‘छाउगोठ’को विकल्प : हरेक घरमा ‘महिला कक्ष’

dainikonline
कुमार शाह | माघ २१, २०७६ मंगलबार | 0

‘छाउ’ भनेको सुदुरपश्चिमी स्थानीय भाषामा महिलामा हुने महिनावारी वा रजस्वला हो। ‘छाउपडी’ भनेको रजस्वला भएकी महिला भनेको हो। ‘छाउगोठ’ भनेको महिनावारी भएकी महिला बस्नमा लागि बनाइएको सानो झुप्रो वा गोठ हो। महिलाहरुलाई रजस्वला भएका बखत घरपरिवारसँग लसपस हुने या ‘छोइने’ नहोस् भनेर यही छाउगोठमा राख्ने गरिन्छ। सुदूरपश्चिममा यसलाई प्रथा परम्पराको रुपमा लिइँदै आएको छ। खसान क्षेत्रमा लामो समयदेखि अभ्यास हुँदै आएको हुनाले सिंहदरबारवालाहरुले जानिफकार भई भन्ने गरेको जस्तो यो कुरीति वा अन्धविश्वास मात्र होइन। प्रथा वा परम्पराका रुपमा विकास भइआएकाले उद्दण्डतापूर्वक निषेधित गरेर, बल प्रयोग गरेर, दादागिरी देखाएर, बोलकबोल वा भाकल गराएर, सार्वजनिक सुनुवाई गराएर, खिसिट्युरी गरी उडाएर, नाक चेप्य्राएर, आँखा सन्काएर, घरगोठ भत्काएर, प्रशासन लगाएर वा हेलिकप्टर चार्टर गरी ठूलाबडाले वचन पारेर यो निमिट्यान्न हुँदैन। यसलाई आधुनिकीकरण र वैज्ञानिकीकरण गरी रुपान्तरण गर्नतिर नै जोड दिनुपर्दछ। 

तर हाल सत्तामा रहेको कम्युनिष्ट सरकारले प्रथा, परम्परा, संस्कार, संस्कृति आदिको रुपान्तरण र आधुनिकीकरणका बारेमा कुनै सामान्य रुपरेखासम्म तयार नपारी प्रशासनिक हल खोज्नु बिडम्बनाको कुरा हो। विना सोच विचार सुदूरपश्चिमका छाउगोठहरु भत्काउन सिंगो राज्यसत्ता प्रयोग गरिनु जनतामाथि दमन र दादागिरी देखाउनु हो। ‘होलीवाइन शेचन’का लागि केन्द्रीय राजकाजको थलो सिंहदरबार नै होटल सोल्टीजस्तो नितान्त प्राइवेट तारे होटलमा सारेर तीन दिनसम्म क्रिश्चियन पुनर्जन्म (व्याप्टिज्म) का क्रियाकलापहरु सम्पन्न गर्ने सिंहदरबारे शासक, प्रशासक तथा न्यायदाताहरुमा छाउगोठ भत्काएपछि ‘छाउ’ र ‘छाउपडी’ नै रहँदैन भन्ने सोचले जब्बर रुपमा घर गरेको  देखिन्छ। तर ‘छाउ’ भनेको रजस्वला र ‘छाउपडी’ भनेको रजस्वला भएको अवस्था हो, यो मानव जीवन र विशेषतः महिलाको स्वास्थ्य जीवनसँग सम्बन्धित प्रकृति प्रदत्त कुरा हो। 

अठारौं शताब्दीको पूर्वाद्र्धसम्म आर्य समुदायमा पुरुषको स्वप्नदोष (सपनामार्फत् वीर्य स्खलन) भएमा स्नान गराउने र त्यसदिन सामूहिक तथा सार्वजनिक कार्यहरुबाट बिदा दिएर आराम गराउने चलन कायमै थियो। सरसफाइ र शुद्धताको कसीमा हेरिंदै र व्यावहारिक प्रयोगमा ल्याइँदै गरिएको यो कुरा पछि आएर पितृसत्ताको वर्चस्वसँगै स्वास्थ्यभन्दा पनि महिलाहरु महिनावारीका बेला ‘अछूत’ रहनेजस्ता केही कुरीतिजन्य कुराहरु थपेर बाध्यात्मक बनाइएको देखिन्छ। 

छाउपडी प्रथाका केही सकार र केही नकार पक्षहरु अवश्यै छन्। प्रथा परम्परा भनेका लामो व्यावहारिक अभ्यासका परिणाम हुन्। यिनले सम्बन्धित सभ्यताका समुदाय वा मानिसमा क्रमशः विकास हुँदै आएको सोच, मनोविज्ञान, विश्वसनीयता, स्वीकार्यतासहितको समग्र जीवनपद्धतिलाई केही अलिखित सामाजिक संहितामार्फत् बाँधेका हुन्छन्। जीवनपद्धति बनेका यी कुराहरुका केही नकारात्मक पक्षहरु विलोप हुँदै र सकारात्मक पक्षहरु समयसापेक्ष रुपान्तरित र परिवर्तित हुँदै व्यवहारिक प्रयोगमा आइरहेका हुन्छन्। सरकारले विना विकल्प छाउगोठहरु भत्काउने उन्मादी अभियान गाउँ–गाउँमा लैजाँदै गर्दा स्थानीय जनताले प्रश्न गरिरहेका छन्, ‘के छाउगोठहरु भत्काउँदैमा महिलाको छाउ (रजस्वला) रोकिन्छ त, छाउ भएमा कहाँ राख्ने अब?’ 

यो प्रश्नका पछाडि मूलतः दुई तथ्यहरुले काम गरेका छन्: पहिलो हो– आमा, श्रीमती, दिदीबहिनी र छोरीहरु अनिवार्य रजस्वला हुन्छन्, यो रोकिदैन। दोस्रो हो, छाउगोठ छैन कहाँ सुरक्षित गरेर राख्ने? पहिलो प्रश्न प्रकृतिप्रदत्त महिला रजस्वला र त्यसको प्रथाजन्य सामाजिक व्यवस्थापनको मनोवैज्ञानिक सोचमा खडा छ। दोस्रो प्रश्नचाहिं उनीहरुको आर्थिक धरातलमा व्यावहारिक समस्या बनेर आएको छ। पहिलो प्रश्नले उनीहरुलाई भत्काइएको छाउगोठ पुनर्निर्माण गर्नतिर उद्दत गराइरहेको छ भने दोस्रो प्रश्नले गरीबी छ, के पैसाले छाउगोठ पुनर्निर्माण गर्ने भन्ने समस्या खडा गरिदिएको छ। अर्कोतिर सरकारले यसको कुनै पनि बिकल्पविना छाउगोठ भत्काइरहेको छ। 

शासक वा नेताहरु बसेका महल, दरबार, निवास, फ्ल्याट वा कोठैकोठा भएका सुविधाजनक घरहरु जनताका छैनन्। बुइगलमा अन्नपात राख्ने, बीचको खुल्ला तलामा अगेनु घेरेर जहान परिवार बस्ने र भूइँतलामा गाईभैंसी र बाख्राहरु राख्ने गरी एउटै घरमा गुजारा चलिरहेको छ। यस्तो बसाइको वस्तुगत परिस्थितिले पनि रजस्वला भएको अप्ठ्यारो अवस्थामा छुट्टै छाउगोठ बनाएर आमा, दिदी, बहिनी वा छोरीलाई सुरक्षित राख्ने सोच निर्माण गरिदिएको हुनसक्छ। शायद यो उनीहरुको हेराइमा वैज्ञानिक व्यवस्थापन नै होला। तर योसँगै सूर्यको मुख हेर्न नहुने, पुरुषको अनुहार हेर्न नहुने, गोठभन्दा बाहिर निस्कन नहुने, रातमा मात्र दिसापिसाब गर्ने, नुहाउने सुविधा नहुने, घ्यू, दहीदूध खान नहुने आदिजस्ता छोइछिटो बार्ने कुरीति पनि जोडिएका छन्। बनाइएका छाउगोठहरु घरभन्दा टाढा हुनु, कम कपडा मात्र प्रयोग गर्न दिनु, एक्लै राख्नु आदि अव्यवहारिक र अमानुषिक कुराहरु पनि छन्। 

यी गलत कुराहरुको अन्त्यका लागि विकल्पसहितको सचेतना अभियान जरुरी छ। यसमा महिलाहरुका लागि स्वास्थ्य, सरसफाइ तथा आहारविहारसम्बन्धी कार्यक्रम, पुरुषहरुमा रहेको पितृसत्तावादी सोच र दृष्टिकोण रुपान्तरणबारे भिन्न कार्यक्रम, वर्तमान संविधान तथा ऐनकानुनप्रदत्त अधिकार कार्यान्वयनका लागि आर्थिक प्याकेजसहित कार्यक्रम आदि टोल–टोल र घर घरमा लैजानु जरुरी छ। जसरी ‘एक घर, एक चर्पी’ को अवधारणा अघि सारेर सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र बनाइयो, त्यसैगरी सुदूरपश्चिम र देशका अन्य स्थान, जहाँ छाउपडी प्रथा कायमै छन्, त्यहाँ हरेक घरसँग जोडेर कम्तिमा वाथरुम, ट्वाइलेट र किचनसहित दुईकोठाको ‘महिला कक्ष’ (फिमेल वार्ड) निर्माण गर्नु जरुरी छ। छाउगोठहरुलाई यी वार्डहरुमा रुपान्तरण गरिनुपर्छ। अहिले उन्मादी अभियानका रुपमा सरकारले भत्काएका सबै छाउगोठहरुको उचित क्षतिपूर्तिसहित हरेक घरमा ‘महिला कक्ष’ निर्माणका लागि आर्थिक बजेट हात हात पु¥याउनु पर्छ। हरेक घरहरुमा यस्ता केही सुविधासम्पन्न वार्डहरु बनेमा रजस्वला वा सुत्केरी महिलाहरुले हालसम्म पाएको असुविधाबाट मुक्ति पाउने छन्। उचित भेन्टिलेटरसहितका यस्ता वार्डहरुमा सेनिटरी टबेल, प्याड, औषधि, आवश्यक कपडालत्ता आदि स्थानीय सरकारमार्फत् उपलब्ध गराइनु पर्छ।

सरकार भनेको विद्रोही संगठन वा विद्रोही अभियान होइन, जो भत्काउनतिरै उद्दत होस्। बरु सरकार भनेको सिर्जनात्मक जनपक्षीय विकल्प दिनसक्ने हैसियतको सिंगो देश र जनताको दिगो र सेवामय वैज्ञानिक व्यवस्थापक हो। प्रथा, परम्परा र समाज रुपान्तरणमा निरन्तर आर्थिक सहयोगसहितको ‘काउन्सेलिङ’ को जरुरी पर्ने यथार्थतालाई राज्यले नजरअन्दाज गर्न मिल्दैन। 

विना विकल्प जनचाहनाविपरीत छाउगोठ भत्काउने सरकारी क्रियाकलाप मध्ययुगीन बर्बरता हो। कोही ‘सभ्य’ र ‘शिक्षित’ अनि अरु कोही ‘असभ्य’ र ‘गवाँर’का रुपमा चित्रित गर्न खोज्नु दण्डनीय कुरा हो। सुधार, परिमार्जन र वैज्ञानिकीकरण आमूल परिवर्तनतर्फ समाजलाई रुपान्तरणको बाटोमा डो¥याउने मात्रात्मक विधि र तरीकाहरु हुन्। तर दुर्भाग्य, सुदूर पश्चिमेलीहरुका छाउगोठहरु विना सहमति, विना विकल्प, विना कुनै सिर्जनात्मक कार्यक्रम, विना क्षतिपूर्ति, विना जनअनुमोदन निरन्तर भत्काइँदै लगिएका छन्, त्यो पनि एक्काइसौं शताब्दीका समाजवादी नेता र तीन तहका सरकारहरुद्वारा!

माओवादी जनयुद्धकालका हिजोका दिनमा वैचारिक तथा व्यवहारिक रुपमा छाउप्रथा रोक्न निकै पहल भएको थियो। आमूल परिवर्तनको नारा दिएको माओवादीले ‘सुधार’ वा ‘परिमार्जन’मा हेक्का राख्न सक्दैनथ्यो। यो उसमा रहेको कार्यनीतिक, सिर्जनात्मक र कलात्मक कमजोरी थियो। त्यसैले छाउप्रथा रोक्न माओवादी विफल भयो। सांस्कृतिक रुपान्तरणमा जनता बलप्रयोग रुचाउँदैनन्, बरु विकल्प चाहन्छन्, त्यो पनि सिर्जनात्मक र रुपान्तरणउन्मुख। तर नेपालका कम्युनिष्टहरु होऊन् वा प्रजातन्त्रवादीहरु, यिनीहरु सबै निषेधात्मक वा मिचाहा देखिन्छन्। कार्लमाक्र्सले विगतलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोण अंगालेर अध्ययन गर्न र विगतका नकारलाई निषेध र सकारलाई अवलम्बन गरी अघि बढ्न सिकाएका कुरा स्वयम् कम्युनिष्टहरु पनि आत्मसात गर्दैनन्। 

प्रजातन्त्रवादी भन्न रुचाउनेहरु यथास्थितिमा रम्ने र प्रगतिभन्दा पश्चगमनतर्फ सर्न नहिच्किचाउने र कम्युनिष्ट भन्नेहरु सिर्जनात्मक र रुपान्तरणउन्मुख हुँदै जान नसक्ने आदि वैचारिक रोगले नेपाली समाज थिल्थिलिएको छ। पुराना तथा चलनचल्तीका प्रथा, परम्परा र संस्कार तथा संस्कृतिमा समयसापेक्ष रुपान्तरण नआउनु, रुपान्तरणका विधि र विकल्प दिने क्षमताको सर्वथा अभाव रहनु तथा कार्यनीतिक कार्यक्रमहरु बनाउनै नसक्नुले समाज पुरानै ढर्रामा रहन बाध्य छ। कतिपयले आफ्ना सोचविचार अग्रगामी र आमूल परिवर्तनकारी भएको दावा गर्दा पनि उपर्युक्त कारणहरुले गर्दा ढोंगीजस्तो बनेर एक्लिएर सिद्धिनु वा हराएर जानु नेपालका पार्टीहरुको विडम्बना बनेको छ। 

सुदूरपश्चिममा छाउसँग निर्देशक विचारका रुपमा जोडिएको एउटा बलियो सामाजिक पद्धतिगत स्कूलिङ छ, त्यो हो धामीको स्कुलिङ। धामी स्थानीय सामाजिक मर्यादामा उच्च स्थानमा रहन्छन्। खस सभ्यताको उद्गम र विकास भएको थलो भएकाले पनि पश्चिम नेपालमा चोखो, शुद्ध, छुवाछूत, देवीदेवता, स्वर्ग, नर्क, भूतप्रेत र स्मसानका कुरामा केही बाक्लो विश्वास राखिन्छ। धामीको सामाजिक स्कूलिङ यथावत रहेकाले धामीको सोच र व्यवहारमा परिवर्तन ल्याउन विकल्पसहित नयाँ स्कूलिङ जरुरी छ। रुपान्तरणको नयाँ स्कूलिङमा धामी विश्वस्त भएर तदनुरुपको व्यवहार गर्ने परिपाटीको थालनीमा लागे भने सुदूर पश्चिमेली समाजले छाउप्रथा रुपान्तरणको बाटो सजिलै पछ्याउने देखिन्छ। 

एकाध उटपट्याङकर्ताहरुलाई छोडेर आमजनमानसमा केही अलौकिक, केही मौलिक र केही अन्धविश्वासपूर्ण सामाजिक धारणा जुनसुकै सभ्य भनिने समाजमा पनि पाइन्छ। सुदूरपश्चिममा रहेको छाउपडी प्रथा रुपान्तरणको मोडमा छ। यही बेलामा हरेक घरमा ‘महिला कक्ष’ जस्ता भौतिक संरचना निर्माणको योजनासहित विकल्प अघि सारिनु जरुरी छ। यसले छाउपडी लगायतका प्रथाहरुमा बदलाव ल्याउन मद्दत पु¥याउने छ। तर छाउपडी प्रथा अंगीकार गर्नेहरु ‘अशिक्षित’ र ‘गवाँर’ हुने र सत्ताधारीहरु ‘शिक्षित’ र ‘सभ्य’ हुने भन्ने डलरवादीहरुको बाइबलीय शिक्षाको अन्धानुकरण गर्दै आक्रमण र अतिक्रमण गर्न थालियो भने यो भूसको आगोमा परिणत हुन बेर लाग्ने छैन। 

सुदूरपश्चिमेली जनताको जीवनपद्धतिसँग जोडिएको छाउपडी प्रथामाथि अशिक्षा र अज्ञानताको आरोपमा बल प्रयोगमा उत्रनु सांस्कृितक अतिक्रमण हो। अतिक्रमणले द्वन्द्व निम्त्याउँछ, सांस्कृतिक अतिक्रमण सबैभन्दा बढी अपाच्य र पीडादायी हुन्छ। २०५० सालमा कर्णालीको चिसापानीमा पुल बनेपछि मात्र सिंहदरबारसँग जोडिएका सुदूरपश्चिमेलीहरुसँग सिंहदरबारको धेरै घुलमिल र सामिप्यता छैन। नेपाल एकीकरणदेखि २०५० सालसम्मको निकै लामो इतिहासको कालखण्डमा सिंगो नेपालको मूल प्रवाहीकरणबाट बाहिर राखिएको सुदूरपश्चिमको मनोविज्ञानलाई जिस्क्याएर सिंहदरबारेहरुले घिरौलाजत्रो नाक बनाउन खोज्नु कुनै कोणबाट पनि उचित देखिदैन।
 

कुमार शाह

(शाह पत्रकार, साहित्यकार तथा लेखक हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय