जनयुद्ध दिवसको सार्थकता

dainikonline
तिलकराज भण्डारी | फागुन १, २०७६ बिहिबार | 0

नेपालको राजनीतिक आन्दोलनमा पटक–पटक सशस्त्र विद्रोह र क्रान्तिको अभ्यास हुँदै आएको छ। नेपालको राजनीतिक परिवर्तन र क्रान्तिको इतिहासका पानाहरु पल्टाउने हो भने शान्तिपूर्ण प्रतिस्पर्धाभन्दा सशस्त्र विद्रोह र क्रान्तिको प्रक्रिया नै प्रधान रहेको देखिन्छ। हामीले भन्ने गरेको आधुनिक नेपाल निर्माणको श्रृंखलादेखि आजसम्मका राजनीतिक आन्दोलन र परिवर्तनहरुमा नेपाली जनताको विद्रोहात्मक क्रान्तिको प्रवृत्ति नै मूल प्रवृत्तिको रुपमा स्थापित भएको छ। हरेक कालखण्डमा राज्यसत्ताले थोपर्न खोज्ने सबै प्रकारका शोषण र उत्पीडनका विरुद्ध नेपाली जनताले विद्रोहात्मक चेतनामार्फत् राजनीतिक परिवर्तनको हुँकार गरेका छन्। जनताको यो हुँकारलाई कसैले क्रान्तिको रुपमा व्याख्या गरे, कसैले विद्रोहको रुपमा व्याख्या गरे त कसैले जनयुद्धको रुपमा स्थापित गरे। 

राणाहरुको जहाँनिया निरंकुश शासन व्यवस्थाका विरुद्ध नेपाली जनताले पहिलो पटक व्यवस्थित विद्रोहमार्फत् १०४ वर्षीय राणा शासनको अन्त्य गरे। वास्तवमा २००७ सालको क्रान्तिमा एकातिर १०४ वर्षसम्म राणाहरुको कठपुतलीका रुपमा रहन बाध्य बनाइएका राजाको कार्यकारी शासक बन्ने इच्छा, अर्काेतिर अंग्रेजको विरासतको रुपमा आएको भारतीय एकाधिकार पूँजीवादी शासकले नेपालमा आफ्ना असली दलाल खोजी गर्ने अभियान र नेपाली जनताले सामन्ती उत्पीडनबाट मुक्तिको खोजी गर्ने विद्यमान राजनीतिक अन्तरविरोधबाट राणा शासनका विरुद्ध आन्दोलन केन्द्रित हुन पुग्यो।

गाउँ–गाउँबाट मुक्तिसेनाको रुपमा नेपाली जनताले हतियार उठाए। जनताको आन्दोलन र विद्रोहको निशाना क्रमशः सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गकै विरुद्ध सोझिन थाल्यो।  त्यसपछि जनताको भावना र इतिहासको आवश्यकताविरुद्ध अर्काे षड्यन्त्रका रुपमा कुख्यात दिल्ली सम्झौता गरियो। भारतको निर्देशनमा गरिएको उक्त दिल्ली सम्झौता राजा, राणा र कांग्रेसका बीचमा सत्ता साझेदारीमा सीमित हुन पुग्यो। नेपाली जनताले सामन्तवादको अन्त्य गर्न चाहन्थे तर तत्कालीन राणा शासनको अन्त्य भए पनि सामन्तवाद र दलाल पूँजीवादी शक्तिहरु झन् व्यवस्थित र बलियो बन्न सफल रहे। जनताको नेतृत्व गर्ने राजनीतिक नेतृत्व र संगठनको अभावमा आन्दोलनको मर्मविपरित त्रिपक्षीय दिल्ली सम्झौताबाट स्थापित भएको प्रजातन्त्रले नेपाली जनताको भावनाअनुरुप सामन्तवाद र दलाल नोकरशाही शासन व्यवस्थाको अन्त्य गर्न सकेन र त्यहीँबाट अर्काे विद्रोह र क्रान्तिको विजारोपण हुन पुग्यो।

भर्खरमात्रै स्थापना भएको कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गरेर सामन्तवादका विरुद्ध निर्णायक विद्रोह गर्ने अवस्था थिएन र नेपाली कांग्रेसले राजासहितको प्रजातन्त्र नै आफूअनुकूल हुने देखेपछि विद्रोहको नेतृत्व गर्न छोडेर त्रिपक्षीय दिल्ली सम्झौतामार्फत् जनविद्रोहको व्यवस्थापन गरियो। 

२००७ सालको क्रान्तिपछि एकातिर सामन्तवादको नेतृत्व गर्दै सामन्ती राजतन्त्र क्रमशः निरंकुश हुन थाल्यो भने अर्काेतिर नेपाली कम्युनिष्ट आन्दोलनको आत्मगत अवस्था र जनताको चेतना पनि क्रमशः परिपक्व हुँदै जान थाल्यो। त्यसैको जगमा २०२८ सालको झापा विद्रोह अगाडि बढ्यो। कम्युनिष्ट पार्टीकै नेतृत्वमा सुविचारित ढंगले सामन्तवादका विरुद्ध हतियार उठाइयो तर नेतृत्वमा रहेको वैचारिक अस्पष्टता र अपरिपक्वताका कारण सयौं कम्युनिष्ट नेता, कार्यकर्ता र जनताको बलिदान भयो। कैयौंले जेलनेल बेहोर्नुप¥यो तर जनताको विद्रोह सार्थक निष्कर्षमा पुग्न सकेन। उक्त झापा विद्रोह तत्कालीन रुपमा सफल हुन नसके पनि हरेक कम्युनिष्ट पार्टीमा क्रान्तिकारीहरुको धारा बलियो हुँदै गयो र जनतामा विद्रोहको चेतना पनि परिपक्व हुँदै गयो। 

२००७ सालको क्रान्ति र २०२८ सालको झापा विद्रोहलगायतका जनविद्रोहका शिक्षासहित  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ फागुन १ गतेदेखि जनयुद्धको शंखघोष ग¥यो। एकातर्फ पटक–पटकका विद्रोहलाई व्यवस्थापन गर्न सफल रहेका सामन्तवादी शक्तिकेन्द्रहरुले जनयुद्धलाई हप्ता र महिना दिनभित्र समाप्त पार्ने घोषण गरे भने अर्काेतर्फ कतिपय कम्युनिष्ट पार्टी र नेतृत्वहरुले समेत जनयुद्धको बारेमा खिसिट्युरी गर्न थाले। तर सामन्ती राज्यव्यवस्थालाई अन्त्य गर्दै जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्यसहित स्थापना भएको नेपाली जनयुद्ध सुविचारित ढंगले दीर्घकालीन जनयुद्धका रणनीतिक र कार्यनीतिसहित आम जनसमुदायसँग संगठित र बलियो हुँदै गयो। जनयुद्धको सही विचार र सही नेतृत्वको परिणामस्वरुप जनताले सशक्त जनमुक्ति सेनाको निर्माण गरे। र, जनमुक्ति सेनाले क्रमशः राज्यव्यवस्थाका सैन्य क्याम्पहरुमा हमला सुरु ग¥यो। वर्गीय उत्पीडन मात्रै हैन राजनीतिक, आर्थिक र सामाजिक तथा सबै प्रकारका उत्पीडनका विरुद्ध जनयुद्ध निकै शक्तिशाली बन्दै गयो। दूरदराज र ग्रामीण क्षेत्रका जनसमुदायमा आमूल परिवर्तन र क्रान्तिको चेतनाले संगठित ग¥यो। 

२०५२ देखि २०६२ को दशक उथलपुथलकारी जनविद्रोह र क्रान्तिको दशक बन्न पुग्यो। सिंगो मुलुक जनयुद्धको राजनीतिक एजेण्डामा गोलबन्द हुँदै गएपछि एकातर्फ जनयुद्धको आक्रमणबाट थिलोथिलो भएको सामन्ती राज्यव्यवस्थाभित्र घात–अन्तरघातले दरबार हत्याकाण्डसम्म पु¥यायो भने अर्काेतर्फ तत्कालीन रुपमा जनयुद्धप्रति खिसीट्यूरी गर्ने राजनीतिक दल र नेतृत्वहरुमा पनि जनयुद्धमा स्थापित भएका राजनीतिक एजेण्डा र जनयुद्धको प्रभावले जनयुद्धको भूमिकालाई स्वीकार्न बाध्य तुल्यायो। त्यसैको परिणामस्वरुप सात राजनीतिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचमा १२ बुँदे सहमति भयो र दीर्घकालीन जनयुद्धको जगमा ०६२/६३ को जनविद्रोह सफल भयो। जसले २४० वर्षको सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थालाई समाप्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल तुल्यायो। ०६२/६३ को जनआन्दोलनबाट पनि जनयुद्धको विचार, राजनीतिक एजेण्डा र नेतृत्व निकै शक्तिशाली रुपमा स्थापित भयो र शान्तिप्रक्रियाको थालनी भयो।  

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरुबाट बनेको संविधानसभाबाट नेपालको संविधान निर्माण भयो र जनयुद्धले  स्थापित गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी तथा समानुपातिक प्रणाली लगायतका राजनीतिक एजेण्डाहरु नेपालको संविधानमा संस्थागत भए। अहिले संविधानको प्रस्थापनाले नै समाजवादउन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको छ। 

संविधान निर्माणसँगै अगाडि बढेको शान्ति प्रक्रियाको सन्दर्भमा पनि जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा संस्थागत समायोजन, जनयुद्धका सहिद तथा बेपत्ताहरुलाई राहत र जनयुद्धका घाइतेहरुलाई तत्कालीन राहत तथा व्यवस्थापन सामान्य विषय थिएन नै। शान्तिप्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग अन्तर्गतका कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्ने कार्यभार पनि जनयुद्धको नेतृत्वले नै पूरा गर्नुपर्ने आवश्यकता छ। 

नेपाली कम्युनिष्ट आन्दोलनको झापा विद्रोह हुँदै शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गरेका धारा र सशस्त्र जनयुद्धमार्फत् जनताका राजनीतिक एजेण्डाहरुलाई स्थापित गर्दै दीर्घकालीन जनयुद्ध र आम सशस्त्र विद्रोहको समायोजनसहित शान्तिपूर्ण प्रतिस्पर्धामा सहभागी भएको धारा एकता प्रक्रियामार्फत् एउटै धाराको रुपमा नेकपा निर्माण भएको छ। 

२००७ सालदेखि पटक–पटकका विद्रोह र जनयुद्धले स्थापित गरेका राजनीतिक एजेण्डाहरुलाई आत्मसाथ गर्दै तत्कालीन रुपमा जनताको जनवाद हुँदै आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने अभियानमा नेकपा अगाडि बढेको छ। आज जनयुद्ध दिवसको सन्दर्भमा सिङ्गो नेकपाले देशभरि विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। जनयुद्धका उपलब्धिहरुको दायरा झनै फराकिलो हुँदै गइराखेको छ। जनयुद्धलाई सिंगो नेपाली कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, सिंगो राष्ट्रले संस्थागत गरिसकेको छ। आज हजारौं नेता, कार्यकर्ता र लाखौं जनसमुदायले जनयुद्धको महत्व र चर्चासहित जनयुद्ध दिवस मनाइरहेका छन्। साँचो अर्थमा भन्ने हो भने जनयुद्धले स्थापित गरेको विचार, राजनीतिक एजेण्डा र नेतृत्व प्रभाव बढ्दै गइराखेको छ। यो यात्रा जारी छ र अन्तिम लक्ष्यसम्म जारी रहनेछ। हजारौं नेता, कार्यकर्ता र जनताको त्याग, समर्पण र बलिदानबाट प्राप्त भएका राजनीतिक उपलब्धिहरु तथा स्थापित भएको विचार र नेतृत्वको  रक्षा तथा विकास गर्ने आजको गतिशील चेतनाले मात्रै बदलिदो सन्दर्भमा जनयुद्धको महत्वलाई बुझ्न सकिन्छ।

जनयुद्ध दिवस मनाउनुको अर्थ जनयुद्ध र जनआन्दोलनका सहिदहरुप्रतिको श्रद्धासुमन व्यक्त गर्नु, बेपत्ता योद्धाहरुप्रति ऐक्यबद्धता र घाइते साथीहरुप्रतिको सम्मान त हुँदै हो यसको अतिरिक्त उहाँहरुले देखाएको बाटोमा दृढतापूर्व उभिने प्रतिबद्धता पनि हो। यसको अर्थ जनयुद्ध र जनआन्दोलनको विचार, नेतृत्व र राजनीतिक एजेण्डाप्रतिको दृढता नै जनयुद्ध दिवसको सार्थकता पनि हो। 

तिलकराज भण्डारी

समसामयिक राजनीतिक विषयमा कलम चलाइरहेका भण्डारी अनेरास्ववियूका नेता हुन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय