विश्वासः कहाँ, कसरी गर्नू ?

dainikonline
केएम जलजला | फागुन १०, २०७६ शनिबार | 0

गत साल म छुट्टिमा घर जाँदै थिएँ । काठमाडौंमा केही दिनको बसाइपछि दाङ हिड्ने योजना बनाएँ। काठमाडौंमा मैले नयाँ श्रम गर्नुपर्ने थियो। त्यहीअनुसार साथी अनिल र म श्रम कार्यालय गयौं। त्यही दिन काम सकिएन। भिडभाडको बीचबाट एउटा अधबैंसे पुरुष आएर भन्यो ‘के कामको लागि?’ म अलिक चोरिन्ने खाले मान्छे ‘श्रम कार्यालय के कामको लागि आउँछ?’ जवाफ फर्काएँ। ऊ मौन भयो। 

हामी लाइनमै थियौं। एकछिन पछि मलाई पिसाब लाग्यो, अनिललाई लाइनमा बसालेर म ट्वाइलेट खोज्न गएँ। एउटाले देखाइदियो। म सरासर गएँ, ट्वाइलेट फोहर थियो– आउनै लागेको मुत्रनलीको पानी पनि रोकिएलाझैं भयो। बल्ल–बल्ल मुत्रथैली बिसर्जन गरेँ। नगरी नहुने। हात धुन धारा खोजेँ– प....र एउटा धारो रै’छ त्यो पनि पानीबिनाको। दुई तीन जना लाइनमै थिए। धाराको वरिपरि पान खाएर थुकेको दृश्य सजिलै अनुमान लगाउन सकिन्थ्यो।

ख्याल–ख्यालमै मैले अगाडिको मान्छेलाई सोधेँ ‘हन मेलम्ची आयो?’ ऊ अक्क न बक्क भयो। म बोलिनँ, चुप लागेँ, पालो आयो पानी छैन। तिरिक्क तिरिक्क आउनेमा पनि के को हात धुनु भनेर म बाहिरको फुटपाथको पसलमा गएँ। मिनरल वाटर किनेर हात धोएँ।

फर्केर आउदैथेँ त्यही मान्छेले बाटो छेक्यो र भन्यो। ‘श्रम गर्न आउनुभएको होला, काम सजिलो होस् भनेर मैले हेल्प गर्न खोजेको।’ ‘तपाईं को हो?’ ऊ फेरि मौन भयो। नाम भनेन। मैले नि सोधेन। 

अलिक पर कुनामा पुगेसी ऊ खुलेरै बोल्यो ‘सुन्नु न, मलाई च्याइपानी दिनुस्, तपाईंको काम अहिले भर्खरै गरिदिन्छु।’ म अलिक झर्के– ‘घुस लिन्या र दिन्या दुबै देशका सत्रु हुन् भन्ने कुरा थाहा छैन?’ ऊ बोल्यो ‘यो आदर्शका कुरा छोड्नुस् काम अहिले नै बन्छ भनेर पो भनेको त।’ 

मैले पृथ्वीनारायण शाहलाई सम्झिएँ त्यतिखेर। म निचोडमा पुगिसकेको थिएँ काम दुई दिन लागोस् तर यत्रै घुस दिएर काम गराउँदैन। ‘बाह्र घण्टा गेटपाले गरेर कमाएको पैसा पो त।’ 

मलाई एक्कासी पैसाको माया लागेर आयो। म लाइनमा गएँ। बेलिविस्तार अनिललाई सुनाएँ– अनिल हाँस्यो। किन हाँस्यो थाहा भएन, मैले अनिललाई सोधिनँ पनि।

त्यसपछि बल्ल बल्ल पालो आयो तर अर्को दिन बोलायो। किन आजै चाहियो मलाई भनेँ। शिरमा ढाका टोपी लगाउने मान्छे बोल्यो ‘आज युएइको काउन्टर बन्द भैसक्यो।’ हामी फर्कियौं त्यत्तिकै। साथी अनिल यो कुराहरुबाट परिचित रैछ– बोल्यो ‘अघि त्यसले भन्ने बेला किन गर्न लगाउनु भएन?’ म बोलेँ ‘पैसा सस्तै छ र बड्डा?’ त्यसपछि अनिलको होटेलमा आयौं खाना खायौं– अर्कोदिन अनिल र म बसको टिकट लिन गयौं– अनिलको भटभटेमा चढेर। 

अनिलले भटभटे गतिलै किनेको थियो। आवाज पनि खतरा आउँथ्यो, स्टार्ट गर्ने बेला भुट्भुट्भुट्भुट । भुट्भुट् गर्ने भएर मैले मोटरसाइकल नभनी भटभटे भन्थेँ–अनिल हाँस्थ्यो। एक हल गोरु बेच्दा लगाएको साइनो भने हामी बीच–बीच ‘सम्धी–सम्धी’को साइनो थियो त्यो भन्दा पनि माथि हामीमा साथित्व थियो। भावना मिल्यो। केटोले होटेल व्यवसाय गर्ने भएर कुराले मख्खै बनाउँथ्यो। व्यापार व्यवसायतिर लाग्ने मान्छेहरुको बोलीमा चिनी मिसिएको हुन्छ भन्नुहुन्थ्यो ‘आमा’ले। फेरि एकपटक आमालाई सम्झेँ– मनमनै भनेँ आमाले त्यत्तिकै त्यो कुरा भन्नुभएको रहेनछ। अनिलले बेला–बेला जिस्काउँथ्यो– अब मोज गर्ने भयौं दुई मैना। उसले के भन्न खोजेको थियो मैले सजिलै बुझ्थेँ।

हामी बसपार्क पुग्यौं। अनिलकै भटभटेमा। टिकट काउन्टर गयौं। चिनेको जस्तै गरि एकजना भाइ बोल्यो– दाइहरु घोराहीसम्म हो? मैले हो भन्न नपाउँदै अनिलले मुख खोल्यो ‘म हैन मेरो सम्धी बड्डा जानुहुन्च।’ टिकट काट्यौं सहारा यातायात प्रालिको। मैले सोधेँ– सेवा सुविधा के छ? काउन्टरको मान्छे बोल्यो ‘सबै छ हजुर, फ्री वाइफाइ, एलइडी, फोल्डिङ सिस्टमको सिट, चार्जिङको सुविधा। नयाँ यातायात प्रालि हो सब छ।’ म मख्खै परेँ। टिकट पनि सुविधायुक्त सेवा भनेर लगभग दुई सय जति ओभर नै लियो पैसा। बीच भागतिरको टिकट काट्यौं। अर्कोदिन साँझ बसपार्क पुग्यौं अनिलकै भटभटेमा। ममा उत्साह पनि थियो। लगभग तीन साल पछि म आफ्नो घर जाँदै थिएँ। नेपाली मान्छे नेपाली मुलको तर सीमित अवधिको लागि मानौं ‘म झोले टुरिष्ट, घुमन्ते टुरिष्ट। फिरन्ते टुरिष्ट।’ 

अनिलले मलाई बसपार्क छोड्न आयो। श्रमको काम भने अनिललाई जिम्मा लगाएको थिएँ। किनकि लिन मात्रै बाँकी थियो। मेरो पासपोर्ट, टिकट अनिललाई नै छोडेर म घर गएँ।

काठमाडौबाट बस दाङको लागि छुट्यो। हल्का पानी पर्दै थियो। पानीमा भिज्दै म आफ्नो सिट खोज्दै सिटमा बस्न गएँ। बाहिरबाट अनिलले हात हलाउँदै बाइबाइ गर्दै थियो। मैले पनि हात हल्लाइदिएँ। एकैछिन पछि बस गुड्यो। कन्डक्टर भाइ चिच्याउँदै थियो ‘ओ दाङ... दाङ.., ओ दाङ घोराही।’ मैले उसलाई ध्यान दिएन। गोजीबाट मोबाइल निकालेँ घर फोन गरेँ। म बस चढिसकेको जानकारी गराएँ। 

त्यतिसम्म बसमा भनिएको सुबिधातिर मेरो ध्यान गएन बल्ल बल्ल थानकोट काटिसकेपछि मैले कन्डक्टरलाई भनेँ ‘भाइ, वाइफाइको पासवर्ड पाउँ न।’ 

ऊ बोल्यो– ‘वाइफाइ बिग्रेको छ दाइ। बनाउने भनेको टाइम नै मिलेको छैन।’

फेरि भनेँ ‘एलइडीमा राम्रो–राम्रो लोकदोहोरी गीत भिजुअलमा लगाऊ न त ।’

फेरि बोल्यो– ‘दाइ एलइडीले काम गरेको छैन। युएसबी हाल्ने ठाउँ बिग्रेको छ।’

म चुप बसें। मोबाइल निकालें गोजीबाट ब्लुटुथ अन गरें आफ्नै मोबाइलमा भएको गीत सुन्दै थानकोट ओरालो झ¥यौं।

मुग्लिन पुगिसकेपछि मलाई निद लाग्यो। सिट फोल्डिङ बनाउने प्रयास गरेँ, भएन। फेरि कन्डक्टरसँग नै गुहार मागेँ। ‘भाइ नजानेर हो कि के हो? सिट फोल्डिङ भएन त? बनाउन सकेन मैले।’ ऊ बोल्यो– सिट फोल्डिङ छैन दाइ यसमा। यसपालि भने मलाई झन्नक रिस उठ्यो। रिसले चुर हुँदै प्रश्न तेस्र्याएँ, ‘अनि टिकट काट्ने बेला चाहिँ किन सबै सेवा सुविधा छ भनेर महंगोमा काट्न पठाएको त? हामीलाई ठग्ने?’ कन्डक्टर भाइ बोल्यो– दाइ व्यापार के व्यापार। मान्छे झुक्याएर गर्ने तिम्रा व्यापार कहिल्यै नफस्टाओस् म बोलेँ। यसपटक भने कन्डक्टर रिसायो। अनुहारमा रिसको बेग झल्काएर भन्यो ‘तपाईंले भनेर हुन्च?’ प्रतिउत्तर फर्काएँ– ‘नभए पनि हुनैपर्छ।’

बसको अवस्था पनि कमजोर नै रहेछ। जसोतसो बुटवल आयौं तर बस बिग्रियो भनेर बुटवलमा १ घन्टा ३० मिनेट रोक्यो। म रिसले चुर हुँदै थिएँ। कन्डक्टरलाई बोलाएँ, भाइ मोबाइलको ब्याट्री सकिन लाग्यो खै चार्जिङ गर्ने ठाउँ? ऊ बोल्यो ‘केही छैन चार्जिङ सार्जिङ गर्ने ठाउँ’ मैले डिस्कस गर्ने हिम्मत राखिनँ। सधैं यसरी मान्छे ठगेर खान पाए किन जानुपथ्र्यो विदेश? मनमनै सोचेँ तर बोलिनँ।

त्यसपछि बिहान आठ बजेतिर बल्ल भालुबाङ ल्याइ पु¥यायो। भालुबाङमा दुईजना महिला झरे। बदलामा चार पाँच जना महिलासहित दुई जना दाह्रे–दाह्रे देखिने, कपाल लामो पालेका पुरुष पनि चढे। तछाडमछाड गर्दै ती दुई पुरुष महिला सिटमा बस्न पुगे, यो सब मैले बीचको सिटबाट नियालिरहेको थिएँ। चार पाँच जना महिलामध्येमा एउटाको नानी पनि थियो। एउटा हातले नानी समाएर अर्को हातले बसको डन्डी समाएर बडो कष्टकर यात्रा गर्दै थिइन्। 

मैले कन्डक्टरलाई बोलाएर भनेँ, ‘भाइ महिला सिटमा पुरुष बसिरा’छन्। तिनीहरुलाई उठाएर ती नानी समाएको महिलालाई सिटमा बसाल्नू न।’ कन्डक्टरले सिधै खाउँला झैँ गरि भन्यो– जो जहाँसुकै बसोस् तपाईंलाई के चासो? म चुप लागेँ। गाडीले घुम्ती मोड्दा नानीलाई अप्ठ्यारो भएर होला नानी रोइन्। ती महिला सिटमा बस्ने युवकहरु मस्तले मोबाइलमा गेम खेल्दै थिए। मलाई यो सब दृश्य असह्य भैरहेको थियो। मैले हेर्दै थिएँ। नियाल्दै थिएँ। त्यहाँ मलाई पत्याउने र मेरो कुरा सुन्ने कोही थिएन।

ती महिलाहरुले पनि आफ्नो अधिकारको लागि केही बोलेनन्। चुपचाप यात्रा गरिरहिन्। मैले सोचेँ दश वर्ष जनयुद्धले जनतामा जनचेतना फैलायो भनेको हैन रहेछ। आफ्नो अधिकारको लागि बोल्ने र लड्नसक्ने हिम्मत नेपाली महिलाहरुमा रहेनछ। आखिर केलाई जनयुद्ध गरियो? यस्तै–यस्तै प्रश्नले मन खाइरह्यो। दिमाग घुमाइरह्यो। र म जुरुक्क उठेँ, नानी समाएको महिलालाई मेरो सिटमा बस्न आग्रह गरेँ। महिला मेरो सिटमा बसिन्। नानीलाई दूध चुसाइन्। नानी रुन छोडिन्। महिलाले लामो सास फेरिन् तर बोलिनन्। मैले पनि बोलाइनँ। म उभिएर घोराहीसम्म पुगेँ। 

रोल्पा नगरपालिका–९, रोल्पा 
हालः अरब

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय