राष्ट्रियसभाका विजयी नारायणकाजी श्रेष्ठको यस्तो छ राजनीतिक संघर्षको कथा

dainikonline
दैनिक अनलाइन | माघ ९, २०७६ बिहिबार | 0

कमरेड प्रकाश अर्थात नारायणकाजी श्रेष्ठ । नेपाली कम्युनिष्ट आन्दोलनमा ‘प्रकाश’ उपनामले धेरै पहिलेदेखि चर्चित नेता नारायणकाजी श्रेष्ठ पछिल्लो करीब डेढ दशकयता नेपालको राजनीतिमा चर्चाको शिखरमा हुनुहुन्छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य, प्रवक्ता र केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका श्रेष्ठ २०७६ माघ ९ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा विजयी हुनुभएको छ । 

को हुन् प्रकाश अर्थात नारायणकाजी श्रेष्ठ ?
प्रकाश अर्थात नारायणकाजी श्रेष्ठ कुनै अपरिचित पात्र वा नाम होइन । उहाँको लामो राजनीतिक योगदानका कारण आमनेपाली माझ उहाँ उत्तिकै लोकप्रिय र परिचित हुनुहुन्छ । साङ्गोपाङ्गोरुपमा सबैले चिन्ने उनै प्रकाश अर्थात नारायणकाजी श्रेष्ठलाई नजिकबाट चिन्ने प्रयास गर्दा निकै उतारचढावपूर्ण र संघर्षमय देखिन्छ ।

बाल्यकालमा नारायणकाजी
पिता मेघनारायण श्रेष्ठ र माता ज्योतिमायाको कोखमा २०१७ सालमा गोरखाको जौबारीमा जन्मिएका हुन् नारायणकाजी । यद्यपि एसएलसीको परीक्षा दिने बेलामा उमेर नपुगेकाले प्रमाणपत्रमा भने उनको जन्ममिति २०१६ साल बनाइएको थियो ।

नेता नारायणकाजी श्रेष्ठको बाल्यकाल पनि आमनेपालीहरुको जस्तै बित्यो । सानैदेखि शारीरिक श्रममा उति रुची नदेखाउने नारायणकाजी श्रेष्ठ विद्यालय भने नियमितरुपमा जान्थे । विद्यालयमा बिदा हुँदा बाख्रा चराउने र भैंसी ग्वाला जाने काममा रुची थियो उहाँको । यद्यपि सानैदेखि उनमा अचेतनरुपमा भौतिकवादी सोच भने थियो । त्यसैले होला उहाँले सानैदेखि पूजा गरेको टीका नै नलगाएर हिड्नुहुन्थ्यो रे ।

अध्ययन÷स्वअध्ययन
गाउँकै परोपकार आदर्श माध्यमिक विद्यालयमा नारायणकाजीले कक्षा १ देखि १० सम्म अध्ययन गरेका थिए । अध्ययनमा मेधावी नारायणकाजी हरेक कक्षाको परीक्षामा सदाबहार प्रथम विद्यार्थी थिए । २०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नारायणकाजीले सोही परीक्षामा गणित विषयमा १०० पूर्णाङ्कमा १०० नम्बर नै ल्याएर विद्यालयको नयाँ रेकर्ड बनाएका थिए । त्यसपछि कलेज पढ्न भनेर राजधानी छिरेका नारायणकाजीले २०४० सालमा जनप्रशासन क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरे । त्यसपछि उनले अर्थशास्त्रमा पनि स्नातक गर्न भ्याए । यद्यपि अनौपचारिक अध्ययनलाई बढी जोड दिएका नारायणकाजीले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसँग सम्बन्धित विषयमा गम्भीर अध्ययन गर्दै आफ्नो ज्ञानको भण्डारलाई फराकिलो बनाए । माक्र्सवादी विचार, दर्शन, साहित्यमात्र होइन उनले विपक्षी विचारका पुस्तकहरु बढ्न पनि उनी उत्तिकै सक्रिय हुन्छन् । 

नारायणकाजीको जागिरे जीवन
नेता नारायणकाजी श्रेष्ठले आफ्नो जीवनको छोटो अवधि नै भए पनि जागिरे जीवनको अनुभूति पनि गर्न पाए । उनले २०३७÷०३८ सालमा हेल्थपोष्टमा डेढ वर्ष थोरै तलबमा जागिर खाएका थिए । त्यसपछि केही वर्ष शिक्षकको जागिर खाएको अनुभव समेत गरेका थिए नारायणकाजीले । यद्यपि उनको जागिरे जीवन लामो समयसम्म भने टिकेन । डाक्टर बनाउने भनेर पढाइरहेका अभिभावकहरुको चाप थेग्न उनले केही समय जागिर खाए पछि देश र जनताको लागि केही गर्छु भन्ने भावना बोकेका नारायणकाजी बिस्तारै राजनीतिक यात्रामा हेलिए । 

राजनीतिक यात्रा
प्रकाश उर्फ नारायणकाजी श्रेष्ठले २०३८ सालमा गोरखा जिल्लाका श्रीनाथ अधिकारीबाट पार्टीको सदस्यता प्राप्त गरेका थिए । कम्युनिष्ट बन्नासाथ पार्टीको सदस्यता प्राप्त गरेका नारायणकाजी सेल कमिटीमै हुँदा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले २०३९ सालमा पार्टी विभाजित भयो । त्यसपछि लामाको समूहमा पार्टीको काठमाडौं जिल्ला समितिको सदस्य हुँदै २०४२÷०४३ सालतिर केन्द्रीय सदस्य बन्न सफल भए । २०४७ सालमा तत्कालीन मोटो मशाल, चौथो महाधिवेशन र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य रहे । 

एकतापछि २०४८ सालमा एकता महाधिबेशनबाट उनी नेकपा (एकताकेन्द्र)को पोलिटब्युरो सदस्य बने । २६ वर्षको कलिलो उमेरमै केन्द्रीय समितिको सदस्य बन्न सफल नारायणकाजी ३१ वर्षको उमेरमै एकताकेन्द्रको पोलिटब्युरो सदस्य बनेका थिए । २०५१ सालमा प्रचण्ड र निर्मल लामाबीच फुट भएपछि नारायणकाजीले नै एकताकेन्द्रको महासचिवको जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गरे । ३४ वर्षको उमेरमै एकताकेन्द्रको महासचिव बन्न सफल नारायणकाजी त्यसयताका दिनमा पार्टीको मुख्य भूमिकामै रहे । त्यही क्रममा मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)सँग पार्टी एकता भयो र मोहनविक्रम सिंह महामन्त्री र नारायणकाजी श्रेष्ठ सहमहामन्त्रीको रुपमा जिम्मेवारी सम्हाले । फेरि २०६३ सालमा नेकपा (एकताकेन्द्र मसाल) विभाजित भएपछि पुनः एकताकेन्द्रको महासचिवको हैसियतमै रहे नारायणकाजी ।

नेकपा एकताकेन्द्र–मसालको महासचिवको रुपमा पार्टीको नेतृत्व गर्दै आउने क्रममा २०६५ पुसमा नेकपा एकताकेन्द्र र नेकपा माओवादी मिलेर एकीकृत नेकपा माओवादी बन्यो । एकीकृत नेकपा माओवादीले २०६६ सालमा बहुपदीय प्रणालीमा जाने निर्णय गर्यो । त्यसपछि नारायणकाजी श्रेष्ठ पनि मोहन वैद्य, डा. बाबुराम भट्टराईसँगै उपाध्यक्षको जिम्मेवारी सम्हाले । यता, २०६८ भदौ ११ गते डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भयो । उक्त सरकारमा नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०६९ जेठमा डा. बाबुराम भट्टराईको मन्त्रिमण्डल पुनर्गठन हुँदा नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री, परराष्ट्र, संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए । पहिलो संविधानसभा निर्वाचन २०६४ चैत २८ मा सम्पन्न भयो यद्यपि नारायणकाजी श्रेष्ठ उम्मेदवार थिएनन् । उनी २६ जनाको कोटामा मन्त्रिपरिषद्बाट मनोनीत भएर संविधानसभामा प्रवेश गरेका थिए ।

नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुडीमा वाम पार्टीहरुको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेता श्रेष्ठको नाम एकाएक चर्चाको चुलीमा पुगेको हो । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँ दिल्लीमा भएको नेपाली कांग्रेससहितको तत्कालीन ७ राजनीतिक पार्टीहरु र तत्कालीन नेकपा (माओवादी)बीचको वार्ता एवं त्यहाँ भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनी थप चर्चामा रहे ।

नारायणकाजीको जेलजीवन
नारायणकाजी श्रेष्ठ १६ वर्षकै कलिलो उमेरमा जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्घ विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । उनी दोस्रोपटक २०३६ सालमै गोर्खामा जेल परे । कारण उही थियो पञ्चायती शासनविरुद्घको गतिविधि । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा पक्राउ परेका थिए । उनलाई राजकाज मुद्दा लगाएर केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो । 

लेखकका रुपमा नारायणकाजी
नारायणकाजी श्रेष्ठले आफूलाई एउटा कुशल लेखकका रुपमा पनि स्थापित गरेका छन् । उनले भूमिगत रहँदा ‘प्रज्ज्वल’, ‘नरेन्द्रमान’, ‘दीपक’ र ‘प्रकाश’ का नामबाट लेख्ने गर्थे । उनका ‘क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग—१’, ‘माघ १९ र क्रान्तिकारी कार्यनीति’, ‘माओवादी र माओवादी जनयुद्घबारे’, ‘क्रान्तिकारी माक्र्सवाद र नेपाली क्रान्ति भाग २’ लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् । पछिल्लो चरणमा भने पार्टी काममा व्यस्त रहँदा उनी लेखनमा त्यति सक्रिय देखिएका छैनन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय