यसलाई हामीले ख्यालै गरेका हुँदैनौं। यी जीवाणु र विषाणु आणविक अस्त्रभन्दा लाखौं गुणा ध्वंशक र खतरनाक हुन्छन्। शायद विगतका मानव महासभ्यता यिनकै कारणले ध्वस्त भएको हुनसक्छ। 

अर्थशास्त्री माल्थसले आफ्नो प्रसिद्ध कृति जनसंख्याको सिद्धान्तमा प्रकृति आफैले प्राकृतिक प्रकोपहरु निम्त्याएर असीम जनसंख्यालाई नियन्त्रण गर्छ भनेका छन्। उनका अनुसार शायद यस्तै महामारीले होला जनसंख्या नियन्त्रण हुने पनि। तर एउटा जटिल प्रश्न हाम्रासामु उभिएको छ– आज विश्व मानव जगत प्राकृतिक भाइरस वा मानव निर्मित जैविक भाइरस, कुनचाहिँ भाइरसबाट संगीन निशानामा परेको छ?

विश्व सिंगो प्रयोगशालामा परिणत : 

अहिले विश्व एक सिंगो प्रयोगशालामा परिणत भएको छ। मानव जातिबाट पनि यो वैश्विक प्रयोगशालामा आणविक, जैविक, मानवीय, दानवीय सबै कुराको प्रयोग भइरहेको छ। गर्दा–गर्दा त कोरोनाजस्ता भाइरसले पनि यो वैश्विक प्रयोगशाला नै हो भनी थप पुष्टि गरिदिएका छन्। 

यदि यो कटु सत्यतालाई आत्मसात गर्ने हो भने अब संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) देखाउन र निर्देशन गर्नका लागि होइन, कार्यकारी हुनु जरुरी छ। यसले विश्वमा जहाँ जे घटना, युद्ध वा महामारी देखा पर्छ, त्यहाँ पुगी आफ्नो स्वास्थ्यसम्बन्धी ड्युटी पूरा गर्नैपर्छ। यो ‘र्यापिड हेल्थ टिम’ निर्माण गरी खटिनुपर्छ। विश्व नै सिंगो प्रयोगशाला बनिसकेको आजको अवस्थामा निर्देशन दिएर, त्रास देखाएर वा चेतावनी दिएर बसेमा त्यो आडम्बर र ढोंग मात्र हुनेछ। यसले कुनै महाशक्तिको देखाउने दाँत बन्ने विरासत कायम राखेमा थप जिवाणु प्रसारको सहयोगी मात्र हुने कुरामा शंका छैन।

यदि कोरोनाजस्ता भाइरस मानव निर्मित जैविक अस्त्र होइनन् भने ‘वल्र्ड मेडिकल ल्याव’ निर्माण गरिनु र रोगको निदान र उपचार गरिनु जरुरी छ। तर ती मानव निर्मित जैविक अस्त्र नै हुन् भने विश्व मानव अधिकार उल्लंघनका गम्भीर अपराधमा ती सबैलाई कारवाहीका लागि आवाज उठाइनु पर्छ।

विज्ञान प्रविधि दुरुपयोगको चुनौती : 

विज्ञान र प्रविधिको विकास आफैमा मानव जातिका लागि गम्भीर चुनौती पनि हो। मानिसमा भएका लोभ, मोह, आकांक्षा, इष्र्या, डाह र आडम्बरले विज्ञान तथा प्रविधिको दुरुपयोगको पक्षलाई प्रयोगमा ल्याउन निकै प्रोत्साहित गरिरहेको देखिन्छ। मानव जाति नै नरहे के को महाशक्ति र अतिमहाशक्ति? 

अर्कोतिर विज्ञान र प्रविधिको आडमा मानव निर्मित कुराहरुले प्रकृतिलाई चुनौती दिइरहेका छन्। प्राणीको एकमात्र श्रेष्ठ जगत पृथ्वीमाथि मानवले मूर्खतापूर्ण धावा बोलिरहेको छ, प्रदूषित बनाइरहेको छ, सभ्यताका नाममा राक्षसी क्रियाकलापलाई अघि बढाइरहेको छ। विज्ञान तथा प्रविधिको दुरुपयोगले यसमा साथ दिइरहेको छ। 

शारीरिक रुपमा मानिसमा रोगप्रतिरोधी क्षमता दिनप्रतिदिन घट्दो छ। तर भाइरसको विकास संस्करण निकै प्रतिरोधात्मक र घातक प्रमाणित हुँदै गएको छ। प्रविधिको विकासले मानिसलाई अप्राकृतिक बनाउँदै र कृत्रिमतातिर धकेल्दै लगिरहेको छ। हरेक छाकको खानामा रसायन मिसिएको छ। पुँजीवादी व्यापार निकै अमानवीय र राक्षसी बन्दै गएको छ। पैसाका लागि जे पनि मिसावट गरिदिएको छ। हरित गृह ग्याँस उत्सर्जनसँगै वायुमण्डलमा रहेको सूर्यको विकीरण रोक्ने ओजोन तह पातलिँदै र फाट्दै गएको छ। घातक विकीरण हरित ग्रह पृथ्वीमा प्रत्यक्ष परिरहेको छ। हिटर, गिजर, फ्रिज तथा एयर कण्डिसन घर घरमा प्रयोगमा छन्। 

नेपालको आत्मगत अवस्था :

एउटै गाउँजस्तो भएको विश्वमा नेपाल कुनै पनि सांसारिक साझा समस्याबाट मुक्त छैन। त्यसैले कोरोना भाइरसबाट पनि मुक्त रहन सक्दैन। तर यो महामारीसँग जुध्नका लागि नेपालको आफ्नो तयारी छैन। त्यसका लागि आवश्यक आधुनिक उपकरण छैनन्। रोग निदानका लागि विशेष प्रयोगशाला छैनन्। रोग जाँच गर्ने स्वास्थ्य विशेषज्ञ छैनन्। रोग पत्ता लागे पनि आवश्यक औषधी छैन। महामारी देशभर फैलिएमा उपचारका लागि आवश्यक भौतिक पूर्वाधारको अभाव छ। बिरामी कहाँ व्यवस्थापन गर्ने, समस्या छ। विश्वभर फैलिइरहेको महामारीले नेपाल अछूतो राख्ने देखिदैन। 

त्यसैले कोरोना भाइरसविरुद्ध लड्न अहोरात्र तयारीमा लाग्नु जरुरी छ। यो तयारी तदर्थ वा तमासे होइन, रणनीतिक र दीर्घकालीन बनाउनु आवश्यक छ। 

कुमार शाह

(शाह पत्रकार, साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय