पठन संस्कृतिः केही चिन्ता–केही चिन्तन

dainikonline
टीकाराम उदासी | माघ ११, २०७६ शनिबार | 0

संस्कृति भनेको मानिसको जीवन शैली हो । यो भौतिक र आत्मिक दुई प्रकृतिको हुन्छ । भौतिक संस्कृति जीवनको बाह्य पक्षसँग जोडिएको हुन्छ भने आत्मिक संस्कृति मानिसको वैचारिक पक्ष वा जीवन दर्शनसँग सम्बन्धित हुन्छ । भौतिक संस्कृतिलाई मूर्त संस्कृति र आत्मिक संस्कृतिलाई अमूर्त संस्कृति पनि भन्ने गरिएको छ । सबै व्यक्तिहरु समाजसँग स्वतः जोडिने भएका कारण स्वाभाविकै रुपमा कुनै पनि समाजको संस्कृति भन्नाले त्यस समाजमा विद्यमान मानिसहरुको समग्र जीवनशैलीबाट निर्मित संस्कृति हो । यसरी हेर्दा संस्कृतिको क्षेत्र निकै व्यापक र वहुआयामिक पनि देखिन्छ । 

संस्कृति आफैमा विविधतायुक्त हुने भएका कारण यसका पनि अवश्य नै सकारात्मक र नकारात्मक दुबै आयामहरु हुन्छन् । कुनै पनि समाजको संस्कृतिभित्र सकारात्मक पक्ष र नकारात्मक पक्ष दुबै हुने भएकाले यसको अनुसरण गर्ने क्रममा निकै विचार गर्नु अति जरुरी देखिन्छ । संस्कृतिभित्र मानव सभ्यता, इतिहास, शिक्षा र जीवनोपयोगी आदि सामग्रीहरु पनि हुन्छन् । यसभित्र अर्थहीन रुढिवादी व्यवहार, असामाजिक तत्व र चिन्तनहरु पनि हुन्छन् । नेपाली संस्कृति पनि यसबाट अवश्य पृथक छैन । 

नेपाली समाजमा संस्कृतिको संरक्षण र परिवर्तनको आवाज उठ्न थालेको धेरै दशक भइसक्यो । खासगरी पछिल्लो ऐतिहासिक राजनीतिक परिवर्तनसँगै यसले आफूलाई एउटा गतिलै विमर्शको केन्द्र पनि बनाएको विदितै छ । हाम्रो समाजमा कतिपय मानिसहरु संस्कृतिको संरक्षणतर्फ मात्रै जोड दिइरहेका देखिन्छन् भने कतिपयले संस्कृतिको परिवर्तनलाई मात्र आफ्नो चिन्तनको क्षेत्र बनाइरहेका भेटिन्छन् । तर हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने समाजमा रहेका असल र जीवनोपयोगी संस्कृतिहरुको संरक्षण तथा गलत र अवैज्ञानिक संस्कृतिको परिवर्तन हुनुपर्छ । सबै संस्कृतिको संरक्षण हुनुपर्छ वा सबै संस्कृतिको परिवर्तन हुनुपर्छ भन्नेजस्ता दुबै अतिवादी चिन्तनबाट हामी सबै समयमै मुक्त बन्न सक्नुपर्छ । यसले मात्रै हाम्रो समाजलाई सही दिशामा लैजान सक्छ । तर यसबारेमा हामीकहाँ जे जसरी बहस र चिन्तनहरु हुनुपर्ने हो त्यो अझै हुनसकेको भने छैन ।

समाजमा संस्कृतिका अनेक आयामहरु छन् । तीमध्ये पठन संस्कृति पनि संस्कृतिको  एउटा अति महत्वपूर्ण आयाम हो । पठन संस्कृति सामाजिक संस्कृतिकै एउटा पक्ष हो । यो ज्ञानार्जन र ज्ञानप्रयोगसँग सम्बन्धित संस्कृति हो । यो समाजको शिक्षाप्रणाली र व्यवहारसँग प्रत्यक्ष सरोकार राख्ने संस्कृति हो । यो मानिसको बौद्धिक विकास र प्राज्ञिक व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने तत्व हो । पछिल्लो समयमा पठन संस्कृतिका बारेमा विभिन्न माध्यमहरुबाट चर्चा परिचर्चा र बहसहरु सार्वजनिक भइरहेका छन् । केन्द्र, क्षेत्र र स्थानीय स्तरमा भइरहेका यस खालका बहसहरुले थोरै भए पनि पठन संस्कृतिका बारेमा बुझ्न र त्यसलाई विस्तार गर्न सकारात्मक सहयोग नै प्रदान गरिरहेका छन् । यस सन्दर्भमा पठन संस्कृतिलाई प्रभाव पार्ने केही पक्षहरुका बारेमा छलफल चलाउनु पनि उत्तिकै सान्दर्भिक देखिन्छ किनभने पठन संस्कृतिसँग सरोकार राख्ने यी पक्षहरुका बारेमा स्पष्ट नभई न यसको सार्थक बहस अगाडि आउन सक्छ, न त नेपाली समाजमा पठन संस्कृतिको सही रुपले प्रबद्र्धन नै गर्न सकिन्छ । यो आलेख यसैतर्फको एउटा प्रारम्भिक जमर्को हो । 

सोझो भाषामा पठन संस्कृति भनेको कुनै पनि समाजको अध्ययन संस्कृति हो । यसलाई अङ्ग्रेजीमा Reading culture भनिन्छ । अध्ययन संस्कृति वा पठन समाजसापेक्ष हुन्छ । कुनै समाजमा ज्ञानप्रतिको भोक र सम्मान बढी छ भने त्यहाँ यसको मात्रा बढी हुन्छ भने ज्ञानप्रतिको भोक वा सम्मान कम छ भने त्यहाँ यसको मात्रा स्वाभाविकै रुपमा कम नै हुन्छ । नेपाली समाजमा पठन संस्कृति बढिरहेको छ कि घटिरहेको छ ? यसबारे खासै बहस भएको देखिदैन । पछिल्लो समयमा यसबारेमा अनेक कोणहरुबाट टीकाटिप्पणी भने भइरहेकै छन् । केही विश्लेषकहरु औपचारिक शिक्षा प्राप्त गरेको वा गरिरहेको शिक्षित समाजको विस्तारसँगै नेपाली समाजमा अध्ययन संस्कृति बढ्दै गइरहेको ठान्छन् । तर अर्काथरिका विश्लेषकहरु भने यो तर्क मान्न तयार छैनन् । उनीहरुका विचारमा हिजोको तुलनामा आज बजारमा धैरै पुस्तकहरु आँउछन्, तिनको बिक्रीवितरण पनि बढिरहेकै छ तर समाजमा शिक्षित वर्गको संख्या बढिरहेको देखिए पनि गम्भीर पाठकहरुको अभाव भने झनझन खट्किरहेकै देखिन्छ । आजभन्दा पचास वर्षअघि कुनै साहित्यिक पुस्तकको प्रकाशन संख्या औसतमा एक हजार प्रति नै थियो, आज पनि त्यो संख्या बढ्न सकिरहेको देखिदैन । केही पुस्तकहरु दश पन्ध्र हजार प्रति पनि प्रकाशित भएर बजारमा गएका छन् र बिक्रीवितरण भएर सकिएका पनि छन् तर त्यसको प्रतिशत अनुपात एक प्रतिशत पनि छैन । यस स्थितिको विश्लेषणबाट के भन्न सकिन्छ भने आज पठन संस्कृतिका बारेमा अझै गहिरो चिन्तन, विमर्श र सरोकार आवश्यक देखिएको छ । यसको अभावमा हाम्रो समाजको प्राज्ञिक उन्नयन वा बौद्धिक समुन्नति असम्भवप्रायः छ । यस सन्दर्भमा पठन संस्कृतिसँग जोडिएका वा यससँग प्रत्यक्ष सरोकार राख्ने केही पक्षहरुका बारेमा केही चर्चा गर्नु सान्दर्भिक देखिन्छ । तीमध्ये केही यस्ता हुन सक्छन् :—

१. पाठक समाज

पठन संस्कृति भनेको पाठक समाजसँग प्रत्यक्ष जोडिएको संस्कृति हो । पाठक समाज भनेको घरपरिवार वा समाजमा बसेर पुस्तक अध्ययन गर्ने समाज हो । पुस्तक साहित्यिक र असाहित्यिक दुबै प्रकृतिका हुन सक्छन् । साहित्यिक पुस्तक भन्नाले साहित्यका विभिन्न विधाहरुसँग सम्बन्धित पुस्तकहरु भन्ने बुझिन्छ भने असाहित्यिक पुस्तक भन्नाले साहित्यभन्दा पृथक राजनीति, दर्शन, संस्कृति, इतिहास, समाजशास्त्र, मानवशास्त्र, विज्ञानलगायत ज्ञानका अन्य विविध क्षेत्रसँग सम्बन्धित पुस्तकहरु भन्ने बुझिन्छ । त्यसमा समग्र पुस्तकहरुलाई औपचारिक रुपमा ज्ञानवृद्धिका लागि प्रयोग हुने पुस्तक र अनौपचारिक रुपमा ज्ञानवृद्धिका लागि प्रयोग हुने पुस्तक गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ  । औपचारिक शिक्षासँग सम्बन्धित पुस्तकहरु औपचारिक ज्ञानप्राप्तिका लागि बनाइएका हुन्छन् भने अनौपचारिक शिक्षा प्राप्तिका लागि पढिने पुस्तकहरुले अनौपचारिक ज्ञानविस्तारका लागि सहयोगी हुन्छन् । अनौपचारिक शिक्षाले औपचारिक शिक्षामा निकै सहयोगी भूमिका निर्वाह गरिरहेका देखिन्छन् । यसरी हेर्दा औपचारिकभन्दा अनौपचारिक शिक्षाको क्षेत्र निकै व्यापक र प्रभावकारी रहेको पुष्टि हुन्छ ।
    
भनिन्छ नेपालमा झण्डै असी लाखको हाराहारीमा विद्यार्थीहरुको संख्या छ । त्यसमा पचास लाखजति सरकारी विद्यालय वा कलेजहरुमा अध्ययन गरिरहेका छन् भने अरु तीस लाख विद्यार्थी विभिन्न निजी शिक्षालयहरुमा पठनपाठन गरिरहेका छन् । त्यहाँ पढाउने गुरुगुरुआमाहरुको संख्या पनि करिब लाखौंको संख्यामा रहेको छ । तर आज तलदेखि माथिसम्म विभिन्न तहमा औचारिक शिक्षा हासिल गरिरहेको ठूलो समूह तहगत र कक्षागत पाठ्यक्रमले निर्देशित गरेका सीमित पाठ्यपुस्तकहरुको अध्ययन गर्नमै तल्लीन छ । त्यसमा पनि धेरै विद्यार्थीहरु कतिपय स्थितिमा त पाठ्यपुस्तक पनि नपढेर परीक्षा प्रयोजनका लागि तयार भएर बजारमा आएका गाइड र गेसपेपरमा मात्र सीमित हुन थालेको स्थिति छ । त्यसमा पनि विद्यालय तह र उच्च  तहमा शिक्षण गर्ने शिक्षकशिक्षिकाहरु पनि निर्धारित समयभित्र पाठ्यपुस्तकहरु पढाएर सके आफ्नो सम्पूर्ण दायित्व निर्वाह गरेको ठान्छन् । यतिसम्म छ कि उनीहरुलाई शिक्षणका लागि अति आवश्यक पर्ने विभिन्न सन्दर्भ पुस्तक र अन्य बाहिरी पुस्तकहरुको अध्ययन पनि गर्नु जरुरी छ भन्ने सम्म हेक्का छैन । सर्वेक्षण नै गर्ने हो भने पनि बाहिरी पुस्तकको नियमित अध्ययन गर्ने शिक्षकशिक्षिकाहरुको अनुपात नेपालमा पाँच प्रतिशतभन्दा बढी छैन । यस स्थितिमा उनीहरुले पाठ्यपुस्तकबाहेक अन्य बाहिरी ज्ञानबर्धक पुस्तकहरुको अध्ययनतर्फ विद्यार्थीहरुलाई कसरी अभिप्ररित गरिरहेका होलान् ? यो चिन्ताको विषय बनेको छ । 

यसबाहेका औपचारिक अध्ययन नगरिरहेका वा आफ्नो औपचारिक अध्ययनकर्म सकेर समाजका विभिन्न पेसा र व्यवसायमा संलग्न रहेका व्यक्तिहरुले पनि ज्ञानप्राप्तिका लागि पुस्तकहरु पढिरहेका छन् । समाजमा यस्ता पाठकहरुको पनि आफ्नै प्रकृतिको पुस्तक रुचि र रोजाइहरु छन् । तर यस प्रकृतिको पाठक समाजको आयतन निकै सानो छ । लोक सेवा आयोग वा अन्य विभिन्न आयोगका परीक्षाहरु उत्तीर्ण गरेर प्रशासनिक र शैक्षिक आदि क्षेत्रमा क्रियाशील नेपालको बौद्धिक जनशक्ति पनि एक प्रकारको परीक्षा उत्तीर्णपछि आफ्नौ बौद्धिक विकास र ज्ञानको अद्यावधिकका लागि आफ्ना विधागत वा अन्य बौद्धिक पुस्तकहरु पढ्न जरुरी नै ठान्दैन । बीस तीस वर्ष पुरानो औपचारिक शिक्षाको सीमित ज्ञान र सूचनाका आधारमा आजको समाजलाई नेतृत्व गर्न सकिदैन भन्ने हेक्का सबैमा हुनु आवश्यक छ ।  

२. बजारको प्रकृति
पठन संस्कृतिलाई मापन गर्ने एउटा बलियो आधार बजारको आयतन र प्रकृति पनि हो । सबैलाई थाहा छ, बजारको विशेषता भनेको नै नाफामुखी कारोबार हो । कुनै समय त्यति बिक्रीवितरण नहुँदा पनि आफ्नो सामाजिक उत्तरदायित्यलाई सम्झिएर कतिपय पुस्तक व्यवसायीहरुले साहित्यिक पुस्तक वा अन्य ज्ञानविज्ञानका बौद्धिक पुस्तकहरु आफ्ना पसलमा राखेर बिक्रीवितरण गरिरहेका देखिन्थे तर आज बजारमा हेर्ने हो भने पाँचदश प्रतिशत पुस्तक व्यवसायी पनि यस प्रकृतिका छैनन् । साहित्यिक पुस्तकहरु खोज्न जाने हो भने पसलमा अझै बीसतीस वर्षअघि प्रकाशित भएका र तीमध्ये धेरै त विभिन्न शैक्षिक तहका पाठ्यक्रममा समावेश गरिएका पुस्तकहरुको सूची मात्र भेटिन्छन् । आफ्ना कृतिहरु आफै प्रकाशन गर्न विवश दूरदराजका लेखक वा राजधानीमा पहँुच नभएका नवोदित तर सम्भावना बोकेका लेखकहरुको कृति पुस्तक पसलहरुले बिक्रीवितरणका लागि पाँच दश प्रति राखिदिन नै मान्दैनन् । उनीहरु कुनै पाठ्यक्रममा निर्धारित पुस्तकहरुबाहेक अन्य प्रकृतिका ज्ञानबर्धक पुस्तकहरु पनि बिक्रीवितरण गरी समाजलाई ज्ञानको क्षेत्रमा अगाडि बढाउनु पर्छ भन्ने नै ठान्दैनन् । यसको परिणाम पाठक समाजमा पुग्नुपर्ने पुस्तकहरु पनि पुस्तक व्यवसायीहरुको उदासीनताका कारण पुगिरहेका छैनन् । यसमा पुस्तक व्यवसायीहरुको संगठन, सरोकारवाला सम्बन्धित निकाय र लेखकहरुका बीचमा गतिलो छलफल पनि हुन सकिरहेको देखिदैन ।

आज बजारमा आफै पुस्तक प्रकाशित गर्ने लेखकहरुकै संख्या औसत रहेको छ ।  त्यसमा असी प्रतिशतभन्दा बढी लेखकहरुको बिक्रीवितरणको क्षेत्र पाँचसात  जिल्ला मात्र हुन्छ । यसरी हेर्दा वितरण प्रणाली अत्यन्त फितलो रहेको छ । यसको प्रमुख कारण प्रकाशक स्वयं लेखक हुन्छ वा उसको नजिकका सम्बन्धी वा साथीभाइ हुन्छन् । उनीहरुसँग न बजार व्यवस्थापनको कला  हुन्छ, न फुर्सद हुन्छ, न त पाठकसमाजमा पुग्ने गतिलो संयन्त्र । यसैका कारण हजार प्रति वा पाँच सय प्रति छापिएका कृतिहरु पनि बिक्री भएर सकिदैनन् । उता पुस्तकप्रेमी पाठकहरुको समाजमा नपुगेपछि राम्रा कृतिहरु पनि बिक्री हुने कुरै भएन । यसकारण साहित्यिक वा बौद्धिक पुस्तकहरु बिक्रीवितरणको गतिलो संयन्त्रबिना समाजमा विद्यमान पठन संस्कृतिलाई गतिलो सुधार गर्न कदापि सकिदैन ।

३. अभिभावकको भूमिका 

पठन संस्कृतिको विकास गर्नका लागि बालबालिकाहरुमा पढ्ने बानीको विकास गर्नु जरुरी छ । आजका बालबालिकाहरु नै भोलिका तन्नेरी र देश चलाउने जनशक्ति हुने हुन् । यसका लागि सबैभन्दा पहिले बालबालिकाका अभिभावक र तिनलाई पढाउने शिक्षकशिक्षिकाहरुमा नै पुस्तक पढ्ने बानी हुनुपर्छ । आफूले पुस्तक कहिल्यै नपढ्ने तर आफ्ना बालबालिकाहरुलाई पढ्नुपर्छ भन्ने गरियो भने त्यो न व्यवहारिक हुन्छ, न सम्भव नै । बालसाहित्य र जीवनोपयोगी विभिन्न विधाका पुस्तकहरु किन्ने र आफ्ना बालबालिकाहरुलाई पढ्न उत्प्रेरित गर्न सकियो भने त्यसले क्रमागत रुपमा बालबालिकाहरुमा पढ्ने बानीको विकास गर्दछ । बाहिरी पुस्तकको अध्ययनबाट आफ्ना पाठ्यपुस्तकहरुप्रति पनि उनीहरुमा अभिरुचि बढ्दै जान्छ । त्यस्तै विद्यालयहरुले पनि नियमित बालसाहित्य र बालपत्रिकाहरुको नियमित पढ्ने व्यवस्था गर्न सके भने त्यसले पनि विद्यार्थीहरुमा पठनरुचि बढ्दै जाने र त्यसले अन्ततः समग्र शिक्षणसिकाइमै सकारात्मक प्रभाव पार्ने सुनिश्चित छ । 
    
घर नै बालकको पहिलो पाठशाला हो । घरमा परिवारका अन्य सदस्यहरुले नियमित पुस्तक पढ्ने संस्कार बसाल्न सकियो भने बालबालिकाहरु पनि अध्ययनप्रति अभिमुख हुन्छन् । त्यसैले पठन संस्कृतिको विकासमा परिवार  र शिक्षालयहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । 

४. उपहार र पुरस्कार प्रणाली
हामीले बालबाललिकाहरुलाई कुनै उपहार वा पुरस्कार दिदा ज्ञानवर्धक पुस्तक तथा पत्रपत्रिकाहरु पनि दिने एक प्रकारको परम्परा नै बसाल्नु आवश्यक छ । आजभोलि छोराछोरीहरुको जन्म दिवश मनाउने प्रचलन सबैतिर बढ्दै गइरहेको छ । तर त्यसको बहानामा घरपरिवार र आफन्तहरु जम्मा हुने तथा खानपिनमा रमाइलो गर्ने प्रचलन बढिरहेको देखिन्छ । साथै जन्मदिनका अवसरमा शुभ कामना दिन आउनेहरुले नगद वा अन्य खेलौनाहरु उपहार लिएर आउने गरेको देखिन्छ । साना केटाकेटीहरुलाई खेलौना उपहार दिनुलाई अन्यथा भन्न मिल्दैन तर अब हामीले उपहार दिदा विभिन्न पुस्तक र पत्रपत्रिकाहरु पनि दिने गर्यौैँ भने त्यसले पनि पठन संस्कृतिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ । साथै विद्यालय वा कलेजहरुमा विभिन्न प्रकारका शारीरिक र बौद्धिक प्रतियोगिताहरु भइरहेका हुन्छन् । विद्यमान प्रतियोगिताहरुलाई अझै रोचन, अझै सिर्जनात्मक र अझै परिणाममुखी बनाउनुपर्ने खाँचो त छँदैछ । साथसाथै ती प्रतियोगितामा विजयी हुनेहरुलाई नगद वा अन्य जिन्सी पुरस्कारभन्दा विभिन्न विधाका उत्कृष्ट पुस्तकहरु उपहार दिन सकियो भने त्यसले पनि पठन संस्कृतिमा सहयोेग पुर्याउन सक्छ । 

५. पुस्तकालयको स्थापना र सञ्चालन
नेपाली समाजमा पुस्तकालहरु निकै कम छन् । भएका पुस्तकालयहरु पनि जसरी चल्नु पर्ने हो त्यसरी चलिरहेका छैनन् । सानै किन नहुन पठन संस्कृतिको विकास गर्ने हो भने घरघरमा पुस्तकालय, टोलटोलमा पुस्तकालयको नारालाई अगाडि सार्नु पर्छ । आफ्ना नजीकका विद्यालय, क्याम्पस, अन्य सरकारी गैरसरकारी संघसंस्था, राजनीतिक दलका कार्यालय तथा गाँउसहरमा पनि पुस्तकालयहरुको स्थापना गर्न पहल गर्नुपर्छ । कुनै घरमा दुईचार सय पुस्तकहरु होलान्, कुनै टोलमा पाँच  सात सय पुस्तकहरु हुनसक्छन् । त्यस्तै कुनै विद्यालय वा क्याम्पसमा हजार पन्ध्र सय पुस्तकहरु होलान् । यसमा नयाँ पुस्तक र पत्रिकाहरुका साथै पुराना पुस्तक र पत्रिकाहरु पनि राख्न सकिन्छ । हामीले आफूले पढेका किताब वा पत्रिकाहरु ती पुस्तकालयमा दियौँ भने त्यसले धेरैलाई फाइदा गर्न सक्छ । यो असम्भव पनि अवश्य छैन । 
    
कम्तीमा दैनिक दुई घण्टा पुस्तकहरु पढ्ने बानी गर्न सकियो भने सबैलाई फाइदा हुन्छ । तर विडम्वनाको कुरा देश चलाउँछु भन्ने नेता, समाज बनाउँछु भन्ने समाजका अगुवा, विकास निर्माणमा सहयोगी बन्छु भन्ने कर्मचारी, समाजलाई सही सूचनाप्रवाह गर्छु भन्ने पत्रकार, गतिलो सिर्जनामार्फत ज्ञानविस्तारमा भूमिका खेल्छु भन्ने कविकलाकार सबै दैनन्दित घटनाका समाचार सुनेर वा पढेर आफ्नो बौद्धिक धारणा निर्माण गरिरहेका छन् । यस्तो अवस्थामा पठन संस्कृतिको विकास आफैमा चुनौतीपूर्ण विषय बनिरहेको छ । 

६. नियमित अन्तक्र्रिया र छलफल 
समाजमा अनेक विषयवस्तु र सन्दर्भहरु हुन्छन् । ती सबैबारे समाजमा नियमित छलफल र अन्र्तक्रिया पनि चलिरहनु पर्छ । यसले समाजलाई सही दिशामा अगाडि बढ्न सहयोगी भूमिका निर्वाह गर्दछ । दुईचार जना जुटेर गफगाफ गर्नु पनि ज्ञानविस्तारको एउटा महत्वपूर्ण साधनको उपयोग गर्नु हो । हामीले विद्यालय उमेरदेखि नै बालबालिकाहरुलाई उनीहरुको बौद्धिक स्तर सुहाउँदो कुनै सान्दर्भिक विषयहरु दिने र त्यसप्रति विचार व्यक्त गर्न लगाउने प्रकृतिका छलफलमुखी कार्यक्रमहरु गराउन सकिन्छ । कुनै समय विद्यालयहरुमा नियमितजसो हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलापहरु हुन्थे । तिनले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाको पहिचान र प्रष्फुटनमा सहयोगी भूमिा खेल्थे । शुक्रबार आधा पढाइ हुने भनेको बचेको आधा समयमा कुनै न कुनै रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्नका लागि हो तर सम्बन्धित निकायको आवश्यक अनुगमनको अभाव र विद्यालय प्रशासनको लापरबाहीका कारण आजभोलि केही अपवादलाई छाडेर सबैजसो विद्यालयहरुमा कुनै रचनात्मक कार्यक्रमहरु सञ्चालन भइरहेका देखिदैनन्। यसले न विद्यार्थीहरुको रचनात्मक प्रतिभालाई प्रोत्साहित गर्न सक्छ, न उनीहरुको बौद्धिक सामग्रीहरुको पठन संस्कृतिलाई आधार प्रदान गर्न नै सक्छ । यसबारेमा सम्बन्धित निकाय र सरोकारवाला समयमै गम्भीर बन्नु अनिवार्य छ । 

७. स्तरीय सामग्रीको उत्पादन र वितरण प्रणाली 
पठन संस्कृतिको कुरा गर्दा यसको निर्माणमा प्रत्यक्ष जोडिएर आउने सामग्रीहरुको भूमिका पनि कम महत्वपूर्ण हुँदैन । यसका लागि स्तरीय सामग्रीहरुको उत्पादन र तिनीहरुको उचित वितरण प्रणाली पनि उत्तिकै आवश्यक देखिन्छ  । आज बजारमा पाइने सबै सामग्रीहरु वैज्ञानिक, सान्दर्भिक र स्तरीय छैनन् । बजारमा गएर पुस्तक खरिद गर्दा समाजोपयोगी, ज्ञानबर्धक र सामाजिक सरोकारका विषयवस्तु समेटिएका सामग्रीहरु भएका पत्रपत्रिका र पुस्तकहरुको छनौट गर्नु पनि त्यत्तिकै आवश्यक छ । युवा वा प्रौढहरुका लागि उपयोगी सामग्रीहरु बालबालिकाका लागि उपयुक्त नहुन पनि सक्छन् । बालबालिकाका लागि बनाइएका सामग्री अरुका लागि उपयुक्त नहुन पनि सक्छन् । त्यसैले लक्षित समूह अनुरुपका सामग्रीहरुको उत्पादन, छनौट र वितरण पनि आवश्यक देखिन्छ । यसो गर्न सकियो भने पठन संस्कृतिको तहगत विकासमा पनि सहयोग पुग्न सक्छ । 
    
मैले माथि नै भनेँ, आज बजारमा आएका सामग्रीहरु सबै उपयोगी छैनन् । त्यसमा पनि असामाजिक, अराजक र अव्यवहारिक चिन्तन बढाउने सामग्रीहरु पनि बजारमा आएका देखिन्छन् । अश्लील साहित्य (उचयलयनचबउजथ ष्तिभचबतगचभ) का सामग्रीहरु पनि बजारमा छन् । अभिभावक र शिक्षक शिक्षिकाहरुको उचित मार्गदर्शनको अभावका कारण आज धेरै विद्यार्थीहरु यसको शिकार पनि भइरहेका छन् । यसतर्फ समाजको बौद्धिक वर्ग, सम्बन्धित निकाय, सरोकारवाला, अभिभावक र शिक्षकवर्ग सबैले उचित ध्यान दिनु जरुरी छ । आज प्रविधि प्रयोगका नाममा एउटा ठूलो जमात इन्टरनेट, फेसबुक आदिको अनकण्टार जङ्गलभित्र नराम्ररी हराइरहेको छ । निश्चय नै प्रविधिको उपयोग र दुरुपयोग दुबै हुनसक्छ । आज प्रविधिबाट राम्रै फाइदा लिनेहरु पनि छन् । विभिन्न उपयोगी वेबसाइटहरुमा गएर इ–लाइब्रेरीहरु हेर्ने पनि छन्,  इ–बुकहरु डाउनलोड गरेर पढ्ने ज्ञानी पाठकहरु पनि छन्, फेसबुक र ट्वीटरमा राम्रा राम्रा उपयोगी सामग्रीहरुको आदानप्रदान गर्नेहरु पनि छन् । तर त्यो भन्दा बढी जे पायो त्यही नितान्त व्यक्तिगत, असामाजिक र अराजकता फैलाउने प्रकृतिका सामग्रीहरुले नै बजार लिइरहेको छ । यो आजको एउटा गम्भीर छलफलयोग्य विषय हो । यसतर्फ पनि हामीले आजका बालबालिकाहरुलाई उचित मार्गदर्शन गर्नुपर्ने देखिएको छ । यसका लागि उनीहरुलाई गाली गरेर वा कुनै भौतिक र मानसिक सजाय दिएर होइन, वरु उचिन सल्लाह र सही सामग्रीहरु पढ्ने बानीको विकास गरेर उचित दिशाबोध गर्नु पर्ने हुन्छ  ।

८. पुस्तक व्यवसायीहरुको भूमिका 
नेपालमा औपचारिक रुपमा पठनपाठनको विकास भएसँगै पुस्तकहरुको विक्रीवितरण शुरु भएको हो । आजको मितिसम्म आइपुग्दा यसको बजार प्रकृति, वितरणको स्तर र सेवाको भूगोल निकै फैलिएको छ । आज देशमा भइरहेको शिक्षाको वहुआयामिक  विकास अनुरुप पुस्तक व्यवसाय पनि वहुआयामिक बन्दै गइरहेको देखिन्छ । स्वाभाविक रुपमा यसका पनि केही कमीकमजोरी र सीमाहरु विद्यमान रहेका छन् तर यसले नेपालको औपचारिक शिक्षाको विकास र पठन संस्कृतिको उन्नयनमा खेलेको भूमिका महत्वपूर्ण नै रहँदै आइरहेको छ । खासगरी एक ठाँउमा प्रकाशित भएका पुस्तकहरुलाई देशभित्र र बाहिर पनि आफ्ना विभिन्न संयन्त्रमार्फत पुस्तक व्यवसायीहरुले पुस्तक र पत्रपत्रिकाहरुलाई पुर्याइरहेको कुरा निश्चय नै प्रशंसनीय कार्य हो । तर मुनाफाका नाममा कतिपय पुस्तक व्यवसायीहरुले आफ्नो सामाजिक उत्तरदायित्वलाई बिर्सेका घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । खास गरी अश्लिल साहित्यको बिक्रीवितरण गर्नु र साहित्यिक पुस्तक र पत्रपत्रिकाहरुको प्रवद्र्धनमा त्यति सकारात्मक नदेखिनु चिन्ताका विषय हुन् । त्यसो त के कस्ता पुस्तक वा पत्रपत्रिकाहरु आफ्ना पसलमा राख्ने र बिक्रीवितरण गर्ने भन्ने कुरा व्यवयासीहरुको व्यवसायिक स्वतन्त्रता हो तर त्यसका नाममा समाजको अहित गर्ने प्रकृतिका सामग्रीहरुको विक्रीवितरण गर्नु भने सामाजिक उत्तरदायित्वका हिसाबले उचित होइन । साथसाथै साहित्यिक पत्रपत्रिका र पुस्तकहरुको विक्री कम छ भन्दैमा त्यस्ता सामग्रीहरुको वितरणमा असहयोग गर्नु पनि जायज होइन । यसबारेमा पुस्तक व्यवयासी, सरोकारवाल निकाय र लेखकहरुबीचमा बेलाबखत सार्थक छलफल र अन्र्तक्रियाहरु गरिनु पर्दछ। यसले नेपालको पठन संस्कृतिलाई सही दिशानिर्देश गर्न सक्छ। साथसाथै समाजको प्राज्ञिक उन्नयनमा सकारात्मक भूमिका निर्वाह गरी समाजलाई सभ्यताको यात्रामा अग्रसर गराउन सक्छ ।  
    
पठन संस्कृति सामाजिक संस्कृतिको एउटा महत्वपूर्ण भाग हो । यो समाजको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसका लागि माथि उल्लेखित विभिन्न पक्षहरुका साथै अन्य पक्षहरुका बारेमा पनि यथोचित विमर्श उत्तिकै आवश्यक देखिन्छन् । ती सबैको समग्र विश्लेषण नगरी विद्यमान नेपाली समाजको पठन संस्कृतिलाई सही दिशा दिन कदापि सकिदैन । यसका लागि सबैले आआफ्ना तर्फबाट बौद्धिक जिज्ञासा, तर्क र चर्चाहरु विभिन्न माध्यममार्फत गर्नु आवश्यक छ। यो प्रारम्भिक विमर्श त्यसैतर्फको एउटा विनम्र आमन्त्रण हो । 
 

टीकाराम उदासी

नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत उदासी साहित्यिक क्षेत्रमा समालोचक, कवि तथा गजलकारका रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय