कांग्रेस ‘कम ब्याक’को कठीन यात्रा

dainikonline
धर्मेन्द्र झा | फागुन २१, २०७६ बुधबार | 0

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भएपछिका दिनमा पार्टी संगठन विकसित र विस्तारित हुनुपर्नेमा अझै अधोगतितर्फ उन्मुख भएको कुरामा विमति हुन सक्दैन । सभापति शेरबहादुर देउवाले तेह्रौ महाधिवेशनबाट निर्धारित आफ्नो औपचारिक पदावधि सकिनु दुई दिनअघि पार्टीका केही विभागका संयोजक र केही आमन्त्रित सदस्यको मनोनयन गरेका छन् । सभापति देउवाको यो निर्णय पार्टीभित्र र बाहिर निकै आलोचित भएको छ । आफ्नो पदावधिभरि कुनै पनि विभाग गठनको आवश्यकता नदेख्नु र चौंधौं महाधिवेशनको प्रक्रिया अघि बढिसकेपछि रिक्त पदहरु पूर्तिको उद्देश्यबारे प्रश्न उठ्नुलाई अस्वाभाविक मान्न सकिँदैन । पार्टीभित्रका उनका विपक्षीका अनुसार देउवाको यो प्रयास सारमा चौंधौं महाधिवेशनको परिणाम प्रभावित बनाउने उद्देश्यबाट निर्देशित छ । कांगे्रस राजनीतिका जानकारहरुका अनुसार आगामी महाधिवेशनमा देउवा स्वयं एकपटक पुनः सभापतिका आकांक्षी हुन् र उनले हाल पार्टी सभापतिका हैसियतले गरेका निर्णय उनको यही अभीष्ट पूरा गर्ने कुरासँग सम्बन्धित छ । उनीमाथि आरोप लाग्ने गरेको छ, पार्टीभित्रको राजनीतिका बारेमा उनी जति संवेदनशील देखिन्छन्, आफ्ना विपक्षीप्रति आक्रामक देखिन्छन्, आफू जति बलियो बन्ने चाहना राख्दछन्, पार्टीबाहिरको राजनीतिका सन्दर्भमा भने उनी खासै आक्रामक र सम्वेदनशील देखिँदैनन् । प्रकारान्तरले विश्लेषण गरियो भने यसलाई ठाडै गलत भन्न सकिने अवस्था पनि छैन । 

पार्टीभित्र कार्यकर्ताले कुनै नयाँपन अनुभूत गर्न सकेका छैनन् । तेह्रौं महाधिवेशन सम्पन्न भएको चार वर्ष बितिसके पनि पार्टीका विभागहरुको गठन हुन नसक्नु स्वयंमा उदेकलाग्दो छ । संगठनलाई चुस्त बनाउन पदावधि बाँकी रहँदा कुनै प्रयास नगर्ने अनि पदावधि सकिन लाग्दा विभाग गठनको नाटक मञ्चन गर्नुले के अर्थ राख्दछ ? बुझ्न कठीन छैन । यस आधारमा विगतमा पार्टी गतिशील रहेन भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ । कतिपय विश्लेशकका अनुसार कांग्रेस अहिले पूर्णतः ‘एजेण्डाविहीन’ छ । यो आरोप चिर्न पार्टीले केही प्रयास त गरेको छ तर त्यो पर्याप्त छैन । पार्टीले केही महिनाअघि प्रथम चरणअन्तर्गत जागरण अभियान सम्पन्न गरेको छ । यो जागरण अभियान सोचेअनुरुप सफल हुन नसकेको कार्यकर्ताको बुझाई छ । दोस्रो चरणमा पुनः यस्तो अभियान सञ्चालन गर्ने भनिए पनि सञ्चालन हुन नसकेको कुरा कसैबाट लुकेको छैन । यो सबैको प्रभाव नेपालको लोकतान्त्रिक आन्दोलनको निरन्तरतामाथि पर्ने कुरालाई अस्वीकार गर्न सकिँदैन । नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि पनि पार्टीलाई संगठित र सुदृढ गर्नु आवश्यक छ ।

कांंग्रेस संसदमा कमजोर प्रतिपक्षीका रुपमा उपस्थित छ । संसदमा रहेर यस पार्टीले आफ्नो प्रभावकारिता प्रदर्शन गर्न नसक्दा सरकारले पर्याप्त दवावको अनुभव गरेको छैन । दुई तिहाईको धङधङी पालेर सरकारमा आसीन वर्तमान सरकारले घुमाउरो पाराले देशमा वामपन्थको अभ्यास गरिरहेको बेला लोकतन्त्रलाई खतरामुक्त बनाउन पनि कांग्रेसले आफूलाई परिमार्जन गर्नु अपरिहार्य छ । सरकारका काम कार्यवाही बेथितिका मार्गतर्फ अग्रसर छन् । भ्रष्टाचार बढेको जननिष्कर्ष छ । सरकार नातावाद र कृपावादको भुुमरीमा परेको छ । प्रधानमन्त्री पटकपटक अस्वस्थ हुँदा अनावश्यक तत्वहरुले सक्रिय हुने अवसर पाएका छन् । यस्तोमा प्रतिपक्षका हैसियतले कांग्रेस जति चुस्तदुरुस्त हुनुपर्ने थियो त्यति हुन सकेन । कांग्रेस देशको राजनीतिको प्रत्येक मोर्चामा कमजोर देखिएको छ । एउटा कुरा निश्चित छ, कांग्रेस कमजोर भए प्रकारान्तरले लोकतन्त्र नै कमजोर हुनेछ । यसका वाछिटाहरु वर्तमानमा अनुभव गर्न थालिएका छन् । वर्तमान परिवेशमा कांग्रेसमा सुधारका दृष्टिले प्रयास आवश्यक छ । 

सबभन्दा पहिला त उसले आफ्नो संगठन निर्माणकै सन्दर्भमा भरमग्दुर प्रयास गर्नुपर्नेछ । आजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण मुद्दा कांग्रेसलाई कसरी संगठित र एकत्रित अर्थात एकताबद्धरुपमा डोर्याउन सकिन्छ भन्ने हो । विगतमा विभाजित कांग्रेसलाई बाह्रौ महाधिवेशनमार्फत् जोड्ने प्रयत्न भएको थियो तर साठी र चालीसको विभाजनले पार्टीमा अनेकखाले विकृति भित्रिए । तेह्रौं महाधिवेशनमा पनि यस मान्यताले कुनै न कुनै रुपले प्रश्रय पायो । पछिल्ला वर्षहरुमा यसबाहेक पनि अनेक गुट—उपगुट विकसित भए । विचारभन्दा व्यक्ति हावी हुने स्थितिको निर्माण हुँदा पार्टीको सैद्धान्तिक धार भुत्ते हुने खतरा वर्तमानमा निम्तिएको छ । भनिन्छ, लोकतन्त्रमा पार्टीको सबभन्दा महत्वपूर्ण पक्ष नै कार्यकर्ता र जनशक्तिको व्यवस्थापन हो । तर कांग्रेसले अझै पनि यो कुरालाई आत्मसात गर्न सकेको छैन । पार्टीले हालसम्म न त नयाँ संसदीय क्षेत्रअनुरुप पार्टीको संगठन विकसित गर्न सकेको छ न त प्रादेशिक स्तरमै संरचनाको निर्माण गर्न सकेको छ । यस्तोमा जनशक्ति व्यवस्थापनको पाटोलाई महत्व दिई पार्टीलाई सुदृढ बनाउन भूमिका निर्वाह गरिनु जरुरी छ । 

अर्को मुद्दा हो लोकतान्कि समाजवादको । नेपाली कांग्रेसको सैद्धान्तिक आधार लोकतान्त्रिक समाजवाद हो । यसै सिद्धान्तका आधारमा कांग्रेसले सात दशकको सफल यात्रा तय गर्न सकेको हो । कांग्रेसका संस्थापक एवं सैद्धान्तिक व्याख्याकार वीपी कोइरालाले व्याख्या गर्नु भएअनुसारकै मानकहरु अहिलेको समयमा पर्याप्त र उचित नहुन सक्छन् । यसलाई समयसापेक्ष बनाउनु आवश्यक छ । लोकतान्त्रिक समाजवादको अवधारणा लोकप्रिय निर्विकल्प छ । तर यसको व्याख्या आजको सन्दर्भमा हुनु अपरिहार्य छ । यसो गर्न नसकिए आजको पुस्तालाई आकर्षित गर्न समस्या हुने स्वीकार गरी पार्टीले लोकतान्त्रिक समजवादको परिमार्जित अवधारणातर्फ सोच विकसित गर्नु आवश्यक छ ।  
    
अहिलेको अवस्थामा कांग्रेसको सर्वाधिक ठूलो र महत्वपूर्ण मुद्दामध्येको एक हो— मधेश सम्बोधन । विगतमा मधेश कांग्रेसको आधार क्षेत्र रहिआएको विदितै छ । अहिले कांग्रेसका लागि मधेश त्यति सहज नरहेको आँकलन गरिएको छ । यसको प्रभाव का्रगे्रसको समग्र राष्ट्रिय राजनीतिमा पर्ने निश्चित छ । विगतमा मधेशमा कांग्रेसको अवस्था कमजोर हुँदा संसदमा पनि उसको उपस्थिति कमजोर रहेको यथार्थलाई नकार्न सकिँदैन । नयाँ संविधानलाई मधेशले पूर्णरुपमा स्वीकार गर्न सकेको छैन र संविधान निर्माणप्रति स्वामित्व ग्रहण पनि गर्न सकेको छैन । संविधानप्रति असहमति राखेको मधेशले यसको सम्बोधन चाहेको छ । त्यसो त विगतमा कांग्रेसको नेतृत्वमा संविधानमा दुई संशोधन त गरिएको छ तर मधेशले यसलाई पर्याप्त मानेको छैन । यस्तोमा मधेशलाई सम्बोधन गर्न र त्यहाँको जनाधारको रक्षा गर्न थप रणनीति तय गर्नु जरुरी छ ।   

माथि उल्लेख गरिएका केही यस्ता विषयवस्तु हुन् जसमा कांगे्रस गम्भीर हुनु नितान्त जरुरी छ । यी मुद्दामा कांग्रेस संवेदनशील नहुने हो भने यो पार्टीका लागि पुनरागमन अर्थात् ‘कम व्याक’ निश्चय पनि कठीन यात्रा ठहरिन सक्छ । पार्टीभित्रको विवादहरुलाई सहज सम्बोधनको रणनीति अख्तियार गरी कांग्रेसले समग्रमा नेपाल र नेपालीको कल्याणका लागि आफूलाई प्रस्तुत् गर्नु अपरिहार्य छ । सानातिना आन्तरिक विवादमा अल्झाएर राख्ने विपक्षीको रणनीति पनि हुन सक्छ, पार्टी यसप्रति पनि संवेदनशील हुनु जरुरी छ । निश्चय पनि कांग्रेस कमजोर हुँदा सबभन्दा बढी फाइदा हुने भनेकै विपक्षीलाई हो । 
 
 

धर्मेन्द्र झा

(झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय