‘भिजिट नेपाल २०२०’ सफल बनाउन जापानमा राप्ती समाजको अभियान

dainikonline
दैनिक अनलाइन | पुस २७, २०७६ आइतबार | 0

प्रकाश ओली

जापान । राप्ती समाज जापानले  ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल र सशक्त बनाउन प्रबद्र्धनात्मक अभियानको थालनी गरेको छ । अध्ययन, पेशा र ब्यवसायका लागि जापानमा रहेका राप्तीवासीहरुले बढीभन्दा बढी जापानिजहरु नेपाल भित्राउने उद्देश्यका साथ जापानको मुख्य शहर टोक्यो, व्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट प्रदर्शन गरेका छन् ।

जापानमा विश्वभरका मान्छेहरु बिभिन्न माध्यमबाट आउने जाने गर्ने र जापानमै बस्ने अन्य देशहरुका मान्छेहरुलाई पनि बुझ्न सजिलो होस र सबैमा प्रचार गर्न सकियोस् भन्ने उद्देश्यका साथ नेपाली, जापानिज र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रदर्शनमा गरिएको हो ।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियन्ता विशेश्वर रेग्मीको नेतृत्वमा टोक्योमा प्रत्येक बर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण बर्ष २०२० को बुथ नै राखेर प्रचारप्रसार गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक पोशाकहरु, नेपालका मनमोहक पर्यटनस्थलहरुको श्रब्यदृश्य प्रदर्शन गर्नुका साथै पर्यटन बर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो । पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्री, टिशर्ट र पोष्टरहरुले जापानिजहरुलाई आकर्षित गरेको थियो भने कतिपय जापानिजहरु आफ्नो चासो र भावी यात्रा तय गर्न पदाधिकारीहरुसँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।

समाजका संरक्षक रेग्मीले भने, ‘विदेशमा रहेका हरेक नेपाली पर्यटन दूत हुन् र त्यसैले सबैले आआफनो ठाउँबाट यो अभियानको सफलताको लागि प्रयास गरेर जापानिज साथीहरुलाई नेपाल चिनाउन र भ्रमणको लागि उत्प्रेरित गर्न सके अझै राम्रो हुने छ ।’  यदि एकजना नेपालीले एकजना जापानी साथी नेपाल पठाउन सके पनि पनि ९० हजार पर्यटक पठाउन सकिने रेग्मीको विश्वास छ । उहाँले भेटे जति जापानिज तथा बिभिन्न देशका मान्छेहरुलाई नेपाल भ्रमणको लागि निम्तो पनि दिइएको जानकारी दिनुभयो ।

गत बर्षदेखि नेपाल वायु सेवा निगमले पनि ओसाका–काठमाडौ सिधा उडान शुरु गरेको र यसै बर्षदेखि नारितादेखि टोक्यो र काठमाडौ सिधा उडानको शुरुवात गर्ने घोषणा गरिसकेकोले नेपाली पर्यटनको जापानी बजारमा यसले राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।

बिभिन्न देशहरुमा भ्रमण बर्षको प्रचारप्रसार भइरहँदा समाजले आफ्नो क्षेत्रबाट पहल अगाडि बढाएको र समाजका सबै पदाधिकारीहरुलाई सामाजिक सञ्जाल फेसबुकहरुमार्फत पर्यटनसम्बन्धी लेख रचना फोटाहरु राख्न पनि अनुरोध गरेको समाजका अध्यक्ष युवराज रेग्मीले बताउनु भयो । प्रचारप्रसारलाई तीब्रता दिन बिभिन्न कार्यक्रमहरु आयोजना गर्न लागिएको र नेपालको गुणस्तरीय पर्यटन क्षेत्र भएको भन्दै आआफ्नो क्षेत्रबाट नेपाल भ्रमणको प्रचारप्रसार गर्नुको विकल्प नभएपछि लागिपरेको उहाँको भनाइ छ  ।
 
बीस लाख पर्यटक नेपाल भित्राउने लक्ष्यसहित बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ नेपालमा जनवरी १ तारिख र विदेशस्थित नियोगहरुमा जनवरी ७ तारिखबाट गरिएको छ । विभिन्न देशमा छरिएका गैरआवासीय नेपालीहरु पनि आआफ्नो ठाउँबाट स्वस्फुर्त प्रचारप्रसारमा सक्रिय हुन थालेका छन् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय