राष्ट्रियसभामा निर्वाचित गंगा बेल्बासेको यस्तो छ राजनीतिक नालीबेली

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

राष्ट्रियसभा निर्वाचन २०७६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य गंगा बेल्वासे बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक संघर्षको पृष्ठभूमि बोकेकी गंगा बेल्बासे राष्ट्रियसभा टेक्दै हुनुहुन्छ ।

अर्घाखाँची जिल्लाको असुरकोटमा २०२६ पुस ९ गते आमा पेमाकुमारी बेल्बासे र बुवा खगुप्रसाद बेल्बासेको कोखमा जन्मिएकी गंगा बेल्बासेको स्थायी बसोबास माडी नगरपालिका– ५ चितवनमा रहेको छ । पूर्व शिक्षामन्त्री स्व. धनीराम पौडेल (डी.आर. पौडेल)की धर्मपत्नी समेत रहनुभएकी गंगा बेल्बासे करीव २० वर्षकै उमेरदेखि वामपन्थी राजनीतितर्फ होमिएकी हुन् ।

२०४५ सालमा वामपन्थी राजनीति थालेकी गंगाले २०४६ सालको जनआन्दोलनमा सहयोग र समर्थन गरिन् । २०४७ सालमा अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल जनवादी युवा लिगको जिल्ला सदस्य भएकी गंगाले सोही वर्ष नेपाल कम्युनिष्ट पार्टी (चौम)को सदस्यता प्राप्त गरेकी थिइन् । २०४८ सालमा नेकपा (एकता केन्द्र)को घोराही नगर एकता अधिवेशनमा प्रतिनिधि बनेर नगर कमिटीको सदस्यमा निर्वाचित समेत भइन् । २०४९ मा अखिल नेपाल महिला संघको दाङ जिल्ला सचिवको जिम्मेवारीमा निर्वाचित भएकी उनी सोही वर्ष अनेरास्ववियुको दाङ जिल्ला कोषाध्यक्षमा पनि निर्वाचित भइन् ।

राजनीतिमा सक्रिय रहँदै गर्दा २०५० सालमा अखिल नेपाल जनवादी युवालिगको राष्ट्रिय सम्मेलन आयोजक समितिको सदस्यको जिम्मेवारी प्राप्त भयो । २०५० फागुनमा सम्पन्न अखिल नेपाल जनवादी युवालिगको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न पुगिन् । जनवर्गीय मोर्चाहरुमा मात्र होइन उनी २०५१ मा सम्पन्न नेकपा (एकता केन्द्र)को दाङ जिल्ला समितिको सदस्य पनि बन्न सफल भइन् । जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै जाँदा गंगा अखिल नेपाल महिला संघको २०५१ अखिल नेपाल महिला संघको केन्द्रीय सचिव भइन। यस्तै क्रममा २०५२ सालमा नेकपा (एकता केन्द्र)को ललितपुर जिल्ला समिति सदस्य भएकी गंगा विभिन्न आन्दोलनहरुको नेतृत्व, आन्दोलनमा सहभागिता र त्यसक्रममा पटकपटक गिरफ्तार समेत भइन् । यही क्रममा उनी संयुक्त जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

२०६१ माघ १९ को शाही कू पछिको प्रतिकूल राजनीतिक परिस्थितिमा पनि ७ राजनीतिक दलको आन्दोलनमा पर्चा छर्ने, जुलुस प्रदर्शन गर्ने, निषेधाज्ञा तोड्ने र विभिन्न आन्दोलनको नेतृत्व गर्ने कार्यमा पनि गंगा सक्रिय रहिन् । त्यसक्रममा गिरफ्तार भएकी गंगाले नजरबन्द समेत हुनुपर्यो । पार्टीको निर्णयमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएपछि उनी ७२ दिनपछि थुनामुक्त भएकी थिइन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बने पनि पराजय बेहोर्नु पर्यो । २०६५ मा नेकपा (एकता केन्द्र)को काठमाडौं जिल्ला सेक्रेटरीको भूमिका सम्हालेकी गंगा २०६५ मै तत्कालीन नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी)बीच एकीकरण भएपछि एकीकृत नेकपा माओवादीको काठमाडौं सह सेक्रेटरीको भूमिका पनि कुशलतापूर्वक निर्वाह गरेकी थिइन् । २०६९ सालमा हेटौडामा सम्पन्न एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनको आयोजक समिति सदस्य बनेकी उनी सोही महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन् । २०७१ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को छैठौं राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित उनी २०७३ जेठमा एकीकृत नेकपा माओवादी र नेकपा (क्रान्तिकारी माओवादी)बीच एकता भएपछि महाधिवेशन आयोजक समिति सदस्य तथा पोलिटव्यूरो सदस्य पनि बनिन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पनि उनी केन्द्रीय सदस्य हुन् । संघर्षमा खारिएको अनुभव सँगाल्दै राष्ट्रियसभामा पाइला टेक्न सफल गंगा बेल्बासेलाई दैनिक अनलाइनको हार्दिक बधाई तथा सफलताको कामना ! 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय