राष्ट्रियसभा: नेकपाका १६ र राजपाका २ जना विजयी

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

काठमाडाैं ।  आज भएको राष्ट्रियसभामा निर्वाचनमा नेकपा १७ र राजपाले २ सिट जितेका छन् भने १९ सिटमै नेपाली कांग्रेस शून्य भएको छ।  राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ ।

नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गर्नुभयो । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

 आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गर्नुभएको थियो ।  

 राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शारदा भट्ट विजयी हुनुभएको छ । 

 उहाँले तीन हजार ७३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले एक हजार ८५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । अन्य समूहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो । 
 
राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी हुनुभएको छ । 

     आचार्यले तीन हजार ६१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । 

    यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गर्नुभएको थियो । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । 
 रासभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित हुनुभएको छ ।

   
    निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गर्नुभएको छ । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँगे्रसका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

 राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ ।

    निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित हुनुभएको हो ।

 उहाँ पाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका  गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याउनुभएको छ । महिलाका पाँच मत बदर भएका छन् ।  अपाङ्गता र खुलामा नेकपाका जगप्रसाद शर्मा निर्वााचित हुनुभएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय