संसद बैठकमा आज शोक प्रस्ताव मात्रै, प्रधानमन्त्रीको सम्बोधन भोलि

सांसदको निधन भएकाले प्रधानमन्त्रीको सम्बोधन स्थगित

dainikonline
दैनिक अनलाइन | फागुन २, २०७६ शुक्रबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई गर्ने भनिएको सम्बोधन स्थगित गरिएको छ।

राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले प्रधानमन्त्रीको सम्बोधन लगायत सम्पूर्ण कार्यसूची स्थगित गरिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।

रुपन्देही घर भएका नेपाली कांग्रेसका सांसद उपाध्यायको शुक्रबार निधन भएको थियो। 

‘आजको बैठकमा माननीयज्यू दुर्गाप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव मात्र हुनेछ, सहप्रवक्ता धमलाले भन्नुभयो, ‘आजको संसद बैठकमा राखिएका सबै कार्यसूचीलाई अर्को बैठकमा सार्ने निर्णय गरिएको छ।’ 

शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सांसद उपाध्यायप्रति शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ।

यसअघि नेपाली कांग्रेसले आफ्नो पार्टीका बहालवाला सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेको भन्दै शुक्रबार दिउँसो २ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन स्थगित गर्न माग गरेको थियो।

क्यान्सरबाट पीडित राष्ट्रिय सभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय