महान जनयुद्ध– जिन्दावाद !

dainikonline
नरेन्द्रजंग पिटर | फागुन १, २०७६ बिहिबार | 0

‘मात्रै त्यस इतिहासकारलाई हिजोको आशाको ज्योति जगाइरहने वरदान प्राप्त हुन्छ, जो पूरै जोड दिएर यस कुराको विश्वस्त हुन्छ कि यदि दुश्मनले जित्यो भने हाम्रा मरिसकेका आफन्त पनि चिहानमा सुरक्षित बच्ने छैनन्! र दुश्मन आत्मैदेखि उसको विरोधीको पत्तासाफ गर्ने योजनाबाट पछि हटेका छैनन् भन्ने कुराको हेक्का राख्छ।  –जर्मन चिन्तक वाल्टर बेन्यामिन

म जनयुद्धलाई भ¥याङ बनाएर ठाकुरे र टाकुरे बन्नेका बात मार्दै छैन। आज महान जनयुद्ध जिन्दावादका नारा घन्काइरहँदा मेरा नेताहरु, कमाण्डरहरु, विचारकहरु, सौन्दर्यशास्त्रीहरु को, कता र के गरिरहेका होलान्? सोच्दछु। कुन कित्तामा होलान्? उनीहरुको अहिलेको सोच र भूमिका के होला? के उनीहरु यस दुनियाँका महामुर्ख थिए? किन उनीहरुले आफ्नै लागि घारो र कात्रो बोकेर झ्याम्म जनयुद्धको महासमरमा हाम फाले? मैले आफैलाई पनि कति न्याय गरिरहेको छु? हुने, गर्ने, देखिने र बोल्नेमा हामीभित्रै के कति अन्तरविरोधात्मक स्थिति छ? के हामी विचारक नभई कतै कलाकार त हैनौँ?  आफैँसँग एकान्तका प्रश्न भयावह, जटिल र कठीन हुँदा रहेछन्। इतिहासका विद्यार्थी अन्वेषक र स्वप्नद्रष्टालाई यी गम्भीर स्व–जिज्ञासा हुन्। 

हो, आजभन्दा २५ वर्ष पहिला नेपाली इतिहासलाई नै क्रमभंग गर्ने जनयुद्धको शंखनाद भयो । हुन त साढे दुई दशक इतिहासका लागि त्यति लामो समय हुँदैन्। तर कहिलेकाहीँ एकैदिनको घटना, व्याख्या विश्लेषण लाखौं पानामा पनि लेखिसकिँदैन। हो...कयौँ शताब्दी एकै पानामा बित्ने पनि गर्छ। इतिहासको सौन्दर्यबोध नै यहीँ हो। म आजको दिनबारे कर्पोरेट मिडियामात्रै हैन, जनयुद्धका उत्पादन र व्यक्तिबाट व्यक्तित्वमा फेरिएकाहरुका अभिव्यक्ति पनि सुक्ष्म रुपमा पढ्नेछु। मैले निरन्तर लेख्ने कर्पोरेट मिडियालाई यस सन्दर्भमा लेख्नेछु, आवश्यक भए भन्नुस् भनेर खबर गरी। तर नो रिप्लाई। यो अरुभन्दा केही लामो लेख हुन्छ र अध्ययनलाई धैर्यताको माग पनि गर्छ। 

यस अवधिमा अवस्था, परिस्थिति, बहस र अभ्यास धेरै फेरिए। मित्र र दुश्मनका परिभाषा फेरिए। क्रान्ति एकाध शूर, वीर, योद्धाहरूले मात्रै होइन्, कविता मात्रै होइन् भन्ने कुरा अभ्यासले देखाइदियो। एउटा गर्भे शिशु अहिले लोर्के भइसकेर हरेक क्षेत्रको नीति निर्माता तहमा पुगिसके। तर इतिहासका गर्भमा पुरिएका सबैका पुराना आग्रह भने पीडा थेग्रिएर सोच र भूमिकामा प्रभाव अझै पारिरहेका छन्।

२०५२ फागुन १ गतेको घटना नेपाली इतिहासकै लागि महाविस्फोट थियो। यस महाशंखनादलाई पहिला मान्छेले सुनेनन्, पत्याएनन्। समय बित्दै जाँदा दबाउने र कुल्चिने प्रयास भए, कालान्तरमा स्वीकार्न विवश भयो। सनातनमा अभ्यस्त समाज र वर्चश्वशाली वर्गलाई त्यो महाविष्फोट पचाउन र स्वीकार्न औधी मुस्किल प¥यो। बाध्यताले परिणाम स्वीकारेता पनि त्यसको आत्मालाई पचाउने खेल चालु भए। कति त्यस एम्बुसमा फसे, कति उम्कने कोशिस गरे। हो, शरीर बुढो भए पनि मस्तिक तरुण नै भएका अझै धेरै युवा भने ज्यूदैछन्। वर्चश्वशाली तप्काको एउटा इतिहास, सोच, सौन्दर्य हुन्छ भने भूँइमान्छेका (सवाल्टर्न) भाष्यकार थोरै भए पनि त्यसका झिल्काहरु सुरक्षित हुन्छन् र हुनेछन्। पात्रोमा तिथिमिति फेरिदै जान्छ तर कुनै दिन यस्तो पनि हुँदोरहेछ, जसले पात्रोलाई नै फेरिदिएर त्यहाँबाट नयाँ पात्रो बन्न ललकार्दो पनि रहेछ। २५ वर्ष पहिलाको आजको दिन त्यस्तै थियो। 

जनयुद्ध कसरी सुरु भो ?

२०४५/४६ को जनआन्दोलनले व्यवस्थाको रुप र शासक त फेरिए तर सत्ताचरित्र नफेरिदा परिवर्तनले ल्याएको बहुदलीय व्यवस्थाप्रति आशा विश्वास क्रमशः टुट्दै गयो। जनमोर्चा बाहुल्य ठाउँमा कम्युनिष्टप्रतिका धारणामा सत्ता अझ बर्बर हुन थाल्यो। उसका पुराना सोच फेरिएनन्। राप्तीका रुकुम, रोल्पा र जाजरकोटजस्ता जिल्लामा भयानक उत्पीडन र तिखो प्रतिवाद हुन थाले। रोल्पामा एकजना अब्दुल रईस खाँ भन्ने सिडिओ थिए, जनयुद्धका सरकारी आधारकर्ताका प्रथम पात्र। उनी त सत्ता संकृतिका प्रतिनिधि व्यक्तिमात्रै थिए । तर, उनका मार्फत् व्यक्त भूमिकाले एउटा नयाँ इतिहास रचिदै थियो। 

जब केही मानिसले देखेका सपनासँगै समाजले ह्वात्त एउटा अनौठो भविष्य देख्न थाल्छ, तब समयमै समयलाई चिन्न र समझ बनाउन सक्ने विविध क्षमताको नेतृत्व केन्द्रीकरण हुँदै जाँदोरहेछ। हामी  सरकार फेर्नमात्रै हैन, युग नै बदल्न तम्सेका हौँ भन्ने उनीहरुका कुरा कार्यकर्ताले सहजै आत्मसात गरेपछि समाजले पत्याएर आन्दोलन तयार भइरहेको हुँदोरहेछ। त्यस्तै लामो तयारीपछि जनयुद्धको शंखनाद भयो। नेतृत्व टिमको नैतिक पूँजी, दूरदृष्टिले सामाजिक अपिल गर्न सक्ने इच्छाशक्तियुक्त विचार र सपनालाई मान्छेको दिमागमा राख्न सफल भएर त्यस भेग ज्वालामुखी केन्द्र बन्यो। वर्गसंंघर्षको ऐतिहासिक थलो त थियो नै। लोकाभार (बाँके), राजापुर किसान संघर्ष (बर्दिया), कामी बुढा, भीमदत्त पन्त नेतृत्वका सशस्त्र संघर्षलगायत नारीकोट (प्यूठान) वेल्ल्वा–बन्जाडी (दाङ), दशरथपुर (सुर्खेत) किसान विद्रोहका ऐतिहासिक आधारले अनौठो भोक जगाएकै थियो। 

लामो समयदेखि वैचारिक संगठनात्मक तयारीले ती दमनको सशक्त प्रतिकार गरेर जनयुद्धको आधार क्षेत्र बन्यो। पछिल्लो कालमा सरकारी दमन देख्दा तत्कालीन अवस्थाको चित्रण गर्दै सभामुख दमननाथ ढुङ्गानाले भनेका थिए– ‘यदि म रोल्पामा जन्मेको भए माओवादी बन्थें।’ विचारले सपना देखाउँछ, सपनाले प्रतिकार क्षमता जन्माउँछ तब सत्ता यथास्थिति बचाउन चाहन्छ तर स्वप्नद्रष्टासँग विचारसहितको नेतृत्व पाएपछि त्यसको प्रतिकार गर्छन्। हो, जनयुद्धको थालनी त्यस्तै थियो।

माओवादी पदावली कुनै पार्टीको मात्र नाम नभई सनातनी राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक हस्तक्षेपले पैदा गरेको नयाँ जागरण र आन्दोलन बन्दै गयो। यो उत्पीडित र आवाजरहित भूँइमान्छेका लागि शब्दशक्ति बन्यो। सनातनसँग विद्रोह थियो। सत्ता थियो। आशा, भरोसा र सपना थियो। हरेकखाले उत्पीडक र वर्चश्वशाली वर्ग र समुदायका लागि आतंक बन्न पुग्यो। विद्रोहको सशक्त हस्तक्षेपले केन्द्रदेखि सबै प्रकारका स्थानीय सत्तामा प्रहार गर्दा सामाजिक सौन्दर्यशास्त्रका मानक र सनातनी मूल्यमाथि प्रहार हुँदै गए। हस्तक्षेपले सुषुप्त बस्ती जागृत हुँदै जाँदा सनातनी चेतना खजमजिए। निर्धा र सुदूरबस्तीले आफ्ना शक्ति चिन्यो। हरेक क्षेत्रमा महत्वाकांक्षा र पहिचानको भोक जागे। ०६२÷६३ सम्म आइपुग्दा जनयुद्ध र जनआन्दोलनको सहमतीय यात्रा राजनीतिक सामन्तवादको प्रतीक राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना, केन्द्रीकृत राज्यसत्तालाई संघात्मक सोच, बहुजातीय–बहुसांस्कृतिक समाजको राज्यमा समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षताको हुँकार बन्न पुग्यो।

छिचोल्न नसकेको मनोयुद्ध

२०६३ वैशाख १२ र १३ बीच धेरै भिन्नता थियो। अर्को लेखमा विस्तृत चर्चाको आवश्यकता छ। क्रमशः  माओवादीका नारा अरुले अपहरण गरे, सिंहदरबारले क्रान्तिकारी नेतृत्व पचाउँदै गयो। नेतृत्वको सामाजिक अपील गर्ने नैतिक पूँजी हजम गर्दै गयो।

अन्यत्रका क्रान्ति र विद्रोहले एक–अर्कालाई रक्तपात निषेध गर्थे। तर यहाँ त्यस्तो नभई शक्ति सन्तुलनको अनिवार्य विश्राम सहमतीय राजनीतिको सुरुवात भएर विकसित राजनीतिक घटनाक्रममा शास्त्रीय र सक्रिय सामन्तवादबाट सम्बन्ध विच्छेद गर्दै समाज अगाडि बढ्ने कडी बन्न पुग्यो। जनयुद्ध शान्तियुद्धमा फेरिए पनि सबभन्दा पहिला नेतृत्वलाई भ्रष्ट र परिवारवादमा फसाइदै गइयो भने जनमुक्ति सेनालाई भाडाको सेनाको हैसियतमा झारियो। सहिद, बेपत्ता परिवारलाई आर्थिक प्रलोभनबाट मौन गराइने कोशिस भए। क्रान्तिको क्षतिपूर्तिका तलबी बनेका जनमुक्ति सेनाले क्रान्तिको रक्षा र अपील गर्ने नैतिक पूँजी बचाउन सकेका थिएनन्। यो आफू भ्रष्ट हुँदा पनि अरुले प्रश्न गर्ने हैसियत नरहोस् भनी अन्यलाई प्रलोभनले भ्रष्ट पार्ने योजनाबद्ध नीति थियो । यसमा प्रचण्ड, बाबुराम, किरण, बादल र विप्लवको समान धारणा देखिन्छ। विमतिको नोट अफ मिसिजन मैले सुनिनँ।

युद्ध निरन्तर चल्न सक्थ्यो÷सक्दैनथ्यो त्यो भिन्नै बहसको विषय हुन्। ऐतिहासिक घटनाहरु महावहसमा जाने गर्छन् तर तिनले दिने सन्देश भने कसैले पनि खारेज गर्न सक्दैन। हो, मैले पनि आजकै दिन सत्ताको पश्चिमी केन्द्र नेपालगञ्जको मुटु धम्बोझीदेखि खजुरा रोडमा पश्चिम गणेशपुरसम्म कमरेड बिष्णु पोखरेलसँगै पोष्टर टाँसेर इनिसेसनको सहभागी बनेको थिएँ । सलाम, सहिद विष्णु पोखरेल। 

हरेक क्रान्तिको केन्द्रीय प्रश्न भनेको परिस्थिति अनुसार विचारलाई अनुकूल बनाउँदै लाने कि आफ्नो समग्र शक्ति परिस्थितिलाई विचार अनुकूल ढाल्ने? भन्ने हो। माओवादी युद्ध भन्नेबित्तिकै प्रचण्ड र बाबुरामको नाम अगाडि आउने गर्छ। तर दुवैलाई अब युद्धकालीन माओवादी न नामसँग, न कामसँग महत्व राख्छन्। सायद इतिहासलाई कसरी बुझ्छन्, आत्मसात गर्छन्, त्यो उनकै विषय हो। बाबुराम भट्टराईसँगको पछिल्लो भेटमा त उनले जनयुद्ध एउटा रेडिकल डेमोक्रेटिक मुभमेन्ट मात्रै थियो भने। तब बहस र छलफलकै विषय के रह्यो र? कमान्डरहरूकै यो अवस्था भनेको विश्व इतिहासको भद्दा ठट्टा पनि थियो। माओवादी जनयुद्धको सैद्धान्तिक रूपमा मोहन वैद्य ‘किरण’हरू अझै सक्रिय भए पनि पार्टीलाई सामाजिक र व्यवहारिकरण गर्न सकेका छैनन्। सशक्त बनाएर भूमिकामा देखिन सकेका छैनन्। विप्लवजीको एकीकृत जनक्रान्ति ६ वर्ष पुग्न थाल्दा पनि अझै विद्रोही सार्वभौम आकार ग्रहण गर्न सकिरहेको छैन्।

आदेशले मात्रै समाज परिवर्तन हुँदैन। क्रान्ति र क्रान्तिकारीहरु सामाजिकीकरण पहिलो र अनिवार्य सर्त हो। माओवादी विरोधीले जे चाहन्थे, त्यो हुँदै गयो। बुर्जुवा आदर्शमा समेत टिक्न सकेन। पार्टी फुट्दै गए। स्वत्वका टकराहट सिद्धान्तका नाममा, व्यवहार र आचरणमा टसल बढ्दै गए। जे नारा र आदर्श थियो, समग्रमा युद्धको धरापबाट त उम्क्यो तर मनोयुद्धको धराप भने छिचोल्न सकेन। समग्र माओवादी युद्धको समीक्षा नै नगरी पार्टी फुट्यो। अझै पनि विश्लेषण हुन नसकेको धोबीघाट भेलाका आयोजक त देखिए तर प्रायोजक भने देखिएनन्। सत्ताले पचाउन पहिला आदर्शवादको हत्या गर्न क्रान्तिकारीहरुलाई परिवारवादमा फसाउने, निजी सम्पत्तिको लोभी बनाउने र भ्रष्टाचारमा फसाउने औजार हुन्थ्यो। उसले एकै पटक १ सय ३४ गाडीलाई वैधानिक गराएर अन्य जे जस्ता भ्रष्ट हुने सम्भावना हुन्थे, आँखा चिम्लिदियो। आज ती गाडीहरुमा सम्भवतः ५ पनि सामाजिक स्वामित्व र नेतृत्वको प्रयोगमा छैनन्। 

मनोयुद्धको धरापमा फस्दै जाँदा आपसमा भ्रम, अन्योल, अकर्मण्यता र प्रतिक्रिया मौलाउँदै पार्टी फुट भए। आदर्श स्खलन हुँदै बजार संस्कृतिको हावी भएर आफ्नै सुन्दर सपनाको बोझ गह्रुँगोे हुने, मित्र विमित्रमा फेरिने र विरोधी एवं दुश्मन साखुल्ले बनेर कोखमा छुरी प्रहार गर्दै आन्दोलनका भाव, मर्म, भावना र सन्देशलाई अन्यन्त्र मोड्दै गए। दर्शनमा रहेको राजनीतिलाई सामाजिक परिवर्तनको ज्यावल बनाउन चाहिने योग्यता, क्षमता, पहल, कला र जोखिम उठाउन कुनै गणितीय सूत्र हुँदैनथ्यो। यसै समाजको ऐतिहासिक विकासक्रमः, सांस्कृतिक सम्बन्ध, अर्थ–संस्कृतिको प्रभावसँग जोडिएकाले युगका सपना जोडिएका हुन्थे। मनोयुद्धको विश्वव्यापी अभ्यासको सशक्त प्रहार शान्तियुद्धको चोट झेल्न माओवादी भने बबुरोे बन्यो।

मनोयुद्धको प्रभावकारी खेल मानसिक व्यवस्थापन र विद्रोहको विद्रुपीकरण हुँदै गयो । २१औं सदीको साम्राज्यवाद शितयुद्धको ह्याङओभरबाट मुक्त थिएन। उसका असल सिपाही एनजिओे प्रायोजित बौद्धिक समुदाय, आसे समाज र कर्पोरेट मिडिया थियो। नयाँ बहस सिर्जित भइरहेका थिए तर माओवादीले आफ्ना जैविक बुद्धिजीवी, मिडियाकर्मी र साँस्कृतिक क्षेत्रलाई कार्यकारी भूमिकामा उतार्न सकेन। जनमुक्ति सेनाको आर्कको भूमिका फेरिएर तर शान्तियुद्धका एसाल्ट तयार गर्ने कुनै योजना नै रहेन। एउटा उदाहरण नियालौँ, जनयुद्धमा दुवै पक्षबाट मारिएकाहरू १४ हजार ६ सय ३७ हुन्। (१०११७ राज्यसत्ताबाट हत्या गरिएका र १११५ बेपत्ता । यसमा माओवादी र माओवादी नाममा गरिएका हत्या छन्)। माओवादी तर्फबाट राज्यपक्ष वा अन्य ३ हजार ४ सय ५ हुन्। जनयुद्ध र राज्यसँग विमति हुन सक्ला तर तथ्याङ्क मिथ्याङ्क हुँदैन। आखिर यो तथ्याङ्कमा खेल किन हुन्छ? यसै हप्ता जनयुद्धका सुप्रिमो प्रचण्डले एक निजी टिभी च्यानलमा १७ हजार स्वीकारे। उफ ! त्यो तथ्याङ्कको स्रोत के हो? न प्रश्नकर्तासँग थियो, न सुप्रिमोसँग।

नयाँ कुरा सोच्ने सोचले नै सनातन वा परम्परामा जिउने समाजमा आतंक बन्ने गर्छ। घाउ निको हुन्छ तर खाटा बसे पनि दाग भने रहिरहन्छ। विद्रोहकालीन समयमा भएका टसललाई राजनीतिक समाधान भए पनि भावनात्मक रूपमा भने हुन सक्दैन। त्यसका खाटा धेरै समयसम्मै रहिरहन्छन्। सामाजिक सौहार्द र सहकार्यले मात्रै त्यसको उपचार हुन्छ। सत्ताका फेरिएका चरित्र र कार्यक्रमले नेतृत्व गर्नुपर्छ, तर त्यो अझै देखिँदैन। द्वन्द्वउद्यमी द्वन्द्व चर्काएर फसल काट्न व्यस्त छन् भने प्रतिगामी तत्व त्यसैमा खेल्न।

इतिहास बिर्साउने खेलभित्रको झेल

अहिले सेकुवा हर्सुन चाहने तर रगत देख्न नसक्ने वचश्र्वशाली समूह इतिहास खारेज गर्न जनयुद्धको इतिहासकै विद्रुपीकरण गर्न चाहन्छ। इतिहास बनाउन सकिन्छ तर मेटाउन भने कदापि सकिँदैन।  जनयुद्धको उपलब्धिमा रजाइँ गर्ने तर त्यसको विभत्सताको वौद्धिक व्यवस्थापन गर्ने अभ्यास देखिन्छ। इतिहासको नजिर बनिसकेको जनयुद्धका मर्म, कबुल, सन्देश र सौन्दर्यबाट कोही टाढिए पनि त्यसले फेरेको ऐतिहासिक पात्रोलाई उल्ट्याउन सक्ने अवस्थामा भने हुँदैनन्। बगेको पानी फर्किदैन। 

महान फ्रेन्च क्रान्तिले नै (१७८९) विश्व राजनीतिमा नयाँ अध्याय खोल्यो। संक्रमण क्रमसँगै प्रतिक्रान्तिकारीमाथिको दमनचक्र तीव्र पारियो। राजारानी गिलोटिनमा काटिए। प्रतिक्रान्तिकारी भनेर शंकास्पद हजारौं मारिए पनि। त्यसमध्ये क्रान्तिका नायक राब्स पियरेका प्रतिद्वन्द्वी अर्थात् अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए। पक्रेर मुद्धा चलाउँदा ड्याण्टनले ललकार्दै प्रतिवाद गरे– ‘शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ्र।’

फासीमा चढाउने बलिवेदीमा लाँदै गर्दा राब्स पियरेको घर नजिकबाट गुज्रदै उनले भने– राब्स, तिम्रो गति पनि चाँडै हाम्रै जस्तो हुनेछ, तिम्रो यो घर पनि गल्र्याम गुर्लुम ढालिनेछ,्र अनि तिम्रा पनि घाउमा नुन चुक दलिनेछ्र। ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो। पहिले गिरोण्डिनहरुको सफाया गरियो, दोश्रो शिकार ड्याण्टनहरु भए, अन्ततः राब्स पियरे र उनका अनुयायीहरुलाई पनि च्याखुराइयो। क्रान्तिका दुश्मनहरु कहिल्यै उदार हुनै सक्दैनन्। यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो। क्रान्तिका आहारामा गिरोण्डिनहरु मात्रै परेनन्, क्रान्ति नायक पनि परे। त्यसै नौ महिनामा गिँडिएका २ हजार ६ सय ३९ गर्दनमध्ये राब्सको पनि एक थियो। 

हो, कालान्तरमा नेपोलियनको उदय भयो र अमेरिकी स्वतन्त्र संग्रामका मस्ती कबनेकाटम पेनले पनि देश छोडेर फेरि अमेरिका फर्कन विवश भए तर नेपोलियनले भेट माग्दा पनि अस्वीकार गरे। तर यति हुँदा पनि के फ्रान्सेली क्रान्तिले विश्व राजनीतिमा नयाँ अध्याय सुरु गरेन र?

जुन कारणले जनयुद्ध विद्रोहको उद्घोष भयो, त्यसैले गणतन्त्र शब्द बहस, व्यवहार र अभ्यास हुँदैछ तर परिवर्तन व्यवहारमा अझै पाउन सकिएको छैन।

अपूरो क्रान्तिको पनि ‘इतिहासबोध’ आवश्यक हुन्छ। इतिहास अणु पनि हो परमाणु पनि । वर्तमानको औचित्य सावित गर्ने र प्रतिकारको औजारसमेत हो। पक्षधारिताकै आधारमा अहिले इतिहास बिर्साउने वा विभत्सकरण गर्ने खेल मञ्चन हुँदैछन्। इतिहासले दिएका सन्देश र परिणाम युगान्तर भइरहेका हुन्छन्। 

जनयुद्ध सम्झने बाध्यता

माओवादीमै सहिद अर्काका घरमा जन्मियोस् र आन्दोलनको उपलब्धिको पहिलो हिस्साको हकवाला म नै हुन पाउँ भन्ने चरित्र देखिँदै गए। सहिदको जैविक हकवालाले आफ्नो शेयर पार्टीमा सबभन्दा ठूलो रहेको दाबी  गर्दै पनि गए। योग्यता, दक्षता र आवश्यकताका परिभाषा फेरिए। युद्धले सत्ता दिलाएका र परिचय दिएकाहरूले त युद्धलाई नाटकै भए पनि सम्झन बाध्य भए भने जसका कारण वर्चश्वशाली वर्गबाट च्यूत भएको स्वार्थ समूह छ, त्यो पनि यसलाई घृणा र षड्यन्त्रै गर्दा पनि त्यसैमार्फत् सुखभोगका कारण पनि सम्झन बाध्य छन्।

अब माओवादी युद्ध भने प्राज्ञिक अनुसन्धान, समाजशास्त्रीय अध्ययन, विद्रोही मनोविज्ञानको तत्कालीन राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको उपज अध्ययन विषय बन्नेछन्। आ–आफ्ना आग्रहले तत्कालीन अवस्था, शब्द, अर्थ, कारक पक्ष कार्य, कारक र परिणामलाई व्याख्या गरेर स्व–औचित्य सावित गर्ने कोशिस पनि होला। त्यो भने एकांकी नै हुन सक्छ। कर्ता नै विचलन र सत्ता प्राप्ति खेलमा रुमलिँदा पनि विद्रोहले पैदा गरेका सामाजिक र आर्थिक हस्तक्षेपले राजनीतिक क्रमभंगता जे ग¥यो त्यो भने मेटिन सक्दो रहेनछ। सामाजिक अन्तरविरोधको कुशलतापूर्वक हल भनेको प्रगतिशील राजनीतिले दिने उपचार हो र दिनुपर्छ। दिन सकेन भने कस्तै शक्तिले पनि भविष्यका विद्रोह र क्रान्ति रोक्न भने सक्दैन।

छटपटिएको जनमतको विचारमात्रै हैन, दिल, दिमाग र पेटको पनि व्यवस्थापनको सुनिश्चितता क्रान्ति र विद्रोहको आत्मा हुन्छ भन्ने विश्वस्त थिए। पेटको आगो दिमागमा पुगेपछि दिलले प्रतिक्रिया दिएर भूमिकामा मान्छे उत्रिन्छ। देश समाजको बारे भावुकताले सोच्ने कुनै निश्चित राजनीतिक पार्टी र नेताको मात्र बपौती सम्पत्ति पनि हुँदैन। तर, एउटा चरण पार गरेपछि भने क्रान्तिका सन्तान नै सत्ताधारी बन्न पुग्छन् तर जनताले भने कबोललाई बिर्सेका हुँदैनन्। इतिहासले कसैलाई बिर्सने छुट पनि दिदैन।

नकारात्मक कामले पनि कहिलेकाहीँ सकारात्मक परिणाम दिन्छ। नकारात्मकलाई सकारात्मकतामा फेर्ने पहल, कला र विकसित अवस्थामा भर पर्छ। अहिले माओवादीको लागि पनि त्यस्तै भयो। जनयुद्धबाट शान्तियुद्धमा आएपछि माओवादीमा युद्धले समग्र देश, आफ्नै पार्टीभित्र बढेका र बढाइएका महत्वाकांक्षा व्यवस्थापन गर्न सकेन। अन्ध–जातिवाद, अन्ध–धार्मिकता र अन्ध–क्षत्रीयतावाद बढ्न थाले। अर्को पक्ष विकास भयो– आफ्नै वरिपरी समाज, राजनीति घुमोेस् र मियोमा आपूm रहँु भन्ने व्यक्तिकेन्द्रित मनोगतवादको। चर्चाको भोक त पहिचानको रोगसँगै लाग्ने छूतको महामारी हो नै। विधिमा टेकेर विधि भत्काउँदै, विधि निर्माण गर्दै आएको पार्टी भत्काउने र निर्माणबीचको समयको जटिलतालाई कुशल व्यवस्थापन गर्न सकेन्, भ्याएन वा कला पुगेन। समस्या आउँछन् तर पुरानै विधिबाट हल गर्न सकिँदैन तर कमजोरी छिपाउन र औचित्य सावित गर्ने सबैसँग तर्क हुन्थे र त्यस्तै तर्क कोरलिए पनि।

इतिहासबोधः इतिहासका नायक र खलनायकबारे धारणा अहिले बनाउँदा तत्कालीन राजनीति, सामाजिक, आर्थिक सम्बन्ध र अवस्था, विश्वपरिस्थिति, भौगोलिक राजनीतिक अवस्था, शासकहरूको महत्वाकांक्षाको अध्ययन आवश्यक हुन्छ। आफ्ना विश्वासको औचित्य स्थापित गर्ने इतिहास दर्बिलो हतियार हो, त्यसै अनुसार इतिहासको सौन्दर्य वा कुरूपताको व्यवस्थापन हुने गर्छन्। शासक जातिको एउटा इतिहास हुन्छ भने सवाल्टर्नहरूको भिन्नै। तर इतिहासका क्रमभंगका पात्र, समय र अवस्था भने सबैले सकार वा नकार आत्मसात गर्छन्। जनयुद्धले उद्घोष गरेका मर्म र सन्देश इतिहासका विषय बने। आखिर त्यत्रो उथलपुथलकारी विद्रोही शक्ति आफ्नै चारित्रिक आदर्शका बोझ धान्न नसकेर कसरी यो अवस्थामा पुग्दोरहेछ? आफ्नै गौरवता नायकलाई नै किन गह्रांै बन्दोरहेछ? राजनीतिक परिवर्तनको स्वामित्व अगुवाले नै स्वयं लिन किन चुक्दा रहेछन्? सत्ता प्राप्ति नै राजनीतिको केन्द्रीय विषय हो। तर नयाँ सत्ता चरित्रले जन्माउने नयाँ मान्छे, नयाँ समाज, अवस्था कस्तो हुने? सम्पूर्ण क्रान्तिसँगै जन्मने प्रश्न हुन्। जे छ त्यो भन्न नसक्नु, जे छ त्यो देखाउन नसक्नुको पछाडिका कारक तत्व के–के हुन्? 

यो जनयुद्धको निर्मम समीक्षा हो। यो समीक्षा एकीकृत अवस्थाको माओवादीले गर्न नसके पनि सवाल्टर्न इतिहासकारहरुले गरेर नयाँ क्रान्तिको वैचारिक आधार र आत्मबल तयार गर्न आवश्यक छ। आखिर नायकहरु खलनायकमा फेरिए पनि इतिहासका सौन्दर्यगाथाको महिमा ग्लाडियटर स्पार्टाकसजस्तै गाइरहिनेछन् ।
– महान जनयुद्द जिन्दावाद
– वीर सहिदहरु जिन्दावाद
– चिहानबाट तिमीहरुले चिच्याइरहेका चित्कारहरु युगका वाणी बन्ने नै छन्।

नरेन्द्रजंग पिटर

(पिटर साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय