दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछः  राजदूत डा. मिश्र

dainikonline
रासस | माघ २१, २०७६ मंगलबार | 0

काठमाडाैं । भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उहाँकै कार्यकक्षमा  राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानी(माघ १२)को सम्पादित अंशः

राससःनेपाल र बङ्गलादेशको सम्बन्ध कस्तो पाउनुभएको छ ?

डा मिश्रः बङ्गलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ । हामी बङ्गलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ । सन् १९७१ डिसेम्बर १६ मा स्वतन्त्र बनेको बङ्गलादेशले सन् १९७२ मै नेपालसँग दौत्य सम्बन्ध कायम गरेको थियो । दुई देशका बीचमा एकै प्रकारको सांस्कृतिक व्यवहार एकै खालको र खानपान, रीतिरिवाज मिल्दोजुल्दो छ । नेपाली र बङ्गलादेशीको भाषाका कैयौँ शब्द पनि एउटै छ । यहाँको वातावरण र भौगोलिक क्षेत्र पनि हाम्रो देशको तराईजस्तो छ । यो झण्डै २७ किलोमिटरको दूरीको सीमा रहेको देश हो, भारतमा पर्ने सडक मार्ग ३७ किलोमिटरको दूरीको छ । हामीबीच सम्बन्ध नजीक हुँदाहुँदै पनि जति भ्रमणको आदानप्रदान हुनुपर्ने हो, त्यति हुन सकेको छैन । जनस्तरको जुन सम्बन्ध हुनुपर्ने हो, जुनस्तरमा व्यापार, व्यवसाय र अन्य आदानप्रदान हुनुपर्ने हो, त्यो भएको छैन ।

राससःभ्रमणको आदानप्रदान हुन नसक्नाको कारण ?

    डा मिश्रः समस्यारहित सम्बन्ध रहेको दुई मुलुकको बीचमा आदानप्रदान किन कमजोर भइरहेको छ भन्नेमा म आउनेबित्तिकै ध्यानाकर्षण भएको थियो । कारण खोज्दै जाँदा पहिलो कुरा कनेक्टटिभिटीकै असहजता हो भन्ने मैले ठानेको छु । हामीसँग हवाई सम्पर्क त निरन्तर छ तर पर्याप्त छैन । पहिले तीन÷चार उडान थियो, केही समयमा एउटामा मात्रै सीमित भयो । अहिले बल्ल दैनिक दुई उडान छ । सत्र करोड जनसङ्ख्या भएको देशमा दुई उडानले कति जोड्न सक्छ ? सबै जना जहाजबाट जाने भन्ने कुरा सम्भव पनि हुन्न । त्यसैले सडकमार्ग उनीहरुका लागि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई भारतीय भिसा चाहिन्छ । त्यसमा केही समस्याहरु छन् । उनीहरुलाई भारत घुम्न  बहुप्रवेशाज्ञा मिल्छ तर भारतबाट नेपाल आउँदा भिसा रद्द गरिन्छ र अर्काे ट्रान्जिट भिसा लिनुपर्ने बाध्यता छ । त्यसकारण उनीहरु सीमामा पुगेर पनि फर्किएका उदाहरण छन् । दोस्रो समस्या चाहिँ बङ्गलादेश, नेपाल, भुटान र भारतसमेत बसेर २०१६ मा थिम्पुमा एउटा ‘मोटर भेइकल एग्रिमेन्ट’ गर्ने कुरा भएको थियो । यसमा भुटान पछि हटेकाले कार्यक्रम अघि बढ्न सकेको थिएन । अहिले भुटानबाहेकका तीन देश मिलेर गरौँ र गाडी चलाऔँ भन्ने भएको छ । त्यसले केही प्रगति हासिल गर्ने आशा छ । त्यसले  नेपालमा पर्यटक भित्र्याउन असाध्यै सहज बनाउने छ । त्यो भयो भने बङ्गलादेशबाट नेपालमा जाने व्यक्तिको सङ्ख्या गुणत्मक रुपले वृद्धि हुने कुरामा दुई मत छैन । यससँगै अन्य कुरा पनि एकसाथ लैजानुपर्छ । अहिलेको सन्दर्भमा रेल र जलमार्गको विषय पनि महत्वपूर्ण छन् । 

राससः नेपाल–बङ्गलादेशलाई रेल र जलमार्गसँग जोड्न सकिने सम्भावना पनि छ ?

    डा मिश्रः अवश्य छ । रेल कनेक्टिभिटीको सम्भावनालाई पनि अगाडि बढाउनुपर्छ । सम्भावना उजागर हुँदै पनि गएको छ । जोगबनीबाट विराटनगर जोड्न सकिन्छ, यो व्यवस्थापन गर्न मात्रै बाँकी हो । बङ्गलादेशको पञ्चगढबाट न्यू¬ जलपाइगुडी हुँदै हाम्रो काँकडभिट्टासम्म रेल जाँदैछ । त्यसमा जोड्न सकिन्छ । त्यस्ता अन्य ठाउँ प्नि छन्, जुन नेपालबाट नजीक छ । एउटै रेलबाट बङ्गलादेश प्रवेश गर्न सकिन्छ र मालसामान पनि लैजान सकिन्छ । त्यो ठाउँलाई जोड्ने विषयमा पनि छलफल चलिरहेको छ । सन्धिसम्झौता गरेर व्यावहारिकरुपमा कार्यान्वयन गर्न जरुरी हुन्छ । रेलवेबाहेक जल यातायात पनि सम्भावना छ । हाम्रो सबै नदी गङ्गामा मिल्छ । त्यो गङ्गा यही बङ्गलादेशको पद्मा नदी हुँदै आउँछ । भारतले  गङ्गाबाट पद्मा हुँदै मङ्गला र चितगाउँ बन्दरगाह पुगेर व्यापार गरिरहेको छ । हामी पनि गङ्गामा जोडिनासाथ सहज भइहाल्यो । यसरी हवाई सम्पर्कमा पनि विराटनगर, भद्रपुरलगायत क्षेत्रीय हवाई सेवाको सञ्जाल बढाउनेतर्फ पनि हाम्रो जोड छ । 

राससः सम्पर्क सञ्जालको व्यावहारिक कार्यान्वयनमा यहाँको प्रयास के छ ? 

    डा मिश्रः हामी त्यसमा गम्भीरतापूर्वक लागेका छौँ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने दिन  जनवरी ७ मा अहिलेको रेलमन्त्री नै सहभागी हुनुहुन्थ्यो । उहाँले पनि नेपालमा रेल विभाग निर्देशक पठाउने प्रतिबद्धता जनाइसक्नुभएको छ । प्रगति होला भन्ने लागेको छ । पहल जारी छ । 

राससः बङ्गालीहरु नेपाल भ्रमण गर्ने अवस्था चाहिँ कस्तो छ ? 

    डा मिश्रः त्यति धेरै जनसङ्ख्या भएको देशमा सन् २०१८ मा झण्डै २६ हजारले मात्र भ्रमण गरेको देखियो, सन् २०१९ मा पनि त्यही हाराहारीमा छ । यो हेर्दा निकै न्यून हो । जनसङ्ख्या हेर्दा लाखमा भ्रमण हुनुपर्ने हो । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार यसपालि सरकारले बङ्गलादेशबाट मात्रै ७२ हजार आउँछन् भन्ने लक्ष्य राखेको छ । त्योचाहिँ कम लक्ष्य हो । हाम्रो प्रयत्न भने एक लाख नघाउने भन्ने छ । सम्पर्क सञ्जालकै समस्याले कमी देखिएको हो । उच्च वर्गका मान्छेले मात्रै हवाइजहाज रुचाउँछन् । मध्यम र सामान्य मान्छेले त सडक सञ्जाल प्रयोग गर्छन् । सतह मार्गबाट धेरैभन्दा धेरै बङ्गलादेशी जान सक्छन् । उत्तर पश्चिम रङ्गपुर र राजशाही डिभिजनमा  नै चार करोड मानिस छन् । नेपालको पूर्वभाग ब¬ङ्गलादेशको नजीक रहेको क्षेत्र हो । कतिपय त एक दिनमै गएर आउन सक्ने अवस्था छ । यस्ता क्षेत्रबाट आवागमन सहज बनाएमा भ्रमण बढ्छ । 

राससः नेपालीहरुचाहिँ कुन उद्देश्यले बङ्गलादेश आउने गर्छन् ? 

    डा मिश्रः अहिलेको परिस्थितिमा नेपालबाट बङ्गलादेश आउने भनेको मेडिकल शिक्षाका लागि नै हो । उनीहरु यही चार हजारभन्दा बढी छन् । त्यसपछि कृषि र इञ्जिनीयरिङ शिक्षाका लागि छन् । बाँकी थोरै भ्रमण र व्यापार व्यवसायका छन् । नेपालबाट पनि आउने कमै छ ।  नेपालबाट पनि यहाँ संयुक्त लगानी हुन सक्छ । विनोद चौधरीले यहाँ चाउचाउमा लगानी शुरु गरिसक्नुभयो । यहाँका पूँजीपतिले पनि नेपालमा लगानी गर्ने सम्भावना प्रबल छ । बङ्गलादेशको प्राण कम्पनी जुस उत्पादन गर्न सिमरामा लगानीको चरणमा गइसक्यो भन्ने सुनेको छु ।

राससः  भ्रमण वर्ष जारी छ, बङ्गलादेशबाट पर्यटक पठाउन दूतावासको पहल कस्तो छ ?

    डा मिश्रः हामीले यहाँ जनवरी ७ तारिखमा भ्रमण वर्षको शुरुआत ग¥यौँ । त्यसदिन यहाँका विभिन्न क्षेत्रका झण्डै ४०० मानिसलाई सहभागी गराएर भ्रमण वर्षको भव्य कार्यक्रम ग¥यौँ । डिजिटल प्रस्तुति, फोटो प्रदर्शनी र सांस्कृतिक कार्यक्रम ग¥यौँ । भ्रमण वर्षका लागि तीन जना बङ्गलादेशीलाई सद्भावनादूत  बनाएका छौँ । उहाँहरु प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । बङ्गलादेशबाट पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका एमए मोहित हुनुहुन्छ । उहाँले दुईचोटि सगरमाथा आरोहण गरिसक्नुभएको छ र दुई दर्जन अन्य हिमाल चढिसक्नुभएको छ । उहाँ नेपालमा हरेक वर्ष दुई पटक टिम लिएर जानुहुन्छ । उहाँ चढेको एउटा चुचुरालाई ‘नेपाल बङ्गलादेश फ्रेन्डसिप पिक’ नै नामकरण गरिएको छ । यहाँकी प्रसिद्ध गायिका मेहरिनलाई पनि सद्भावनादूतमा नियुक्त गरेका छौँ र अत्यन्तै लोकप्रिय सिने कलाकारलाई पनि जोडेका छौँ । उहाँहरुको सहभागितामा विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौँ ।  प्रवचन, प्रतियोगितात्मक कार्यक्रम गर्ने सोच छ । यहाँका १० पत्रकारलाई नेपालमा सद्भावना ट्रिपमा पनि पठाएका थियौँ । उहाँहरुले यहाँ आएर विभिन्न पत्रपत्रिकामा लेख, समाचार लेखिरहनुभएको छ । अर्काे कुरा, विभिन्न छोटा डकुमेन्ट्री बनाएर प्रदर्शन गर्ने सोच पनि बनाएका छौँ ।

राससः गत कात्तिकमा बङ्गलादेशका राष्ट्रपनि मोहम्मद अब्दुल हमिदले नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो, उक्त भ्रमणलाई यहाँका नागरिकले कसरी लिएका छन् ?

    डा मिश्रः त्यसलाई यहाँका मानिसले असाध्यै महत्वपूर्ण र सकारात्मक रुपमा लिएका छन् । बङ्गलादेशको राष्ट्रप्रमुख नेपाल नगएको ३७ वर्ष भएको रहेछ । उहाँको भ्रमणले एउटा ‘आइसब्रेक’ नै भएको छ । उहाँले पोखरा, भक्तपुरलगायत ठाउँ पनि घुम्नुभयो । यसले राम्रो वातावरण बनाएको छ । भ्रमणले बङ्गलादेशलाई ठूलो प्रभाव पारेको छ र नेपाल घुम्ने चाहना जागेर आएको पाइएको छु । भ्रमणले बङ्गलादेशी जनतामा नेपालप्रतिको अभिरुचि र नेपाल घुम्ने चाहना जगाउने, नेपालप्रतिको आकर्षण बढाउने काम गरेको छ । हाम्रो भ्रमण निरन्तर भइरहनुपर्छ । त्यसको कडीको रुपमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फेब्रुअरीमा यहाँ आउँदै हुनुहुन्छ । भविष्यमा सभामुखलाई पनि निम्तो जाँदै छ । यहाँका राष्ट्रपिताको जन्मशताब्दी समारोहमा भाग लिनका लागि सभामुखलाई निम्तो गरिएको छ । त्यसकारण उच्चस्तरीय भ्रमण बाक्लिने अवस्था बनेको छ । यसले हाम्रो सम्बन्धलाई उचाइमा पु¥याउने विश्वास छ । केही देखिएका समस्या समाधान गर्दै फड्को मार्ने गरी अगाडि बढ्नु पर्नेछ । 

राससः समस्या भन्नाले ?

    डा मिश्रः अहिले हामीले गर्नुपर्ने चार कुराहरु छन् । अघि भनेजस्तै मुख्यतः कनेक्टिभिटी हो । दोस्रो भनेको व्यापार हो । त्यो व्यापारमा पहिलो नम्बरमा ऊर्जा हो । हामी बङ्गलादेशलाई ‘ग्रिन इनर्जी’ दिन सक्छौँ, नवीकरणीय ऊर्जा दिने भनेको जलविद्युत् हो । त्यसमा उहाँहरुको लगानी प्रवद्र्धन गर्ने, संयुक्त लगानी गर्ने या हामीले उत्पादन गरेको विद्युत्लाई बङ्गलादेश पठाउने र एउटा प्रसारण लाइन बनाउने भन्ने महत्वपूर्ण विषय हो । त्यो विषय नजीक पुगेको छ, धेरै सम्झौता भएको छ । भारतले पनि मञ्जूर गरिसकेको छ । तेस्रो भनेको पर्यटन हो । भिसा र कनेक्टिभिटीको समस्या समाधान गर्दै प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने मुख्य विषय छ । अर्काे भनेको नियमित भ्रमण र सम्बन्ध आदानप्रदान जरुरी छ । बङ्गलादेश प्रविधिमा धेरै अघि बढिसकेको छ, त्यसलाई पनि प्रयोग गर्न सक्नुपर्छ । त्यसबाहेक वस्तु व्यापार हो । नेपालमा भएका धेरै कुरा चिया, कफी अम्रिसो, अदुवा, अलैँची, दालचिनी, दाल, फलफूल तरकारी, धागो पनि सप्लाई गर्न सक्छौँ । धागोको असाध्यै माग छ यहाँ । चीनबाट यहाँ ल्याइरहेका छन् । यस्ता वस्तु निर्यातमा पनि केही समस्या छन् । त्यसका लागि व्यापार सम्झौता (पिटिए) गर्न कुराकारी चलिरहेको छ । अनि विकास गर्न सहकार्यात्मक अवधारणा अघि बढ्नुपर्ने जरुरी छ । 

राससः बङ्गलादेशले नेपालको ऊर्जा किन्ने विषय कहाँ पुग्यो ?

    डा मिश्रः नेपाल बङ्गलादेशबीच सबैभन्दा प्रगति भएको क्षेत्र नै ऊर्जा हो । विगतमा यसमा केही समस्या थिए जस्तै भारत भएर हामी ल्याउने कसरी ? त्यसका लागि भारतसँग लामो छलफल भयो । भारतले अन्ततः दुई वटा कुरा मञ्जूर गरिसकेको अवस्था छ । हाम्रो डेडिकेटेड विद्युतीय प्रसारण लाइन बनाउने कुरा महत्वपूर्ण थियो । त्यसमा भारतले मञ्जूर गरिसकेको छ । अनि विद्युत् प्रवाह गर्न दिन पनि उनीहरु तयार भएका छन् । यो ठूलो उपलब्धि र सकारात्मक कुरा हो । धेरै छलफलपछि बङ्गलादेशले नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने र बिजुली किन्ने लिखितै सम्झौता भएको छ । खाली कुनकुन लिने, कसले लिने र कसले लगानी गर्ने भन्ने व्यवहारमा प्रयोग गर्न मात्रै बाँकी छ । त्यसमध्ये एउटा भारतीय जलविद्युत् कम्पनीले बनाइरहेको नेपालको विद्युत् परियोजनाबाट ५०० मेगावाट बङ्गलादेशले किन्ने भनेर अर्काे सम्झौता पनि भइसकेको छ । विद्युतीय आदानप्रदानको कुरा निकै अगाडि बढेको छ । व्यवहारमा कार्यान्वयन गरेको देख्न सक्ने अवस्था बनेको छ ।  

राससः नेपालको विद्युत् यस वर्षदेखि बङ्गलादेशले प्रयोग गर्छ भन्न सकिने अवस्था छ ? 

    डा मिश्रः ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर म के देख्छु भने दुई वर्षभित्रमा केही मात्रामा भने पनि नेपालबाट बङ्गलादेशमा विद्युत् पुगिसकेको हुन्छ । नेपालका विभिन्न जलविद्युत् आयोजनाले उत्पादन गरेको केही विद्युत् बङ्गलादेशमा सप्लाई भएको देख्न सक्छौँ । त्यसबीचमा धेरै लगानी पनि भइसकेको हुन्छ । त्यो सम्भावना नजीक बनेको छ । 

राससः नेपालमा अघिल्लो वर्ष लगानी सम्मेलन भयो, त्यसले यहाँका व्यवसायीलाई आकर्षण गराउन सक्यो कि सकेन ? 

    डा मिश्रः लगानी सम्मेलनले सकारात्मक वातावरण तयार पारेको छ । त्यसको प्रचारप्रसार जरुरी छ । नेपालभित्र संयुक्त लगानी लगाउने, एकल लगानी लगाउने वातावरण छ, सहयोग गर्छौं भनेका पनि छन् । सम्भावना नजीक रहेको महसुस गरेको छु । लगानी गर्न व्यवसायी पनि इच्छुक नै रहेको मैले पाएको छु । व्यापार अभिवृद्धि हुने आशा छ ।

राससः बङ्गलादेशी व्यापारीको लगानीको प्राथमिकता कुन क्षेत्रमा छ ?

    डा मिश्रः वास्तवमा बङ्गलादेशी जलविद्युत्को क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् । दोस्रो कुरा केही अझै अध्ययनको चरणमै छन् । जुस निर्माण गर्ने, केही बिस्कुट, एग्रोबेस उत्पादन गर्ने रुचि पनि देखिन्छ । नेपालमा कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भन्ने उनीहरु अझै डिसिजनमा पुगिसकेका छैनन् तर प्राथमिकता ऊर्जामा नै छ । 

राससः भेटिएका केही विद्यार्थीले नेपालबाट पैसा ल्याउन समस्या भएको गुनासो गरेका छन्, तपाईलाई कतिको जानकारी छ ? 

    डा मिश्रः त्यस्ता केही समस्या छन् । त्यसबारेमा हामीले कुरा गरिरहेका छौँ । यहाँका टुर अपरेटरहरुले पैसा पठाउने कुरा, बैंकिङ प्रणालीबाट पैसा आदानप्रदान गर्ने कुरामा समस्या छन् । यसमा हामी गम्भीर छौँ । समस्या हल गर्न पहलकदमी भइरहेको छ । त्यस्तै भिसाका कुरा छन् । विद्यार्थीलाई शुरुमा छ महिना मात्रै भिसा दिइन्थ्यो । त्यो हल भइसकेको छ । एकै पटक चार वर्षको दिने भन्ने कुरा भएको छ । त्यसबाहेक अन्य केही सानातिना समस्या छ । हल गर्ने प्रयत्न छ । 

राससः नेपालले बङ्गलादेशबाट सिक्नुपर्ने कुरा के देख्नुहुन्छ ?

    डा मिश्रः असाध्यै महत्वपूर्ण प्रश्न गर्नुभयो । बङ्गलादेश कुनै जमानामा अनिकालग्रस्त थियो । मानिसको मृत्यु कहालीलाग्दो थियो । यहाँ बाढी, समुद्री आँधीले सधैँ सताउँछ । त्यसैले विपद् व्यवस्थापनका लागि छुट्टै मन्त्रालय बनाइएको छ । यस्तो देश खाद्यान्नमा आत्मनिर्भर भएर अब निर्यात गर्न थालेको छ । अविकसित राष्ट्रबाट मध्यम आय भएको देशमा उक्लिसकेको छ । हामी नेपालीले पहिलो सिक्नुपर्ने यही हो । यहाँ तीन बाली धान हुन्छ । हाम्रोमा किन हुँदैन ? तराईमा त होला नि । तपाईं अहिले पनि बङ्गलाबन्दको सीमानाका जानुभयो भने नेपालमा भारीका भारी मकै र आलु गइरहेको छ । कृषिमा उनीहरु कसरी फड्को मारे, त्यो हामीले सिक्नुपर्छ । मचान बनाएर माथि तरकारी तल माछा पालिरहेका छन् । प्रविधिको प्रयोग गरेर काम गरिरहेका छन् । ‘डिजिटल बङ्गलादेश’को स्लोगन बनाएर काम गरिरहेका छन् । आफ्नै स्याटलाइट ‘बङ्गबन्धु स्याटलाइट एक’ बनाइसके । यहाँका टेलिभिजनले आफ्नै देशको स्याटलाइट प्रयोग गर्ने भनेर कानून नै बनाइसक्यो । व्यावहारिक प्रविधिले कसरी यहाँको सामाजिक परिवर्तनमा भूमिका खेल्यो भनेर सिक्न सक्छौँ । शैक्षिक  र अनुसन्धानको तहमा आदानप्रदान गरेर एक अर्काबाट सिक्न सकिन्छ । (ढाकाबाट फर्केपछि)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय